डेपुटी गभर्नर शिवाकोटीद्धारा सिभिल बैंकको भीमसेनस्थान शाखा उद्घाटन
काठमाडौं । सिभिल बैंकको भीमसेनस्थान शाखाको उद्घाटन भएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शुक्रबार(माघ २४ गते) एक समारोहबीच गरेका हुन् । उद्घाटन समारोहमा उनले नेपालबाट बिदेशिएको जनशक्तिले अहिले आफ्नै देशमाफर्त बैंकबाट कर्जा लिई आफ्नै देशमा रोजगारीको सृजना गरेको र यसरी सबैले आ–आफ्नो क्षेत्रबाट वित्तीय योगदान पुर्याएमा देश आफै समृद्ध हुने बताए । कार्यक्रममा काठमाडाैं महानगरपालिका वडा नं २० का वडाअध्यक्ष राजेन्द्र मानन्धरले आफुले बैंकलाई आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने बताए । उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक भीमसेनस्थान शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नको लागी व्यापार व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउँदै यस भेगको समृद्धिको लागी काम गर्ने बताए । सिभिल बैंकका अध्यक्ष इ.इच्छा राजतामाङ्गे सिभिल बैंक समाज संग निकट भएर संचालन गर्ने नीति अनुरुप भीमसेनस्थान क्षेत्रमा नेवारी बाहुल्यता भए बमोजिम शाखाको परिचयपाटीदेखि लिएर उद्घाटन समारोहको ढाँचापनि नेवारी संस्कृति अनुरुप गरिएको र बैंकले आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने बताए । समारोहका अध्यक्ष तथा सिभिल बैंकका अध्यक्ष इ.इच्छा राजतामाङ्गबाट परोपकार आदर्श मा. बि.को कक्षा ९मा अध्ययनरत सुनी राईलाई बैंकको सि.यस.आर.प्रोग्रामअन्तर्गत मासिक ३ हजार रुपैयाँका दरले १ वर्षको जम्मा ३६ हजार रुपैयाँको आर्थिक सहयोग विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका छन् । साथै कामपा वडा नं २०कै सर्वाधिक ज्येष्ठ नागरीक ९९ वर्षीय मायादेवी नकर्मी कार्यक्रममा आउन असमर्थ भएको कारणले गर्दा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बागमती प्रदेशका प्रमुख भोलाबहादुर बिस्ट तथा शाखा प्रबन्धक प्रदीप हमाल निजकै निवासमा गई सम्मान गरेका छन् । बैंकले हाल १०६ वटा शाखाहरु तथा २ एक्स्टेन्सन काउन्टर र ५ वटा शाखा रहित बैंकिंग सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।
औद्योगिक क्षेत्र स्थापनामा अब ढिलाइ हुँदैनः उद्योगमन्त्री भट्ट
भीमदत्तनगर । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा स्थापना हुन लागेको औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाह यस प्रदेशको समृद्धिको सम्वाहक हुने बताएका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–२ स्थित स्थापना हुने दैजी औद्योगिक क्षेत्र निर्माणस्थलको आज अनुगमनका क्रममा आयोजित कार्यक्रममा मन्त्री भट्टले औद्योगिक क्षेत्र स्थापनामा अब ढिलाइ नहुने बताए । उद्योग मन्त्रालयका उच्चपदस्थ कर्मचारीको टोलीसहित औद्योगिक क्षेत्र निर्माणस्थल पुगेका मन्त्री भट्टले औद्योगिक क्षेत्रको