अटो एक्स्पो २०२०ः हिरोका तीन नयाँ इलेक्ट्रिक उत्पादन सार्वजनिक
काठमाडाैं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरोले भारतमा आज बाट सुरु भएको अटो एक्स्पो २०२० मा आफ्ना तीन नयाँ इलेक्ट्रिक उत्पादनहरुलाई प्रदर्शन गरेको छ । एई-४७ नामक मोटरसाइकल, एई-२९ तथा एई-८ नामक स्कुटर र त्यसैगरी एई-३ ई-ट्राइक नामक ट्राइसाइकल प्रदर्शन गरेको हिरोले पहिलेनै इलेक्ट्रिक वाहनतर्फ आफ्नो उपस्थिती जनाइसकेको थियो । यी तीन उत्पादनहरुको मूल्य भारतीय बजारमा ८० हजारको हाराहारी पर्ने अनुमान गरिएको छ । एई-४७ एई-४७ बाइकमा रिमुभेवल ४८ भोल्टको लिथियम-आयन ब्याट्री समावेश छ जसले फुल चार्ज हुन ४ घण्टाको समय लिन्छ । त्यसैगरी यसमा ४ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ जसले ८५ केएमपीएचको टपस्पिड प्रदान गर्न सक्दछ । इको र पावर गरी दुई राइडिङ्ग मोड दिइएको यस बाइकले इको मोडमा चाहिँ १६० किलोमिटरको रेञ्ज प्रदान गर्दछ भनेर कम्पनीले दावी गरेको छ । एई-४७ मा क्रउल एसिस्ट, क्रुज कन्ट्रोल र रिभर्स मोड लगायतका विशेषताहरु पनि समावेश छन् । यस बाइकको दुबै चक्काहरुमा डिस्क ब्रेक जडान गरिएको छ भने स्मार्टफोन कनेक्टिभिटी, रियल-टाइम ट्र्याकिङ्ग, जियो-फेन्सिङ्ग लगायतका फिचरहरु पनि दिइएका छन् । लञ्च पश्चात् यसले रिभोल्ट आरभी ४०० सँग प्रतिष्पर्धा गर्ने बताइएको छ । एई-२९ र एई-८ एई-२९ हाइ-स्पिड इलेक्ट्रिक स्कुटर सेग्मेन्ट अन्तर्गत् पर्दछ भने एई-८ चाहिँ लो-स्पिड सेग्मेन्ट अन्तर्गत पर्दछ । एई-२९ कम्फर्ट सिरिज अन्तर्गत्को स्कुटर हो भने एई-८ चाहिँ ट्रेन्ड सिरिज अन्तर्गत्को स्कुटर हो । यी दुवै स्कुटरहरुले फुल चार्जमा ८० किलोमिटरको रेञ्ज प्रदान गर्दछन् । थोरै प्रिमियम वर्गमा पर्ने एई-२९ स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी, एन्टी-थेफ्ट स्मार्ट लक, डिजिटल कन्सोल र मोवाइल चार्जर लगायतको विशेषता पनि समावेश गरिएको छ । एई-३ इ-ट्राइक हिरोले यस तीन चक्के वाहनलाई विजनेश टु विजनेश एप्लिकेशनको लागि लक्षित गरेर ल्याएको हो । एई-३ मा ३ किलोवाटआवरको लिथियम-आयन ब्याट्री दिइएको छ जसले फुल चार्जमा १०० किलोमिटरको रेञ्ज प्रदान गर्दछ । त्यसैगरी यसमा २५० वाटको इलेक्ट्रिक मोटर समावेश गरिएको छ र यसले ८० केएमपीएचको टपस्पिड प्रदान गर्दछ । एई-३ इ-ट्राइकमा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, मोवाइल चार्जर, वाक एसिस्ट, २६ केएमपीएचको स्पिड सहितको रिभर्स एसिस्ट र एप कनेक्टिभिटी लगायतका विशेषताहरु समावेश गरिएको छ ।
चीनले ७५ अर्ब डलर बराबरका अमेरिकी सामानमा कर कटौती गर्ने
