विकासन्युज

नेपाल व्यवस्थापन संघमा नयाँ नेतृत्व, संस्थागत सदस्यमा सरकारी संस्था हावी

साधारणसभा उद्घाटन कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा र नेपाल व्यवस्थापन संघका अध्यक्ष सुशील भट्ट काठमाडौं । नेपाल व्यवस्थापन संघमा नयाँ नेतृत्व चुनिएको छ । शुक्रबार सम्पन्न ३९ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । कार्यसमिति सदस्यमा व्यक्तिगततर्फ किरण कुमार श्रेष्ठ सबैभन्दा बढी ३८९ मत ल्याएर विजयी भएका छन् । उनले यस वर्षको उत्कृष्ठ व्यवस्थापक अवार्ड पनि पाएका छन् । त्यस्तै, धर्मानन्ध अधिकारीले ३६८, अनु जोशीले३६४ र सुमन पोखरेलले ३५८ मत पाएर विजयी भएका छन् । त्यसैगरी हेमा अधिकारीले ३१२, इन्द्रकुमार श्रेष्ठले ३०९, मनिष झाले ३०१, आशा राणा अधिकारीले २९५, सुजन आचार्यले २७४, मिलन श्रेष्ठले २७०, मोहन ओझाले २५४ मत पाएर निर्वाचित भएका छन् । मोहन ओझाको भन्दा २ मत कम पाएर सरोज कुमार प्रधान पराजित भएका छन् । उमेदवार योगराज कँडेलले १८७, अजय कुमार मिश्रले १९३ राजन थापाले १९३ र रमेश भण्डारीले १५४ मत पाएका छन् । व्यक्तिगत समूहबाट ११ जना निर्वाचित हुनुपर्नेमा १६ जनाको उम्मेदवारी परेको थियो । संघमा करिब ६०० सदस्य भएपनि जम्मा ४६७ मत खसेको थियो । सस्थागत तर्फ नेपाल राष्ट्र बैंकका बंमबहादुर मिश्र, राष्ट्रिय वाणिज्य बैंकका कविराज अधिकारी, कर्मचारी संचय कोषका तुलसीराम गौतम, कर्मचारी संचय कोषका रमण नेपाल, राष्ट्रिय बीमा संस्थानका कवि पाठक र शिवम सिमेन्ट निर्वाचित भएका छन् । सस्थागत तर्फबाट ६ सदस्य निर्वाचित हुनुपर्नेमा सरकारी संस्थाहरु हावी भएका छन् । संस्थागततर्फ निजी क्षेत्रबाट शिवम् सिमेन्ट मात्र निर्वाचित भएको छ । सरकारी नेपाल बैंक पराजित भएको भने सीजी फुड्स्, नेविको विष्कुट पनि पराजित भएका छन् । सोमबार बस्ने नयाँ कार्यसमितिको बैठकले अध्यक्षसहित पदाधिकारी चयन गर्ने कार्यक्रम रहेको वर्तमान अध्यक्ष सुशील भट्टले जानकारी दिए । स्रोतका अनुसार किरण कुमार श्रेष्ठ, वमबहादुर मिश्रसहितले अध्यक्षको आकांक्षा राखेका छन् । म्यानेजर अफ द एयर अवार्ड पनि पाएको, सबैभन्दा बढी मत पनि पाएकोले किरण कुमार श्रेष्ठ नै अध्यक्षमा निर्वाचित हुने अनुमान गरिएको छ ।

