प्रतितोला ८ सय रुपैयाँले घट्यो सुन, ७५ हजार २ सयमा काराेबार
काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै मंगलबार अर्थात साताको तेस्रो दिन प्रतितोला ७५ हजार ७ सय रुपैयाँ कारोबार भएको तेजावी बुधबार ७४ हजार ९ सय रुपैयाँ कारोबार भइरहेको छ । भने चाँदी मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेर ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।
ज्यान मार्ने उद्योग मुद्दामा फरार वडाध्यक्ष यादव पक्राउ
राजविराज । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् । फरार प्रतिवादी वडाध्यक्ष यादवलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी साविक जमुनिमधेपुरा गाविस–९ हाल रुपनी गाउँपालिका–४ का २५ वर्षीय शत्रुधन साह र साहकी कान्छी श्रीमती २० वर्षीया सजनीकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रुपनी गाउँपालिका–४ का ३० वर्षीया प्रमिलाकुमारी साहले दिएको जाहेरीको आधारमा बहुविवाह मुद्दाका फरार अरोपीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विद्युत् चोरीको आरोपमा २४ पक्राउ सप्तरीमा विद्युत् चोरी गरेको आरोपमा २४ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त टोलीले विद्युत् चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । टोलीले जिल्लाको बोदेबरसाइन क्षेत्रबाट १६ र राजगढ गाउँपालिकाबाट आठ गरी २४ जनालाई विद्युत् चोरीको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेका २४ जनालाई विद्युत् चुहावट नियन्त्रण विनियमावली, २०५९ अनुसार हानी नोक्सानी एवं क्षतिपूर्ति दाखिला गराई छाडिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ ।
एउटै वडामा दूध बिक्रीबाट मासिक एक करोड आम्दानी
कास्की । माछापुच्छ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमूना बन्दै गएको छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन् । गाउँपालिकाको वडा नं ३ घाचोक र वडा नं ४ लाहाचोकमा सबैभन्दा बढी दूध उत्पादन हुने गर्दछ । लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको छ । लाहाचोकका कृषकले दूध बिक्रीबाट दैनिक रु तीन लाख ५० हजार तथा मासिक एक करोड पाँच लाख आम्दानी गर्दै आएको गाउँपालिका पशु सेवा शाखाका प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए। दूध बिक्रीबाट आयआर्जन हुन थालेपछि कृषकहरु क्रमशः व्यावसायिक पशुपालनमा आकर्षित हुने क्रम बढेको छ । विगतमा एक/दुई वटा पशुपालन गरेर घरायसी उपभोग गर्दै आएका कृषकले समेत व्यावसायिक पशुपालन शुरु गरेका छन् । गाउँपालिका दूधको ‘हब’ बन्दै गएको छ । विशेषगरी यहाँको लाहाचोक र घाचोकमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएसँगै दूध बेचेर कृषकले राम्रो आयआर्जन गरेका छन् । अन्य वडामा समेत उत्पादन बढिरहेको शाखा प्रमुख पौडेलले बताए । उत्पादित दूध वडामा रहेका दुग्ध सहकारीले सङ्कलन गरेर बजार पुर्याउँछन् भने कही फार्म तथा कृषकले आफ्नै साधनबाट बजार लैजाने गरेका छन् । सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरनक्षेत्र, नजिकको बजारलगायतका कारणबाट पशुपालनका लागि सहज वातावरण बनेको हो । जति पनि उत्पादित दूध सहजै नजिकको पोखरा बजारमा खपत हुने भएकाले समेत कृषक पशुपालनमा आकर्षित बनेको देखिन्छ । शुरुमा लाहाचोकका युवा इमानबहादुर गुरुङले