बेइजिङ । चीनले ७५ अर्ब डलर बराबरका अमेरिकी सामानमा कर कटौती गर्ने बेइजिङ, २३ माघ (रासस-एएफपी) – चीनले अमेरिकाबाट आयात हुने करिब ७५ अर्ब डलर बराबरका सामानमा कर कटौती गर्ने घोषणा गरेको छ । गत फेब्रुअरी १४ मा चीनले करिब १५० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर वृद्धि गर्ने घोषणा गरेको थियो । चिनियाँ कर आयोगका अनुसार अमेरिकी प्रशासनले चिनियाँ वस्तुमा करवृद्धि गर्ने घोषणा गरेपछि त्यसको प्रतिशोध स्वरुप चीनले पनि गत वर्ष सेप्टेम्बरमा एक हजार ७०० भन्दा बढी किसिमका अमेरिकी वस्तुमा करवृद्धि गर्ने योजना सार्वजनिक गरेको थियो । यी करहरु ५ र १० प्रतिशत थिए । दश प्रतिशत करको दायरमा मुख्य रुपमा ताजा सामुद्रिक खाना, कुखुरा र सोयाबिन रहेका थिए । आयोगले जारी गरेको विज्ञप्तिमा चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धलाई स्वस्थ र स्थिर राख्ने प्रयत्न स्वरुप कर कटौती गरिएको उल्लेख छ । कर कटौतीको यो प्रस्ताव आगामी फेब्रुअरी १४ देखि नै लागू हुने आयोगको भनाई छ । अमेरिकी प्रशासनले पनि करिब १२० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा थप कर नलिने घोषणा गर्ने अपेक्षा गरिएको छ । तथापी विगतमा घोषणा गरिएका कतिपय करवृद्धिका प्रस्तावहरु यथावत रहने दुबै पक्षले जनाएका छन् । अमेरिका र चीनले गत जनवरीमा व्यापार युद्धलाई मत्थर बनाउन र समझदारी विकास गर्न आंशिक व्यापार सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । सम्झौतामा आगामी दुई वर्षभित्र २०० अर्ब अमेरिकी डलरभन्दा बढीका अतिरिक्त सामान चीनले आयात गर्ने उल्लेख छ । पहिलो चरणको आंशिक सम्झौता अनुसार, अमेरिकाले १२० अर्ब डलर मूल्य बराबरका चिनियाँ सामानमा लगाइने करलाई आधा कटौती गरी ७.५ प्रतिशत कायम गर्नेछ । गत डिसेम्बरमा अमेरिकी राष्ट्रपतिले चिनियाँ सामानमा १५ प्रतिशत करवृद्धि गर्ने घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय चीनसँगको सम्बन्ध निकै प्रगाढ रहेको र निरन्तर सुधारतर्फ अग्रसर भएको बताउँदै आएका छन् । रासस
९०० मेगावाटको अरुण तेस्रोमा २ नेपाली बैंकको १५ अर्ब लगानी
काठमाडौं । ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनामा २ नेपाली बैंकले १५ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । एसजेभीएन लिमिटेडले बनाउन लागेको सो आयोजनामा नविल बैंकले ५ अर्ब १२ करोड तथा एभरेष्ट बैंकले १० अर्ब २० करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको छ । लगानी बोर्डले हिजो (२२ माघ) वित्तीय व्यवस्थापनको स्वीकृति दिएलगत्तै कम्पनीले ऋण लगानी सम्बन्धि सम्झौता गरेको हो । सो आयोजनाको लागि भारतको एसबीआई बैंक, कानरा बैंक, पञ्जाब नेशनल बैंक, एक्जिम बैंक अफ इण्डिया र युनियन बैंकले गरी ८५ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता यसअघि नै भइसकेको छ । आयोजना निर्माणको काम हालसम्म ३० प्रतिशत सकिएको कम्पनीका अध्यक्ष एनएल शर्माले जानकारी दिए । आयोजना सन् २०२४ सम्ममा सम्पन्न भएर विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको भएपनि आयोजनासँग अनुभबी टीम रहेकोले लक्ष्यभन्दा अगाडि नै काम सक्ने अध्यक्ष शर्माले दाबी गरे । आयोजना निर्माता