विस्तारमा मन्त्रालय अग्रसर रहेको बताए । एक प्रदेशमा एक औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्य सरकारले लिएको र यसको स्थापनामा अब सरकार ढिलाइ नगर्ने उनले बताए । भट्टले दैजी औद्योगिक क्षेत्र स्थापनाको काम प्रदेश र स्थानीय सरकारबाट सम्भव नभएकोले सङ्घीय सरकारले नै निर्माण गरी हस्तान्तरण गर्ने जानकारी दिए । त्यसैगरी प्रतिनिधिसभा सदस्य नरबहादुर धाँमीले निर्वाचनका बेला जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्न औद्योगिक क्षेत्र स्थापना तत्काल अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। बेदकोट नगरपालिका–२ र ३ को राष्ट्रिय वनको करिब २६९.९३ हेक्टरमा औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी रहेको छ । दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा अढाइ दशक अघि भएको थियो ।रासस
महालक्ष्मी लाईफको बीमा शुल्क १७४ प्रतिशतले वृद्धि, नाफा ५ करोड बढी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष(आव)को प्रथम ६ महिनामा खुद बीमा शुल्क आर्जनमा १७३.५ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीेले गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १० करोड ३६ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा २८ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो नाफाको रकम बीमाङ्कीय मुल्याङ्कन पश्चात परिवर्तन हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा कुल बीमा शुल्कमा १७१ प्रतिशतले वृद्धि भइ २८ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ । चालु आर्थिक वर्षमा आर्थिक गतिविधि सुस्ताएको र बीमा कम्पनीहरुलाई व्यवसाय विस्तार गर्न निकै कठिन भएको बेलामा यस कम्पनीको बीमा शुल्क वृद्धिदर उच्च देखिएको छ । समीक्षा अवधिमा कम्पनीको नाफा १४१ प्रतिशतले वृद्धि भएको छ । यस अवधिसम्ममा कम्पनीले ५ करोड १८ लाख ७ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । जुन गत आवको सोही अवधिमा २ करोड १४ लाख ६० हजार रुपैयाँ रहेको थियो । हाल कम्पनीको प्रतिसेयर आम्दानी ७.४० रुपैयाँ रहेको कम्पनीद्धारा प्रकाशित दोश्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख छ । कम्पनीले दोश्रो त्रैमासमा जगेडा कोषमा समेत ७७ प्रतिशतले वृद्धि गरी ५ करोड ७३ लाख रुपैयाँ कायम गरेको छ । त्यस्तै, जीवन बीमा कोषमा ३६ प्रतिशतले वृद्धि भई ४२ करोड ३४ लाख रुपैयाँ भएको छ । गत आवकोे पुस मसान्तमा एक लाख ५५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको कम्पनीले चालु आवको सोही अवधिसम्ममा ५ लाख ६६ हजार रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, कूल दाबी भुक्तानी भने शुन्य छ । त्यस्तै, समिक्षा अवधिमा कम्पनीको कूल कायम रहेको जारी बीमालेख संख्या ६ हजार ७६९ रहेको छ ।
आश्वासनका २८ वर्षः पश्चिम सेती कहिले बन्छ सरकार?
