डिशहोमले गर्यो विश्वकप क्रिकेट लिग दुईको मुख्य प्रायोजन
काठमाडौं । डिशहोमले विश्वकप क्रिकेट लिग २ को मुख्य प्रायोजन गरेको छ । आगामी माघ २९ गतेसम्म किर्तिपुरमा चल्ने त्रिकोणात्मक क्रिकेट सिरिजको प्रायोजक डिशहोमले गरेको हो । नेपाल सहित ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा जम्मा ६ खेल हुनेछन् । हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ । त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ गते हुने भएको छ ।
देशभरका ५४ विमानस्थलः कुन विमानस्थल कस्तो अवस्थामा ?
काठमाडौं । सरकारले पर्यटन प्रवद्र्धनका लागि विमानस्थलको स्तरोन्नतीमा तिव्रता दिएको छ । पछिल्लो समय सरकारले देशभरका ५४ विमानस्थलको विस्तार तथा स्तरोन्नतीमा तिव्रता दिएको हो । देशभर रहेका ५४ विमानस्थलहरुमध्ये कुनै निर्माणको प्रक्रियामा छन् भने कुनै निर्माण भइसकेका छन् । निर्माण भइसकेका कतिपय विमानस्थलहरु भौगलिक कठिनाई, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा नियमित रुपमा सञ्चालनमा आउन सकेका छैनन्। अहिले देशका सातवटै प्रदेशमा हवाई सुविधा छ । मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भएपनि यसका चुनौती भने यथावथ छन् । अधिकाशं जिल्लामा विमानस्थल निर्माण भएका छन् तर ति विमानस्थलहरु प्रभावकारी रुपमा सञ्चालनमा आउन नसक्नु समस्याका रुपमा रहदैं आएको छ । विमानस्थल निर्माण भएका ठाउँहरुको भौगलिक कठिनाई, जनसंख्याको चापको कमि, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी र नियमित बन्न नसेको नियामक निकाय बताउँछन् । नेपाल नागरिक उडड्यन प्राधिकरणले बुधबार देशभरका विमानस्थलहरुको बारेमा जानकारी गराउँदै सरकारले विमानस्थल स्तरोन्नतीमा बढी प्राथमिकता दिएको बताएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले प्राधिकरणले पछिल्लो साढे दुई वर्षमा हवाई पूर्वाधारमा मात्र ८९ अर्ब रुपैयाँ र जग्गा प्राप्तीमा ३३ अर्ब रुपैयाँ खर्च भएको बताए । अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणमा भने ४९ अर्ब रुपैयाँ खर्च भइसकेको छ । आन्तरिक विमानस्थलतर्फ साढे दुई वर्षमा जग्गा प्राप्तीमा १ अर्ब र पूर्वाधार निर्माणमा ६ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ । ५ वर्षमा ३ खर्ब ३५ अर्ब लगानी गर्ने सरकारले आगामी ५ वर्षभित्र विमानस्थलको स्तरोन्नतीका लागि ३ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गर्ने बताएको छ । नेपाल उड्डयन प्राधिकरणले देशको देशको हवाई पूर्वाधार र त्यसको निर्माणका लागि सो रकम खर्च हुने बताएको हो । प्राधिकरणले गर्दै आएको काम र आगामी गर्ने कामको बारेमा जानकारी गराउँदै प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले आगामी ५ वर्षभित्र अन्तराष्ट्रिय हवाई पूर्वाधारतर्फ २ खर्ब ५० अर्ब रुपैयाँ खर्च गर्ने योजना भएको बताए । । त्यसमा १ खर्ब ५० अर्ब रुपैयाँ निजगढ विमानस्थलको पहिलो चरणको काम सम्पन्न गर्नमा हुनेछ । यस्तै, आन्तरिकतर्फ हवाई पूर्वाधार निर्माणमा ४६ अर्ब रुपैयाँ खर्च हुने भएको छ । जग्गा अधिग्रहणका लागि भने आगामी ५ वर्षभित्र आन्तरिक विमानस्थलका लागि ३४ अर्ब ६० करोड रुपैयाँ लागत लाग्ने भएको छ । यो रकम विराटनगर, नेपालगन्ज, धनगढी र महेन्द्रनगर विमानस्थललाई क्षेत्रिय अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमा रुपान्तरण गर्न खर्च हुने प्राधिकरणले जनाएको छ । यस्तै अन्तर्राष्ट्रियतर्फ जग्गा प्राप्तीमा ५ अर्ब रुपैयाँ खर्च हुने अधिकारीले बताए । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले तराईका विमानस्थल विस्तार, दुर्गमका विमानस्थलमा रनवेलाई नियमित मर्मत गर्ने गरी काम भइरहेको बताए । विभिन्न विमानस्थलमा टर्मिनल बिल्डिङ निर्माण गर्ने काम पनि भइरहेको उनले बताए । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार हाल देशभर ५४ विमानस्थल मध्ये ३३ वटा सञ्चालनमा छन् भने १६ वटा विमानस्थल बन्द अवस्थामा छन् । हाल देशमा एक अन्तराष्ट्रिय विमानस्थल, चार डोमेस्टिक हब विमानस्थल र ४४ घरेलु विमानस्थलहरु रहेका छन् । जसमा ६ वटा डोमेस्टिक र तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माणाधीन अवस्थामा छन् । तीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन सरकारले तीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाे छ । सरकारले अहिले त्रिभुवन, नीजगढ र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाे छ । यस सँगै पोखरा क्षेत्रिय विमानस्थल पनि निर्माण भइरहेकाे छ । हाल गौतमबुद्धकाे भाैतिक प्रगति ८५ प्रतिशत र ५५ प्रतिशत वित्तीय प्रगति भएकाे जनाइएकाे छ । यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तराेन्नती गर्ने विभिन्न कार्य सकिएकाे छ भने केही काम गर्न बाँकी रहेकाे बताइएकाे छ । नीजगढ विमानस्थलकाे भने जग्गा अधिग्रहणको र मुआब्जा दिने काम भइरहेको प्राधिकरणले जनाएको छ । यस्तै, पाेखरा क्षेत्रिय विमानस्थलकाे पनि निर्माण कार्य भइरहेकाे छ । याे विमानस्थल पनि समायावधि भित्रै सकिने बताइएकाे छ । देशभरका विमानस्थलहरु मध्ये ३३ विमानस्थल मात्र कालोपत्रे भएका छन् । हाल बैतडी, बझाङ, डोल्पा, मसिनेचौर, डोटी, कलिकोट र लामिडाँडा विमानस्थल कालोपत्रे भइरहेका छन् । यस्तै, रात्री उडान सुविधा रहेका विमानस्थलहरु मध्ये त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, बिराटनगर, चन्द्रगढी, धनगढी, गौतमबुद्ध भैरहवा, नेपालगञ्ज र सिमरा रहेका छन् भने अन्यमा रात्री उडान गर्न सक्ने प्रविधी छैन । १६ विमानस्थल बन्द अवस्थामा हाल देशभर १६ वटा विमानस्थलहरु बन्द अवस्थामा छन् । बन्द अवस्थामा रहेका विमानस्थलहरुमा बैतडी विमानस्थल, बझाङको चैनपुर विमानस्थल, दार्चुला विमानस्थल, ढोरपाटन विमानस्थल, डोल्पा मासिनेचौर विमानस्थल र डोटी विमानस्थल रहेका छन् । यस्तै जीरी विमानस्थल,कंगेलडाँडाँ, लाङटाङ विमानस्थल, मनाङ विमानस्थल, मेघौली विमानस्थल, कञ्चनपुरको महेन्द्रनगर विमानस्थल र पालुङटार विमानस्थल बन्द अवस्थामा रहेका छन् । रोल्पा विमानस्थल, स्याङबोचे विमानस्थल र टीकापुर विमानस्थल पनि हाल बन्द अवस्थामा छन् । जुन विमानस्थलहरुमा हवाई सुविधा नियमित भए पर्यटकहरु बढ्नेसँगै त्यहाँको आर्थिक तथा भौतिक अवस्थामा सुधार हुने अवस्था छ । महानिर्देशक पाेखरेलले अब तिनीहरुको निर्माण प्रक्रिया सकेर छिट्टै नै सञ्चालनमा ल्याउने बताए । बन्द भएका कतिपय विमानस्थलमा परिक्षण उडान गरेर पनि निर्माणको कार्य सुरु भइसकेको उनले बताए । कुन प्रदेशमा कति विमानस्थल ? हाल देशका सबै प्रदेशमा विमानस्थलको पहुँच छ । विमानस्थलहरु हुँदाहुँदै पनि नियमित हवाई सुविधा नहुँदा स्थानिय नागरिकहरुलेसँगै पर्यटकहरुले पनि सास्ती खेप्नु पर्ने अवस्था छ । प्रदेश एकमा १२ विमानस्थल, प्रदेश दुईमा तीन विमानस्थल , प्रदेश तीनमा ६ विमानस्थल, गण्डकी प्रदेशमा पाँच विमानस्थल, प्रदेश पाँचमा पाँच विमानस्थल, कर्णाली प्रदेशमा नौ विमानस्थल र सुदूरपश्चिम प्रदेशमा नौ वटा विमानस्थलहरु रहेका छन् । भौगलिक र अतिरिक्त सुविधाका रुपले विकट मानिने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि जिल्लापिच्छे विमानस्थल भएपनि तिनीहरु सञ्चालनमा भने आउन सकेका छैनन् । कर्णाली प्रदेशका सबै जिल्लाहरुमा मोटरबाटो पुग्न सकेको छैन । ती विमानस्थलहरु विमानस्थलमा मात्रै सिमित छन् । कर्णालीका ९ वटा विमानस्थलहरुमा अहिले पनि नियमित उडान नहुँदा त्यहाँका स्थानियहरु समस्यामा छन् । सर्वसाधरणका लागि सहुलियत दरमा हवाई भाडा र भरपर्दो सेवा भने अझै पुगिसकेको छैन । कर्णाली प्रदेशका विमानस्थलहरु हुम्लाको सिमिकोट,जुम्ला विमानस्थल,सुर्खेत विमानस्थल, रुकुमको सल्ले विमानस्थल, रुकुमको चौरजहारी विमानस्थल, डोल्पा विमानस्थल, मुगुको रारा विमानस्थल अहिले सञ्चालनमा भएपनि नियमित उडान भने भर्न सकेको छैनन् । यस्तै, सुदूरपञ्चिमका विमानस्थलको हालत पनि त्यस्तै छ । सुदूरपश्चिमका विमानस्थलहरु मध्ये कैलालीको धनगढी, अछामको साँफेबगर र बाजुराको कोल्टी विमानस्थल सञ्चालनमा छन् । जसमा धनगढी विमानस्थल नियमित रुपमा उडान भर्दै आएको छ भने साँफेबगर र बाजुरको कोल्टी विमानस्थलले नियमित रुपमा उडान भर्न सकेका छैनन् । दार्चुलाको गोकुलेश्वर, डोटीको दिपायल,अछामको कमल बजार, बझाङको चैनपुर, बैतडीको पाटन, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टिकापुर विमानस्थल बन्द अवस्थामा छन् । सुदूरपश्चिमा नेपालकै सुन्दर ठाउँ खप्तड, बडिमालिका, अपि, साइपाल, मानसरोवर लगायतका पर्यटकिय स्थलहरु भएपनि त्यहाँ पुग्न हवाई सुविधा नहुँदा विदेशी पर्यटकहरुलाई गन्तव्यमा पुग्न समस्या हुने गरेको छ । वार्षिक एक करोड विदेशी पर्यटक ल्याउने गरी पूर्वाधार निर्माण भइरहेको छ: मन्त्री भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वार्षिक एक करोड विदेशी पर्यटक ल्याउने गरी सरकारले पूर्वाधार निर्माणमा काम गरिरहेको बताएका छन्। प्राधिकरणकाे उक्त कार्यक्रममा बाेल्दै उनले सरकारले विमानस्थलाई प्राथमिकताका साथ हरेर पूर्वाधारमा काम गरिरहेको बताएका हुन्। आउने पाँच वर्षमा नागरिक उड्यनमा ठूलो क्रान्ति गर्छौं,अहिले हामी चीनको उदाहरण दिन्छौँ, हामीले पनि १८ महिनामा गर्ने काम ५ महिनामा गरेका छौँ,’ उनले भने । मन्त्री भट्टराईले अबको पाँच वर्षभित्र निजगढ विमानस्थल सञ्चालनमा ल्याउने गरी काम गर्ने बताए । निजगढ विमानस्थल अबको पाँच वर्षभित्र सञ्चालन गर्ने योजना छ। यो गेमचेन्जर आयोजना होु, उनले भने । हवाई सुविधाको कमिले पनि आन्तरिक र बाह्य पर्यटकहरुको आगमन को संख्या न्युन छ । देशभर ५४ वटा विमानस्थलहरु भएपनि तिनीहरु