गुराँस लाईफ इन्स्योरेन्सको आय २९ करोडले बढ्यो
काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासमा २९ करोड रुपैयाँले आय बढाएको छ । कम्पनीको चालु आवको दोस्रो त्रैमासमा आय १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ भने गत आवको दोस्रो त्रैमासमा आय १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो । खुद बीमा शुल्कः चालु आवको दोस्रो त्रैमासमा कम्पनीको बीमा शुल्क ९५ करोड ७७ लाख रुपैयाँ रहेको छ भने गत आवको दोस्रो त्रैमासमा कम्पनीको बीमा शुल्क ७१ करोड ९९ लाख रुपैयाँ रहेको थियो । दोस्रो त्रैमासमा कम्पनीको बीमा शुल्क २४ करोड रुपैयाँले बढेको छ । पूनर्बीमा कमिशन आयः कम्पनीको पूनर्बीमा कमिशन आय शिर्षकमा कुनै तथ्याङ्क देखिदैन । लगानी, कर्जा तथा अन्यबाट आयः कम्पनीको चालु आवको दोस्रो त्रैमासमा लगानी, कर्जा तथा अन्यबाट आयमा ३० करोड ३८ लाख रुपैयाँ छ भने गत आवको दोस्रो त्रैमासमा २३ करोड ७५ लाख रुपैयाँ रहेकाे छ । हाल कम्पनीको चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ३४ करोड ७२ लाख ९७ हजार रुपैयाँ रहेको छ । यस्तै, जीवन बीमा कोषमा कम्पनीको ६ अर्ब ६७ करोड ३४ लाख रुपैयाँ रहेको छ । बीमा लेखको धितोमा कर्जाबाट आयः बीमा लेखको धितोमा कर्जाबाट आयमा कम्पनीको चालु अवको दोस्रो त्रैमासमा २ करोड १८ लाख ४१ हजार रुपैयाँ रहेको छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा १ करोड २९ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।
हुण्डाई क्रेटाको नयाँ संस्करण छिट्टै सार्वजनिक हुने, यस्ता विशेषताले बनाउनेछ खास
काठमाडाैं । हुण्डाईले भारतमा आउँदो मार्च १७ तारिखका दिन क्रेटाको नयाँ संस्करण सार्वजनिक गर्ने भएको छ । यस दोस्रो जेनेरेशन क्रेटामा परिमार्जित एक्स्टेरियर र इन्टेरियरका साथै बीएस६ इञ्जिन पनि समावेस हुनेछ । नयाँ क्रेटामा पहिलेको भन्दा बोल्ड डिजाइन हुनेछ । स्प्लीट हिटल्याम्प, स्प्लीट टेल-लाइट, नयाँ बम्पर र स्किड प्लेट, डुअल-टोन अलोए व्हिल्स लगायतले यसको एक्स्टेरियरलाई पहिलेभन्दा बोल्ड बनाएको हो । इन्टेरियरको कुरा गर्नुपर्दा ल्याण्डस्केप पोजिशनमा राखिएको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ब्लूलिङ्क कनेक्टर-कार टेक, पानोरामिक सनरुफ, वायरलेस चार्जिङ्ग, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कुल्ड सिटहरु लगायतले यसको इन्टेरियरलाई पहिलेभन्दा अझ तारिफयोग्य बनाएको छ । हुण्डाईले क्रेटाको इञ्जिनको बारेमा केहि खुलाएको भने छैन । तर भारतिय मिडियाहरुका अनुसार यसमा कियाको सेल्टोसकै इञ्जिन समावेश हुनेछ । यसको मतलव क्रेटा सेल्टोसको १.५ लिटरको डिजेल र १.५ लिटरकै पेट्रोल इञ्जिन र त्यसैगरी अर्को १.४ लिटरको टर्बोचाज्र्ड पेट्रोल इञ्जिन अप्शनमा उपलब्ध हुनेछ । १.