विकासन्युज

सिभिल बैंकको कारोबार रकम र सेयर मूल्य दुबैमा वृद्धि, यस्तो छ कारण

काठमाडौं । बुधबारको बजारमा सिभिल बैंकको सबैभन्दा बढी करोबार भएको छ । बैंकको एकैदिन १३ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमसँगै बढी कमाउनेको अग्रस्थानमा पनि बैंक दोश्रो स्थानमा रहेको छ । दिनभरको बजारमा बैंकको सेयर मूल्य ८.७८ प्रतिशतले बढेर प्रतिकित्ता १६१ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १३ रुपैयाँ बढी हाे । बुधबारको बजारमा बैंकको सेयर प्रतिकित्ता न्यूनतम १४८ रुपैयाँदेखि अधिकतम ६२ रुपैयाँमा किनबेच भएको छ । दोश्रो त्रैमासको वित्तीय विवरणका अनुसार बैंकले अधिकांश सूचकमा सुधार गरेको छ । त्यसको सकारात्मक प्रभाव बुधबारकाे सेयर बजारमा परेकाे काराेबार रकम र सेयर मूल्य बढ्नुले संकेत गरेकाे छ । ‘६ महिनामा वाणिज्य बैंकहरुले गरेको ग्रोथ रेटको आधारमा सिभिल बैंक आठौं स्थानमा पर्न सफल भएको छ । जसको प्रभाव आजको बजारमा परेको हो ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले विकासन्युजसँग भने- ‘साथै, हामीले आगामी असारसम्ममा एनपीएल घटाएर २ प्रतिशतसम्ममा झार्ने लक्ष्य राखेका छाैं ।’ बैंकका सीईओ गुरुङका अनुसार गत आर्थिक वर्ष (आव) को तुलनामा चालु आवको पुस मसान्तमा बैंकको निष्कृय कर्जा (एनपीएल) घटेको छ । पुस मसान्तसम्ममा बैंकको एनपीएल घटेर २.६५ प्रतिशतमा झरेको छ । गत असारमा बैंकको एनपीएल २.९३ प्रतिशत थियो । गतअसार मसान्तसम्ममा ४६ अर्ब निक्षेप संकलन गरेको बैंकले पुस मसान्तसम्ममा ५२ अर्ब रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जा परिचालन ४४ अर्बबाट बढेर ५० अर्ब पुगेको छ । पुस मसान्तसम्ममा बैंकले ३१ करोड ६७ लाख रुपैयाँ नाफा गरेकाे छ । समग्रमा बुधबारको बजार सामान्य ५.३१ अंकले बढेर १३४२.३६ अंकमा पुगेको छ । दिनभरको बजारमा १७७ कम्पनीको कूल एक अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समूह अन्तर्गत सबैभन्दा बढी जीवन बीमा ३८.२६ अंकले बढेको छ । उत्पादन मूलक समूह सबैभन्दा बढी अर्थात ११ अंकले ओरालो लागेको छ । बजारमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.९७ प्रतिशत कमाएका छन् । नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी अर्थात ६.२५ प्रतिशत गुमाएका छन् ।

विरोध गर्ने कर्मचारीप्रति मन्त्री बास्कोटाको आक्रोश: बेलुका भोज खान त आउनुहुन्छ हाेला नि ! उतै हेरौंला