साधना लघुवित्तद्वारा कर्जा मिनाहा

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको हरमटारी शाखाले शुक्रबार एक कार्यक्रम आयोजना गरी कर्जा मिनाहा कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाको शाखा कार्यालय हरमटारीले गोरखा न.पा बडा नं. ३ घलाङ्गमा गठित केन्द्र नं. ८१ मा आबद्ध ऋणी सदस्य हिरामाया अधिकारीको २०७६ साउन १४ गते हृदयघातका कारण मृत्यु भएकोमा वित्तीय संस्थालाई तिर्न बाँकी साँबा ब्याज गरी ६२ हजार ७८४ रुपैयाँ मिनाहा गरेको छ । साथै, तिरिसकेको साँवा १२ हजार ७५० रुपैयाँ र काजक्रिया खर्च २१ हजार ९६६ रुपैयाँ समेत गरी ३४ हजार ७१६ रुपैयाँ निजको श्रीमान् खोप बहादुर अधिकारीलाई गोरखा न.पाबडा नं. ३ का वडा अध्यक्ष रामबाबु बोगटीले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वडा अध्यक्ष बोगटीले महिला सदस्यहरुलाई कर्जाको सहि सदुपयोग गर्न आग्रह गरेका छन् । वित्तीय संस्थाले ग्राहक अनुकुल गुणस्तरीय वित्तीय सेवा प्रबाह गर्दे सदस्यहरुलाई सिपमूलक तालिम, बजारीकरण र विश्वसनीय कारोबार गर्न वित्तीय संस्था प्रतिबद्ध रहेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए ।

ग्लोबल आइएमईको नयाँ एक्सटेन्सन काउण्टर काठमाडौंको मुलपानीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि काठमाडौंको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर शुरु गरेको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै उक्त एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकले हालसम्म २७० शाखा, २५७ एटिएम, ३८ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत सेवा दिँदै आएको छ ।

नेपालमै तयार भयो बजाजको ‘डोमिनार ४००’, पहिले भन्दा ६० हजार सस्तो पर्ने

काठमाडाैं । नेपालका सडकमा गुड्ने अधिकांश मोटरसाइकलहरु भारतमा निर्माण भएका हुन्छन् भने बाँकी चाहिँ जापान, इटाली, अमेरिका लगायतका देशमा निर्माण भएका हुन्छन् । तर पछिल्ला समयमा विभिन्न ब्राण्डहरुले नेपालमै मोटरसाइकल एसेम्बल गर्ने प्लान्ट स्थापना गर्ने क्रम पनि बढ्दो छ । यसैमध्येको एउटा ब्राण्ड बजाजले आफ्नो पावरफुल र स्पोर्टी मोडेल ‘डोमिनार ४००’ लाई हालसालै मात्र नेपालमै एसेम्बल गरेर बिक्रीको लागि टेकुस्थित शोरुममा पनि पठाइसकेको छ । नेपालमै बनेको भएर नै यस बाइकको मूल्य भारतीय डोमिनार भन्दा सस्तो पर्न गएको छ । नेपालमा यसको मुल्य ५ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ जुन भारतीय डोमिनारको मूल्यभन्दा ६० हजार रुपैयाँले सस्तो हो । डोमिनार आफ्नो पावरफुल इञ्जिन, एग्रेशिभ लुक्स र टुरिङ्ग विशेषताहरुका लागि प्रख्यात रहेको छ । बजाजको नेपालका लागि आधिकारीक बिक्रेता एचएच बजाजले जनाए अनुसार डोमिनारमा पाइने उपरोक्त विशेषताहरु नेपालमा निर्मित डोमिनारमा पनि यथावत्नै रहेको छ । अझ भन्ने हो भने नेपाली डोमिनार र भारतीय डोमिनारमा केहि फरक नै नरहेको कुरा कम्पनीले जनाएको छ । डोमिनार एउटा नेकेड मोटरसाइकल हो जसमा ३७३.३ सीसीको इञ्जिन समावेस गरिएको छ भने सो इञ्जिनले ३४.५ बीएचपीको पावर र ३५ एनएमको टर्क उत्पादन गर्दछ । १३ लिटरको ट्याङ्क क्यापासिटी रहेको सो मोटरसाइकलमा डुअल च्यानल एबीएस पनि जडान गरिएको छ ।

सानिमा जनरल इन्स्योरेन्सको ३० करोडको आईपीओ प्रस्ताव पारित

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको प्रस्तावित ३० करोडको आईपीओ(साधारण सेयर) पारित भएको छ । माघ २४ गते सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० लाख कित्ता सेयर निष्काशन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । उक्त आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब नाघ्ने छ । कम्पनीले नियमक निकाय बीमा समितिको निर्देशन बमोजिम १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने व्यवस्था भएअनुसार सो मात्राको सेयर निष्काशन गर्न लागेको हो । त्यसैगरि सभाले आगामी आर्थिक वर्ष ०७६।०७७ का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा एल.आर. एसोसियट्सका चाटर्ड एकाउण्टेण्ट सुजन काफ्लेलाई नियुक्त गरेको छ । यस कम्पनीले २०७५ आसार २७ बाट आफ्नो व्यवसायिक बीमा कारोवार शुरु गरेको हो ।