५-लिटर डिजल इञ्जिनले ११५ पीएसको पावर र २५० एनएमको टर्क उत्पादन गर्दछ भने १.५ लिटर पेट्रोल इञ्जिनले चाहिँ ११५ पीएसको पावर र १४४ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी अर्को १.४ लिटर टर्बोचाज्र्ड पेट्रोल इञ्जिनले चाहिँ १४० पीएसको पावर र २४२ एनएमको टर्क उत्पादन गर्दछ । हालको क्रेटा १.६ लिटरको पेट्रोल तथा डिजेल इञ्जिन र त्यसैगरी १.४ लिटरको पेट्रोल इञ्जिन अप्शनमा उपलब्ध रहेको छ । फस्र्ट जेनेरेशन क्रेटाले मिडसाइज एसयूभी सेग्मेन्टमा ठूलो सफलता हासिल गर्न सफल भएको थियो । त्यसैले अब आउने नयाँ क्रेटालाई ठूलो जिम्मेवारी थपिएको छ, विशेषगरी अहिलेको बेजोड प्रतिष्पर्धीहरु बजारमा भइरहेको समयमा । लञ्च पश्चात् नयाँ क्रेटाले कियाको सेल्टोस, एमजीको हेक्टर र टाटाको एच५ लगायतका एसयूभी सित ठाडो प्रतिष्पर्धा गर्नुपर्नेछ । भारतिय बजारमा सो कारको मूल्य १० लाख रुपैयाँदेखि १६ लाख रुपैयाँको हाराहारी पर्न सक्ने अनुमान गरिएको छ ।
युनाइटेड फाइनान्सका ग्राहकले हेरचारको सेवा शुल्कमा १० प्रतिशत छुट पाउने
काठमाडौं । युनाइटेड फाइनान्सका ग्राहकले हेरचार डटकमको सेवा शुल्कमा १० प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच बिहीबार सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा युनाइटेड फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) अजय कुमार मिश्र र हेरचार डटकमका तर्फवाट प्रबन्धक उत्सव भट्टराइले हस्ताक्षर गरेका हुन् । यससँगै फाइनान्सका ग्राहकले हेरचार डटकम मार्फत गराउने मर्मत तथा सम्भार सम्बन्धि कार्यहरुको लागि १० प्रतिशत छुट पाउने छन् । हेरचार डटकमले फागुन १ गतेदेखि नै लागु हुने गरी आफ्नो बजार विस्तारलाई आक्रमक रुपमा अगाडी बढाउनको लागि फाइनान्ससँग उक्त सम्झौता गरेको हो । हेरचार डटकमले विगत डेड वर्षदेखि व्यावसायिक घराना बैंक, इन्सोरेन्स, फाइनान्स तथा घरघरमा आइपर्ने मर्मत तथा सम्भार सम्बन्धि कार्य गर्दै आइरहेको छ । छिटै नै बुटवल तथा हेटौडामा शाखा विस्तार गर्न लागेको हेरचारले काठमाण्डौ बाहिरपनि हेरचारको सेवालाई आक्रमक रुपमा विस्तार गर्न लागेको हेरचार प्रबन्धक रमेश कुमार भट्टराइले जानकारी दिए ।
सेञ्चुरी बैंकका ग्राहकले बुटवलको क्लवमा १० प्रतिशत छुट पाउने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले बुटवलको रुपन्देहींस्थित क्लव दे नोभोमा १० प्रतिशत छुट पाउने भएका छन् । दुई कम्पनीबीच सम्झौता भएसँगै बैंकका क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले क्लवको सेवा सुविधामा विशेष छुट पाउने भएका हुन् । उक्त सम्झौतापत्रमा बैंकका बुटवल शाखा प्रबन्धक यादव भट्टराईर क्लव दे नोभा प्रा.लि.का प्रबन्धक अर्जुन गैरेले हस्ताक्षर गरेका छन् । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्नेगरी सम्झौता गरेको हो ।