सञ्चालनमा नआउँदा देशको भौतिक पक्षमा प्रभाव परेको छ । देशका सुन्दर पर्यटकीय स्थलहरुसम्म हवाई सुविधा नपुग्दा पर्यटन क्षेत्रमा धेरै प्रभाव परेको छ । विदेशी पर्यटकहरुको आगमन तथा यात्रा गर्ने महत्वपूर्ण साधन हवाई भएपनि देशका सुन्दर तथा पर्यटकीय स्थलहरुमा हवाई सेवा नहुँदा पर्यटकहरुलाई समेत समस्या हुने गरेको छ । नेपाल सरकारले यतखेर भ्रमण वर्ष २०२० काे सुरुवात गरेकाे छ । मुलुका सुन्दर पर्यटकीय स्थलहरुसम्म हवाई सेवा नपुगेकाेले पनि भ्रमण वर्षलाई नकरात्मक प्रभाव पार्न सक्ने अवस्था छ ।
गुणस्तरीय र प्रतिस्पर्धी प्लाइउड उत्पादन गर्न आवश्यकः अर्थमन्त्री डा. खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गुणस्तरीय र प्रतिस्पर्धी प्लाइउड उत्पादन गर्न जोड दिनुपर्ने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा नेपाल प्लाइउड उत्पादन संघका पदाधिकारीहरुसंगको भेटघाटमा अर्थमन्त्री डा. खतिवडाले नेपाली बजारमा प्लाइउडको माग उच्च भएकोले उत्पादनको गुणस्तरियतामा ध्यान दिनुपर्ने बताएका हुन् । प्लाइउडमा नेपाल आत्मनिर्भर भएकोमा खुशी व्यक्त गर्दै अर्थमन्त्री डा. खतिवडाले कु-काठजन्य वनस्पतिलाई नगदे बालीको रुपमा विकास गरी वैज्ञानिक वन व्यवस्थापनमा सरकारले गृहकार्य गरिरहेकोे बताए । अर्थमन्त्री डा. खतिवडाले स्वदेशी उद्योगलाई संरक्षण र सहयोग गरी मुलुकमा रोजगारी सृजना गर्ने, व्यापार घाटा कम गर्ने सरकारको नीति भएको उल्लेख गरेका छन् । साथै, प्लाइउड उत्पादक संघले राखेका समस्याहरुका बारेमा छलफल गरी समाधान गरिने उनले बताए । हाल नेपालमा प्लाइउड सम्बन्धी ६७ वटा उद्योगहरु चालु अवस्थामा रहेका छन् । यसमा करिब ३० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको तथा प्लाइउडमा नेपाल आत्मनिर्भर रहेको नेपाल प्लाइउड उत्पादन संघका अध्यक्ष प्रदिप कुमार चौधरीले बताए ।
नयाँ वर्षको शुरुवातसँगै कोका–कोला मोः मोः उत्सव
काठमाडौं । नयाँ वर्ष लागेसँगै कोका–कोला मोःमोःउत्सवको पाचौंँ संस्करणको लागि जुटेको छ । हरेक वर्षको शुरुवातमा आयोजना हुने कोका–कोला मोःमोःउत्सव विगत ४ वर्षदेखि पर्वको रुपमा स्थापित भएको थियो । उक्त अभियानको ट्याग लाइन “खाना जे होला स्वाद बढाउन कोका–कोला” रहेको छ, जसको अर्थ खाना जे भएपनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणहरुलाई उत्सवमा परिवर्तन गर्दछ । कोका–कोलासँग विभिन्न परिकारका खानाहरुको उत्सव मनाउँदै, आफ्ना उपभोक्ताहरुलाई हृदयमा राखेर, खाना र नेपाली संस्कृतिको महत्वमा केन्द्रित रहेर कोका–कोलाको नयाँ अभियान उपभोक्ता केन्द्रित रहेको छ । नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “कोका–कोला र खानाको संयोजन विश्वव्यापी परम्परा हो । नेपालमा पनि हामीले “खाना जे होला स्वाद बढाउन कोका–कोला” नाराका साथ दिर्घकालन रुपमा कोका–कोला र खानाको अभियान सार्वजनिक गरेका छौं । यस अभियानको दौरान हामीले कोकलाई लोकप्रिय नेपाली खानाहरुसँग जोडेर धेरै कार्यक्रमहरु संचालन गर्नेछौं ।” बोटलर्स नेपाल प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “हामी कोका–कोला मोःमोःउत्सवको पाचौं संस्करणमा पुग्दा निकै खुसी छौं, जहाँ हामीले कोक र नेपालीहरुको लोकप्रिय खाना मःमः को संयोजनको उत्सव मनाउछौं । यो वर्षको नारा “खाना जे होला स्वाद बढाउन कोका–कोला” ले हाम्रा उपभोक्ताहरुलाई कोकको स्वाद र विभिन्न परिकारको स्वादिष्ट खानाहरुसँग जोड्दछ ।” अभियानमा विभिन्न लोकप्रिय अभिनेत्री सम्रागी आर.