ड्रोन क्यामेरा-हेलिकप्टर बिना अनुमति निकुञ्जमा प्रयोग, वन्यजन्तुमाथि गम्भीर असर
सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले बिना अनुमति निकुञ्जमा प्रयोग गरिएका दुई ड्रोन क्यामेरा जफत गरेको जनाएको छ । निकुञ्जका प्रमुख भूमिराज उपाध्यायका अनुसार उक्त क्यामेरा जोरसल्ले र डोले क्षेत्रबाट बरामद गरिएको हो । अहिले ती क्यामेरा विभागमा पठाउने तयारी भइरहेको निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्रमा बिना अनुमति क्यामेरा तथा ड्रोन क्यामेरा प्रयोग गर्न पाइँदैन तर कतिपयले प्रयोग गर्ने गरेको उनले बताए । विगतमा निकुञ्ज क्षेत्रमा चोरी शिकारीका लागि थापिएका विभिन्न प्रकारका धराप, पासोलगायतका सामग्री बरामद हुने गरिएको भए पनि चालु आर्थिक वर्षको हालसम्म त्यस्ता सामग्री नभेटिएको निकुञ्जले जनाएको छ । विसं २०३२ मा स्थापना भएको निकुञ्जको कुल क्षेत्रफल १,१४८ वर्ग किमि रहेको छ । सर्वोच्च शिखर सगरमाथा (८८४८ मि), ६,००० मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत यसै निकुञ्ज क्षेत्रभित्र पर्छ । यहाँ स्थानीय बासिन्दा र पर्वतारोहीले प्रयोग गर्दै आएका गोक्यो, खुम्बु, छुकुम र नाङ्गपा मुख्य चारवटा उपत्यका रहेका छन् । यस निकुञ्जभित्रको गोक्यो र सम्वद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो । यहाँ कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारलजस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुंगा) र पहेँलो चुच्चे काग (टेमु लगायत १९३ प्रजातिका चरा पाइन्छन् । सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलोकन गर्न वर्षेनी हजारौँ पयर्टक यहाँ आउने गर्दछन् । सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ । त्यसैले यस निकुञ्जभित्र विभिन्न मानवीय क्रियाकलाप गर्न प्रतिबन्द गरिएको निकुञ्जले जनाएको छ । नियम विपरीत हेलिकप्टरको उडान सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियम विपरीत हेलिकप्टर उडान तथा अवरतण हुने गरेको छ । निश्चित स्थान तथा क्षेत्रमा उडान तथा अवतरण हुनुपर्ने भए पनि पर्यटक उद्धारको नाममा मनोमानी हेलिकप्टरले उडान भर्ने गरेको खुम्बुवासीले गुनासो गरेका छन् । यसले गर्दा यस क्षेत्रका पशुपक्षीलगायत होटल व्यवसायमा समेत प्रत्यक्ष असर परिरहेको नाम्चेका लामाकाजी शेर्पाले बताए । पछिल्लो समयमा निकुञ्ज क्षेत्रमा हुने गरेको अवैधानिक हेलिकप्टर उडानले संरक्षित जन्तुको जीवन चक्रमा गम्भीर असर पर्ने भन्दै विज्ञले समेत चिन्ता व्यक्त गरेका छन् तर हेलिकप्टर कम्पनी नियमको धज्जी उडाउँदै आफूखुशी उडान भर्दै आएको निकुञ्जका प्रमुख बताउँछन् । सिजनको समयमा दैनिक १९० भन्दा बढी पटक हेलिकप्टर उडान तथा अवतरण हुने गरेको लुक्ला विमानस्थलको तथ्याङ्क छ तर लुक्लाभन्दा माथिको फाक्दिङ, नाम्चे, होटल एभरेस्ट, दिंबुचे, फेरिचे, गोरक्सेप, आधार शिविरलगायत क्षेत्रमा अवतरण भएको कुनै पनि तथ्याङ्क छैन ।रासस
देशभर निर्माणाधीन १ सय ८४ पुल समस्याग्रस्त