देशकै ठूलो भैँसीफार्म शुरु गरेपछि अन्य स्थानीयवासीसमेत उनको सिको गर्दै पशुपालनमा आकर्षित भएको वडा नं ४ का वडाध्यक्ष पूर्णबहादुर शाहीले बताए । गुरुङको फार्ममा अहिले ३०० भैँसी छन् । विसं २०७३ मा उनी राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट समेत पुरस्कृत भएका थिए । वडा नं ३ को घाचोकबाट समेत दैनिक तीन हजार ५०० लिटर दूध बजारमा बिक्री हुने गरेको बताइन्छ । यहाँ वडामा रहेका दुई दुग्ध उत्पादक सहकारीका माध्यमबाट कृषकले आफ्नो उत्पादन बजारसम्म पुर्याउँदै आएका छन् । गाउँपालिकाभरबाट समग्रमा दैनिक १० हजार ५०० लिटर दूध बजारसम्म जाने गरेको पशु सेवा शाखाको तथ्याङ्क छ । नौ वडा रहेको गाउँपालिकाको वडा नं ६ धितालबाट दैनिक एक हजार लिटर बिक्री हुने गरेको छ । त्यसैगरी रिभान, माछापुच्छ्रे र सार्दीखोलबाट दैनिक ३०० लिटरका दरले दूध बिक्री हुने गरेको तथ्याङ्क छ । त्यस्तै धम्पुस र ल्वाङघलेलबाट गरी दैनिक ५०० लिटर दूध बिक्री हुने गरेको बताइन्छ । समग्रमा दूध बिक्री गरेर गाउँपालिकामा कृषकले दैनिक रु सात लाख ३५ हजार तथा मासिक रु दुई करोड २० लाख हाराहारीमा आम्दानी गर्ने गरेको तथ्याङ्क छ । गाईको दूध प्रतिलिटर रु ५५ तथा भैँसीको रु ८५ मा बिक्री भए पनि औसतमा प्रतिलिटर रु ७० मूल्य पर्ने गरेको छ । दुग्ध उत्पादक कृषक गोपाल पोखरेलले पशु आहारामा बर्सेनि मूल्यवृद्धि हुँदासमेत दूधको मूल्य लामो समयदेखि नबढ्दा कृषक मर्कामा परेको बताउँछन् । दाना, घाँस तथा परालको बर्षेनी मूल्यवृद्धि हुँदासमेत कृषकले उत्पादन गरेको दूधको मूल्य लामो समयदेखि बढ्न सकेको छैन । यसबाट पीडित भएकाे उनले सुनाए। ‘पर्यटन, कृषि, ऊर्जा र पूर्वाधार, समृद्ध माछापुच्छ्रे मूल आधार’ को लक्ष्यसहित गाउँपालिकाले कृषि विकासलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष कर्ण गुरुङ बताउँछन् । चालू आर्थिक वर्षमा कृषकको मनोबल उच्च राख्दै कृषिको व्यावसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि रु ६२ लाख ५० हजार बजेट विनियोजन गरी काम भइरहेको उनले जानकारी दिए । गाउँपालिकामा स्थानीय गाई, भैँसी, उन्नत भैँसी, गाई, बाख्रा, भेडा, चौँरी तथा घोडा गरी २५ हजार ३६७ सङ्ख्यामा पशु रहेको बताइन्छ ।रासस
नेपालमा पाँच महिनामै ७०० युनिट बिक्री भयो हुण्डाइको ‘भेन्यु’ एसयूभी, सुरुवाती मूल्य ३४ लाख ९६ हजार
काठमाडाैं । हुण्डाईको ‘भेन्यु’ नेपाली अटोमोवाइल बजारमा प्रशिद्ध नाम हो । हुण्डाइको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाली बजारमा भेन्युको इ, एस, एसएक्स र एसएक्स डिसिटि गरी ४ अलग भेरियन्टहरु बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले भेन्युको सुरुवाती मूल्य भने ३४ लाख ९६ हजार रुपैयाँ तोकेको छ । हुण्डाईको एसयूभी चढ्ने चाहना त हुने तर क्रेटा अलि महँगो लाग्नेहरुका लागि भेन्यु एउटा राम्रो विकल्प बनेको छ । नेपाली बजारमा क्रेटाको मूल्य ४७ लाख रुपैयाँ बाट शुरु छ । कम्पनीका अनुसार नेपाली बजारमा भेन्यु भित्र्याएको अहिले ५ महिना पूरा भयो भने हालसम्म ७०० युनिट जति बिक्री पनि भइसकेको छ । भेन्यु एउटा ५–डोर सबकम्प्याक्ट एसयूभी हो । यस कारमा प्रोजेक्टर फग ल्याम्प, इलेक्ट्रिकली अपरेट गर्न मिल्ने आउटसाइड रियर भ्यू मिरर, स्मार्ट इलेक्ट्रिक सनरुफ, एयर प्युरिफायर, वायरलेस फोन चार्जर, रियर एसी भेन्ट्स, ग्लोभबक्स