काठमाडौं । हिजो आशा मर्यो । आज जवानी मर्दैछ । भोली सपना मर्नेछन् । तर, २८ वर्षदेखिको पश्चिम सेती जलविद्युत आयोजना भने अहिले सम्म बन्न सकेन । यो निराशा, कुण्ठा र आक्रोश सुदूरपश्चिमवासीको हो । विगत २८ वर्षदेखि बन्न नसेको पश्चिम सेती जलविद्युत आयोजनाकै कारण उनीहरु चिन्तित छन् । ७ सय ५० मेघावाट क्षमताको जलाजलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने भनेको पनि २८ वर्ष बितिसकेको छ । विगत २८ वर्षदेखि बन्न नसेको पश्चिम सेती जलविद्युत आयोजनाकै कारण उनीहरु चिन्तित छन् । अष्ट्रेलियन कम्पनी स्नोइ माउन्टेन कर्पाेरेसन स्मेकले निर्माणको अनुमति लिएको १६ वर्षसम्म ‘होल्ड’ मात्र गर्यो । त्यसपछिका बर्ष चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनले पनि ‘होल्ड’ मात्र गरेर बस्याे । तर, अहिले सम्म आयोजना निर्माणको सुरसार छैन । निर्माण स्थलमा ल्याइएका सामग्रीहरु पनि फिर्ता लग्यो । स्मेकले गरेको अध्ययन प्रतिवेदनअनुसार डोटी, डडेल्धुरा, बैतडी र बझाङ जिल्लाको सिमानामा जलायशययुक्त बाँध निर्माण गर्ने देखाएको थियो । बाँधस्थलदेखि बझाङको चौडामबगरसम्म लगभग २५ किलोमिटर लामो जलाशयमा १ अर्ब ५६ करोड ६० लाख घनमिटर पानी संकलन हुने उक्त परियोजनाले ६ सय ५९ हेक्टर खेतीयोग्य जग्गा, १२ सय २ हेक्टर वन क्षेत्र, २ सय ४६ हेक्टर घाँसे मैदान र २ सय ६ हेक्टर बुट्यान गरी २३ सय १३ हेक्टर जमिन डुबानमा पर्ने देखाएको थियो । हाल आएर बहुप्रतिक्षित ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा अलमल भएको भन्दै सुदूरपश्चिमका सांसदले एकढिक्का भई तत्काल काम अगाडि बढाउन दबाब दिनुपर्नेमा जोड दिएका छन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावलले पश्चिम सेती यथाशीघ्र अगाडि बढाउन सांसदहरूको एउटै मत रहेको बताए । आधा लगानी सरकार र आधा नागरिकका लागि सेयर निश्कासन गरेर प्रक्रिया अगाडि बढाए पश्चिमसेती निर्माणका लागि रकम जुट्छ, सुदूरपश्चिका नागरिक सेयरमा लगानी गर्न आतुर छन् । आधा लगानी सरकार र आधा नागरिकका लागि सेयर निश्कासन गरेर प्रक्रिया अगाडि बढाए पश्चिमसेती निर्माणका लागि रकम जुट्छ, सुदूरपश्चिका नागरिक सेयरमा लगानी गर्न आतुर छन्,’ उनले भने । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद दिलेन्द्रप्रसाद बडुले सुदूरपश्चिमलाई सधै अपहेलित गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। २८ वर्ष अगाडि शुरु भएको परियोजना अहिलेसम्म किन बन्न सकेको छैन भन्दै सरकारको ध्यानाकर्षण गराए। पश्चिम सेती निर्माणका लागि धेरै आवाज उठाएकाे उनकाे भनाइ छ । हामीले बेलाबखत कुरा उठाउँदै आएका छौं, नभए रेकर्ड हेर्दा हुन्छ , यतिबेला दुई तिहाईको सरकार छ , पश्चिम सेती बनाउने यो उचित समय हो,’ उनले भने । पश्चिम सेती परियोजना निर्माण गर्नका लागि १ खर्ब ८० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएके थियाे । जसमा २५ प्रतिशत लगानी