काठमाडौं । सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमका कर्मचारीप्रति आक्रोश पोखेका छन् । नेपाल टेलिकमको १६औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले टेलिकमको फोरजी विस्तार गर्ने समयमा कर्मचारीहरुले यो असम्भव भएको र हावा गफ भएको भन्दै विरोध जनाएका कारण उनी कर्मचारीप्रति आक्रोशित बनेका हुन् । ‘मैले फोरजीको कुरा गर्दा मन्त्रीले फोस्रो कुरा गर्यो भन्थे, तर अहिले करिब फोरजीको काम सकिएको छ, सबै दंग छन,’उनले भने । उनले विरोध गरिरहेका कर्मचारीलाई व्यङ्य गर्दै बेलुकामा भोजमा आउनु हुन्छ, उतै हेरौंला भन्ने कटाक्ष गरे । विरोध प्रदर्शन गर्ने कर्मचारीप्रति कडा शैलीमा प्रस्तुत हुँदै उनले रचनात्मक सुझावहरु ग्रहण गरिने तर राजनीतिका लागि राजनीति सह्य हुन नसक्ने सुनाए । कर्मचारीप्रति आक्रोशित हुँदै उनले सबैलाई अनुशासित हुन सुझाव दिए । अनुशासन र नियममा रहनुस्, अन्यथा यसको हिसाब किताब राखिनेछ, चुनौती सम्झिए चुनौती सम्झिनुस् म पराजित गर्छु’, उनले भने । असन्तुष्ट कर्मचारीलाई उनले के देशभरि फोरजी सेवा जानु हुँदैनथ्यो भन्ने प्रश्न गरे । कर्मचारी युनियनको प्रदर्शन कम्पनीमा क्रियाशील नेपाल टेलिकम वकर्स युनियनले कम्पनी व्यवस्थाले पर्याप्त नाफा वृद्धि गर्न नसकेको र कर्मचारीको वृद्धि विकासलाई प्राथमिकता नदिएको भन्दै कार्यक्रमस्थलमै आफ्ना मागसहितको प्ले कार्ड देखाएर विरोध जनाएका छन् । यस्तै कार्यक्रममा उनले टेलिकमलाई गोरखकाली टायर र टिम्बर कर्पाेरेसन जस्तो घाटामा जान नदिने बताएका छन् । ‘सरकारले हात हालेको सबै क्षेत्र घाटामा नै जान्छ भन्ने हुँदैन, सरकारले टेलिकमलाई कान्छो छोराछोरी सरह माया गरेको छ, यतिखेर यसको नाफा हुन्छ,’ उनले भने । कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका ७७ वटै जिल्लामा हालै फोरजी सेवा सञ्चालन गरेको बताए । कार्यक्रममा विभिन्न सेवा र विधामा उत्कृष्ट सेवा प्रदायक र कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

नेपाल आइडलमा इसेवाबाट भोटिङ गर्न सकिने

काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलमा इसेवाबाट भोटिङ गर्न सकिने भएको छ । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा यसपटक इसेवामार्फंत भोटिङ गर्न सकिने भएको हो । इसेवाको एण्ड्रोइड तथा आइओएस मोबाईल एप्स्मार्फत आफुलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ । प्रतियोगीलाई एक पटकमा न्यूनतम एक भोट देखि अधिकतम एक हजार भोट गर्न सकिनेछ । भोटिङ शुक्रबार बेलुकी ८ ः३० बजेदेखि सोमबार मध्यान्ह १२ बजेसम्म गर्न सकिन्छ । नेपाल आइडलमा अहिले टप ११ प्रतियोगीले प्रतिश्पर्धा गरिरहेका छन् । प्रतियोगीतामा झापाकी रचना रिमाल, मोरङकी सज्जा चौलागाई, बर्दियाका प्रविण बेडवाल, पोखराका निशान बुडुजा,पोखराकै मुसकान रानाभाट,हेटौडाकी मिग्मा लामा,काठमाडोकी मेघा श्रेष्ठ,पोखराकी ममता गुरूङ, बर्दिवासका किरण कुमार भुजेल,चितवनका केभिन तामाङ, कैलालीका कमल सोभले प्रतिश्पर्धा गरिरहेका छन् । नेपालका चर्चित रियालिटी शो नेपाल आइडलको यो तेस्रो संस्करण हो । पहिलो संस्करणमा पोखराका बुद्ध लामा र दोस्रो संस्करणमा कैलालीका रवि ओड नेपाल आइडल बनेका थिए । इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक शर्माको निधन

