झापाका अवैध क्रसर उद्योग तत्काल बन्द गरिने
भद्रपुर । झापाका अधिकांश क्रसर उद्योग अवैध रुपमा सञ्चालन भइरहेको जिल्ला अनुगमन समितिले ठहर गरेको छ । त्यस्ता उद्योगलाई तत्काल बन्द गराउने पहल शुरुआत समेत गरिएको छ । झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा गठित जिल्ला अनुगमन तथा समन्वय समितिले जिल्लामा रहेका २७ क्रसर तथा बालुवा प्रशोधन कारखानाको अनुगमन गरेको थियो । अवैध रुपमा ती उद्योग सञ्चालन भइरहेको ठहर समितिले गरेको छ । समितिले बुधबार चन्द्रगढीमा पत्रकार सम्मेलन आयोजना गरी २०७२ सालदेखि कुनै पनि क्रसर तथा बालुवा प्रशोधन उद्योगको दर्ता नवीकरण नभएको र उद्योगले कारोवारको विवरण नराखेको जानकारी दिएको छ । ती उद्योगले राज्यलाई बुझाउनुपर्ने कर समेत छलिरहेको हुँदा यस विषयमा प्रदेश र सङ्घीय सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने अनुगमन समितिका संयोजक पोर्तेलले बताए । समितिले अनुगमनका क्रममा विगतमा अनुमति लिएर सात उद्योग सञ्चालनमा रहेका, विगतमा अनुमति लिए पनि पाँच हाल बन्द रहेको, तीन बालुवा प्रशोधनको अनुमति लिएर ढुङ्गा गिट्टीको उत्पादन गर्ने क्रसर उद्योग चलाइरहेको पाइएको जनाएको छ । बुद्धशान्ति गाउँपालिका–१ मा विर्ता मूलपैनी सिँचाइ आयोजनाको ठेकेदारको अनुरोधमा गाउँपालिकाले कुमार आशिष जेभी नामक निर्माण व्यवसायी कम्पनीलाई बालुवा धुने कार्यका लागि गत जेठमा बालुवा प्रशोधन उद्योग सञ्चालनको अनुमति दिएको उनले जानकारी दिए । निर्माण व्यवसायीले बालुवा धुने अनुमति गाउँपालिकाबाट लिएर ढुङ्गागिट्टीको क्रसर उद्योग नै चलाइरहेको अनुगमन समितिको प्रतिवेदनमा उल्लेख छ । बुद्धशान्तिमा वातावरण प्रभाव मूल्याङ्कन नगरी क्रसर उद्योग सञ्चालन गरिरहेको पाइएको हुँदा सो कार्य तत्काल रोक्न समितिले निर्देशन दिएकोे छ । समितिले मेचीनगर–१ तिरिङमा तस्करले अवैधरुपमा सङ्कलन गरी घाटगद्दी गरेर राखेको करोड मूल्यको ढुङ्गागिट्टीलाई १५ दिनभित्र लिलाम बिक्री गरिसक्न निर्देशन दिएको छ । नदीजन्य पदार्थको उत्खनन् र बिक्री वितरण गर्दा प्रदेशको ऐन र नियम लागू हुने भएको हुँदा गाउँपालिका र नगरपालिकाले जथाभावी क्रसर उद्योगको अनुमति दिन नपाउने जिल्ला समन्वय समितिका उपप्रमुख मीना पराजुली बताउँछिन् । रासस
नेपाल टेलिकमको १६औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं। नेपाल टेलिकमले आफ्नो स्थापनाको १६औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बुधबार विभिन्न कार्यक्रमको आयोजना गरी १६औं वार्षिकोत्सव मनाएको हो । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले पूर्व योजना बमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको र एक वर्षको अवधिमा फोरजी मोबाइल सेवा ७७ वटै जिल्लामा विस्तार गरेकोमा सन्तोष व्यक्त गरे । उनले एफटीटीएच प्रविधिको विस्तार र अप्टिकल फाइबर परियोजना निर्धारित अवधिमै सम्पन्न गर्नुपर्ने र कम्पनीले प्रदान गरेका सेवाहरुमा गुणस्तर कायम गरी सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकताको विषय बनाउनु पर्ने बताए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनीको सञ्चालक समितिका अध्यक्ष दीपक सुवेदीले टेलिकमले अब समयानुकुल विभिन्न स्मार्ट सेवाहरु वितरण गर्ने र अत्याधुनिक प्रविधिका सेवाहरु गुणस्तरसहित प्रदान गरी ग्राहकको मन जित्नु पर्ने बताए । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणसँगको सम्झौता अनुसार एक वर्षको अवधिमा कम्पनीले ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यमा हासिल गरेको उपलब्धिप्रति सन्तोष व्यक्त गर्दै पूर्ण क्षमतामा प्रयोग नभएका पूर्वाधारहरु सहप्रयोग गर्न पनि नेपाल टेलिकम तयार हुनुपर्ने सुझाव दिए । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको समग्र अवस्था बारेमा जानकारी गराउँदै सम्झौता भएको एक वर्षभित्रै देशभर फोरजी विस्तार गर्ने महत्वाकांक्षी र चुनौतीपूर्ण लक्ष्य अनुरुप यसै साता देशका ७७ वटै जिल्लामा फोरजीको पहुँच पुर्याइएको बताए । उनले स्थानीय टेलिफोन सेवाको रुपान्तरणको लागि एफटीटीएच परियोजनालाई अगाडि बढाइएको र निकट भविष्यमा आईपीटीभी सेवा समेत एफटीटीएच मार्फत प्रदान गरिने बताए । उनले गएको १ वर्ष नेपाल टेलिकमको लागि निकै महत्वपूर्ण र चुनौतिपूर्ण रहेकाे बताए । उनले हालसम्म देशका २८ जिल्लाका ५७ एक्स्चेञ्जहरू मार्फत १ लाख ४५ हजारको नेटवर्क जडान भै ३६ हजार ४ सय भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकिएको बताए । उनले नेपाल दूरसञ्चार प्राधिकरणको कार्तिक महिनाको मीस रिपाेर्ट अनुसार कम्पनीको बजार हिस्सा भ्वाइस सेवा तर्फ ५५ पुगेको बताए ।
आशा लघुवित्तको साढे दुई लाख बोनस सेयर सूचीकृत
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको २ लाख ४८ हजार ८८० कित्ता बोनस सेयर सूचीकृत भएको छ । बुधबार मात्रै संस्थाको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । नुवाकोटको ककनीमा केन्द्रिय कार्यालय रहेको संस्थाको हालसम्म २३ लाख २२ हजार ८८० कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको छ । बजारमा संस्थाको सेयर मूल्य प्रतिकित्ता ७३० रुपैयाँ रहेको छ ।
भिडोल डिलर्स मिट २०२० थाइल्याण्डको पतायामा सम्पन्न
काठमाडाैं । भिडोल लुब्रिकेन्ट्स ब्राण्डको लागि विगत ५ वर्षदेखि टाइड वाटर आयल कम्पनी (इण्डिया) लिमिटेडको आधिकारीक आयातकर्ता र वितरकको रुपमा भी.जी ल्युव प्रा.लि. रहेको छ । भिडोल ब्राण्डले विश्वको धेरै महत्वपूर्ण लुब्रिकेन्ट बजारहरुमा लामो इतिहास बोकेको छ । विश्वभरी लाखौं सवारी चालकहरुले एक न एक पटक तिनीहरुका कार, मिनिभ्यान, एसयूभी, ट्रक, मोटरसाइकल, कमर्शियल र रिक्रियसनल गाडीहरुमा भिडोल लुब्रिकेन्ट प्रयोग गरेका हुन्छन् । सन् १९२८ देखि टाइड वाटर भारतीय लुब्रिकेन्ट्स उद्योगमा अग्रणी खेलाडीको रुपमा उभिन सफल छ । यसले भिडोल ब्राण्डको लुब्रिकेन्ट्स