कम्पनी एसजेभीएन भारतमा जलविद्युत उत्पादनमा ३० बर्षभन्दा बढी अनुभव हासिल गरेको कम्पनी हो । तर, सो कम्पनीले नेपालमा भने अहिलेसम्म कुनै आयोजना बनाएको छैन । पूर्वी नेपालमा पर्ने अरुण नदीबाट नदी प्रवाहमा आधारित विद्युत उत्पादन गर्न लागिएको हो । आयोजनाले ७० मिटर अग्लो बाँध बनाएर करिब १२ किलोमिटरको हेडरेस टनेलबाट पानी झार्नेछ । यसरी पानी झार्दा ९ सय मेगावाट विद्युत उत्पादन हुने कम्पनीको भनाइ छ । आयोजनाले नेपाललाई करिब २२ प्रतिशत विजुली निःशुल्क दिनेछ भने विद्युत उत्पादन सुरु भएको २५ वर्षपछि सो आयोजना नेपाल सरकारको हुनेछ । यस्तै, आयोजना अवधिमै नेपालले रोयल्टीलगायतका शिर्षकबाट ३ खर्ब ३८ अर्ब ६६ करोड रुपैयाँभन्दा धेरै प्राप्त गर्ने आयोजनाको दाबी छ । नेपाल सरकारले ग्लोबल टेण्डरबाट सो आयोजना एसजेभीएनलाई दिएको थियो । सन् २०१४ मा लगानी बोर्डसँग आयोजना विकास सम्बन्धी सम्झौता भएको थियो । आयोजनाको नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले गत वर्ष शिलान्यास गरेका थिए । सो आयोजनाको लागि भारतीय बैंकले वार्षिक ८.२ प्रतिशत र नेपाली बैंकले ८.८ प्रतिशत व्याजमा ऋण दिनेछन् ।
बजार घट्दा तीन कम्पनीको मूल्यमा लाग्याे सर्किट ब्रेक
काठमाडौं । बिहीबारको सेयर बजार ८.६७ अंकले घटेर १३३३.६९ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६५ प्रतिशतले घटेको हो । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.८७ अंकले घटेर २८४.०५ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार एक अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार एक अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार दिनभरको बजारमा १७५ कम्पनीको २८ लाख एक हजार ८०३ कित्ता सेयर किनबेच भएको छ । बजारमा बढी कारोबार गर्नेको अग्रस्थानमा अधिकांश बीमा कम्पनीहरु रहेका छन् । सबैभन्दा बढी गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । बिहीबार जीवन बीमा र उत्पादनमूलक दुई समूहबाहेक बाँकी समूह राताम्मे देखिएका छन् । निर्जीवन बीमा समूह ८८, होटल २५, माइक्रोफाइनान्स १७, विकास बैंक ११ र बाँकी समूह सामान्य अंकले घटेका छन् । जीवन बीमा र उत्पादनमूलक समूह क्रमशः २३.८७ र १.६७ अंकले उकालो लागेका छन् । परिसूचक र कारोबार रकम दुबै घटेको बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट ब्रेक लागेको छ । ग्रीन डेभलपमेन्ट बैंकका र सम्वृद्धि फाइनान्स दुबै संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले करिब १० प्रतिशत अर्थात ९.९७ प्रतिशत कमाएका छन् ।
साढे ३ अर्बकाे ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्शियल बैंक, बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट नियुक्त