काठमाडाैं । देशभर निर्माणाधीन पुलमध्ये १८४ पुल समस्याग्रस्त बनेका छन् । रणनीतिक सडकभन्दा स्थानीय पुलमा समस्या बढी भएको जनाइको छ । निर्माण व्यवसायीकै कारण पुल निर्माणमा सबैभन्दा बढी ढिलाइ हुने गरेको सडक विभागले जनाएको छ । स्थानीय सडकमा १२८, रणनीतिक सडकमा ४३ पुलमा समस्या देखिएको छ । कहिलेकाहीँ प्रक्रियागत तथा मौसमलगायतका कारण निर्माणमा ढिलाइ हुने गरेको सडक विभाग, पुल महाशाखाले जनाएको छ । निर्माणाधीन पुलमध्ये ९६ पुल निर्माण व्यवसायीका कारण ढिलाइ भइरहेको छ । तीमध्ये कतिपयलाई कारवाहीको प्रक्रिया शुरु भइसकेको त कतिको शुरु गर्ने चरणमा रहेको महाशाखाका प्रमुख दीपक भट्टराईले जानकारी दिए । उनले भने, ‘निर्माण व्यवसायीले गलत मनसायले ढिलाइ गर्दा कारवाही हुने भए पनि अरु समस्याका कारण ढिलाइ हुँदा अवधि थप गर्दै आइएको छ ।’ राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका सडक आयोजनाअन्तर्गतका पुलमा पनि समस्या देखिएको छ । हुलाकी राजमार्गमा नौ पुलमा समस्या देखिएको छ । ६० सडक पुल निर्माणाधीन छन् । मध्यपहाडी लोकमार्गमा अहिले १५ पुल निर्माण अघि बढेको छ । ती मध्ये चार पुल निर्माण व्यवसायीका कारण अघि बढ्न सकिरहेको छैन । रणनीतिक सडकमा १४० तथा स्थानीय सडकमा ५०० पुलको निर्माण अघि बढेको छ । स्थानीय पुल ६४ र रणनीतिक पुल तीन वटाको डिजाइन सम्पन्न भइसकेको जनाइएको छ । रासस
स्वास्थ्यमन्त्री ढकालले उद्घाटन गरे पाल्पाको पहिलाे महोत्सव, भन्छन्- चीनमा रहेका नेपालीमा कोरोनाको सङ्क्रमण छैन
काठमाडाैं । पाल्पाको दमकडामा ‘पाल्पाको समृद्धिको आधार, कृषि पर्यटन र व्यापार’ भन्ने मूल नाराका साथ फागुन १ गतेदेखि प्रथम पाल्पा महोत्सव शुरु भएको छ । यही फागुन ११ गतेसम्म सञ्चालन हुने महोत्सवमा २५० स्टल रहेको आयोजक समितिले जनाएको छ । समितिका संयोजक चिरञ्जीवी पोखरेलका अनुसार पाल्पामा उत्पादन हुने कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, पाल्पालाई चिनाउने पाल्पाली ढाका तथा करुवालगायतका स्टल रहेका छन् । त्यस्तै पाल्पाका कृषकले उत्पादन गरेका दुग्धजन्य वस्तु, राष्ट्रिय अन्तरराष्ट्रिय कम्पनीले उत्पादन गरेका सामग्रीलाई पनि महोत्सव राखिएको उनले जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी स्थानीय उत्पादित वस्तु, पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार र बजार प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा पाल्पाका विभिन्न जाजजाति, धर्म, संस्कृति अनसारका झाँकी, घाटु नाच, लाखे नाच, चुट्का, रोइला, झ्याउरे, सोरठी कडुवा, ख्याली भजन लगायतका सांस्कृतिक प्रस्तुति देखाइने महोत्सव सांस्कृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले जानकारी दिए । महोत्सव अवधिभर एक लाख दर्शकले अवलोकन गर्ने तथा पाँच करोडको कारोबार हुने अपेक्षा आयोजकको छ ।महोत्सवका उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबारे बढी हल्ला भइरहेको बताए । नेपालमा अहिलेसम्म पनि कसैमा कोरोना भाइरस नदेखिएको बताउँदै उनले गलत हल्लाको पछाडि लागेर आतङ्कित हुनभन्दा सचेत हुनु नै अहिलको आवश्यकता रहेकाे जानकारी गराए । मन्त्री ढकालले भने, “चीनमा रहेका नेपालीमा कोरोनाको सङ्क्रमण छैन, १८ नेपालीमा परीक्षण गरिएकोमा कोही पनि सङ्क्रमित भेटिएनन् ।
