विद्युत् वितरण प्रणाली स्तरोन्नति विस्तारमा नेपाललाई साढे १२ अर्ब ऋण
काठमाडाैं । युरोपेली लगानी बैंकले विद्युत् वितरण प्रणाली स्तरोन्नति विस्तार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु १२ अर्ब ४१ करोड बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ । ऋण सहायतासम्बन्धी वित्तीय सम्झौतामा हालै अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र युरोपेली लगानी बैंकका निर्देशक मारिया बारागन र कानूनी सल्लाहकार बोर्जा ओक्जाङ गोइटीले हस्ताक्षर गरेका छन् । अर्थमन्त्रालयका अनुसार ऋणस्वरुप प्राप्त उक्त रकम ५ नम्बर, कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यहाँका जनताको बिजुलीमा पहुँच बढाउने, विद्युत् आपूर्तिको गुणस्तर एवं दक्षता अभिवृद्धि गर्ने र ऊर्जा व्यापारलाई सहजीकरण गरी विद्युत् वितरण प्रणाली स्तरोन्नति तथा विस्तार गरिनेछ । नेपाल विद्युत् प्राधिकरणले सन् २०२३ को डिसेम्बरसम्ममा उक्त आयोजना पूरा गर्ने लक्ष्य लिएको अर्थ मन्त्रालयले जनाएको छ ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको हटिया एक्सटेन्सन काउन्टर सञ्चालनमा
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको हटिया एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । उक्त काउन्टरको उद्घाटन मकवानपुर जिल्लामा हेटौंडा उप-महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले गरेका हुन् । यस काउन्टरको उद्घाटन पछि प्रदेश नम्बर ३ मा ६ वटा शाखा कार्यालयहरु र एक वटा एक्सटेन्सन काण्न्टर संचालनमा आएको संस्थाले जानकारी गराएको छ । यसका साथै ललितपुरको हरिहर भवनमा प्रधान कार्यालय रहेको यस संस्थाको प्रदेश नम्बर एकमा २ वटा शाखा कार्यालयहरु, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउन्टर, प्रदेश नम्बर ५ मा ३ वटा शाखा कार्यालयहरु रहेका छन् । संस्थाले ४ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन तथा ३ अर्ब ५७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । २०७६ पुस मसान्तसम्ममा ३ करोड १२ लाख रुपैयाँ संचालन मुनाफा गरेको संस्थाले जानकारी गराएको छ । यस वित्तीय संस्थाको चुक्तापुँजी ८० करोड रुपैयाँ तथा जगेडा कोषमा २३ करोड ७२ लाख रुपैयाँ रहेको छ ।
महेश रिमालको करिअरः सीए पढ्दै पस्यो बीमाप्रतिको रस
काठमाडौं । महेश रिमाल २०६४ साल जेठ ६ गते राष्ट्रिय बीमा संस्थान प्रवेश गरे । उनी चाटर्ड एकाउन्टेन्ट (सीए) पनि हुन् । बीमा क्षेत्रमा प्रवेश गरेकोमा उनी खुसी छन् । यो क्षेत्रमा लागेपछि आएका केही अवसर पनि उनले गुमाए । अर्थात बीमा क्षेत्रलाई कहिल्यै छोडेनन् । भारतको पुनेमा सीए अध्ययन गर्न पुगेका थिए रिमाल । त्यो बेला नै भविष्यमा जागिर खाने कि आफ्नै कुनै उद्यम व्यवसाय गर्ने भन्ने दुविधा नभएको होइन । अध्ययनकै क्रममा बीमा क्षेत्रप्रति उनको आकर्षण बढ्यो । सो आकर्षणले उनलाई अझसम्म छोडेको छैन । ‘उद्योग व्यवसाय संचालन गर्नु काम गर्नु राम्रो हो, हामीले वित्तीय उद्योग छनोट गर्नुपर्छ भन्ने मलाई लाग्यो’, राष्ट्रिय बीमा संस्थानका नायब महाप्रबन्धक रिमालले बिकासन्युजसँग भने । बीमा क्षेत्रमा काम गर्नेहरुको संख्या पहिले निकै कम थियो । पछिल्लो समय भने यो क्षेत्रमा लागेकाहरुको संख्या बढ्दो क्रममा छ । बीमा क्षेत्रमा जनशक्ति नै कम छ भने यो क्षेत्रमा लाग्ने सीएहरुको संख्या