एल. शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन सामेल छन् ।मोःमोःउत्सव अभियाको हिस्सा अन्तर्गत विभिन्न रेष्टुरेन्टहरुले कोक र मःमःको कम्बोमा आकर्षक अफरहरु प्रदान गरिरहेको छ ।
सिद्धार्थ बैंकको लमही शाखाको उद्घाटन
काठमाडौं । सिद्धार्थ बैंकले बुधबार दाङ अवस्थित लमही शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । उक्त शाखाको उद्घाटन लमही नगरपालिकाका मेयर कुल बहादुर के।सीले गरेका हुन् । बैंकले उक्त शाखा २०७५ असार २५ गतेदेखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो । बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०३ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
प्रभु बैंकले एकैदिन खोल्यो ३ नयाँ शाखा, संख्या २०८ पुग्यो
काठमाडौं । प्रभु बैंकले एकैदिन थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा कास्कीको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैसाथ ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । बुधबार पोखरा महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक शाखा कार्यालयको बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ती शेरचनले उद्घाटन गरेका हुन् । पोखरा महानगरपालिकाको वडा नं. १३ स्थित बाँझापाटन शाखा कार्यालयको पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष लेख बहादुर तामाङ्गले उद्घाटन गरेका हुन् । त्यसैगरी, पोखरा महानगरपालिका वडा नं. २६ स्थित अर्घौंचोक शाखा कार्यालयको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले उद्घाटन गरेका हुन् । आजैदेखि सञ्चालनमा आएका प्रभु बैंक पोखरा महानगरपालिकास्थित हरिचोक, अर्घौँचोक र बाँझापाटन शाखा कार्यालयबाट स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । साथै, समग्र पोखरा महानगरपालिकको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । पोखरा महानगरपालिकाकामा सञ्चालनमा ल्याएका थप ३ वटा शाखा कार्यालयहरु पश्चात् अब प्रभु बैंकको शाखा कार्यालय संख्या २०८ पुगेको छ । हालसम्म बैंकले १५७ वटा एटीएम, ४३ वटा एक्स्टेन्सन काउण्टरहरुको सञ्जाल सहित देशका विभिन्न १७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याई सर्वसाधारणहरुलई अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
ज्योति विकास बैंकले आँखा सम्बन्धि अनुसन्धानमा तिलगंगालाई गर्याे सहयाेग
काठमाडौं ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई आँखा सम्बन्धि अनुसन्धानमा सहयोग गरेको छ । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको “जीरि आई स्टडि” को लागि ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वको लागि स्थापित विकास प्रवर्द्धन कोषमार्फत १०लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो । ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट सिओओ यमबहादुर महतले उक्त सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको जिरेल समुदायको आँखा अनुसन्धानमार्फत गरिएको तिलगंगाको आनुवंशिक अनुसन्धानमा ज्योति विकास बैंकले सहयोग गरेको हो। सन् २०१४बाट शुरुवात भएको यस अध्ययनमा आँखा सम्बन्धि रोगहरुको समयसँग बद्लिंदो ढाँचाको पनि अध्ययन हुँदै आएको छ। समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आएको छ । आगामी दिनहरुमा पनि समाजमा योगदान पुर्याउने कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिबद्धता गरेको छ। हालसम्म बैंककाे १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४८ वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म २ लाख ६० हजारभन्दा बढि खाताबाट ३४ अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई २८अर्व रुपैयाँभन्दा बढि लगानी गरेको बैंकले जानकारी दिएको छ ।
ललिता निवास जग्गा प्रकरणः पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध मुद्दा
काठमाडौं । बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री सहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरु विरुद्द आयोगले बुधबार मुद्दा दर्ता गरेकाे हाे । नेपाली कांग्रेसका उप-सभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, डम्बर श्रेष्ठऽ चन्द्रदेव जोशी र आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्गदा दर्रता गरेकाे हाे । विशेष अदालतका उप-रजिष्ट्रार एवं सूचना अधिकारी इन्दु कुमार खड्का ले तीन जना पूर्व मन्त्रीसहित १ सय ७५ भ्रष्टाचार मुद्दा दायर भएको बताए । पूर्वसचिवहरू दीप बस्न्यात, दिनेशहरि अधिकारी र छबिराज पन्तविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । गच्छदार भौतिक पूर्वाधारमन्त्री र बस्न्यात मन्त्रालयका सचिव भएकाे समयमा ललितानिवासको करीब ११४ रोपनी सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिका नाममा पुगेको थियो । सरकारले २८ फागुन २०७५ मा मन्त्रिपरिषद्बाट निर्णय गरेर यो प्रकरणमा अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जिम्मा दिएको थियो । सीआईबीले १७ माघमा सरकारलाई प्रतिवेदन बुझाएको थियो । कोसँग कति बिगो दाबी ? प्रतिवादी संख्याः १ सय ७५ जना बिगो दाबी माग गरिएको संख्याः ६५ जना तीन पूर्वमन्त्रीहरू विजयकुमार गच्छदारः ९ करोड ७५ लाख ७५ हजार रुपैयाँ डम्बर श्रेष्ठः ९ करोड ७५ लाख ७५ हजार रुपैयाँ चन्द्रदेव जोशीः ७ करोड ८ लाख ४८ हजार रुपैयाँ पूर्वसचिवहरू दीप बस्न्यातः ९ करोड ६५ लाख ७६ हजार (बस्न्यात अख्तियारकै पूर्व प्रमुख आयुक्त पनि हुन्) दिनेशराज अधिकारीः ७ करोड ८ लाख ४८ हजार रुपैयाँ छविराज पन्तः ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ भाटभटेनी संचालक मीनबहादुर गुरुङः ११ करोड २० लाख रुपैयाँ शोभाकान्त ढकालः ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ अख्तियारले पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई र माधव नेपाल एवं पूर्वमुख्यसचिव लिलामणि पौडेलविरुद्ध भने मुद्दा नचलाउने निर्णय गरेको छ । मन्त्रिपरिषदकाे निर्णय अख्तियारकाे कार्यक्षेत्रमा नपर्ने भएकाेले उनीहरू दुबै विरूद्ध मुद्दा नचलेकाे हाे ।