काठमाडौं । प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएकाे छ । त्यसका लागि बैंकले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बुधबार उक्त ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतपत्रमा प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर र आरविवि मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् । बैंकले साढे दश प्रतिशत ब्याजदरको आठ वर्षको समयावधिमा फिर्ता भुक्तानी गर्ने गरी रू एक हजार अंकित दरको ३५ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमा एक्काईस लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी (सामुहिक लगानीकोष समेतको) कित्ता सर्वसाधारणमा बिक्री गरिने छ ।
चीनबाट नागरिकलाई फर्काउन प्रधानमन्त्रीको निर्देशन, राख्नका लागि चार ठाँउ ताेकियाे
काठमाडौं । चीनको वुहानबाट फर्काइने नेपालीलाई उपत्यकाको चार ठाँउमा राख्ने निर्णय भएकाे छ । सरकारले नोवेल कोरोना भाइरसको उद्गम थलो चीनको वुहान तथा वरपरको शहरमा रहेका १ सय ८० जना नेपालीलाई क्वारेन्टाइनका लागि उपत्यकाको ४ ठाँउमा राख्ने निर्णय गरेकाे हाे । बैंठकबाट शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल छनोट गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बिहीबार बसेको बैठकले चार ठाँउ व्यवस्थित गरी नेपाल आउन चाहने विद्यार्थी र नागरिकहरुलाई ल्याउन निर्देशन दिएको हो । चीनबाट ल्याउने नेपालीलाई फर्काउने निर्णयसँगै १४ दिनसम्म क्वारेन्टाइममा राख्ने निर्णय केहि दिन अगाडी नै भएको थियो । त्यस्तै उक्त बैंठकले चीनलाई १ लाख संख्यामा प्रोटेक्टिभ माक्स उपलब्ध गराउने निर्णय गरेको छ । बैठकमा उपप्रधान तथा रक्षा, गृह-परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्ध सचिवहरूकाे उपस्थिति रहेकाे थियाे ।
ह्वावेको वाई सिक्स एस नेपाली बजारमा, यस्ता छन् विशेषता
काठमाण्डौँ । ह्वावेले नयाँ स्मार्टफोनमा ह्वावे वाई एस सार्वजनिक गरेको छ । वाई सिक्स एसको ६.०९ ईन्चको एचडी डिस्प्ले, शक्तिशाली कार्यक्षमता र बढाइएको मेमोरी क्षमतासहित यो स्मार्टफोन निकै आकर्षक रहेको छ । वाई सिरिजअन्तर्गतका अघिल्ला स्मार्टफोनहरूजस्तै वाई सिक्स एस सुलभ दाममा खरिद गर्न सकिने, सर्वोत्कृष्ट गेमिङ तथा फोटोग्राफी विशेषता र विशिष्ट अडियो तथा भिडियो विशषेताहरू रहेका छन् । वाई सिक्स एस कालो र नीलो दुई वटा रंगहरूमा उपलब्ध छन् । ह्वावे वाई सिक्स एसमा ३ जीबी मेमोरी, ६४ जीबी स्टोरेज क्षमता र ५१२ जीबीको मेमोरी कार्ड राख्न मिल्ने सुविधा पनि रहेको छ । ह्वावे वाई सिक्स एसमा हार्डवेयर तथा सफ्टवेयरको सर्वोत्कृष्ट समायोजन रहेको छ । यसमा विस्तारित २.३ जीएचजेड लार्ज कोरहरूसहितको नयाँ अक्टा–कोर प्रोसेसर र इन्टेलिजेन्ट ईएमयूआई ९.१ सिस्टममा संचालन हुन्छ । ब्याकग्राउन्डमा चल्ने सिस्टम क्यासलाई स्वतः हटाउँछ । जब स्मार्टफोनको स्टोरेज ३० प्रतिशतभन्दा तल झर्छ तब सिस्टमले आफैँ प्रयोगकर्तालाई अनावश्यक फाइलहरू हटाउन रिमाइन्ड गर्दछ । ईएमयूआई ९.