कुलिङ्ग, आर्मरेस्ट, मल्टिफङ्कसन स्टेयरिङ्ग लगायतका फिचरहरु समावेश गरिएको छ । त्यसैगरी सेफ्टी फिचर्सका रुपमा चाहिँ ड्राइवर र पेसेन्जर एयरब्याग्स, एबीएस, इलेक्ट्रोनिक ब्रेकफोर्स डिष्ट्रिब्युसन, इञ्जिन इमोविलाइजर, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टी लक, पावर डोर लक, अटो क्र्यास नोटिफिकेशन, हाइ स्पिड अलर्ट, आइडल अलर्ट, इम्प्याक्ट सेन्सिङ्ग अटो डोर अनलक, सिटबेल्ट रिमाइन्डर, स्पिड सेन्सिङ्ग अटो डोर, हिल एसिस्ट लगायतका विशेषता रहेका छन् । भेन्यूमा प्रयोग गरिएको ११९७ सीसी पेट्रोल इञ्जिनले ८२ बीएचपीको पावर र ११५ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले १७.५० केएमपीएलको माइलेज दिन्छ । ५ सिटर यस कारको ग्राउण्ड क्लियरेन्स १९५ मिलिमिटर, बुट स्पेश २९५ लिटर र फ्युल ट्याङ्क क्यापासिटी चाहिँ ४५ लिटरको रहेको छ । त्यसैगरी यस कारका आगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएका छन् । कम्पनीका अनुसार अहिलेको विशेष अफर अन्तर्गत यस कारको खरिदमा १ लाख ५० हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सकिनेछ । नेपाली बजारमा उपलब्ध भेन्युका भेरियन्टहरुको मूल्य भने यस प्रकार रहेको छः
सिभिल बैंकको थप नयाँ शाखा गोरखाको धार्चेमा
काठमाडौं । सिभिल बैंकले शाखा विस्तार गर्ने क्रममा गोरखाको धार्चेमा नयाँ शाखा स्थापना गरेको छ । उक्त धार्चे शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले गरेका हुन् । उद्घाटनमामा गभर्नर डा. नेपालले मुलुकका सबै ठाउँमा बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने उल्लेख गर्दै मुलुकका दुर्गम स्थानसम्म वित्तीय पहुँच पुर्याउने लक्ष्यलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको जानकारी दिए । मुलुकका ७५३ वटै स्थानीय तहमा वित्तीय पहुँच पुर्याउने राष्ट्र बैंकको नीतिगत अभियानमा सिभिल बैंकको धार्चे शाखाले अर्को ईंटा थपेको बताए । समारोहमा धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले धार्चे जस्तो दुर्गम ठाउँमा सिभिल बैंकले शाखा स्थापना गरेकोमा खुशी व्यक्त गर्दै उक्त शाखाले धार्चे गाउँपालिकाका जनताको घरदैलोसम्म वित्तीय सेवा उपलब्ध गराइ स्थानीय जनतामा उद्यमशीलताको विकास र जीवनस्तर उकास्नमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । यसैगरी, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले धार्चे शाखाले यस क्षेत्रमा प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराई उद्यम, व्यवसायको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले ग्रामीण अर्थतन्त्र उकास्नका निम्ति कृषि, पशुपालन, पर्यटन लगायतका क्षेत्रमा लगानी बढाउँदै ‘समृद्घ धार्चे’ को सपना साकार बनाउने लक्ष्यका साथ सहकार्य गरेर अघि बढ्ने भाव व्यक्त गरे । सिभिल बैंकमा हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहकहरु आबद्ध छन् । यस बैंकले रु.५२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु.५० अर्ब भन्दा बढी कर्जा लगानी गरेको छ । धार्चे शाखाको स्थापना सँगै सिभिल बैंकको गण्डकी प्रदेशमा १२ सहित नेपाल भर कुल शाखा संख्या १०३ पुगेकोे छ ।