नेपाल विद्युत प्राधिकरणको र ७५ प्रतिशत निर्माण कम्पनीको भनिएकाे थियाे । तर, त्याे बन्ने प्रक्रिया भने अलमलमै छ । अझैँ आशा कायमै २८ वर्षसम्म नबनेको आयोजना अझैँ बन्छ भन्ने आशा कायमै छ । २८ वर्षपछि सुदूरपश्चिमका युवाहरु आयोजना निर्माण गर्नका लागि विभिन्न पहलहरु गर्न थालेका छन् । विगत एक हप्तादेखि बोलन्या थली धनगढी नामक सामाजिक संस्थाले पश्चिम सेती आयोजना निर्माणमा पहल गर्नका लागि विभिन्न राजनीतिक दल र नियामक निकायकाेमा धाउन थालेका छ । बोलन्या थली धनगढीका संयोजक यादव जोशीले आयोजना अगाडि बढाउनका लागि विभिन्न कार्यक्रमहरु गर्न लागेको बताए । उनले विभिन्न मागसहित सुदूरपश्चिमका १ लाख जनताले लेखेको छुट्टाछुट्टै पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने तयारी पनि भइरहेको बताए । तीन देशको २ खर्ब ७४ अर्ब लगानी प्रस्ताव लामो समयदेखि बन्न नसकेको पश्चिम सेती जलविद्युत आयोजना फेरी बन्ने आशा पलाएको छ । यो जलविद्युत आयोजना निर्माणका लागि जापान, अमेरीका र कतारको लगानीमा अघि बढ्ने भएको जनाइएको छ । लगानी बोर्डले तीनै देशका लगानीकर्तालाई आयोजनाको निर्माणका लागि आर्थिक ताथा प्रावधिक प्रस्ताव माग गरेको बोर्डका प्रवक्ता बलराम रिज्यालले बताए । अब आयोजनामा कुल लगानी २ खर्ब ७४ अर्ब हुने लगानी बोर्डको अनुमान छ । उक्त परियोजनाको ‘रिक्वेस्ट फर प्रपोजल’ (आरएफपी)को मस्यौदा तयार गरिसकेको रिज्यालले बताए । जापानको फुजी इलेक्ट्रिक, कतारको नब्रास जलविद्युत् कम्पनी र अमेरिकाको जे पावरको कन्सोर्टियम म्याट्रिक्स इन्टरनेसनलद्वारा परियोजनामा लगानी गर्ने प्रस्ताव भएकाे छ । जापानको फुजी इलेक्ट्रिक, कतारको नब्रास जलविद्युत् कम्पनी र अमेरिकाको जे पावरको कन्सोर्टियम म्याट्रिक्स इन्टरनेसनलद्वारा परियोजनामा लगानी गर्ने प्रस्ताव भएकाे छ । यसअघि चीनको थ्री गर्जेज आयोजना लगानीयोग्य नभएको भन्दै लगानी गर्नबाट पछि हटेका कारण बोर्डले सोही नदीमा बन्ने ४ सय ५० मेगावाटको अर्को आयोजना एसआर–६ लाई समेत पश्चिमसेतीसँगै एउटै कम्पनीलाई निर्माणको जिम्मा दिने भएको छ । अब समग्र पश्चिमसेती–एसआर ६ आयोजनाको क्षमता १२ सय मेगावाट पुग्ने भएको छ ।
बैतडीका १२ वडा अझै स्वास्थ्यचौकी विहीन
बैतडी । जनप्रतिनिधि आएको साढे दुई वर्ष बितिसक्दासमेत बैतडीका ८४ मध्ये १२ वडा स्वास्थ्यचौकी विहीन रहेका छन् । ती वडामा आधारभूत स्वास्थ्य सेवा प्रदानका लागि अप्ठ्यारो भएको सम्बन्धित स्थानीय तहले जनाएका छन् । डिलाशैनी गाउँपालिका–६, दोगडाकेदार गाउँपालिका–२, मेलौली नगरपालिका वडा नं १, ४ र ८ शिवनाथ गाउँपालिका वडा नं १, ३, र ५ सिगास गाउँपालिका वडा नं ४ र ७ तथा सुर्नया गाउँपालिका २ र ८ मा स्वास्थ्यचौकी छैनन् । वडामा स्वास्थ्यचौकी नहुँदा सेवा लिन नागरिकलाई अप्ठ्यारो हुने गरेको सुर्नया गाउँपालिका–८ का वडाध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिए । स्वास्थ्यचौकी नभएका वडामा