उद्यमी युवालाई आर्थिक अभाव नहुने
इटहरी । राष्ट्रिय युवा नीति पुनरावलोकन तथा युथ भिजन २०२५ कार्यदलले अवधारणापत्र सार्वजनिक गरेको छ । युवा विकास केन्द्रका अध्यक्ष अरुण खड्काले बिहीबार यहाँ आयोजित कार्यक्रममा अवधारणापत्र सार्वजानिक गर्दै युवालाई देशविकासको प्रवाहमा समाहित गराउन आवश्यक रहेको बताएका छन् । प्रदेशसभा सदस्य उमिता विक, बलबहादुर साम्सुहाङ र कुमारी साम्वाको राष्ट्रिय युवा नीतिलाई कार्यान्वयमा उतार्न जोड दिएका छन् । सामाजिक विकास मन्त्रालयका कानून परामर्शदाता कोषराज न्यौपानेले प्रदेश सरकारले पनि प्रदेश युवा परिषद् गठनको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै गठन सम्बन्धी विधेयक पाँचौँ प्रदेशसभामा पेश हुने बताए । युवा परिषद् सुनसरीका अध्यक्ष हर्कजङ्ग एभेन लिम्बूले उद्यम गर्न चाहने युवालाई सहयोग गर्न समन्वय गर्ने जानकारी दिएका छन् । रासस
अटो एक्स्पो २०२० को मुख्य आकर्षणमा मारुती सुजुकीको ‘फ्युचरो-ई कन्सेप्ट’, के के छन् विशेषता ?
हाल भारतमा भइरहेकाे ‘अटो एक्स्पो २०२०’ मा विभिन्न अटो ब्राण्डहरुले आ-आफ्ना नयाँ उत्पादनहरुलाई प्रदर्शनमा राखेका छन् । माघ २२ गते (६ फेब्रुअरी) बाट सुरु भएकाे उक्त एक्स्पाेकाे मुख्य आकर्षणमा मारुती सुजुकीले प्रदर्शन गरेको फ्युचरो-ई रहेकाे छ । यो कारले भविष्यमा मारुती सुजुकीका मोडेलहरुमा पाइन सक्ने स्टाइलिङ्गलाई पनि झल्काएको छ । मारुतीका कारहरुको पारम्परिक डिजाइनभन्दा भिन्न रहेको यस कारलाई एसयूभी-कुपको शेपमा पेस गरिएको छ । यसको इन्टेरियर पनि एकदमै आधुनिक रहेको छ । यस कारमा चौडा स्क्रिन सहितको ड्यासबोर्ड, फ्युचरिस्टिक स्टेयरिङ्ग, इलेक्ट्रिकली कन्ट्रोल गर्न मिल्ने इन्टेरियर, एम्बियन्ट लाइटिङ्ग लगायतका विशेषताहरु समावेश गरिएको छ । मारुतीका अनुसार हाल यो एउटा इलेक्ट्रिक कारको रुपमा रहेको भएतापनि प्रोडक्सन भएर बजारमा आउँदा चाहिँ पेट्रोल र डिजेल इञ्जिन अप्शनका साथमा पनि उपलब्ध हुनेछ । फ्युचरो-ई कन्सेप्ट प्रोडक्सन भएर मिडसाइज एसयूभीको रुपमा बजार प्रवेश गर्नेछ । मारुतीले फ्युचरो-ई कन्सेप्टलाई कहिले प्रोडक्सनमा उतार्छ भन्ने वारे चाहिँ केहिपनि खुलाएको छैन । लञ्चपश्चात भने यस कारले धेरै प्रतिष्पर्धीहरुसँग सामना गर्नु पर्नेछ । अहिले कियाले मिडसाइज एसयूभी सेग्मेन्टमा राम्रो पकड जमाइसकेको अवस्था छ भने हुण्डाईले पनि आफ्नो सर्वाधिक चर्चित एसयूभी क्रेटाको सेकेण्ड-जेनेरेशनलाई छिट्टै नै बजारमा ल्याउने तयारी गरिरहेको छ । फ्युचरो-ई कन्सेप्टको लुक्सलाई ग्राहकमाझ चर्चा कमाउन सक्ने कारणको रुपमा आँकलन गरिएको छ । तर यो कुरा भने कन्सेप्ट मोडेलमै भएको स्टाइललाई प्रोडक्शन मोडेलमा कति हदसम्म यथावत राखिन्छ भन्ने कुराले नै निर्धारण गर्नेछ । यदि प्रोडक्शन मोडेलमा पनि कन्सेप्टको जस्तै शार्प स्टाइलिङ्ग समावेस गर्ने हो भने मारुतीले मिड-साइज्ड एसयूभी सेग्मेन्टमा राम्रै छाप छोड्ने चाहिँ पक्का छ ।
एनआईसी एशियाले सार्वजनिक गर्याे नयाँ वेबसाइट, घरबाटै खाता खोल्न सकिने