एनबी बैंकको नाफा ८० करोड, निक्षेप करिब ५ अर्बले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल बंगलादेश (एनबी) बैंकले ८० करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा ७९ करोड ३३ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणका अनुसार बैंकको नाफा गत वर्षको तुलनामा १ करोड ४४ लाख रुपैयाँ नाफा बढेको छ । एनबी बैंकले सर्वसाधारणलाई ५७ अर्ब ९३ करोड ४६ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकले ५२ अर्ब ५१ करोड ९१ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो । गत पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको ६३ अर्ब १२ करोड ४३ लाख रुपैयाँ निक्षेप छ । गत वर्षको सोही अवधिमा बैंकसँग सर्वसाधारणको ५९ अर्ब ७६ करोड ४७ लाख रुपैयाँ निक्षेप थियो । गत पुस मसान्तसम्मा एनबी बैंकले ३ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २४ करोड १४ लाख रुपैयाँ व्याज आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्मा बैंकले २ अर्ब ३० करोड ४३ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो खर्च १ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ थियो । गत वर्षको पुस मसान्तसम्ममा १ अर्ब ३९ करोड ६५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको एनबी बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । बैंकको खराब कर्जा अनुपात १.९२ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा खराब कर्जा अनुपात १.७८ प्रतिशत थियो । कष्ट अफ फण्ड ७.३६ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा कष्ट अफ फण्ड ७.५८ प्रतिशत थियो । एनबीको कर्जा निक्षेप अनुपात ७२.९५ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा ७७.२९ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ । बैंकको आधार दर ९.९२ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो अनुपात १०.८२ प्रतिशत थियो । यस्तै, व्याज अन्तर (स्प्रेड) दर ४.८ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा व्याज अन्तर दर ५.१ प्रतिशत थियो । व्याज अन्तर कम भएको कारण बैंकको खुद व्याज आम्दानी घटेको छ भने नाफा पनि १ करोड ४४ लाख रुपैयाँ मात्रै बढेको छ ।
परिसंघका पदाधिकारी र स्वीजरल्याण्डका राजदूतबीच भेटवार्ता
काठमाडौं । नेपालका लागि स्वीजरल्याण्डका राजदूत महामहिम एलिजाबेथ भोन क्यापेलर ओस्वाल्ड र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच मंगलबार भेटवार्ता भएको छ । परिसंघको सचिवालयमा भएको भेतवार्तामा परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल स्वीजरल्याण्ड बीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउदै आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नु पर्ने समय आएको बताए । स्वीजरल्याण्डले नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका साथै विशेषतः नेपालको गलैँचाको उत्पादन र विकासका साथै प्राविधिक शिक्षामा गरिरहेको योगदानको चर्चा गर्दै अध्यक्ष मोरले यसलाई थप विस्तार गर्न सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको उल्लेख गरे । उत्पादनमुलक क्षेत्र, पूर्वाधार तथा पर्यटनका क्षेत्रमा लगानीका सम्भावनाहरु रहेको तर्फ अध्यक्षले राजदूतको ध्यानाकर्षण गराएका थिए । सो अवसरमा परिसंघका अध्यक्ष एमिरेट्स माननीय विनोद चौधरीले उद्योग र ऐतिहासिक औद्योगिक प्रतिष्ठानहरुको संरक्षण गर्न परिसंघले स्वीस दूतावाससँग