१ ले सजिलै चलाउनका लागि नेभिगेशन जेस्चरहरूको पनि सुविधा प्रदान गर्दछ । वाई सिक्स एसको १५६०ह७२० रेजलुशनसहितको ६.०९ ईन्चको एचडी डिस्प्ले रहेको छ। यसमा रहेको फ्रन्ट क्यामरा, एम्बियन्ट लाईट सेन्सर, सुपरस्लीम रिसिभरसबै सानो आकारको नोचमा रहेको छ । वाई सिक्स एसमा उत्कृष्ट भ्यूइङ्ग अनुभव प्रदान गर्दछ । वाई सिक्स एसमा आँखाका लागि सहज हुने विशेषता आई कम्फर्ट मोड रहेको छ र यसको लो ब्लु लाईटका लागि टियूभी रेइनल्यान्डबाट प्रमाणित भएको छ। यसले घातक ब्लु लाईटलाई फिल्टर गर्दछ र इन्टेलिजन्ट तरिकाबाट कलर टेम्परेचर एड्जष्ट गरी दृष्टि थकान हुन दिँदैन। ह्वावे वाई सिक्स एसमा भएको १३ एमपी रियर क्यामराले हाई रेजलुसनसहितको एकदमै स्पष्ट फोटो खिच्ने गर्दछ । यस स्मार्टफोनमा भएको एफ १.८ एपर्चर लेन्सले सुधारिएको लाइट सेन्सिभिटी रहेको छ, जसमा अन्य बजेट फोनहरू भन्दा निकै उत्कृष्ट क्षमता रहेको छ । ह्वावे वाई सिक्स एसमा ८ एमपीको फ्रन्ट क्यामरा रहेको छ। स्क्रीन लाईटयुक्त यस स्मार्टफोनमा फोटोग्राफीका हिसाबले सबैभन्दा अनुपयुक्त अवस्थामा पनि क्यामराको क्षमतालाई बढाई उत्कृष्ट फोटो खिच्ने गर्दछ। ह्वावे वाई सिक्स एसमा रहेको सुपरसाउन्ड टेक्नोलोजीले यसमा रहेको स्पीकर भोल्युमलाई ६ डीबीले बढाउँछ र साउन्डको प्रेसर लेभललाई बढाउँछ। यसमा युनिक अडियो सिस्टम डिजाइन र सुपरलिनियर स्पीकरले रिच बेससहितको रोबोस्ट म्युजिक र सियरिङ अल्टोले उत्कृष्ट साउन्ड अनुभव प्रदान गर्दछ। ह्वावे वाई सिक्स एसमा ३०२० एमएएच ब्याट्री जडित छ। यसमा भएको एआई पावर सेभिङ टेक्नोलोजीले ब्याट्री लाईफलाई टिकाउ बनाउँछ । यस स्मार्टफोनमा भएको फेस अनलकिङ र फिङ्गर प्रिन्ट सुविधाले प्रयोगकर्ताको सूचनालाई रक्षा गर्दछ । फेस लकले इन्टेलिजेन्ट रुपमा लो–लाइट अवस्थामा सजिलै प्रयोगकर्ताको अनुहार पहिचान गर्दछ। ३ जिबीं ६४ जिबीयुक्त ह्वावे वाई सिक्स एसको बजार मूल्य १४ हजार ९ सय ९० तोकिएको छ र यो नेपालभर उपलब्ध छ ।
कर्मचारीमा काम गर्ने जाँगर खस्कनुको ७ कारण, कसरी गर्ने त समाधान ?
काठमाडाैं । आवश्यक मार्गनिर्देशनको अभाव होस् वा कार्यक्षेत्रको अनुचित वातावरण । सुपरिवेक्षकबाट चाहेको ध्यानाकर्षण तथा प्रशंसाको कमी होस् वा कम्तिमा वर्षको एक पटक अपेक्षा गरेको तलब सुविधा वृद्धिमा गरिएकोे बेवास्ता । कारण सानादेखि ठूला जस्तोसुकै पनि हुनसक्छ, एक इमान्दार, मिहेनती तथा स्वउत्प्रेरित कर्मचारीको कार्यसम्पादन गर्ने उमंग र जाँगरलाई क्षय गर्ने । हामीले देख्ने गरेका छाैं कि कुनै पनि कम्पनी वा कार्यालयमा जागिर शुरु गर्दाको अवस्थामा जो कोहि पनि नयाँ हौसला, अपेक्षा तथा जोशसहित उपस्थित हुने गर्दछन् । जसका कारण सुरुका दिनहरुमा उनीहरुको कार्यसम्पादन तीव्र, चुस्तदुरुस्त एवं प्रभावकारी हुने गर्दछ । तथापी, समय बित्दै जाँदा सोहि कर्मचारीको कार्यक्षमतामा बिस्तारै ह्रास आउने गर्दछ । जबसम्म व्यवसायका मालिक, कम्पनी व्यवस्थापक वा निकटतम