उत्पादन र बजारीकरण गर्दछ । यसका ६० वितरक, ६५० भन्दा बढि प्रत्यक्ष डिलरहरु र ५० हजार भन्दा बढि खुद्रा आउटलेटहरु छन् । यसको मोटरवाहन उत्पादनको भण्डारमा ट्रकहरु, ट्र्याक्टरहरु, वाणिज्य सवारीहरु, प्यासेन्जर कारहरु र टू अथवा थ्री व्हिलरहरुको लागि इञ्जिन तेलहरु समावेश छन् । यसले इञ्जिन ओयल, गियर ओयल, ट्रान्सिमिशन ओयल, कुल्यान्ट्स र अटोमोवाइलका लागि ग्रीसहरु पनि उत्पादन गर्दछ । यसको नेटवर्क अन्तर्गत् भारतभरी ५ ओटा प्लान्टहरु र १३ ओटा डिपोहरु पर्दछन् । टाइड वाटर ओयलले जिनियस ओयल अटोमोटिव र औद्योगिक उपकरण क्षेत्रका केही प्रतिष्ठित ब्राण्डहरु जस्तै रोयल इन्फिल्ड, हिरो, होण्डा, यामाहा, कोबेल्को, महिन्द्रा अर्थ मास्टर्स, आइसर, इसुजु, होण्डा कार्स, रेनो, बीएमडब्लू, मर्सिडिज बेन्ज इत्यादीहरुमा आपुर्ति गर्दछ । भी.जी. ल्यूब प्रा.लि. विशाल समूहको एउटा हिस्सा हो । भिडोल लुब्रिकेन्ट डिलर मिट २०२० जनवरी ३०, २०२० मा होटल बेभर्ली प्लाजा, पताया, थाइल्याण्डमा आयोजना गरिएको थियो । कार्यक्रम पछि भिडोल इन्टरनेशनल बिजनेशका जनरल म्यानेजर भरत प्रधान, सीईओ विवेक विजुक्छे र व्यवसाय प्रमुख दिनेश खनालले प्रस्तुतीकरण गरे । प्रस्तुतीकरणमा विश्वभर भिडोलको यात्रा देखाइएको थियो । यसले एक शताब्दीभन्दा लामो इतिहास देखायो । भरत प्रधानले नयाँ लुब्रिकेन्ट प्याक प्रस्तुत गरे । यसैबीच व्यवसाय प्रमुख खनालले बजारमा नयाँ योजना ल्याए । प्रस्तुतीकरण पश्चात् अन्तर्क्रियात्मक प्रश्न र उत्तरहरुको पालो आयो जहाँ डिलरले उनीहरुको व्यवसाय विस्तार गर्ने अवसर पाए । मनोरन्जनका लागि सबै सहभागिहरुलाई खेल खेलाइएको थियो जसमा ३ जना विजेताहरुका लागि नगद पुरस्कारको व्यवस्था पनि गरिएको थियो । आर्थिक वर्ष ७५/७६ को विश्लेषण अनुसार नेपालका भिडोल लुब्रिकेन्ट्सका सबै डिलरलाई एप्रिसिएशन टोकन हस्तान्तरण गरिएको थियो र तिनीहरुको प्रदर्शनका आधारमा वर्ग अलग गरिएको थियो । टू व्हिलर, पीसीएमओ, डीईओ, गियर र ट्रान्समिशन तथा जिनियस ओयल तर्फ उत्कृष्ट प्रदर्षकको श्रेणीमा सिखर लिंक ट्रेडिङ्ग ललितपुर, सृजना अटो सेवा धरान, वानस्टप अटोमोवाइल धनगढी, सृजना अटो सेवा, सिखर लिंक ट्रेडिङ्ग क्रमशः परेका थिए । यस बीचमा अर्को टोकन पनि समग्र प्रदर्षकलाई प्रदान गरिएको थियो । रामजानकी जनकपुरले कास्य सर्वश्रेष्ठ बिक्रेता डिलर, सिखर लिंक ट्रेडिङ्गले सिल्वर बेस्ट सेलिंग डिलर र सृजना अटो सर्भिसले उत्कृष्ट प्रदर्षकको श्रेणी प्राप्त गरेर गोल्ड ट्रफी जितेका थिए ।
काेराेना भाइरसकाे असर कच्चा तेलमा, चीनमा मात्रै २० प्रतिशतले माग घट्यो