वकिल टंकको धन्दाः थुनामुक्त गराईदिने भन्दै लिए ४२ लाख

काठमाडौं । नेपाल प्रहरीले एउटा अनौठो ठगी धन्दाको पर्दाफास गरेको छ । कानुन व्यवसायीले थुनामा रहेका व्यक्तिलाई छुटाईदिने भन्दै उनको परिवारसँग रकम लिएर ठगी गरेको तथ्य प्रहरीले फेला पारेको हो । कानुन व्यवसायी (वकिल) टंकबहादुर राना मगरले राजस्व चुहावट मुद्दामा नख्खु कारगारमा रहेका रमेश दाहालका बाबुसँग रकम लिएर ठगी गरेका हुन् । वकिल टंकले रमेशका बाबु तिर्थराज दाहालसँग ४२ लाख रुपैयाँ लिएर ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए । सिंहले दिएको जानकारी अनुसार वकिल टंकले रमेशका बाबु तिर्थलाई विश्वासमा लिई राजस्व चुहावट मुद्दामा थुनामा रहेका रमेशलाई सेटिङ मिलाई जमानतमा छुटाइदिने आश्वासन दिएका थिए । यसका लागि उनले ४२ लाख रुपैयाँ कागज नै गरेर लिएका थिए । वकिल टंकले आफूलाई विश्वासमा पारेर रकम लिई ठगी गरेको उजुरी तिर्थले दिएका थिए । तिर्थको उजुरीकै आधारमा प्रहरीले टंकलाई २४ माघमा काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो । धनकुटाको शहीदभुमि नगरपालिका–७ स्थायी ठेगाना भएका टंक हाल काठमाडौंको किर्तिपूरमा बस्दै आएका प्रहरीको भनाइ छ ।

उद्योग वाणिज्य संघका १२७ जना पदाधिकारीहरुद्वारा चन्द्रागिरि भ्रमण

काठमाडौं । चन्द्रागिरि हिल्सद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकार तथा चन्द्रागिरि हिल्स रिर्सोटमा ७८ जिल्ला नगरका अध्यक्ष सहित १२७ जना उद्योग वाणिज्य संघका पदाधिकारीहरुले शुक्रबार अवलोकन भ्रमण गरेका छन् । उनीहरुलाई चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा महाप्रबन्धक अभिषेक विक्रम शाहले परियोजनाको स्थलगत भ्रमण गराएका हुन् । भ्रमणको क्रममा पदाधिकारीहरुले चन्द्रागिरि देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको र आगामी दिनमा आ-आफ्नो जिल्लामा यस्तै पर्यटकीय गन्तव्य विकास सम्भावनाको खोजी गर्ने बताए । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनारहल र रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

