विद्युत् महसुल बक्यौता साढे १३ करोडभन्दा बढी
सर्लाही । विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दी केन्द्रको महसुल बक्यौता रु १३ करोड भन्दा बढी नाघेको छ । चालू आर्थिक वर्षको आठ महिनासम्म प्राधिकरणले ग्राहकबाट असुल गर्नुपर्ने महसुल बक्यौता रु १३ करोड ८५ लाख २० हजार २ सय पुगेको छ । केन्द्रका प्रमुख सुधिरकुमार रायले कूल ग्राहकमध्ये उद्योग, कलकारखाना र गार्हस्थ्यका ग्राहकबाट सो रकम महसुल बक्यौता रहेको जानकारी दिए । केन्द्रको त्रिचालिस हजार ९ सय ग्राहक मध्ये ५० प्रतिशतले मात्र नियमित महसुल बुझाउने गरेका र लाइन नकाटेसम्म बाँकी ग्राहकले महसुल नबुझाउने गरेको उनले बताए । ती ग्राहकमध्ये ९४ प्रतिशत गार्हस्थ्य र बाँकी ६ प्रतिशत उद्योगधन्दा सेवाग्राही रहेकाे जनाइएको छ । बक्यौता सबैभन्दा धेरै ओम शान्ति फ्रुट प्रोडक्सन प्रालिको रु २७ लाख ५० हजार ८ सय १२ रहेको जनाइएको छ । तर सो प्रालिले मासिक रु १० लाखभन्दा बढी महसुल नियमित तिर्ने गरेको कार्यालयले जनाएको छ । त्यसैगरी, केही ग्राहकले समयसमयमा मात्र नभई लाइन काटिंदासमेत विद्युत् महसुल बक्यौता नतिरेका कारण कालो सूचीमा राखिएको छ । सामान्यतय दुई महिना अर्थात ६० दिनसम्म बक्यौता महसुल बुझाउने ग्राहकको लाइन नकाटिएको र सो समयभन्दा बढी समयसम्म पनि महसुल बुझाउन नआउने ग्राहकको लाइन काटिएको छ । ‘आफूहरुले महसुल बुझाउने समय नाघेका ग्राहकहरुलाई एक पटक विद्युत् महसुल बुझाउन आउन आग्रह गर्ने गरेको र सो समयमा महसुल बुझाउन नआउने वा कार्यालयको आग्रहलाई बेवास्ता गर्ने ग्राहकहरुको लाइन काट्ने गरेको छौ, ‘उनले भने । कतिपय ग्राहकहरु लाइन काटिएपछि मात्र महसुल बुझाउन आउने गरेका कार्यालयले जनाएको छ । गार्हस्थ्य तथा औद्योगिक क्षेत्रका ग्राहकहरु मात्र नभई सरकारी तथा गैरसरकारी कार्यालयहरु पनि विद्युत् महसुल समयमै नतिर्ने सूचीमा परेका छन् । मिटर जडान नगरी विद्युत् तारमा हुक लगाएर तथा मिटरबाट नै चोरी गरी बत्ती बाल्नेहरुको सङ्ख्यामा केही सुधार आएको कार्यालयले जनाएको छ । ७२ जना ग्राहकलाई चोरी चुवाहटमा संग्लग्न भएको भन्दै कारवाही गरिएको छ । लालबन्दी, ईश्वरपुर, हरिवन नगरपालिका सबै वडा, वाग्मती नगरपालिकाका ६ वडा, कविलासी नगरपालिकाका वडा नम्बर १ र २ का साथै हरिपुर नगरपालिकाका सबै वडाहरु विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दी केन्द्रको सेवाक्षेत्र रहेको छ । चालू आर्थिक वर्षको श्रावणदेखि माघ २७ गतेसम्म रु १७ करोड ४६ लाख ५९ हजार ८ सय महसुल सङ्कलन र साही अवधिमा रु १३ करोड ११ लाख ३६ हजार २१२ महसुल बक्यौता बाँकी रहेको कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको माघ महिनासम्ममा २८२ जना ग्राहकको महसुल नतिरेका कारण लाइन काटिएको उनीहरुबाट रु एक करोड १८ लाख ९५ हजार १२१ बराबर बक्यौता रहेको थियो । २०६ ले विद्युत् महसुलबापतको रकम रु ७३ लाख ८१ हजार २१८ तिरेर लाइन पुनःसुचारु गरेको कार्यलयले जनाएको छ ।रासस