काठमाडाैं । कोरोना भाइरसको प्रकोप बढेसँगै त्यसकाे असर कच्चा तेलको व्यापारमा परेको छ । यसकाे प्रकाेपले कच्चा तेलकाे मागमा गिरावटका आएको जनाइएको छ । तेलकाे माग घटेसँगै यसको मूल्यमा पनि गिरावट आएको छ । कोरोना भाइरसको विश्वब्यापी संक्रमणमा आएको बिस्तारसँगै पछिल्लो समयमा विश्व पर्यटनमा सबैभन्दा बढी टेवा पुर्याइरहेका चीनियाँ नागरिकहरुको यात्राविश्वभरी प्रतिबन्धीत जस्तै बनेको छ । यसैगरी चीनमा शैक्षिक संस्थाहरु, कार्यालय, कर्पोरेट संस्था तथा कलकारखना बन्द हुँदा प्रतिदिन १४ करोड ब्यारल पेट्रोलियम पदार्थ खपत गर्ने चीनको दैनिक खपत दरमा ठूलो मात्राले कमी आएको छ । चीन संसारमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको खपत गर्ने दोश्रो राष्ट्र हो । कोरोना भाइसरको प्रकोपसँगै विभिन्न देशहरुले चीनसँगको हवाइ सम्पर्कलाई स्थगित गरेका र चीन भित्रकै विभिन्न प्रान्तहरुबीच कायम गरिएको यात्रा प्रतिबन्धका कारण सबैभन्दा ठूलो नकारात्मक असर हवाइ इन्धनको बिक्रीमा देखिएको छ । जुन अझै बढ्दै जाने सम्भावना रहेको छ । ब्लुम्बर्गको एक रिपोर्टअनुसार हाल चीनमा कच्चा तेलको माग २० प्रतिशतले घटेको छु जुन बेलायत र इटालीले संयुक्त रुपमा एक दिनमा खपतगर्ने कच्चा तेलको जम्मा परिमाण बराबर हो । कच्चा तेलमा आएको गिरावटले विश्व अर्थतन्त्रमा कस्तो असर गर्ला ? कच्चा तेलमा आएको भारी गिरावटले चीनको ब्यापार गतिविधीमा मन्दी ल्याउने छ । जसको कारण पछिल्लो तीन दशकयता सुस्त भएको चिनिया आर्थिक बृद्धिलाई थप निस्तेज पार्नेछ । कोरोना भाइरसको प्रकोपको कारण चीनको आर्थिक वृद्धि सुरुका तीन महिनासम्म ५ प्रतिशतभन्दाकम रहने जनाएका छन् । चीन हाल विश्वको सबैभन्दा दोश्रो ठूलो अर्थतन्त्र हुनुका साथसाथै विश्व ब्यापी आर्थिक बृद्धिको प्रमुख बाहक हो । यस राष्ट्रको अर्थतन्त्रमा पर्ने कुनै पनि नकारात्मक प्रभावका कारण विश्वको कुनै पनि अर्थतन्त्र अछुतो नरहने विश्लेषकहरुले बताएका छन् । ठूला तेल उत्पादक राष्ट्र सदस्यहरुले थप उत्पादन कटौतीगर्नका लागि गृहकार्य गरिरहेको जनाइएको छ । त्यसो त अन्तर्राष्ट्रिय बजारमा तेलका मूल्यमा आएको गिरावटका कारण उनीहरुले सन् २०१६ देखि नै पेट्रोलियम पदार्थको उत्पादनलाई कम गर्दै आइरहेका छन् ।
ज्योति लाईफ इन्स्योरेन्सले बीमितलाई दियो २० लाख रुपैयाँ
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले घातक रोग उपचार गर्न बीमित सलिम श्रेष्ठलाई २० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । इन्स्योरेन्सले दोलखा घर भई बनेपा, काभ्रे बस्ने कम्पनीका बीमित श्रेष्ठलाई बीमा सम्झौता अनुसार घातक रोगको उपचार सुविधा बीमाङ्क वापत सो मात्राको रकम प्रदान गरेको हो । नीज बीमितले २०७६ साल आषाढमा बीस लाख रुपैयाँ बिमाङ्कको घातक रोग सुविधा सहितको “ज्योति सुरक्षित भविष्य योजना” बीमालेख खरिद गरेका थिए । सोही बमोजिम उनले बीमा सुविधा वापत उपचारको लागि उक्त रकम पाएका हुन् । कम्पनीले सर्वाधिक ३५ वटा घातक रोगहरुको लागि ५० लाख रुपैयाँसम्मको घातक रोग उपचार सुविधा सहित जीवन बीमा योजना जारी गरिसकेको छ । रकम हस्तान्तरणको क्रममा कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले कम्पनीले संयोगबस विश्व क्यान्सर दिवसकै दिन यसरी घातक रोग लागेका बिमितलाई उपचार खर्च दिन पाउँदा खुसी लागेको बताएका छन् । साथै, आगामी दिनहरुमा बीमितहरुलाई अझ स्तरिय सेवा दिने प्रतिबद्धता व्यक्त गर्ने उनले बताएका छन् ।