लगानी आकर्षित गर्न प्रदेश सरकारलाई ढकालको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रादेशिक रुपमा सञ्चालन हुने आयोजनाहरुको स्थापना र सञ्चालनका लागि प्रदेश सरकारले नै अनुमति दिने बताएका छन् । साथै, सरकारले कतिपय प्रक्रियागत कुराहरुमा हुने झमेला कम गरिदिने र अहिलेको परम्परागत शैलीमा परिवर्तन गर्ने हो भने नेपालमा लगानीका सम्भावनाहरु थप बढ्ने उनले बताए । जिल्ला, नगर तथा प्रदेशस्तरमा हुने लगानी एवं व्यवसाय सञ्चालनका लागि कर, रजिष्ट्रेसन एवं नयाँ अनुमति लिनेजस्ता विषयमासमस्या झेल्नुपरेको गुनासो जिल्ला नगर उद्योग वाणिज्य संघहरुबाट अत्यधिक रुपमा आउने गरेको भन्दै यी समस्याप्रदेश तथा स्थानीय सरकारले समाधान गरिदिए देशका साना व्यावसायीका लागि वातावरण बन्ने बताए । यसरी साना व्यवसायीहरुका समस्या कम भएमा प्रदेशमा मात्र नभएर देशमै लगानीको राम्रो वातावरण बन्ने उनले बताए। प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गरेकोले लगानी ल्याउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर सिंह, अर्थमन्त्री प्रकाश ज्वाला लगायतले आग्रह गरेपछि नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट उपाध्यक्ष ढकालले पनि सो आग्रह गरेका हुन् । सल्यानमा आयोजित प्रादेशिक कृषि, पर्यटन, उद्योग व्यापार मेलालाई आज सम्बोधन गर्दै उनले सो आग्रह आग्रह गरेका हुन् । नेपालमा तीन तहको सरकार र कानूनहरुबनिसकेपछि पनि अझै कतिपय कामहरुमा झमेला नहटेको व्यावसायीको गुनासो रहेको उनको भनाई थियो । उनले नयाँ नियम कानुन बन्दा सरोकारवाला पक्षको सहभागिता र परामर्श हुन सके त्यसले व्यावसायिक प्रवद्र्धनमा सहजता थप्ने बताए । कुनै पनि नयाँ आयोजना सञ्चालन गर्नका लागि पर्यटन, वन, वातावरण आदिका क्षेत्रमा गर्नुपर्ने सरकारी प्रक्रियागत कार्यहरुमा अझै चुस्तता जरुरी रहेको उनको भनाई थियो । नेपालको कर्णाली प्रदेश क्षेत्र जडिबुटी, कृषि, पर्यटन, जलविद्युत, खनिज तथा जैविक विविधतामा धेरै नै सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै यस्तो सम्भावनाका क्षेत्रमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानीहरु भित्र्याउन त्यस्तै लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकारलाई आग्रह गरेका हुन् । मेला महोत्सवजस्ता व्यवासायकि प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने कामहरुलाई एउटा कार्यविधि बनाएर जिल्ला नगर उद्योग वाणिज्य संघहरुले नै गर्नेगरी जिम्मेवारी दिँदा व्यवहारिक हुने उनले बताए । यस्ता महोत्सव एवं प्रदर्शनीहरुमा विदेशबाट आयातित गर्ने वस्तु राख्नु हुदैन, नेपाली र स्थानीय उत्पादनलाई उजागर गर्ने, आन्तरिक प्रतिश्पर्धा गराउन सक्ने उत्पादन होस् या कला र अन्य विषयहरुलाई प्रवद्र्धन गर्ने र प्रोत्साहन गर्ने काम गर्नुपर्छ– उनले भने ।
राष्ट्रिय दादुरा-रुबेला अभियानका लागि एनसेल, स्वास्थ्य मन्त्रालय र युनिसेफको सहकार्य