सुपरिवेक्षकले आफ्नो कर्मचारीमा निभ्दै गएको उत्साह र कामप्रतिको उदासिनतालाई पहिचान गरी तत्कालै कुनै प्रभावकारी कदम चाल्दैनन्, तबसम्म सो कम्पनीमा कर्मचारीको आउने र जाने क्रम (जसलाई इम्प्लोइज टर्नओभर रेट भनिन्छ) मा वृद्धि हुन थाल्दछ । नयाँ कर्मचारीको भर्ना प्रकृया झञ्झटिलो र महंगो हुने मात्रै नभइ कम्पनीका लागि उपयुक्त सम्भाब्य कर्मचारीको चयन, नियुक्त तथा आवश्यक अभिमुखिकरण लगायतको कार्यले सो कम्पनीको अनावश्यक समय तथा श्रोतको क्षति समेत गराउँदछ । अर्कातर्फ, नयाँ आउने कर्मचारीलाई रिक्त पदमा भर्ती गराउँदा अघिल्लो कर्मचारीलाई भन्दा बढी तलब सुविधा प्रदान गर्नुपर्ने सम्भावना रहन्छ भने कर्मचारीहरुको निरन्तरको परिवर्तनले समग्र कम्पनीकै छविलाई धमिल्याउँदछ । त्यसैले पनि आफ्नो कर्मचारीको मनोभाव बुझेर उनीहरुभित्र नविन उर्जाको संचार गरी दिर्घकालसम्म कायम राख्न सक्नु कुनै पनि व्यस्थापकको सफलता मानिन्छ । केकस्ता कारणहरुले कर्मचारीमा काम गर्ने जाँगर खस्कँदै जान्छ र सोलाई पुर्नताजकिकरण गर्ने केहि सरल समाधनबारे चर्चा गरिनेछ । १. न्यून कार्यबोझ आवश्यकताभन्दा कम कामको बोझले कर्मचारीहरुलाई आफ्नो कामप्रति बलियोसँग बाँधी नराख्न सक्दछ । न्यून कार्यबोझले एकातर्फ उनीहरुमा ‘यति जाबो काम त छ, पछि गराैंला नि’ भन्ने मनोभावको विकास गर्न सक्दछ भने अर्कातर्फ कार्य सम्पादन गरिसकेपश्चात उनीहरुले आफूलाई ब्यस्त राख्न गर्ने अन्य विभिन्न क्रियाकलाप जस्तै नजिकैको क्याफेमा गएर कफी पिउने, सहकर्मी साथीसँग बात मार्ने वा विभिन्न डेटिङ्ग साइट सर्भ गर्ने लगायतको काम भविष्यमा बानीको रुपमा विकसित भइ सो कर्मचारीको कार्यक्षमतालाई निरन्तर खस्काउन सक्दछ । समाधानः – कार्यालय समयभित्र सो कर्मचारी पूर्णरुपमा आबद्ध हुनसक्ने गरी काम दिने । – कार्य सम्पादन गरेर बाँकी रहेको समयमा भविष्यको असाइन्मेटको लागि तयारी गर्न लगाउने । – कर्मचारीको मुख्य काम वा जिम्मेवारीसम्बन्धी आवश्यक अध्ययनमा समयको सदुपयोग गर्न प्रोत्साहित गर्ने । २. अत्याधिक कार्यबोझ जसरी न्यून कार्यबोझले कर्मचारीहरुलाई आफ्नो कामप्रति बलियोसँग बाँधी नराख्न सक्दछ, त्यसैगरी अत्याधिक कार्यबोझले उनीहरुमा आफ्नो कामप्रति बितृष्णा श्रृजना गर्न वा जिम्मेवारीबाट बिमुख गराउन मद्धत गर्दछ । ‘कति गर्नु, जति गरेपनि सकिने हैन’ भन्ने खालको मनोविज्ञानको श्रृजना हुँदा कर्मचारीले कतै आफू आफू कार्यरत कम्पनी वा संस्थाद्धाराशोषित भइरहेको त छैन भन्नेसम्मको शंका उब्जाउँदछ भने आफ्ना सहकर्मीहरुले खाली समयका रमाइलो गरिरहेको तर आफू भने चाहिनेभन्दा बढी काममा खटिन परेको देखेर उनीहरुमा आफ्नो सहकर्मीप्रति द्धेषभाव समेत पलाउँदछ, जुन स्वस्थ कार्यालय वातावरणको लागि जहिले पनि एक खतराको रुपमा स्थापित हुन्छ । समाधानः – कर्मचारीको क्षमता, विज्ञता एवं समयलार्ई ध्यानमा राखी काम खटाउने । – खाली समय भएको कर्मचारीलाई बढी कार्य बोझ आइपरेको आफ्नो सहकर्मीलाई सघाउन लगाउने । – विशेष खालको तथा बढी समय र श्रम लाग्ने असाइनमेन्ट छ भने एकजनालाई भन्दा पनि कर्मचारीको एक समूह बनाइ काममा खटाउने जसले उनीहरुमा ‘समूह-कार्य’को स्वभाव तथा एकअर्काप्रतिको सहयोग र सद्भावको भावको विकास गर्दछ । – यदि कुनै त्यस्तो विशेष कार्य छ जसलाई सम्पादन गर्ने क्षमता कम्पनीभित्र कुनै एक कर्मचारीसँग मात्र छ भने उसलाई पर्न गएको अतिरिक्त बोझको लागि अतिरिक्त बोनस वा सट्टा बिदाको व्यवस्था गरिदिने । ३. चरम आलोचना एवं हौसलाको अभाव जब कुनै कर्मचारीले केहि गल्ति गर्दा वा भनेको समयमा कुनै कार्यसम्पादन गर्न नसक्दा सोको पछाडीको कारण पहिल्याएर उसलाई सहजीकरण गर्नुको साटो उल्टै चरम आलोचना गरिन्छ, तब कर्मचारीहरुमा कामप्रतिको जोशजाँगरमा कमी आउन थाल्छ भने उच्च कार्यसम्पादन गर्दा वा सहकर्मीको भन्दा राम्रो प्रतिफल दिँदा उसको योगदानको कदर हुँदैन, तब कर्मचारीले राम्रो गर्नु वा नराम्रो गर्नुमा कुनै फरक पाउन सक्दैनन् । यस अवस्थामा उनीहरु अधिक वा थप कार्यक्षमता प्रदर्शन गर्न इच्छुक हुँदैनन् । समाधानः – कर्मचारीले गल्ती गरेको वा अपेक्षितरुपमा कार्यसम्पादन गर्न चुकेमा गाली वा आलोचना गर्नुको साटो के कुराले उसलाई सो अवस्थासम्म पुर्यायो, सोको पहिचान गरी सहजिकरण गर्ने । – कुनै पनि कार्यसम्पादन गर्न वा तोकिएको समयमा कार्य सम्पन्न गर्न कर्मचारीलाई केहि बाधा वा समस्या छन् कि सो बुझेर पहिला त्यो बाधा वा समस्याको निराकण गर्ने । – आवश्यकताअनुसार दण्ड तथा इनामको योजना लागू गर्ने । – इम्प्लोइ अफ द मन्थ वा इयर योजना लागू गरी उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने । – कमजोर कार्यक्षमता प्रदर्शन गर्ने कर्मचारीलाई उत्कृष्ट कार्यप्रदर्शन गर्ने कर्मचारीद्धारा प्रशिक्षित वा सहकार्य गर्न लगाउने । ४. समान कामका लागि असमान पारिश्रमिक त्यसो त परिणाममा आधारित पारिश्रमिक भुक्तानी राम्रो उपाय हुनसक्छ । तर पनि जब कुनै कर्मचारीलाई आफूले झैँ अर्को सहकर्मीले पनि समान कार्यसम्पादन गरेको तर सो सहकर्मीले आफूले भन्दा अधिक तलबसुविधा पाएको भन्ने भान हुन्छ तब त्यस कर्मचारीको कामप्रतिको रुचीमा कमी आउन थाल्छ । समाधानः – स्पष्ट सूचकहरुको विकास गरी परिणाममा आधारित पारिश्रमिको अवधारणालाई अंगिकार गर्ने । – समान कामका लागि समान तलबको ब्यवस्था गर्ने । – यदि समान कार्य सम्पादन गरिराख्दा पनि दुईमध्ये एक जना कर्मचारीको मात्र सेवासुविधामा बृद्धि हुन्छ भने सोको कारण पारदर्शीरुपमा खुलाउने । ५. आवश्यक सहयोग र समन्वयको अभाव कुनै सामान्य वा विशेष कार्य सम्पन्न गर्नका लागि कर्मचारीलाई आवश्यक सहयोग वा समन्वयको प्राप्ति हुँदैन वा सो कार्य सम्पन्न गर्ने दिशामा देखापरेका बाधाअड्चन फुकाउन उसको निकटतम सुपरिवेक्षक इच्छुक देखिँदैनन्, तब सो कर्मचारीमा स्वभाविकरुपमा काम गर्ने जाँगर घटेर जान थाल्दछ । समाधानः – कुनै