नाडाको भिसिटिएस तथा करसम्बन्धी प्रशिक्षण कार्यक्रम विराटनगरमा
काठमाडौं । नाडा अटोमोबाइल्सले भिसिटिएस तथा करसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित उक्त कार्यक्रम होटेल विग रोडसिस विराटनगरमा सम्पन्न भएको हो । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाको संस्थागत एशोसिएशन मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनसंगको संयुक्त पहलमा आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा भिसिटिएस तथा कर सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नाडाले जानकारी दिएको छ । नाडाका अनुसार यस्तो किसिमको प्रशिक्षण कार्यक्रम नाडाले विगतमा पनि गर्दे आएकोे र यही २०७६ साल माघ ९ गते पनि यस्तो कार्यक्रम काठमाण्डौमा सम्पन्न गरेको थियो । यस्ता प्रशिक्षण कार्यक्रम ७ वटै प्रदेशमा सम्पन्न गरिने छ । मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष सुभाष आचार्यको सभापतित्वमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनमा आवद्ध विभिन्न फर्म कम्पनीहरुकोतर्फबाट कूल ४२ जना प्रशिक्षार्थिले सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा राजश्व अनुसन्धान कार्यालय मोरङ्गका अधिकृत हितेस बस्नेत, आन्तरिक राजश्व कार्यालय मोरङ्गका अधिकृत पशुपति घिमिरे, जोगवनी भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडयाल, सि.ए तथा कार्यक्रमका प्रमुख प्रशिक्षक साहिल अग्रवालले प्रशिक्षण दिएका थिए । सरकारको प्रतिनिधित्व सहित यस किसिमको प्रशिक्षण कार्यक्रम आयोजना गरेको यो चौथौं भएको नाडाले जनाएको छ । खासगरी अटोमोवाइल व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्याहरुलाई दृष्टिगत गरी यस किसिमको प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमबाट धेरै हदसम्म अटोमोवाइल व्यवसायीहरु लाभान्वित भएको नाडाले जनाएको छ । उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका महासचिव सुनिल रिजालले गरेका थिए । त्यसैगरी सो कार्यक्रममा नाडाका पदाधिकारी र सदस्यहरु लगायत मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनका पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।
नाफामा दोस्रो स्थानमा रहेको नविलको सेयरमा कति लाभ ? (प्राविधिक विश्लेषण)
चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको नविल बैंक समग्र बैंकहरुमा नै नाफाको आधारमा दोस्रो स्थानमा छ । बैंकले ६ महिनामा कमाएको नाफाले नै सेयरधनीलाई १४ प्रतिशतभन्दा धेरै प्रतिफल दिन सक्ने देखिएको छ । नविलले विगत ५ वर्षयता सेयरधनीलाई औसतमा ४० प्रतिशतको हाराहारीमा प्रतिफल प्रदान गरिरहेको छ । यस वर्ष नविलको अवस्था कस्तो होला ? लगानीकर्ताले नविलको सेयरलाई कुन रुपमा लिएर लगानी गरिरहेका छन् ? शाख मूल्यांकनमा नविल कस्तो देखिएको छ भन्नेलगायतका विषयमा हामीले नविल बैंकको सेयरको समग्र विश्लेषण गरेका छौं । परिचय साउन २०४१ मा नेपाल अरब