ललिता निवासको जग्गा धितोमा साढे २ अर्ब कर्जा, ऋण दिने बैंकलाई कारबाही गर्न अख्तियारको पत्र
काठमाडौं । सरकारी स्वामित्वमा हुनुपर्ने बालुवाटारको ललिता निवासको जग्गा धितोमा २ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सो जग्गा प्रकरणमा छानविन गरेको अख्तियारले आज (२२ माघ) विशेष अदालतमा मुद्दा दायर गर्दै दोषीमाथि कारबाही, विगो तथा जरिबाना र जग्गा फिर्ताको माग गरेको छ । यस्तै, अख्तियारले सो जग्गा धितोमा विभिन्न बैंक वा वित्तीय संस्थाले कर्जा प्रवाह गरेकोले त्यस्ता बैंक वित्तीय संस्थालाई पनि कारबाही गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने निर्णय गरेको छ । ‘प्रस्तुत मुद्दासँग सम्बन्धित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गाहरु व्यक्तिविशेषको नामबाट २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपैयाँभन्दा बढीको धितो पारित भई विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट अरबौंको कर्जा प्रवाह भएको देखिएको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको अरबौंको निक्षेप सुरक्षण गर्ने समेतको प्रयोजनका लागि कानून बमोजिम आवश्यक कारबाही गर्नको लागि नेपाल राष्ट्र बैंकलाई लेखी पठाउने,’ अख्तियारको निर्णयमा उल्लेख छ । सो जग्गा धितो राखेर कुन कुन बैंकले कति रकम कसकसलाई ऋण प्रवाह गरेका छन् भन्ने विषयमा अख्तियारले केही खुलाएको छैन । सम्बन्धित सामग्री अख्तियारले यसकारण विष्णु पौडेल विरुद्ध मुद्दा दायर गरेन ललिता निवास जग्गा प्रकरणः पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध मुद्दा
ह्याण्ड्स अन नेपालले मलेसियाको उप-प्रधानमन्त्रीबाट पायाे प्रशंसा पत्र
काठमाडौं । ह्याण्ड्स अन नेपालले मलेसियाको उप-प्रधानमन्त्रीबाट प्रशंसा पत्र पाएको छ । ह्याण्ड्स अन नेपालले इन्साफ मलेसियासँगको सहकार्यकाे लागि उप प्रधानमन्त्रीबाट प्रशंसा पत्र पाएको हो । ईन्साफ मलेसियाको कोलालम्पुर स्थित सांग्रिला होटलमा भएको १० औं वार्षिकउत्सवको अवसरमा ह्याण्ड्स अन नेपालका निर्देशक काल बहादुर तामाङलाई उक्त पत्र प्रदान गरिएको थियो । ईन्साफ मलेसिया गरिबी र प्रकोपमा चपेटामा परेका समुदायलाई प्राविधिक रुपमा सहयोग गर्न गैर नाफा मुलक मलेसियन संस्था हो । ह्याण्ड्स अन नेपाल र ईन्साफ मलेसियाले सन् २०१८ देखि नेपालको ग्रामिण क्षेत्रमा विद्यालय निमार्ण र शिक्षालाई समर्थन गर्दै काम गर्दै आईरहेको छ । हालसम्म उनीहरुले मिलेर ३ वटा ग्रामीण विद्यालय बनाईसकेका छन् । यस्तै नुवाकोट, काभ्रेपलान्चोक र रामेछापका गरिब विद्यार्थीहरुलाई लुगा, जुत्ता, स्टेसनरी, फर्निचरहरु वितरण गरेका छन् । यस्तै यी संस्थाहरुले विद्यार्थीहरुलाई खाजा प्रदान गर्न फुड प्रोग्राम पनि संचालन गर्दै आएका छन् ।