सहकार्य गर्न सक्ने सम्भावना रहेको उल्लेख गरेका छन् । कार्यक्रममा राजदूत एलिजाबेथ भोन क्यापेलर ओस्वाल्डले स्वीजरल्याण्ड र नेपालको महत्वपूर्ण सम्बन्धलाई आर्थिक अवसरमा बदल्न सबै खाले लगानीका लागि उचित वातावरण तयार गर्नु आफ्नो प्राथमिकतामा रहको बताए । लगानी वातावरणमा देखिएका समस्या सुधारमा सहकार्य अघि बढाउने प्रतिवद्धता पनि राजदूत ओस्वाल्डले उल्लेख गरे । भेटवार्तामा परिसंघका प्रवुद्ध परिषद (थिंक ट्याङ्क) का संयोजक डा. शम्भुराम सिंखडालेले नेपालको राजनीतिक अवस्थामा आएको सुधारले लगानीको वातावरण बन्दै गएकाले यसको उपयोग गर्न स्वीस लगानीकर्ताहरुलाई प्रेरित गर्न पनि राजदूत समक्ष आग्रह गरेका थिए । ऊर्जा र अन्य पूर्वाधार परियोजना तथा नयाँ स्टार्टअप व्यापारमा समेत स्वीस लगानीकर्ताका लागि उपयुक्त समय आएको उनले उल्लेख गरिन् ।
हिमालयन बैंकको नाफा १ अर्ब ७४ करोड
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा हिमालयन बैंकले १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा हिमालयन बैंकले १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ६ महिनाको अपरिष्कृत वित्तीय विवरणका अनुसार हिमालयनको नाफा गत वर्षको ६ महिनाको तुलना यो वर्ष ३७ करोड ५४ लाख रुपैयाँ बढाएको छ । बैंकले सर्वसाधारण्मा ९७ अर्ब ७२ करोड ४ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा कर्जा तथा लगानी ९२ अर्ब ६९ करोड ७३ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा यो वर्ष बैंकको कर्जा तथा लगानी करिब ५ अर्ब रुपैयाँ बढेको देखिन्छ । हिमालयनमा सर्वसाधारणको १ खर्ब १२ अर्ब ७२ करोड ९१ लाख रुपैयाँ निक्षेप छ । गत वर्षको पुस मसान्तसम्ममा सो बैंकमा सर्वसाधारणको १ खर्ब ९ अर्ब ३८ करोड ७० लाख रुपैयाँ निक्षेप थियो । गत पुस मसान्तसम्ममा हिमालयन बैंकले ६ अर्ब १७ करोड ७१ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ५७ करोड २१ लाख रुपैयाँ व्याज आम्दानी गरेको थियो । हिमालयन बैंकले गत पुस मसान्तसम्ममा ३ अर्ब ५९ करोड ९० लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७ करोड ८७ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको पुस मसान्तसम्ममा २ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको हिमालयन बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५७ करोड ८० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । बैंकको खराब कर्जा अनुपात १.२८ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा खराब कर्जा अनुपात १.२५ प्रतिशत थियो । बैंकको कष्ट अफ फण्ड ६.३४ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा कष्ट अफ फण्ड ६.७३ प्रतिशत थियो । यस्तै, बैंकके आधार दर ८.९२ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा ९.११ प्रतिशत थियो । बैंकको कर्जा निक्षेप अनुपात ७३.९४ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा ७८.४५ प्रतिशत थियो । यस्तो अनुपात ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ । हिमालयन बैंकको व्याज अन्तर (स्प्रेड) दर ५.३२ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा व्याज अन्तर ३.९४ प्रतिशत थियो । आगामी असार मसान्तसम्ममा व्याज अन्तर ४.४ प्रतिशतमा ल्याइसक्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।