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा-रुबेला अभियान २०७६/७७ मा सघाउने भएकोछ । यस बहुप्रतिक्षित खोप अभियान अन्तर्गत सरकारले ९ महिनादेखि ५ वर्ष सम्मका करिब ३० लाख बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले यो अभियान दुई चरणमा लागु गर्नेछ । फागुन १ (बिहीबार) गते शुरु भई फागुन ३० सम्म संचालनमा रहने पहिलो चरण अन्तर्गत प्रदेश नं. १,२ र ५ का बालबालिकालाई दादुरा र रुबेलाखोप लगाईनेछ । त्यसैगरी दोस्रो चरण चैत्र १ गते देखि चैत्र ३० गते सम्म संचालन हुनेछ र यो चरणमा बाँकीप्र देशहरु बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका बालबालिकालाई यी खोपहरु लगाईनेछ । “दादुरा रुबेला विरुद्धको खोप शतप्रतिशत बालबालिकालाई लगाउनका लागि जनचेतना अभिवृद्धि गर्न एनसेलबाट हामीलाई धेरै सहयोग प्राप्त भएको छ । त्यो सहयोगको लागि एनसेललाई धेरै धन्यवाद दिन चाहन्छाैं । भविश्यमा पनि हाम्रो खोप कार्यक्रमलाई सहयोग निरन्तर रहनेछ भन्ने आशा राख्दछौं, ” परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने । “राष्ट्रिय प्राथमिकतामा रहेको दादुरा रुबेलाखोप अभियान अन्तर्गत खोपको महत्वका बारेमा जनचेतना अभिवृद्धिको लागि स्वास्थ्यतथा जनसंख्या मन्त्रालयसँ सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौं । हाम्रो सामाजिक जिम्मेवारी कार्यक्रमअन्तर्गत स्वास्थ्य क्षेत्रहाम्रो प्रमुख प्राथमिकतामा रहेको छ र एक अग्रणी जिम्मेवार कर्पोरेट नागरिकको रुपमा हामीलाई यस किसिमको राष्ट्रिय अभियानमा सहकार्य गर्नेअवसर दिइएकोमा निकैनै गौरवान्वित छौं,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने । सरकारी तथ्याङ्कले सन् २०१५ पश्चात् दादुरा रुबेला रोगकाघटनाहरु निकैनै बढ्दो क्रममा रहेको देखाउँछ । नेपालजनसांख्यिकतथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्क अनुसार १२ देखि २३ महिनाकाबालबालिकामा सबै खोपको मात्रा पुरा गर्ने बालबालिकको संख्या २०११ मा ८७प्रतिशत (२०११) रहेकोमा सन् २०१६ सम्ममा७८ माप्रतिशतमा घटेको छ । सरकारसँग एनसेलको यस सहकार्यले बालबालिकाको जीवन रक्षासँगै सन् २०२३ सम्ममा दादुरा-रुबेला निवारण गर्ने नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको लक्ष्यमा योगदान पुर्याउने छ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू जस्तै अन्धोपना, इन्सेफ्लाईटिस्, पखाला र न्युमोनिया हुनका साथै मृत्यु समेत हुन सक्छ । रुबेलाले हाडजोर्नीहरु सुन्निने वादुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण, गर्भपतन वा मृत शिशु जन्मने र जन्मदै हुने विकलाङ्ग जस्ता जटिलताहरु देखिनुका साथै मृत्यु समेत हुनसक्छ । एनसेलले आफ्नो व्यवसायीक सामाजिक जिम्मेवारी अन्तर्गत देशभर स्वास्थ्यसँग सम्बन्धि जनसचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रसँग २०७६ साल असोज १३ मा एक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको यहि समझदारी अन्तर्गत एनसेलले युनिसेफ तथा साझेदारहरुको प्राविधिक सहयोगमा राष्ट्रिय दादुरा रुबेलाखोप अभियानको लागि सञ्चार तथा जनसचेतना अभिवृद्घिकालागि सरकारलाई सहयोग गरेको हो । यस अघि एनसेलले स्वास्थ्य सम्बन्धि जनसचेतना अभिवृद्धिको सहकार्य अन्तर्गत डेङ्गीको बारेमा जनसचेतना अभिवृद्धिको लागि सहयोग गरेको थियो ।
सिद्धार्थ बैंककाे शुपरच्युनीटी योजनाः दराजमा सामान किन्दा १५% छुटका साथै क्यास ब्याक पनि