अझ कम भएको उनको भनाइ छ । पहिले संस्थानले जीवन बीमा तथा निर्जीवन बीमा दुबै प्रकारको व्यवसाय गथ्र्यो । २०७१ सालबाट राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी गरी कम्पनी नै दुईटा भए । व्यवसाय पनि बेग्लाबेग्लै भयो । रिमाल भने संस्थानतिर परे । संस्थान छुट्टनुअघिसम्म रिमाल दुबै बीमा व्यवसायको वित्त प्रमुखको जिम्मेवारीमा थिए । बीमा क्षेत्रमा काम गर्दा राम्रो अवसर पाइने उनको अनुभव छ । यो क्षेत्र केही हदसम्म प्राविधिक पनि भएकोले तालिम लिएर मात्रै प्रवेश गर्नु उपयुक्त हुने उनको सुझाव छ । बीमाको पहुँच जीवन बीमा क्षेत्रमा २० प्रतिशत भन्दा माथि छ, सोही कारण बीमा बजार नै राम्रो अवस्था पुगेको छ । एक्चुरी मार्फत बीमा कम्पनीको अनुमान गरेर बीमा क्षेत्र अघि बढ्ने भएकाले यो क्षेत्र आफैमा उपयुक्त क्षेत्र हो भन्छन् रिमाल । संस्थान स्थापनाको ५०औं पूरा गरिसकेको छ । त्यसैले संस्थानसँग बीमा क्षेत्रको बारेमा राम्रो ज्ञान पनि प्राप्त भएको छ । राम्रो बानी सीएको जीवन भनेको हिसाव कितावको जीवन पनि हो । अंक, जोड घटाऊ र व्यालेन्ससीट जस्ता तथ्यांकीय गतिविधि सीएको जीवनसँग धेरै खेल्ने आउने कुराहरु हुन् । त्यसैले धेरैलाई लाग्न सक्छ– सीएले आफ्ना हरेक गतिविधि हिसाव किताव गरेर गर्छन् । तर, जीवन त्यस्तो हुँदैन । व्यवसाय र जिन्दगी भिन्न कुरा हुन् । जीवन जिउने उनको भिन्ने दर्शन छ । उनी सानातिना कुराबाट कहिल्यै बिचलित हुदैनन् । यो उनको सबैभन्दा राम्रो बानी रहेको उनका सहकर्मी बताउँछन् । नराम्रो बानी सीए पढ्नेहरुमा अनुशासन अलि बढी नै हुन्छ । त्यसैले आफूसँग त्यस्तो नराम्रो बानी नभएको उनको भनाइ छ । ‘मलाई थाहा भएको नराम्रो बानी पनि त्यस्तो केही छैन र साथीहरुले पनि त्यस्तो केही सुनाएका छैनन्,’ रिमालले भने । ड्रिङ्कस्ः रिमाल आफूलाई सोसल ड्रिंकरको रुपमा मात्रै चिनाउँछन् । आफूले हत्तपत्त नखाने तर साथी भाइहरुको जमघटमा भने खाने वर्गमा आफू पर्ने उनले बताए । राष्ट्रिय बीमा संस्थान हाल निदाएको सिंहको रुपमा रहेकाले भोलिका दिनमा यसलाई गर्जिएको सिंह बनाउँन संस्थान व्यवस्थापन लागेको उनले सुनाए ।
युनाईटेड फाईनान्सले ल्यायो सिल्भर जुब्ली बचत खाता, फागुनसम्म संचालन हुने
काठमाडौं । युनाईटेड फाईनान्सले २५ औं वार्षिकोत्सवको अवसर पारेर सिल्भर जुब्ली बचत खाता संचालनमा ल्याएको छ । एक घर एक खाताको अभियानलाई निरन्तरता दिदै घरदैलो कार्यक्रम का माध्यमबाट प्रत्येक घर घरमा एक खाता खोल्ने अभियान आइतबारदेखि संचालनमा आएको हो । यस योजना अन्तर्गत युनाईटेड फाईनान्स लिमिटेडको सिल्भर जुब्ली बचत खाता खोल्ने हरेक खातावालाको खातामा फाईनान्सका तर्फबाट रु. १००। जम्मा गरिने तथा निःशुल्क रुपमा भिसा कार्ड तथा आस्वा सेवा उपलव्ध गराईनेछ । यस फाईनान्समा हालै मात्र भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिगं सेवा प्रदान गर्दै आईरहेको छ । यो योजना सबै शाखा कार्यालयहरुमा लागु हुनेगरी हाललाई फागुन महिना भरिका लागि संचालनमा ल्याईएको छ ।
सिभिल बैंकको १०९औं शाखा नवलपरासीको सुनवलमा