आधारभूत स्वास्थ्य सेवा प्रदानमा असहज भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । यसैबीच स्वास्थ्यचौकी नभएका वडामा चालु आर्थिक वर्षदेखि आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण हुने भएका छन् । भवन निर्माणका लागि सङ्घीय सरकारले सम्बन्धित स्थानीय तहका खातामा रकम पठाएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए । उनले भने, “अबको दुई वर्षभित्र सबै वडामा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण भइसक्छन् ।”रासस
सार्कको १९औँ शिखर सम्मेलन छिट्टै हुनेमा विश्वस्त छुः प्रधानमन्त्री ओली
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन शीघ्र आयोजना गर्न सदस्य राष्ट्रबीच सहमति हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । सार्क सचिवालयको आज भ्रमण गरेर सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले लामो समयदेखि अवरुद्ध भएको सार्कको १९औँ शिखर सम्मेलन चाँडो हुनेमा आफू ढुक्क रहेको बताए । उनले सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न आफू आतुर रहेको स्पष्ट पार्दै काठमाडौँमा सम्पन्न १८औँ शिखर सम्मेलनले शान्ति, एकता र प्रगतिका लागि गहिरो साझेदारीमा जोड दिएको स्मरण गरे । सार्कका राष्ट्राध्यक्ष/सरकार प्रमुखले सार्कका सिद्धान्त र उद्देश्यप्रति प्रतिबद्धता जनाएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘सार्कलाई पुनःजीवन दिन तथा दक्षिण एशियाका जनताको विकासको चाहना पूरा गर्न यसलाई प्रभावकारी माध्यम बनाउन उहाँहरुले सहमति जनाउनुभएको थियो ।’ प्रधानमन्त्री ओलीले सार्क क्षेत्रीय ऐक्यबद्धताको अभिव्यक्ति हो भन्दै यो क्षेत्रीय सङ्गठन दक्षिण एशियाका जनताको साझा पहिचान भएको बताउनुभयो । सार्कले दक्षिण एशियाका एक अर्ब ७० करोड जनताको द्रुत आर्थिक विकास, सामाजिक उन्नति र सांस्कृतिक प्रगतिलाई प्रतिनिधित्व गरेको पनि उनले बताए । प्रधानमन्त्री ओलीले सार्कको संस्थापक तथा हालको अध्यक्ष मुलुक नेपाल दक्षिण एशियाका जनताको सामूहिक हित र सहयोग प्रवद्र्धन गर्ने महत्वपूर्ण माध्यम भएको दोहोर्याउँदै क्षेत्रीय सहयोग नेपालको परराष्ट्र नीतिको उच्च प्राथमिकताको विषय भएको बताएका छन् । सार्कका महासचिव अमजद हुसेन बी. सियालले सार्कको परिधिभित्र रहेर क्षेत्रीय सहयोग अभिवृद्धि गर्न महासचिवका रुपमा निर्वाह गरेकाे भूमिकाको उनले सराहना गरेका छन् । साथै प्रधानमन्त्री ओलीले सचिवालय परिसरमा रुद्राक्षको बिरुवा रोपे । उनले सचिवालयमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरेका छन् । महासचिव सियालले प्रधानमन्त्रीको स्वागत गर्दै सार्कलाई गतिशील तुल्याउन नेपालसहित अन्य सदस्य राष्ट्रबाट आफूलाई निरन्तर सहयोग प्राप्त भएकामा सम्बद्ध सबैमा हार्दिक आभार व्यक्त गरेका छन् । सार्कको १९औँ शिखर सम्मेलन आयोजनामा केही विलम्ब भए पनि सार्कका अन्य गतिविधि निरन्तर रुपमा सञ्चालन भएकामा सन्तुष्टि व्यक्त गर्दै उनले आगामी फागुन १७ गतेदेखि आफ्नो कार्यकाल समाप्त हुने जानकारी दिए । उनले नेपालमा दुई पटक सेवा गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै नेपाल र नेपाली जनता सधैँ अविस्मरणीय रहने बताए ।रासस