बैंकको नाममा देशकै पहिलो निजी क्षेत्रको बैंकको रुपमा सञ्चालनमा आएको हो, नबिल बैंक । अन्तराष्ट्रियस्तरको आद्युनिक बैंकिङ सेवा दिने सोच साथ स्थापना भएको नविल बैंक सम्पूर्ण वित्तीय सेवा प्रदायकको रुपमा ग्राहकहरुको पहिलो छनौंटमा पर्ने उदेश्य साथ अगाडी बढिरहेको छ । –प्रवृत्ति वियरिशपछि सेयर किन्ने बढ्दै –पहिलोभन्दा दोस्रो त्रैमाशको नाफा कम बैंकले ७९ शाखा र १ सय ३६ एटिएम मार्फत् ग्राहकहरुलाई सेवा दिइरहेको छ । निक्षेपष्मा ३.७५ देखि ९.२५ प्रतिशत व्याज दिइरहेको बैंकले बीमासमेत हुने निक्षेप खातासहित प्रिमियम नारी बचत खातालगायतका निक्षेप योजना सञ्चालन गरिरहेको छ । हाल बेस रेट ८.१० प्रतिशत रहेको बैंकले अनुदानमा सञ्चालित बाहेकका कर्जामा बेस रेट जोडिने गरि २.५० देखि ६.५० सम्ममा कर्जा दिइरहेको छ । बैंकले ३५ कार्यदिनभित्र कर्जा स्वीकृत गरिसक्ने गरि नबिल सजिलो एक्सप्रेस कर्जा योजना सञ्चालन गरिरहेको छ । बैंकमा १ हजार ८० जना स्थायी कर्मचारी छन् । उपाधी असोज २०७४ मा बैंक आइएसओ सर्टिफाइड भएको थियो । गुणस्तर व्यवस्थापन प्रणालीको लागि बैंकले यस्तो प्रमाणिकरण पाएको हो । सन् २०१७ मा बैंकले न्युबिज विजनेश एण्ड कन्क्लेभमा बेस्ट म्यानेज्ड कमर्सियल बैंकको अवार्ड पाएको थियो । लगानी बैंकमा अर्बपति व्यवसायी विनोद चौधरी समूहको ५३ प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ । बैंकमा राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन र नेपाल ट्रस्टको समेत लगानी छ । बैंकमा नेपाल स्टक एक्सचेन्जको समेत ३ लाख कित्ता सेयरमा लगानी छ । बैंकको अध्यक्षमा शम्भुप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृतमा अनिल केशरी शाह छन् । बैंकको सहायक कम्पनीको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र २५ प्रतिशत लगानीसहित एशोसिएट कम्पनीको रुपमा नाडेप लघुवित्त वित्तीय संस्था सञ्चालनमा छ । औसत ४० प्रतिशत प्रतिफल बैंकले गत वर्षको नाफापछि हालै लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयरसहित ३४ प्रतिशत लाभांश दिएको छ । विगत पाँच वर्षमा बैंकबाट लगानीकर्ताले औसत ३९.५६ प्रतिशत लाभांश पाएका छन् । बैंकले दोस्रो त्रैमाशमै लाभांशको रुपमा १४.४५ प्रतिशत लाभांश बड्न सक्ने क्षमता देखाएको छ । आव अन्त्यसम्ममा यसमा वृद्धि हुने नै छ । नाफामा दोस्रो चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा बैंकको नाफा सिमान्तदरले घटेको छ । २ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको बैंकको यसमा ६.