काठमाडौं । सिभिल बैंकले शाखा विस्तार गर्ने क्रममा नवलपरासीको सुनवलमा आफ्नो १०९औं शाखा संचालनमा ल्याएको छ । उक्त सुनवल शाखाको उद्घाटन सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले संयुक्त रूपमा गरेका हुन् । सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाशेश्वर शिवालय मन्दिरमा संचालित जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमको सहयोगार्थ एक थान फ्रिज प्रदान गरेको छ । सो फ्रिज सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगानाद्वारा श्री कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाका अध्यक्ष गोपाल प्रसाद आचार्यलाई प्रदान गरिएको हो । सुनवल शाखा उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले नगरवासीलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिन आग्रह गर्नुका साथै आफुसँग भएको सानो सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न पनि आग्रह गरे । उक्त अवसरमा सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले सिभिल बैंक सुनवल शाखाले यस क्षेत्रका सम्पुर्ण बचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नको लागी व्यापार व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउने बताए । कार्यक्रमका सभापति तथा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगानाले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने उल्लेख गरे ।
१६ करोडको लगानीमा जीप लाइन सुरु गर्यो गढी भ्युले, ६० करोडमा थ्रीस्टार होटल पनि बनाउने
सांकेतिक तस्विर काठमाडौं । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा २ ताप्लाखर्कमा जीप लाइनमा सञ्चालमा आएको छ । जीप लाइन सुरु गरेको होटल गढी भ्यू एण्ड रिसोर्ट प्रालिले ६० करोडको लगानीमा होटल पनि खोल्ने भएको छ । १ किलोमिटर लामो दुरीको जीप लाइनमा एकल, संयुक्त र सुपरम्यान खेल्न सकिनेछ । जिप लाइन खेल्न फागुन भरी २० प्रतिशत छुटको अफर रहेको कम्पनीले जानकारी दिएको छ । जीप लाइन संचालनमा अाएसँगै मकवानपुरगढी सरर घुम्न पाइने भएको छ । गत शुक्रबारदेखि मकवानपुरगढीमा जीप लाइन सञ्चालनमा आएसँगै गढी क्षेत्र पर्यटक बढन थालेका छन् । हेटौंडा उपमहानगरपालिकासँगै सीमाना जोडिएको मकवानपुरगढी–२ ताप्लाखर्कमा होटल गढी भ्यू एण्ड रिसोर्ट प्रालिले जीप लाइन सञ्चालनमा ल्याएको हो । होटल गढी भ्यु एण्ड रिसोर्ट प्रालिका अध्यक्ष दिलिप घिमिरेले सुरुमा जीप लाइन सञ्चालन गरिएको र अब थ्रीस्टार होटल निर्माण हुने बताए । सुरुमा १० जनाले रोजगारी पाएका छन् । विस्तारै रोजगारीको सख्या पनि वृद्धि हुने छ । होटल गढी भ्यू एण्ड रिसोर्ट ३० कठ्ठामा निर्माण हुने छ । नेपाल भ्रमण वर्ष २०२० लक्षित गरि ऐतिहासिक स्थल मकवानपुरगढी दरबार नजिक जिल्लामा नै पहिलो पटक जीप लाइन सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष घिमिरेले जानकारी दिए । ‘मकवानपुरगढी पर्यटकीय क्षेत्र भएकोले पर्यटक आकर्षणलाई ध्यानमा राखेर जीपलाइन सञ्चालनमा ल्याएको हो’, घिमिरेले भने । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले जीप लाइनले मकवानपुरगढी गाउँपालिकामा पर्यटक भित्र्यान सहयोग गर्ने बताए । हेटौंडा बजारबाट करिब १५ किलोमिटर दुरीमा रहेको जीप लाइन मकवानपुरको लागि नौलो हो । यो जीप लाइन मकवानपुरसहित चितवन, बारा, पर्सा र रौतहटसहित छिमेकी देश भारतका पर्यटकको लागि पनि आकर्षण केन्द्रबिन्दु हो । जिप लाइन खेल्न एकलको २ हजार, संयुक्तको ४ हजार ५ सय र सुपरम्यानको ३ हजार दर रहेको जनाइएको छ । निर्माणाधिन थ्रीस्टार होटल गढी भ्यू एण्ड रिसोर्टमा १९ वटा आवासीय सुविधासहित रेष्टुरेन्ट, कफिसप, स्वीमिङ पुल रिसोर्ट लगाएत निर्माण हुने घिमिरेले जानकारी दिए । काभ्रेको धुलिखेलमा जीप लाइन सञ्चालन गर्ने समूहले गढीमा जीप लाइल सञ्चालन गरेको हो ।