पनि कार्यसम्पादन गर्न वा तोकिएको समयमा कार्य सम्पन्न गर्न कर्मचारीलाई केहि बाधा वा समस्या छन् कि सो बुझेर पहिला त्यो बाधा वा समस्याको निराकण गर्ने । – कुनै पनि कार्यसम्पादन गर्नका लागि कर्मचारीलाई आवश्यक सहयोग, समन्वय तथा मागदर्शन प्रदान गर्ने । ६. दोहोरोपना स्वभावैले मानिस नयाँ-नयाँ काम गर्न वा नयाँ-नयाँ चिजको अन्वेषण गर्न चाहन्छ । मानिसको यहि स्वभाव तथा चाहना उसको कार्यक्षेत्र वा कामको जिम्मेवारीमा पनि प्रतिबिम्वित हुन्छ । कुनै पनि कर्मचारीले वर्षौंदेखि एउटै वा एकै प्रकृतीको काम गरिरहँदा उसलाई सो कामप्रति कुनै चाख नहुन सक्दछ जसले गर्दा उसको कार्यक्षमतामा ह्रास आउँदछ । अर्कोतर्फ, आफूले गरेको काममा वा आफू आबद्ध क्षेत्र वा पेशामा कुनै नयाँपन नरहेको वा नयाँ कुरा सिक्ने सम्भावना नभएको अवस्थामा कर्मचारीले सो कामलाई सम्मान गर्न छाड्दछ । समाधानः – सम्भव भएसम्म कार्यालयभित्र छोटै समयका लागि भएता पनि विभिन्न विभागहरुमा कर्मचारीहरुको हेरफेर गर्ने जसको कारण उनीहरुले केहि समय नयाँ काम गर्दा रमाइलो मान्दछन् भने विभिन्न विभागअन्तर्गत गरिने कामको अनुभव हासिल गरी भविष्यमा सो कम्पनी वा कार्यालयलाई नेतृत्व गर्ने अवस्थासम्ममा उनीहरु पुग्दछन् । – कर्मचारीलाई विभिन्न तालिम तथा क्षमता अभिबृद्धि कार्यक्रममा संलग्न गराउने जसको कारण उनीहरुले आफू संलग्न क्षेत्र तथा काममा आएको परिबर्तनबारे जानकारी तथा नयाँ ज्ञान हासिल गर्नसक्दछन् । ७. अविश्वास, स्वतन्त्रता र चुनौतीको अभाव कुनै पनि कर्मचारीले आफूलाई हरपल आफ्नो निकटतम सुपरिवेक्षक, बरिष्ठ कर्मचारीहरु तथा कम्पनी मालिकको विश्वासको केन्द्रमा स्थापित गर्न चाहन्छ । तथापी, उसले सम्पादन गरेको कार्य, उसको आचरण अथवा उसको क्षमतामाथि शंका श्रृजना हुँदा सो कर्मचारीमा आफ्नो काम, सहकर्मी तथा समग्र कार्यालयप्रति नै घृणा जाग्न थाल्दछ । अर्कातर्फ, कुनै पनि प्रोफेसनल तथा स्वउत्प्रेरित कर्मचारीले जहिले पनि नयाँनयाँ चुनौतीको सामना गरी आफ्नो क्षमता प्रमाणित गर्न चाहन्छ । तथापी, कार्यालय वा कम्पनीले उभित्रको क्षमता सुहाउँदो परिक्षा लिन वा चुनौती दिन नसकेको अवस्थामा उसले आफ्नो कामलाई अर्थपूर्ण देख्न छाड्दछ । समाधानः – कर्मचारीको क्षमतालाई नजिकबाट अवलोकन गरी उसप्रति विश्वास गर्ने । – हरेक व्यक्तिको कार्य सम्पादन गर्ने आ-आफ्नो तरिका वा पद्धति हुने हुनाले सो तरिका वा पद्धतिको अवलम्बन गर्ने स्वतन्त्रता दिने । – कर्मचारीको क्षमतालाई चुनौती दिने र सो चुनौतीको सामना गर्न आवश्यक समय, अवसर तथा वातावरण प्रदान गर्ने । यसका अलवा, कर्मचारीहरुबीचको सामाजिक अन्तरक्रियालाई प्रोत्साहन, श्रृजनशीलताको प्रदर्शनीका लागि उचित वातावरण प्रदान, सफलताको सेलिब्रेसन तथा सबैको विचार तथा आवाजको सम्मान लगायतले कर्मचारीहरुको नैराश्यतालाई हटाई उनीहरु पुन काम तथा जिम्मेवारीप्रतिको अभिरुचीलाई पुर्नजागृत गराउन सकिन्छ ।