काठमाडाैं । नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्माको निधन भएको छ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो । शर्मा मुटु र मिर्गाैलासम्बन्धी रोगबाट ग्रसित थिए । नेपाल टेलिभिजनका संस्थापकमध्ये एक रहेका ७२ वर्षीय शर्मा त्यहाँ समाचार प्रस्तोतादेखि नायब महाप्रबन्धक, महाप्रबन्धक भएका थिए ।   विसं २०४२ पुस १४ गते टेलिभिजनको प्रशारण गर्दा उनी पहिलो प्रस्तोता थिए । उनी टेलिभिजनका अगुवाका रुपमा चिनिन्थे । उनले  रेडियो नेपालमा समाचारवाचक र गोरखापत्रमा समेत काम गरिसकेका छन् । इलामको फिक्कलमा जन्मिएका शर्माको श्रीमती र दुई छोरा छन्। शर्मा परिवारसहित नयाँ बानेश्वरमा बस्दै आएका थिए ।

समाजिक मूल्यमा आधारित भएर पत्रकारिता गर्नुपर्छः अर्थमन्त्री खतिवडा

काठमाडाैं । अर्थमन्त्री युवराज खतिवडाले आम सञ्चारका माध्यमबाट सरकारले गरेका राम्रा कामको पर्याप्त प्रचार हुन नसकेको बताएका छन् । बल्खुमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास गर्दै उनले सञ्चारमाध्यमले नागरिकमा जागरण ल्याउने र सरकारले गरेका राम्रा कामको प्रचार आवश्यक रहेको बताए । अर्थमन्त्री खतिवडाले नैतिक र समाजिक मूल्यमा आधारित भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै नैतिक मूल्य र मान्यतालाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिएका छन् । ‘पत्रकारिताको अध्ययनमा प्रविधिको प्रयोगलाई बढाउनु पर्दछ । डिजिटल प्रविधिसहितको भवन निर्माण यसैको सङ्केत हो’, उनले भने, ‘नयाँ र डिजिटल मिडियाको प्रयोग सञ्चारमाध्यमलाई विश्वसनीय बनाउदै लगेको छ ।’ अर्थमन्त्री खतिवडाले डिजिटल मिडियाको बढ्दो प्रयोगले छापा माध्यमको लोकप्रियता घट्ने हो कि भन्ने चिन्ता व्याप्त छ तर छापा माध्यमको आफ्नो छुट्टै महत्व रहेकाले यसको विश्वसनीयता नघट्ने विश्वास व्यक्त गरे । उनले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एउटै संस्थाका रुपमा विकास गर्ने गरी ऐन निर्माण गर्न लागिएको जानकारी दिदैं खोज अनुसन्धान र अन्वेषणमूलक शिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेकाले यसका लागि विश्वविद्यालय अनुदान आयोगलाई पर्याप्त बजेट उपलव्ध गराउन लागेको बताएका छन् । ‘प्राविधिक, वैज्ञानिक र व्यवसायिक शिक्षामा सरकारको सहयोग रहन्छ’ उनले भने, ‘शिक्षाको विकासका लागि सरकारले नीजि क्षेत्रसँग पनि आवश्यक सहकार्य गर्दै अघि बढ्छ ।’ उनले सरकारले सबै स्थानीय तहसम्म इन्टरनेटको पहुँच पुर्याउन लागेको जानकारी पनि दिएका छन् । त्रिविका पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग प्रमुख चिरञ्जीवि खनालले २१ करोड ५५ लाख ९५ हजार लागतमा उक्त भवन निर्माण हुन लागेको जानकारी दिए । उनले विभागमा जनशक्ति अभावका कारण कार्यसम्पादनमा समस्या आउने गरेको उल्लेख गर्दै आवश्यक जनशक्तिको व्यवस्था गरी काम कारवाहीलाई प्रभावकारी बनाइने बताए । इन्जिनियरिङ अध्ययन संस्थानका परामर्श सेवाका प्रमुख नारायण गौतमले पत्रकारिताका विविधि आयमलाई सङ्केत गर्ने गरी भवनको डिजाइन तयार गरिएको बताए । उनका अनुसार नयाँ बन्ने भवनमा पुस्तकालय, प्रयोगशालासहित ७० जना विद्यार्थी अट्ने कक्षा कोठा र रेडियो, टेलिभिजन प्रशारण हुने प्रविधि जडान गर्न मिल्ने व्यवस्था गरिएको छ । भवन निर्माण समितिका संयोजक देवराज अर्यालका अनुसार दुई वर्षमा बन्ने भवन साढे चार तलाको हुनेछ ।रासस