रवीन कन्दङ्वाको ‘मेरो सपनाको भारी…’ गीतको भिडियो सार्वजनिक
काठमाडौं । रवीन कन्दङ्वाको ‘मेरो सपनाको भारी…’ गीतको भिडियो सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीत रहेको उक्त गीतको भिडियो बजारमा आएको हो । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रवीन लाई फिचरिङ गरिएको छ । चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ । हेर्नुहाेस् भिडियाे
३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलन शुरु, अर्थमन्त्रीद्वारा उद्घाटन
काठमाडौं । नेपाल व्यवस्थापन संघले ३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलन आजदेखि शुरू गरेको छ । उक्त सम्मेलन अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका हुन् । नेपाल व्यवस्थापन संघले आफ्नो वार्षिक साधारण सभाको अवसरमा एक मुख्य विषयमा केन्द्रित रही राष्ट्रिय व्यवस्थापन सम्मेलनको आयोजना गर्दै आएको छ । यस वर्षको राष्ट्रिय व्यवस्थापन सम्मेलनको मुख्य बिषय तथ्यांक परिचालित निर्णय प्रक्रिया रहेको छ । व्यवसायिक शत्रको रुपमा रहने यस सम्मेलनमा चारवटा कार्यपत्रहरु प्रस्तुत भैरहेका छन् । व्यवसायिक शत्रमा तथ्यांक विद् डा. आशुतोषमणि दीक्षित र भारतको आदित्य विरला समूह द ग्रुप अफ एक्जुकेटिभ प्रेसिडेन्ट कर्पोरेट स्ट्राटेजी एण्ड विजनेसका डी शिवकुमारले अतिथि वक्ताको रुपमा र प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार असगर अलीले इन्टरनेट अफ थिङ्स, डिजिटल डाटा एण्ड बिजनेसः हाउ बिजनेस आर टकिङ एडभान्टेज अफ डाटा ड्राइभन डिसिजन मेकिङ विषयमा प्रस्तुति दिएका थिए । त्यसैगरी, विश्व बैक समूह(टीबीसी)का नेपाल म्यानेजर फ्रेन्च ब्रेस्टले एक्सपेरियन्स सेयरिङ अन डाटा ड्राइभन इकोनोमी, पब्लिक फाइनान्सियल म्यानेजमेन्ट एण्ड द वे फरवार्ड फर नेपाल विषयमा आफ्ना प्रस्तुति दिए । कार्यक्रममा नेपाल पर्यटन बोडको तर्फबाट पर्यटन प्रबर्धनमा व्यवस्थापकहरुको भूमिका र नेपाल भ्रमण वर्ष २०२० रोल अफ म्यानेजर इन टुरिजम प्रोमोशन एण्ड भिजिट नेपाल इयर २०२० का विषयमा प्रस्तुतीकरण दिइएको थियो । सम्मेलनको उद्घाटन गर्दैै प्रमुख अतिथि अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल व्यवस्थापन जर्नलको विमोचन पनि गरेका थिए । नेपाल व्यवस्थापन संघका सभापति तथा राष्ट्रिय योजना आयोगका सदस्य माननीय सुशील भट्टको सभापतित्वमा सञ्चालन भैरहेको राष्ट्रिय व्यवस्थापन सम्मेलन समारोहलाई प्रथम उपसभापति बमबहादुर मिश्रले स्वागत गरेका थिए उनले नेपाल व्यवस्थापन संघको संक्षिप्त परिचयसहित ब्यवस्थापन सम्मेलनको उद्देश्यमाथि प्रकाश पारे । उद्घाटन सम्मेलनको अवसरमा विश्व र नेपालको व्यवस्थापन विकासको परिदृष्य २०१९ नामक एक अनुसन्धानात्मक कृतिको पनि विमोचन हुनेछ । यसका विविध पक्षहरुको सम्बन्धमा व्यवस्थापन विज्ञ नरोत्तम अर्याल र प्रशन्न पोखरेलले प्रस्तुति दिनेछन् । सम्मेलनको समापनको अवसरमा प्रमुख अतिथि डा. युवराज खतिवडा र नेपाल व्यवस्थापन संघका सभापति तथा राष्ट्रिय योजना आयोगका माननीय सदस्य ई.सुशील भट्टले संबोधन गर्नुहुने कार्यक्रम छ । नेपाल व्यवस्थापन संघद्वारा आयोजित राष्ट्रिय व्यवस्थापन सम्मेलनको समापन पछि आजै, वार्षिक साधारण सभा र राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान कार्यक्रम, १९ औं कार्यसमितिको निर्वाचन र एशियाका राष्ट्रिय व्यवस्थापन संघहरुको छाता संगठनको रुपमा रहेको एशियाली व्यवस्थापन संघले एशियाली नेतृत्व पुरस्कार साँझको आयोजना गर्दैछ । नेपालका व्यवस्थापकहरुलाई संगठित गर्ने, उनीहरुको सामूहिक हित रक्षाको लागि आवश्यक नीति र नियमहरु बनाउने, व्यवस्थापकहरुको वृत्ति विकासका अवसरहरु सिर्जना गर्ने, विश्वमा प्रतिपादित व्यववस्थापनका नवीन सिद्धान्त, ज्ञान, सीप र अभ्यासहरुलाई अबलम्बन गर्दै संस्थाहरुमा सुव्यवस्थापनका माध्यमबाट सुशासन कायम गर्दै देशको आर्थिक तथा सामाजिक विकासलाई सघाउने उद्देश्यले २०३७ सालमा नेपाल व्यवस्थापन संघको स्थापना भएको हो । स्थापनाको ३९ वर्षको अवधिमा यस संघले राष्ट्रिय स्तरमा सरकारको नीति निर्माणका विभिन्न तहमा सल्लाहकारको भूमिका पनि प्राप्त गरेको छ भने अन्तर्राष्ट्रिय स्तरमा यसले विभिन्न ११ राष्ट्रका राष्ट्रिय व्यवस्थापन संघ तथा विभिन्न क्षेत्रीय व्यवस्थापन संघको सदस्यता प्राप्त गरी कार्यगत सम्बन्ध स्थापित गरेको छ । संघले आफ्नो भगिनी संस्थाको रुपमा व्यवस्थापन विकास केन्द्रको स्थापना गरेको छ । यसले अध्ययन,अनुसन्धान र परामर्शदाताको समेत काम गरेर संस्थाहरुको सुधार र आर्थिक सामाजिक विकासका प्रयासहरुलाई उपलब्धिमूलक बनाउन सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । त्यस्तै व्यवस्थापनको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले संघले व्यवस्थापन विकास क्याम्पस पनि सञ्चालन गर्दै आएको छ । इएमबीए स्तरको अध्यापनमार्फत दक्ष जनशक्ति उत्पादन गरेर नेपालको सार्वजनिक र निजी क्षेत्रलाई योग्य व्यवस्थापकहरु आपूर्ति गर्न यसले सघाइरहेको छ । यसबाहेक संघले आवश्यकता र मागमा आधारित भएर विभिन्न किसिमका अल्पकालीन र मध्यकालीन तालिमहरु पनि सञ्चालन गर्दै आइरहेको छ । संघले नीति निर्माण र कार्यान्वयनमा सघाउने अभिप्रायले स्थापना कालदेखि नै वार्षिक नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आम जनता र सरोकारवाला निकायका बीचमा संवाद गरी उपयुक्त सुझाव दिने उद्देश्यले पूर्व बजेट गोष्ठी र बजेट समीक्षा गोष्ठी गर्दै आएको छ । त्यसैगरी निजी क्षेत्र र आम नागरिकको जीवनमा असर गर्ने मौद्रिक नीतिका सम्बन्धमा पनि गोष्ठीहरु गर्दै आएको छ ।