७० वर्षे घाँसी बाजे, जसले कमाउछन् २५ लाख रूपैयाँ

तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका वामदेव खनाल ‘घाँसी बाजे’ को नामबाट परिचित छन् । ७० वर्ष उमेर पूरा भइसकेका उनले घाँस खेतीबाटै दामसँगै नाम पनि कमाएका छन् । उनलाई चिन्नेहरु तनहुँमा मात्रै होइनन्, देशभर छन् । उनलाई सबैले ‘घाँसी बाजे’ को नामबाट बोलाउने गर्दछन् । खनालले घाँस बिक्रीबाटै वार्षिक लाखौँ आम्दानी गरिरहेका छन् । खनालले यो वर्ष करिब २५ लाख रूपैयाँको घाँस बिक्री गर्ने लक्ष्य राखेका छन् । यो वर्षको वर्षायाममा खनालले नौ/दश लाख रूपैयाँको घाँस बिक्री गरिसकेका छन् भने अझै १५ लाख रूपैयाँको घाँस बिक्री हुने क्रममा रहेको खनालले जानकारी दिए । “झण्डै दश लाख रूपैयाँको घाँस बिक्री भइसक्यो, अझै १५ लाख रूपैयाँको घाँस बिक्री हुने अनुमान छ”, खनालले भने, “घाँस किन्नका लागि तनहुँका विभिन्न ठाउँका अलवा, स्याङ्जा, सिन्धुली, गोरखाबाट पनि सम्पर्क गरिरहेका छन् ।” खनालले गत जेठ महिनामा सल्यानबाट बीउ ल्याएर रोपेका सुपर नेपियरको बेर्ना मात्रै पाँच लाख रूपैयाँको बिक्री गरिसकेका छन्। खनालका अनुसार सुपर नेपियरको बेर्ना दुई वटा आख्लाको १० रूपैयाँमा बिक्री भइरहेको छ । विसं २०५४ देखि घाँसखेती शुरु गरेका उनी बिहानै ७ बजेदेखि साँझ ६/७ बजेसम्म बारीमै काम गरिरहेको अवस्थामा भेटिन्छन् । घाँसखेतीबाटै खनालले दामसँगै नाम पनि कमाउन सफल भएका छन् । कुनै समय वर्षभरिको कमाइले चार महिना पनि खानलाई धौ–धौ पर्ने खनालको आफ्नो सम्पत्तिको नाउँमा ३८ रोपनी पाखो जग्गा थियो । थप ३२ रोपनी जग्गा भाडामा लिएर कूल ७० रोपनी क्षेत्रफलमा खनालले घाँसखेती गरेकाे उनी बताउँछन् । अछाम, डडेलधुरा, धनकुटा, इलाम, धरान, पाँचथर, झापा, दैलेख, डोटी, सुर्खेत, कञ्चनपुर, डोटी, कास्की, चितवन, गोरखा, लमजुङ, स्याङ्जा, पर्वत, म्याग्दीलगायतका ठाउँका कृषकले खनालले उत्पादन गरेको घाँस विस्तार गरिसकेका छन् । खनालले ७० रोपनी क्षेत्रफलमा राइखनियो, बडहर, बकाइनो, टाकी, कोइरालो, चिउरी, सियोफोर, सम्बा सेटारिया, पास पालम, पलाटोलगायतका घाँसखेती गरिरहेका छन् । भाडामा लिइएको ३२ रोपनी जग्गामध्ये खेतको प्रतिरोपनी तीन हजार रूपैयाँ र पाखो बारीको प्रतिरोपनी दुई हजार रूपैयाँ वार्षिक भाडा तिर्ने खनालले बताए । खनालले घाँसखेतीबाट आम्दानी भएको रकमले भ्यानसमेत खरिद गरेका छन् । पोखरा, बागलुङ, स्याङ्जालगायतका ठाउँबाट घाँसको माग भएको बेला ढुवानीको समेत व्यवस्था मिलाइएको छ । उनले भने, “देशमा रोजगारी नभएको भन्दै युवा विदेशिरहेको अवस्थामा मैले छोरालाई समेत यही व्यवसायमा सहभागी गराएको छु, आफ्नै ठाउँमा पौरख गरे विदेशिनु पर्दैन ।” जिल्ला पशुसेवा कार्यालय तनहुँका तत्कालीन पशुसेवा प्राविधिक रेवतराज शाहको परामर्श र सहयोगमा विसं २०५४ सालमा पशुसेवा फर्म पोखरामा एक हप्ते तालिममा भाग लिने अवसर पाएपछि खनाल आफ्नो खाली पाखोलाई घाँसे बगैँचाको रुपमा परिणत गर्ने प्रतिबद्धताका साथ लागि परेका थिए । एक हप्ते घाँस बाली तालीमबाट घर फर्कदा तीन वटा नेपियरको बेर्ना ल्याई घाँसखेती शुरु गरेका उनको पाखो बारी अहिले हरियाली नर्सरीको रुपमा परिणत भएको छ । जिल्ला पशुसेवा कार्यालय तनहुँले खनाललाई तालिममा सहभागी छनोट गरी पशु सेवा फार्म पोखरा पठाउनाले र उनको आफ्नै अथक मेहनत र परिश्रमले गर्दा उनी आज जिल्लामा मात्रै नभई देशभर प्रख्यात छन्। रासस