वार्षिक एक करोड विदेशी पर्यटक ल्याउने गरी पूर्वाधार निर्माण भइरहेकाे छ: मन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वार्षिक एक करोड विदेशी पर्यटक ल्याउने गरी सरकारले पूर्वाधार निर्माणमा काम गरिरहेको बताएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार  गरेको पत्रकार सम्मेलनमा बोल्दै  उनले सरकारले विमानस्थलाई प्राथमिकताका साथ हरेर पूर्वाधारमा काम गरिरहेको बताएका हुन्। आउने पाँच वर्षमा नागरिक उड्यनमा ठूलो क्रान्ति गर्छौं,अहिले हामी चीनको उदाहरण दिन्छौँ, हामीले पनि १८ महिनामा गर्ने काम ५ महिनामा गरेका छौँ,’ उनले भने । अबको पाँच वर्षमा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो लगानी गर्दैछौँ। मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विकासका लागि जग्गाअधिग्रहणमा ५ अर्ब र पूर्वधार निर्माणमा २ खर्ब ५० अर्ब खर्च गर्ने योजना रहेको बताए । भट्टराईले आन्तरिक विमानस्थललाई मजबुत बनाउन पनि ठूलो लगानी गरिने जानकारी दिए। आन्तरिक विमानस्थल स्तरोन्‍नति र विस्तारका लागि ४६ अर्ब रुपैयाँ खर्च गर्ने योजना रहेको उनले सुनाए यसका लागि जग्गा अधिग्रहणमा सरकारले ३४ अर्ब ६० करोड खर्च गर्ने तयारी गरेको छ। मन्त्री भट्टराईले तराईका सबै विमानस्थलको धावनमार्गमा एटीआर ७२ विमान अवतरण गराउने गरी पूर्वाधार विस्तार गरिने जानकारी दिए।  पाँच वर्षमा निजगढ मन्त्री भट्टराईले अबको पाँच वर्षभित्र निजगढ विमानस्थल सञ्चालनमा ल्याउने गरी काम गर्ने बताए । निजगढ विमानस्थल अबको पाँच वर्षभित्र सञ्चालन गर्ने योजना छ। यो गेमचेन्जर आयोजना होु, उनले भने । निजगढमा धेरैले मुआब्जाको पैसा लिइ सकेकाे उनकाे भनाइ छ। मुआब्जा दिन बाँकीकाे पनि प्रक्रिया भइरहेकाे उनले बताए । देशभरका ५४ विमानस्थल रहेको जानकारी दिँदै उनले पाँच वर्षमा नागरिक उड्यनमा ठूलो क्रान्ति हुने बताए ।