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकमैत्री नयाँ वेबसाइट सार्वजनिक गरेको छ । ग्राहकको सुविधालाई थप परिष्कृत गर्ने उद्देश्यका साथ डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै उक्त वेबसाइज सञ्चालनमा ल्याएको हो । नयाँ वेबसाइटमा बैंकको सेवा सुविधाकोे विवरण हेर्न चाहनेहरुको लागि अन्तरक्रियात्मक शैलीमा जानकारी प्रस्तुत गर्नुको साथै उक्त वेबसाइट नेपाली भाषामा समेत उपलब्ध गराइएको बैंकले जानकारी दिएको छ । गूगल म्याप लाई समेत संलग्न गरिएकोले उक्त वेबसाईटबाट सजिलै बैंकको शाखा, एक्स्टेन्सन काउण्टर, एटिएम रहेको स्थान सजिलै पत्ता लगाउन सकिनेछ । साथै बैंकको कार्ड तथा मोबाईल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने पसल तथा ब्यवसायीको स्थानको पहिचान समेत गर्न सकिनेछ । साथै, वेबसाईट बाटै खाता खोल्न मिल्ने सुविधाका साथ बैंक सम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा साथी च्याटबट वेबसाईटमै उपलब्ध रहेको छ । वेबसाईटमा प्रयोगकर्ताको रुची अनुसार बैंकले उपलब्ध गराउने विभिन्न सुविधा तथा जानकारी प्रयोगकर्ताको वेब–ब्राउजरमा स्वचालित सुचना अलर्ट मार्फत पठाउन सकिने प्रविधिको समेत प्रयोग गरिएको छ । साथै, आफुलाई मनपरेका जानकारी र सुचना सामाजिक सञ्जालमा सेयर गर्न सकिने गरी व्यवस्था मिलाईएको बैंकले जनाएको छ । प्रयोगकर्ताको डाटा सुरक्षाको लागीे भने विशेष सुरक्षा संयन्त्रको प्रयोग गरिएको छ्र बैंकले जानकारी दिएको छ । बैंकको नयाँ वेबसाइट सार्वजनिक भएसँगै बैंकले डिजीटल प्रविधिको उच्चतम प्रयोग गरी गतिशील बैंकिङ्गको अभ्यासलाई थप टेवा पुग्ने कम्पनीको विश्वास छ ।
एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’, ७ सय मिनेटको भ्वाइस प्याक
काठमाडौं । एनसेलले नजिकिदै गरेको प्रणय दिवसको अवसरमा प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । जसमार्फत एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् । यो अफरमा ग्राहकले मात्र १ सय रुपैयाँ (कर सहितमात्र १२७.६९) मा ७ सय मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मजा लिन सक्नेछन् । यो भ्यालेन्टाइन अफर यही शुक्रबार (माघ २४) देखि लागु हुनेछ र ३ महिनासम्म संचालनमा रहनेछ । यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याउन लागिएको यो अफर अन्तर्गत ग्राहकले कर सहितमात्र १८ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् । यो अफरको साप्ताहिक प्याक सुचारु गरेपछि ७ दिनसम्म समयावधि रहनेछ । ग्राहकले एस्ट्रिक्स१७११८ एस्ट्रिक्स२एस्ट्रिक्स३ह्यास डायल गरी प्राप्त जानकारी अनुसार प्याक सुचारु गर्न सक्छन् । यो भ्यालेनटाइन अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।
सरकारले ३ सय शैय्याको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्ने