२० प्रतिशतले घटेको हो । व्याज आम्दानी बढेपनि खुद व्याज आम्दानी घट्दा बैंकको नाफामा प्रभाव परेको हो । तैपनि बैंक नाफा रकमको आधारमा निजी क्षेत्रको बैंकहरुमा सबैभन्दा अग्रस्थानमा छ । समग्रमा भने बैंक दोस्रो स्थानमा छ । पहिलो त्रैमाशमा १ अर्ब १२ करोड नाफा कमाएको बैंकले दोस्रो त्रैमाश मात्रैमा भने ९१ करोड नाफा कमाएको हो । लाभांश वितरणपछि बैंकको चुक्ता पुँजी १२ प्रतिशतले बढेर १० अर्ब ९ करोड पुगेको छ । ८ अर्ब १४ करोड व्याज आम्दानी गरेको बैंकको व्याज खर्च नै ४ अर्ब ६८ करोड छ । शुल्क, कमिशनबाट करीब ७३ करोड कमाएको बैंकले विदेशी विनिमय र अन्य आम्दानी गरि थप करीब ४७ करोड रुपैयाँ कमाएको छ । बैंकले निक्षेप संकलन बढाउन नसकेपनि कर्जा लगानीमा भने १० प्रतिशतको वृद्धि गरेको छ । निक्षेप र कर्जा दुवै आधारमा बैंक चौथोे स्थानमा छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात नियामकीय मापदण्ड ११ प्रतिशतकै हाराहारीमा छ । यो ११.५३ प्रतिशत छ । बैंकले निष्काशन तयारी गरिरहेको २ अर्ब ऋणपत्र हालै धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । यसले बैंकलाई केही सहजता हुने छ । बैंकको सञ्चित तथा जगेडा कोषमा १३ अर्ब ८० करोड रुपैयाँ छ । बैंकलाई तुलनात्मक रुपमा पुँजी महंगो परिरहेको कोष लागतले देखाउछ । कोष लागत ५.९२ प्रतिशत रहेकोमा बढेर ६.०२ भएको छ । खराब कर्जाको दर १ प्रतिशत मुनि रहेको बैंकले खराब कर्जाको आधारमा सम्रग बैंकहरुमा २१औं स्थानमा छ । खराब कर्जाको २ सय १३ प्रतिशत रकम राखेको छ । निक्षेप प्राथमिक पुँजीको आधारमा कर्जा लगानी अनुपात ७७.२८ छ । बैंकको प्रतिसेयर आम्दानी केही घटेको छ । यद्यपि यो सूचकमा बैंक तेस्रो स्थानमा छ । ५४.२८ प्रतिशतबाट घटेर ४५.३२ प्रतिशत छ । हालको मूल्यको आधारमा मूल्य आम्दानी अनुपात १५.९५ गुणा छ । रेटिङ करीब १ वर्षअघि बैंकले इक्रा नेपालबाट ऋणपत्रको लागि रेटिङ गरेको छ । इक्रा नेपालका अनुसार बैंकका केही पक्षहरु यी हुन्: – उच्च केन्द्रीकरण (प्रमुख २० ग्राहकको निक्षेप हिस्सा ३३ प्रतिशत, कर्जा २७ प्रतिशत) –५५ प्रतिशत संस्थागत कर्जा, मध्यम वर्ग कर्जा ४०, विपन्न बर्ग कर्जा ५ प्रतिशत –सुविधाजनक अवस्थामा सल्भेन्सी अनुपात –स्वस्थ कर्जा –कर्जा वृद्धिमा अघिल्ला वर्षमा सुस्त भएपनि पछिल्लो वर्ष वृद्धि, ४.८ प्रतिशत बजार हिस्सा –कम लागतको निक्षेप हिस्सा घट्दै, ४५ प्रतिशत तर समग्र क्षेत्रको औसत(४१ ५) भन्दा उच्च –स्वस्थकर खुद व्याज मार्जिन (४.२ प्रतिशत) –दोस्रो बजारमा पूँजीकरणको आधारमा दोस्रो ठूलो संस्था उच्च उतार चढाव एक वर्षको बैंकको सेयर मूल्यको परिवर्तन अंकको आधारमा बैंकको स्ट्याण्डर्ड डेभिएशन १२.०९ छ भने समग्र बैंकिङ समूहको परिवर्तित अंकको आधारमा ९.९५ छ । नेप्से परिसूचकको यही अवधिको परिवर्तित अंकको आधारमा स्ट्याण्डर्ड डेभिएशन १०.२३ छ । प्रवृत्ति वियरिश एक वर्षको अवधिमा शुरुवाति समयमै एक वर्षको उच्च मूल्य (८८१ रुपैयाँ) कायम गरेको थियो । त्यसयता ६ सय ६९ सम्म पुगेर फर्किएको सेयर मूल्यले त्यही विन्दुमा टेवा पाइरहेको छ । केही दिनअघि मात्रै सिम्पल मुभिङ एभरेज रेखा क्रसओभर भएको छ । २१ दिन रेखाले ७ दिने रेखालाई काटेर माथि लागेको छ । मूल्य वियरिश प्रवृत्ति रहेको यसले संकेत गर्छ । छोटो समयको लागि ७ दिने रेखा माथि जाने गरिरहेपनि धेरै समय २१ दिने रेखा नै माथि बस्ने गरेको एक वर्षको प्रवृत्तिले देखाउँछ । बैंकको सेयरमा आकर्षण बढ्न थालेको छ । मूल्य सन्तुलित क्षेत्रभित्र वृद्धि भइरहेको छ । १४ दिने आरएसआई सुचकको स्केल ५६.