काठमाडौं । सिद्धार्थ बैंकले ‘सिद्धार्थ शुपरच्युनीटी’ नामक विशेष छुट योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरूको सुविधाका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै उक्त योजना ल्याएको हो । यस अन्तर्गत दराजमा कार्डमार्फत् सामान खरिद गर्दा हरेक आइतबार १५ प्रतिशतसम्म वा अधिकतम ५ सय रुपैयाँ छुट पाइने छ । त्यस्तै, पहिलो दुई पटक एक हजार वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ५ सय रुपैयाँ क्यास ब्याक पाइने छ । त्यसैगरी, पहिलो दुई पटक एक हजार रुपैयाँ सो भन्दा बढि रकमको पीओइस मेसिनमार्फत् कारोबार गर्दा ३ सय ८२ रुपैयाँ क्यास ब्याक पाइने कम्पनीले जानकारी गराएको छ । फागुन १ गतेदेखि लागू हुने यस योजना सीमित अवधिका लागि मात्र ल्याइएको बैंकले जनाएको छ । यस्ता छुट र क्यास ब्याक अफर योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र अनलाइन कारोकारलाई अझै प्रेरित गर्नेे बैंकको विश्वास छ । हाल बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय र सहज बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
सिभिल बैंकको १०८ औं शाखा बाराकाे कलैयामा
काठमाडौं । सिभिल बैंकले आफ्नो १०८औं शाखा बाराको कलैयामा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य युगेश बहादुर मल्ल तथा कलैया उप-महानगरपालिकाका मेयर राजेश राय यादवले बिहीबार एक कार्यक्रमका बीच संयुक्त रुपमा गरेका हुन् । सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत श्री सिद्धेश्वर संस्कृत माध्यामिक विद्यालयलाई सीसी टिभी क्यामेरा प्रदान गरेको कम्पनीले जानकारी गराएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कलैयामा प्रशस्त अवसरहरु आफूले देखेको र आफुले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सम्पूर्ण बैंकिंग सेवा तथा सुविधाहरु प्रदान गर्ने बताएका छन् । बैंकको प्रदेश नं २ मा यस शाखा समेत गरी १४ शाखा तथा नेपालभर कुल शाखा संख्या १०८ पुगेको छ ।
एभरेष्ट बैंकले हस्तान्तरण गर्यो नयाँ बानेश्वरको अपाङ्गमैत्री सार्वजनिक शौचालय, एक वर्षमा १४ वटा बनाउन सफल
काठमाडौं । एभरेष्ट बैंकले नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द पश्चिम तर्फ छक्कुबक्कु मन्दिर नजिकै अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । बैंकले भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउने उद्देश्यले निर्माण गरेको उक्त शौचालय काठमाडौं महानगरपालिका वडा नं. १० लाई हस्तान्तरण गरेको हो । उक्त शौचालयको साथसाथै सो स्थानमा अवस्थित पार्क तथा चौतारी संरक्षणमा समेत यस बैंकले सहयोग गरेको छ । उक्त कार्यबाट स्थानीय तथा आम नागरिकलाई सुविधा पुग्ने विश्वास बैंकको विश्वास छ । बैंकले यसै वर्ष विभिन्न स्थानमा गरी १४ वटा शौचालय निर्माण गरिसकेको छ । उक्त सार्वजनिक शौचालय, बैंकको सीएसआर कमिटीका सदस्य डा.गणेश गुरुङ, बैंकको सहायक महाप्रबन्धक आशुतोष शर्माले संयुक्त रुपमा, काठमाडौं महानगरपालिका वडा नं.१० का अध्यक्ष राम कुमार केसीलाई हस्तान्तरण गरेका हुन् । हाल बैंकले ९५ स्थानिय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएमबाट सेवा दिँदै आईरहेको छ ।