काठमाडौं । सरकारले सरुवा रोगको नियन्त्रणका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको छ। माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घीय सरकारको मातहत रहने गरी ३०० शैय्याको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्ने निर्णय गरेको हो। बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति दिएको जानकारी दिए। नेपालमा सरुवा रोगको प्रकोप फैलिएमा उपचार गर्ने छुट्टै अस्पताल छैन। सरकारले तत्कालका लागि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमार्फत गम्भीर प्रकारका सङ्क्रामक रोगको उपचार गर्दै आएको छ। टेकु अस्पताल जम्मा ६० शैय्याको छ। छिमेकी चीनको वुहान क्षेत्रबाट विश्वव्यापीरूपमा फैलिएको नोभेल कोरोना भाइरसको बढ्दो रूपप्रति नेपाल सरकार संवेदनशील रहेको बाँस्कोटाले बताए। प्रवक्ता बाँस्कोटाले प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको स्वास्थ्यवस्थाबारे सरकार अत्यन्त संवेदनशील रहेको उल्लेख गरे। प्रभावित क्षेत्रमा रहेका नेपालीका सम्बन्धमा चीन सरकार स्वयं अत्यन्त सजग रहेको उल्लेख गर्दै उनले आफ्ना देशका नागरिकसरह नेपाली नागरिकको पनि स्वास्थ्यप्रति चीनले गम्भीर चासो देखाएको बताए। ‘नेपाली नागरिकको सुरक्षाका निम्ति चिनियाँ नागरिकसरह गम्भीर बनेका छौँ भनेर उनीहरुले भनेका छन्’, चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहनुभएका प्रवक्ता बाँस्कोटाले बताए। चीनमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्यलाई लिएर अभिभावकबाट चिन्ता व्यक्त हुनु स्वभाविक भएको उल्लेख गर्दै उनले सरकारले पनि अभिभावकका रूपमा प्रभावित क्षेत्रमा डर र त्रासका बीच रहेका नागरिकलाई उद्धार गर्ने प्रक्रिया अगाडि बढाएको प्रष्ट पारे। ‘हामीले उद्धारका लागि तयारी तीव्र पारेका छौँ, प्रभावित क्षेत्रबाट ल्याइएका नागरिकलाई १४ दिन ‘क्वारेन्टाइन’मा राख्नुपर्ने हुन्छ, उनीहरुलाई राख्ने स्थानको व्यवस्था गर्दैछौँ”, उनले भने, ‘जहाजको कुनै समस्या छैन, विमानस्थलदेखि ‘क्वारेन्टाइन’ सम्म जाने ठाउँको व्यवस्था गर्नुपर्नेछ। चिकित्सक, अलग्गै वार्ड, स्वास्थ्य परीक्षणलगायतको प्रबन्ध गर्नुपर्ने छ, त्यो व्यवस्था हुँदैछ।’ वुहानमा रहेका नेपालीको अवस्थाबारे चीन सरकारसँग निरन्तर संवाद भइरहेको जानकारी दिँदै उनले यसमा नआत्तिन अभिभावकलाई आग्रह गरे। कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई रोक्न राष्ट्रिय तथा अन्तरराष्ट्रियरुपमा उच्च मनोबल बनाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो। पछिल्लो समय कोरोना भाइरसबाट प्रभावित भएका व्यक्तिको स्वास्थ्यमा सुधार हुने क्रम बढ्दै गएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेको उनले जानकारी दिए।
त्रिभुवन विमानस्थलमा जडान गरिएको थर्मल स्क्यानर १० दिनमै बिग्रियो