ज्योति लाईफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा पुनः राजेश हमाल
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले व्यवसायिक सद्भावनादुत(ब्राण्ड एम्बेसडर)मा पुनः नेपालका महानायकका रुपमा परिचित राजेश हमाल नियुक्त भएका छन् । कम्पनीले बिहीबार मात्रै महानायक हमाललाई आगामी दुई २ वर्षको लागि पुनः नियुक्त गर्ने सम्झौता गरेको हो । उक्त कार्यक्रममा ज्योति लाईफ इन्स्योरेन्सका कार्यकारी उप-प्रमुख प्रकाश विक्रम खत्री र राजेश हमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाली चलचित्र क्षेत्रका महानायक तथा देशकै गौरवशाली व्यक्तित्व राजेश हमाललाई कम्पनीमा पुनःआवद्ध गराउन पाउनु कम्पनीको हकमा लाभदायी रहने र कम्पनीको व्यवसाय प्रबर्धन सम्बन्धी विभिन्न कार्यक्रमहरुमा राजेश हमालको सहभागिता रहने भएकोले नेपाली बीमा क्षेत्रकै प्रबद्र्धनमा टेवा पुग्ने विश्वास कम्पनीले गरेको छ । छोटो समयमा नै कम्पनीको बीमा शुल्क आर्जन, प्रविधिक विकास र खुद नाफामा उल्लेख्य प्रगति देख्दा आफुले व्यवसायिक सद्भावनादुतमा पुनः आवद्ध हुन पाउनु आफैलाई पनि खुसी लागेको राजेश हमालले बताए ।
विभिन्न आकर्षक बन्डल प्याकेजहरुको साथ भायानेटले ल्यायो क्यान २०२० अफर
काठमाडौं । क्यान २०२० मा प्रदर्शनीको डायमण्ड प्रायोजक भायानेटले क्यान २०२० अफर ल्याएको छ । यस अफर अन्तर्गत भायानेटले अफर अवधिभरि इन्टरनेट टिभीको विशेष अफर दिनेछ । यसै गरी ग्राहकहरुको लागि जीवन अपग्रेड गर्न विभिन्न आकर्षक बन्डल प्याकेज पनि भायानेटले प्रदर्शन तथा बिक्री गर्ने भएकाे छ । यस अवधिमा स्टलमा आउने ग्राहकहरु मध्ये लक्की ड्र मा दैनिक पुरस्कारका साथ विशेष बम्पर पुरस्कार पाउने मौका ग्राहकहरुलाई दिईनेछ।
मेलम्चीको पानी आगामी असारभित्रै सुन्दरीजलमा
काठमाडौं । खानेपानी मन्त्री बीना मगरले असारभित्रै मेलम्चीकाे पानी काठमाडौं आइपुग्ने बताएकी छन् । बिहिबार मन्त्रालयले स्वेतपत्र जारी गर्दै असारभित्रै मेलम्चीकाे पानी सुन्दरीजलमा आइपुग्ने बताइएकाे छ । चालू आर्थिक वर्ष २०७६/०७७ असार मसान्त भित्रै सुरुङ परीक्षण र सञ्चालनको काम सम्पन्न हुने उनको जिकिर छ । मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले पनि मुख्य र सहायक ड्याम निर्माण तथा सुरुङको फिनिसिङ लगायतको काम निर्धारितभन्दा २/३ महिना पहिल्यै सकिने विश्वास व्यक्त गरे । इटालीयन कम्पनी सीएमसी बीचैमा काम छाडेर भागेपछि आयोजनाको बाँकी काम आगामी असोजभित्र सक्न चीनको सिनो हाइड्रोसँग गत वर्ष ठेक्का सम्झौता भएको थियो । आयोजनाको भौतिक प्रगति ९४ प्रतिशत भइसकेको कार्यकारी निर्देशक खत्रीको दाबी छ । यस्ताे छ सरकारले जारी गरेकाे स्वेतपत्र: [pdf id=195770]