पहुँच विस्तारसँगै गुणस्तर सुधार्न टेलिकमलाई निर्देशन

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पहुँचको विस्तारसँगै गुणस्तर सुधारमा लाग्न नेपाल टेलिकमको व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिएका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले प्रतिस्पर्धा र नयाँ चुनौतीलाई स्वीकारेर जनताको सेवामा समर्पित हुन आग्रह गरेका हुन् । मन्त्री बाँस्कोटाले गत वर्ष देशभर फोरजी सेवा पुर्याउने सङ्कल्प गर्दा नपत्याइए पनि हाल देशभर सो सेवा पुगेकामा खुशी व्यक्त गर्दै कम्पनीको स्वस्थ्य जीवनका निम्ति इमानदार भएर आफ्नो सम्पूर्ण क्षमता देशका लागि प्रयोग गर्न आग्रह गरे । वार्षिकोत्सवस्थलमा कम्पनीमा क्रियाशील एक कर्मचारी युनियनले विरोध जनाएकामा असन्तोष व्यक्त गर्दै मन्त्री बाँस्कोटाले प्रश्न गर्दै भने, आमाको जन्मदिनका दिन मङ्गलधुन बजाउने कि शोकधुन बजाउने ? यो त गाईजात्रा देखियो । पञ्चायतको टालोजस्तो पहेँलो टालो बाँधेर विरोध गरिनु कुनै बहादुरी होइन, निराशाको सन्देश हो । मन्त्री बाँस्कोटाले लोकसेवा आयोगमा पुगेपछि टेलिकमको कर्मचारी विनियमावली आउने भएकाले विरोधका नाममा राजनीति नगर्न र राजनीति गर्नु छ भने पार्टी कार्यालयतिर जान सुझाव दिए । उनले भने- अहिले सरकारले यो संस्थालाई कान्छा छोरा, छोरीजस्तै माया गरेको छ, यो बेलामा पनि उँभो लाग्न सकेन भने यो संस्था आफ्नो मलामी आफैं जान्छ । हामी यस्ता गाईजात्रा पन्छाउँदै देशको विकासमा लाग्नेछौँ । विरोध प्रदर्शन गर्ने कर्मचारीप्रति कडा शैलीमा प्रस्तुत हुँदै मन्त्री बाँस्कोटाले भने, ‘रचनात्मक सुझावहरु ग्रहण गरिन्छ तर राजनीतिका लागि राजनीति सह्य हुन सक्दैन । अनुशासन र नियममा रहनुस् । अन्यथा यसको हिसाबकिताब राम्रैसँग राखिनेछ । चुनौती सम्झिए चुनौती सम्झिनुस् । राजनीतिका लागि राजनीति गर्ने विध्वांशात्मक विरोधलाई म पराजित गर्छु ।’ असन्तुष्ट कर्मचारीलाई मन्त्री बाँस्कोटाको प्रश्न थियो, के देशभरि फोरजी सेवा जानु हुँदैनथ्यो ? त्यसकारण तपार्ईंहरु दुःखी हुनुभयो ? संस्थाको छवि माथि जान लागेको हो भनेर चिन्ता लागेको हो ? सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीलगायत सहभागी कार्यक्रममा उनले देशकै समृद्धिको कुरा गरेर हिँडेको सरकार दुई–चारजनाको विरोधबाट नहच्किने र गाईजात्रा पन्छाउँदै देशको समृद्धितर्फ अघि बढ्छ । कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका ७७ वटै जिल्लामा हालै फोरजी सेवा सञ्चालन गरेको, सूचना प्रविधि महामार्ग निर्माणको काम भइरहेको र राष्ट्र निर्माणमा सञ्चार क्षेत्रबाट अग्रणी भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा टेलिकमको वार्षिकोत्सवसँग सम्बन्धित स्मारिका विमोचन गरिएको थियो भने विभिन्न सेवा र विधामा उत्कृष्ट सेवा प्रदायक र कर्मचारीलाई पुरस्कृत गरिएको थियो । कर्मचारी युनियनको प्रदर्शन कम्पनीमा क्रियाशील नेपाल टेलिकम वकर्स युनियनले कम्पनी व्यवस्थाले पर्याप्त नाफा वृद्धि गर्न नसकेको र कर्मचारीको वृत्ति विकासका काममा प्राथमिकता नदिएको भन्दै कार्यक्रमस्थलमा आफ्ना मागसहितको प्ले कार्ड भिरेर विरोध गरेको छ । सो युनियनका वाग्मती प्रदेशका अध्यक्ष अच्युतकुमार ओझाले ट्रेड युनियन अधिकारको रक्षाका लागि आफूहरुले शान्तिपूर्ण खबरदारी गरेको बताए । रासस

हिमालयन जनरल इन्स्योरेन्सको लाभांशदर घट्यो, अब कति दिन्छ ?

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको प्रस्तावित लाभांश दर घटेको छ । कम्पनीको गत आर्थिक वर्षको परिमार्जित वित्तीय विवरण अनुसार प्रस्तावित लाभांशदर घटेर ७.७५ प्रतिशतमा झरेको छ । पुस १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद लाभांश वितरण दिने प्रस्ताव गरेको थियो । तर उक्त प्रस्तावलाई बीमा समितिले परिमार्जन गरेको हो । यससँगै अब कम्पनीले बीमा समितिको स्वीकृति पश्चात हालको चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब २ करोड रुपैयाँ रहेको छ । ४ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ६ करोड रुपैयाँ नाघ्ने छ । उक्त नयाँ लाभांश प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।