काठमाडौं । कोरोना भाइरसको न्यूनिकरणका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखिएकाे थर्मल मेसिन बिग्रिएको छ । मेसिन राखिएको १० दिनमै एउटा थर्मल स्क्यानर बिग्रिएको हो । विमानस्थलमा राखिएका दुईटा मेसिन मध्ये एक मेसिन बिग्रिएकाे छ । एउटा थर्मल स्क्यानर बिग्रिएपछि यात्रुहरुलाई एउटै स्क्यानरले नै जाँच भईरहेको विमानस्थल स्रोतले बताएको छ । स्क्यानर साेमबार नै बिग्रिएको हाे । काेराेना भाइरस प्रति सर्तकता अपनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एयरपाेर्टमा हेल्थ डेस्क खडा गरेकाे छ । हेल्थ डेस्कमा हाल ७ जना डाक्टर, ३ जना नर्स, र ३ जना प्यारामेडिक्स कार्यरत छन् । यस्तै केही एम्वुलेन्स तयारी अवस्थामा राखिएको छ ।
बैंक संचालकको संस्था भन्छः बाफिया संशोधन विधेयकले बैंकिङ क्षेत्र नै धरायसी हुन सक्छ
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकका केही प्रावधानप्रति असहमति जनाएको छ । विधेयकमा राखिएका केही व्यवस्थाले बैंकिङ क्षेत्रको विकास र आधुनिकीकरण गर्न समस्या उत्पन्न हुने परिसंघको भनाइ छ । परिसंघले संसदमा पेश भएको विधेयकका केही प्रावधान सच्याउन सुझाव दिएको हो । सो सुझावमा सच्याउनु पर्ने दफा र सोको कारण पनि खुलाईएको छ । बिधेयकको दफा १५ (क) मा सञ्चालकको कार्यकाल नियमावलीमा उल्लेख भए बमोजिम बढीमा चार वर्षको हुनेछ र निज पुनः एक कार्यकालको लागि नियुक्ति वा मनोनित भई लगातार दुई कार्यकालसम्म मात्र कायम रहन सक्नेछ । तर लगातार दुई कार्यकाल पूरा गरेको सञ्चालक चार वर्ष पछि पुनः सोही संस्थाको सञ्चालकमा मनोनित वा निर्वाचित हुन बाधा पर्ने छैन भन्ने व्यवस्था थप गरिएको छ । यस्तै, दफा १६ (क) मा बैंक तथा वित्तीय संस्थाको संचालक पदमा नियुक्ति हुने व्यक्तिको योग्यता देहाय बमोजिम हुनेछ भनि सम्बन्धित बिषयमा स्नातक उपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको संचालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृतस्तरमा कम्तीमा पाँच बर्ष काम गरेको हुनु पर्ने भन्ने व्यवस्था थप गरिएको छ । विधेयककको दफा १८ (१) (क) मा बैंक वा वित्तीय संस्थाको संचालक हुन देहायको व्यक्ति योग्य हुने छैन भनी (क) मा पच्चीस बर्ष उमेर पुरा नभएको र पैसठ्ठी वर्ष उमेर नाघेको व्यक्ति संचालक हुन योग्य हुने छैन भन्ने प्रावधान राखिएको छ । थप गरिएका यी प्रावधानप्रति परिसंघले असहमति जनाएको हो । यस्ता प्रावधानहरुले आफूहरुले बैंकिङ क्षेत्रमा रही बिगत ३० बर्षभन्दा बढी अवधिदेखि निरन्तर रुपमा हासिल गरेको बैंकिङ क्षेत्रको ज्ञान, शीप र कार्यअनुभव भएको व्यक्ति संचालक हुन नपाउने र सर्वसाधारण जनताको निक्षेप तथा लगानी भएको संस्थामा बैंकिङ्ग क्षेत्र नै नबुझेको व्यक्ति आउने परिस्थिति सृजना भई बैंकिङ्ग क्षेत्र नै धराशायी हुने परिसंघको तर्क छ । बैंकको हालको संचालक समितिको संरचनामा नै गम्भीर असर पर्ने यस विधेयकबाट लगानीकर्ताको लगाव, मेहनत र संस्थाप्रतिको अपनत्वमा ह्रास भएर जाने परिसंघले उल्लेख गरेको छ । दुई कार्यकालसम्म मात्र संचालक पदमा कायम रहन सक्ने र दुई कार्यकालपछि ४ बर्ष पश्चात मात्र संचालक पदमा रहन सक्ने कुनै युक्तिसँगत कारण नदेखिएको परिसंघको भनाइ छ । बैंक तथा वित्तीय संस्थाका संचालक गैरकार्यकारी हुने र