नाट्टाको अध्यक्षमा सिग्देल निर्वाचित
चिप्लेढुङ्गा । ट्राभल व्यवसायीको छाता सङ्गठन नाट्टा गण्डकी प्रदेशको ११औं अधिवेशनले सञ्जयकान्त सिग्देललाई अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार सम्पन्न अधिवेशनमा सिग्देलले प्रतिस्पर्धी झवि अधिकारीलाई २० मतले पछाडि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । एक सय ८१ जना मतदाता रहेकामा झविले ७० मत प्राप्त गरेका थिए भने सिग्देलले ९० मत प्राप्त गरेर निर्वाचित भएका हुन् । अधिवेशनबाट प्रथम उपाध्यक्षमा हरिराम अधिकारी, द्वितीय उपाध्यक्ष किशोर दाहाल, महासचिवमा कमला गिरी, सचिवमा सङ्गीता पौडेल, कोषाध्यक्षमा राजेश पहारी र सहकोषाध्यमा नवराज भण्डारी विजयी भएका छन् । त्यसैगरी, सदस्यमा सुवास पहारी, तराप्रसाद गौतम, सन्दिप श्रेष्ठ, सुशीला सिग्देल र खिमबहादुर नेपाली विजयी भएका छन् । पन्ध्र सदस्यीय कार्यसमितिमा पदाधिकारीसहित तीन महिला निर्वाचित भएका छन् । नाट्टाको इतिहासमा पदाधिकारी महासचिवमा पहिलोपल्ट महिलाले नेतृत्व गर्ने अवसर मिलेको हो । गिरीले प्रतिष्पर्धी कुलचन्द्र शर्मालाई जम्मा १२ भोटले पछि पार्दै निर्वाचन जित्न सफल भएका हुन्। निर्वाचित भएसँगै अध्यक्ष सिग्देलले अब व्यावसायिक संस्थाको गरिमालाई उँचो बनाएर सबैको साझा संस्थाका रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी महासचिव कमला गिरीले जिम्मेवारी प्रदान गर्ने मतदातालाई धन्यवाद दिँदै कुशलतापूर्वक जिम्मेवारी बहन गर्ने बताए ।
गंगबु नयाँ बसपार्कबाट गेष्ट हाउस सञ्चालकसहित ५७ जना पक्राउ
काठमाडाैं । प्रहरीले गंगबु नयाँ बसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ५७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४० पुरुष १६ महिला र एक तेस्रोलिङ्गी छन् । प्रहरीले गेष्ट हाउस सञ्चालन गरेर वेश्यावृत्तिमा लगाउने शिवपुरी गेष्ट हाउसका सञ्चालक विनोद भट्टराई, मुस्ताङ गेष्ट हाउसका सञ्चालक नरेन्द्र पोमु र वाग्लुङ भोजनालयका सञ्चालक सोमबहादुर तामाङलाई पक्राउ गरेको छ । यसैगरी गेष्ट हाउसमा विचौलियाका रुपमा कार्यरत विष्णु थापा, अशोक पोमु र कमल कालाखेतीलाई समेत नियन्त्रणमा लिएको छ । अभियानका क्रममा जबर्जस्ती करणी मुद्दामा फरार अपराधी शनकाजी दर्जी पनि पक्राउ परेका छन् । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँबसपार्क क्षेत्रको विकृति, विसङ्गति अन्त्यका लागि अभियान चलाएको बताए । वेश्यावृत्ति, पाकेटमार र जबर्जस्ती करणी मुद्दामा फरार व्यक्तिलाई नियन्त्रणका लागि पनि अभियान चाल्नु परेको उनको भनाइ छ । अभियानका क्रममा प्रहरीले विभिन्न होटल तथा रेस्टुराँबाट १ सय लिटर घरेलु मदिरासमेत नष्ट गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नयाँबसपार्क क्षेत्रलाई आकर्षक क्षेत्रका रुपमा विकास गर्न यहाँभित्र रहेका विकृति विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरी अप्रेसन चलाइएको बताए। महाराजगञ्ज प्रहरीले पाँच महिनाको अवधिमा बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा लाग्ने झण्डै एक हजार व्यक्तिलाई पक्राउ गरी कारबाही गरिसकेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।