करिब ३० अर्ब रूपैयाँ बराबरकाे सिमेन्ट उधाराेमा फस्याे, उठाउन सरकार कानुन बनाउँदै
काठमाडौं । उधाराे व्यापारले बजारमा सकस पैसा भएपछि सरकारले उधाराे उठाउने कानुन नै बनाउने तयारीमा जुटेकाे छ । व्यापारीहरूले उद्याेगिसँग उधाराेमा माल लिने तर भुक्तानी गर्ने बेलामा अनेक वहाना गरेर पन्छने प्रवृतिले बजारमा गम्भिर समस्या सिर्जना गरेकाेले उधाराे उठाउने कानुन बनाउन लागिएकाे उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले बताएका छन् । नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष तराप्रसाद पोखरेलका अनुसार सिमेन्ट उद्योगको झण्डै ३० अर्ब रूपैयाँ फसेकाे छ । प्रत्येक सिमेन्ट उद्योगको ४० देखि ५० करोडसम्म बजारबाट पैंसा उठन बाँकी रहेको उनले बताए । उद्योग विभागमा १ सय ३० वटा सिमेन्ट उद्योग दर्ता छन् भने अहिले ६१ उद्योग मात्रै संचालनमा छन् । उद्याेगिकाे पैसा बजारमा फसेको र सिमेन्टको माग काम पनि कम भएको कारणले सिमेन्ट उद्योगहरु पूर्णरुपमा सञ्चालन हुन नसकेकाे उनले बताए । सिमेन्ट उत्पादकहरुले सिमेन्ट उत्पादन गरेर बिक्रेताहरुलाई निश्चित समयका लागि उधाराे दिने अभ्यास छ । उद्योगीसँग व्यापारीले उधाराेमा माल चलाए झै उखु किसानको पैंसा पनि उद्योगीले दिन बाँकी छ । बस्तु व्यापारकाे साथै सेवा व्यापारमा पनि उधाराे अभ्यास व्यापक छ । खासगरी पर्यटन, शिक्षा, स्वास्थ्य र सञ्चार जस्ता सेवा क्षेत्रमा पनि उधाराेले संकट बढाएकाे व्यवसायीहरू बताउँछन्र । नयाँ कानुन बनेपछि सबै क्षेत्रमा रहेकाे उधाराे काराेबार समस्या सम्बाेधन हुने राज्य मन्त्री दुगडले बताए । उद्योगलाई राहात दिने सरकार सरकारी साेच सरकारले सिमेन्ट प्रयोग गरेर सडक निर्माण गर्ने योजना अगाडी सारेको छ । विटुमिन प्रयोग भएको सडक चाँडै भत्किन थालेपछि कंक्रिट सडक बनाउने योजना अघिसार्ने भएको छ । धेरै लोड बोकेका गाडी गुड्दा र कालोपत्रे सडक एक झर पानीले नै क्षतविक्षत बनाउन थालेपछि सिमेन्ट प्रयोग गरेर कंक्रिट सडक बनाउने योजना सरकारले अघि सारेको हो । विटुमिन प्रयोग गरेर निर्माण गरिएको सडक कति समय टिक्छ भन्न सकिदैन तर कंक्रिट सडक थोरैमा पनि ३० वर्ष टिक्ने विज्ञहरु बताउछन् । नेपालमा पहिलो सिमेन्ट उद्योगको रुपमा २०३१ सालमा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । अहिले हिमाल सिमेन्ट उद्योग बन्द छ । २०३२ सालमा हेटौंडा सिमेन्ट र २०४४ सालमा उदयपुर सिमेन्ट स्थापना भए । यी दुबै उद्योग अहिले पनि संचालनमा छन् । सरकारले सिमेन्ट उद्योगमा लगानी गर्न थालेको १९ वर्ष पछि मात्रै निजी क्षेत्रले सिमेन्ट उद्योगमा लगानी गर्न सुरु गरेका हुन । नेपालमा स्वदेशी र विदेशी गरि ४ सय अर्ब लगानी रहेको छ ।