बैंक तथा वित्तीय संस्था संचालन गर्न अनुभवी व्यक्तिको आवश्यकता पर्ने भएकाले संचालकको उमेरको हद पैसठ्ठी बर्ष राख्न उपयुक्त देखिदैन भन्ने परिसंघको ठहर छ । संचालकको योग्यता सम्बन्धमा नेपाल सरकारको अधिकृतस्तरका कर्मचारी वा संगठित संस्थाका व्यक्ति मात्र संचालक हुन पाउने तर निजी क्षेत्रका योग्य लगानीकर्ताहरु संचालक हुन नसक्ने अवस्था सृजना भई भेदभावपूर्ण र असमान कानूनी व्यवस्था हुने परिसंघको भनाइ छ । अहिले कार्यान्वयनमा रहेको बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन बमोजिमकै संचालकको योग्यता कायम हुने गरी संचालकको उमेरको माथिल्लो हद ६५ बर्ष हटाई स्नातक उपाधि हासिल गरेको वा विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको संचालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृतस्तरमा कम्तिमा ५ वर्ष काम गरेको हुनु पर्ने र सेयरधनीहरुबाट निर्वाचित भएसम्म संचालक पदमा कायम रहन सक्ने गरी संशोधित विधेयकमा परिमार्जन गरिनुपर्ने परिसंघले बताएको छ । यस्तै, विधेयकको दफा १८ (च१) मा बैंक तथा वित्तीय संस्थाहरुबाट निज वा निजको परिवारले लिएको कूल व्यावसायिक ऋण सम्बन्धित बैंङ्क वा वित्तीय संस्थाको चुक्ता पूँजीको तोकिएको प्रतिशतभन्दा बढी भएको व्यक्ति संचालक हुन योग्य हुने छैन भन्ने व्यवस्था गरिएको छ । यस्तो प्रावधानले बैंक वा वित्तीय संस्थाहरुबाट निज वा निजको परिवारले लिएको कूल व्यावसायिक ऋण सम्बन्धित बैंङ्क वा वित्तीय संस्थाको चुक्ता पूँजीको तोकिएको प्रतिशतभन्दा बढी भएको व्यक्ति संचालक हुन योग्य हुने छैन भन्ने प्रस्तावित विधेयकको प्रावधानले लगानीकर्ताहरुले अप्ठेरो पर्ने परिसंघको भनाइ छ । बैंक वित्तीय संस्थालगायत व्यापार व्यवसायको अन्य क्षेत्रहरु पर्यटन, होटल, उद्योग, हाईड्रोलगायतका क्षेत्रहरुमा समेत लगानी गरी व्यवसाय विस्तार गरी रोजगारीका थप अवसरहरु सृजना गर्नुका साथै देशको अर्थतन्त्रलाई चलायमान बनाई राजश्वमा समेत ठूलो योगदान गर्दै आएका भन्दै यस्तो प्रावधानले असर पर्ने परिसंघको भनाइ छ । व्यापार र व्यवसाय विस्तारको क्रममा स्वपूँजीले मात्र नपुग्ने भएकोले आफ्नो सेयर लगानी नभएको र आफू संचालक नरहेको अन्य बैंंक तथा वित्तीय संस्थाहरुबाट ऋण कर्जा लिई विभिन्न उद्योगहरुमा लगानी गर्दै आएकोमा प्रस्तावित विधेयकको उक्त प्रावधानले उद्योग, व्यवसाय संचालनमा गंभीर असर पर्न गई देशको समग्र अर्थतन्त्रमा असर पर्ने परिसंघले बताएको छ । यसैकारण हाल प्रचलित बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन बमोजिमकै व्यवस्थालाई निरन्तरता प्रदान गरी विधेयकमा परिमार्जन गरिनुपर्ने परिसंघको माग छ । विधेयकको दफा २९ (क) मा भएको सञ्चालक समितिले यस ऐन, प्रबन्धपत्र र नियमावलीको अधीनमा रही बैंक वा वित्तीय संस्थाको व्यवस्थापन गर्न राष्ट्र बैंकको पूर्व सहमतिमा एक कार्यकारी प्रमुखको नियुक्ति गर्नु पर्नेछ भन्ने व्यवस्था छ । यस्तै, विधेयकको दफा २९ (४) मा सञ्चालक समितिले कार्यकारी प्रमुखको कार्यसम्पादन सन्तोषजनक नभएमा राष्ट्र बैंकको सहमतिमा जुनसुकै बखत पदबाट हटाउन सकिने भन्ने व्यवस्था छ । यी प्रावधानप्रति पनि परिसंघले असहमति जनाएको छ । कार्यकारी प्रमुखको नियुक्ती तथा हटाउने व्यवस्था विशुद्व रुपमा संचालक समितिको सार्वभौमिकतासँग जोडिएको विषय भएको परिसंघको भनाइ छ । संस्थाले गरेको कार्यको अन्तिम जवाफदेहिता संचालक समितिले लिनुपर्ने र संचालक समितिको अख्तियारीमा असर पर्ने गरी कार्यकारी प्रमुख नियुक्ती गर्दा तथा हटाउनु पर्दा राष्ट्र बैंकको पूर्व सहमति लिएर मात्र गर्न सकिने व्यवस्थाले समस्त सेयरधनीहरुको प्रतिनिधित्व हुने गरी साधारणसभाबाट निर्वाचित संचालक समितिको हक अधिकारमा नै आघात पुग्न गएको र यस्तो व्यवस्थाबाट कार्यकारी प्रमुख संचालक समितिप्रति उत्तरदायी नै नहुनसक्ने परिसंघको भनाइ छ । त्यसैकारण यस्तो प्रावधान पनि अहिलेको ऐन अनुसार नै बनाउन सुझाव दिइएको छ । स्वतन्त्र संचालक नियुक्तिको प्रस्तावित व्यवस्थाप्रति पनि परिसंघको विमति छ । विधेयकको दाफा १४ (६) मा तोकिएको योग्यता तथा अनुभव भएका व्यक्तिमध्येबाट कम्तिमा एक जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्नुपर्ने भन्ने व्यवस्था छ । तर बंैैक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक वा शून्य दशमलव एक प्रतिशत भन्दा बढी शेयर लिएको सेयरधनी तथा निजको परिवार स्वतन्त्र सञ्चालक हुन पाउने छैन भनिएको छ । स्वतन्त्र संचालक प्रचलित कानून बमोजिम सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुमध्येबाट नियुक्त गर्ने विषय रहेको हुँदा कुनै स्वतन्त्र संचालकको पदावधि समाप्त भई अर्को स्वतन्त्र संचालक नियुक्त गर्नुपर्दा अर्को साधारणसभासम्म कुर्नुपर्ने अवस्था सिर्जना हुने परिसंघको भनाइ छ । यस्तो व्यवस्थाले स्वतन्त्र संचालकको विज्ञता तथा राय सल्लाहबाट सेवा लिन संचालक समिति बन्चित हुने अवस्थालाई समेत मध्यनजर गरी स्वतन्त्र संचालक संचालक समितिले नियुक्त गर्ने हाल प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिमकै व्यवस्था सुनिश्चित गरिनुपर्ने परिसंघको धारणा छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टर बिराटनगरमा
काठमाडौं । प्रभु बैंकले मोरङ जिल्लाको बिराटनगर महानगरपालिकास्थित वडा नं ०४ यातायात व्यवस्था कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन बिराटनगरका यातायात व्यवस्था कार्यालयका प्रमुख यातायात अधिकृत रबिन कार्कीले माघ २२ गते एक समारोहकाबीच उद्घाट्न गरेका हुन् । बैंकले यातायात व्यवस्थापन कार्यलयामा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित यातायात व्यवस्थापन कार्यलयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र यातायात ब्यबस्थापन कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने कम्पनीको विश्वास छ । बैंकले हाल २०८ वटा शाखा कार्यालय, १५७ वटा एटीए, ४४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् बैंकिङ्ग सेवा दिँदै आएको छ ।