७९ मा आएको छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा नै रहे एक महिनामा ७ सय ५४ मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे ७ सय २ मा पहिलो टेवा पाउने देखाउँछ । बैंकको सेयर मूल्यले अन्तिम दुई दिनमा करीब करीब मिटिङ लाइन वियरिश आकृति बनाएको छ । यसमा पहिलो दिनको सेतो मैनवत्ति र दोस्रो दिनको मैनवत्तिको अन्तिम मूल्य लगभग बराबर छ । तेस्रो दिन भने दुवै धागो भएको सानो कालो मैनवत्ति बनेकोले मूल्य घट्ने सम्भावना यथावत देखिएको छ । बैंकको सेयर खरिद बिक्री सन्तुलित क्षेत्रमा आएकोले आकर्षण बढिरहेको छ । त्यसैले यो सेयर किनबेच गर्नुअघि ध्यान दिनुपर्ने देखिन्छ ।
चीनबाट ल्याइयाे १७५ जना नेपाली, राखियाे खरिपाटी क्वारेन्टाइनमा
भक्तपुर । चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ । आज विहान उनीहरुलाई विमानस्थलबाट बसमा सल्लाघारी, जगाती, च्यामासिंह, कमलविनायक हुँदै खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको हो । साथमा एक एम्बुलेन्स, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा भ्यानले स्कटिङ गरेका थिए । चार वटा बसमा १७५ जनालाई खरिपाटीको क्वारेन्टाइन र लिन गएको विमानका पाइलट, को–पाइलट, परिचारिका तथा स्वीपर सहित १७ जनालाई एउटा बसमा प्रहरीको स्कटिङसहित बिहान चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित खानेपानी तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा पुर्याइएको थियो । खरिपाटीको क्वारेन्टाइनमा नेपाली सेनाका डा. नवीन फुयाँलको नेतृत्वमा नर्ससमेत रहने स्वास्थ्य टोली प्रवेश गरेको छ । सो टोलीले क्वारेन्टाइनमा आज बिहान उनीहरुको शरीरको तामक्रम नापेको बताइएको छ । आज नै फर्काइएका ती १७५ को रगत सङ्कलन गरी परीक्षणका लागि पठाइने बताइएको छ । नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान दुई चिकित्सक, दुई नर्स, तीन पाइलट, सात क्रुमेकर, एक इञ्जिनीयर, एक प्राविधिक, एक डिस्पास्चर गरी १७ जनासहितको टोली शनिबार चीनको वुहान गएको थियो । सो स्थानबाट १७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदारसहित १७५ जनालाई लिएर विमान आज बिहान ३ बजेर ३६ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो । नेपाल आउन तयारी अवस्थानमा चीनको वुहान एयरपोर्टमा आएकामध्ये ६ जनाको शरीरमा ३७.३ डिग्री सेल्सियसभन्दा माथि तापक्रम देखिएपछि चीन सरकारले नै नेपाल फिर्ता नपठाएको र चारजनाले त्यही बस्ने इच्छा देखाएर नेपाल नआएको जनाइएको छ । वुहान ५५ , झिङझाओ ४८, सियन २९ , इन्सी २६ , जिङमेन ९ र यिचाङबाट ८ जना गरी १३४ पुरुष र ४१ महिलासहित १७५ लाई नेपाल ल्याइएको हो । चीनबाट विमान चढ्नु अघि र काठमाडौँको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा अवतरण भएपछि पुनः स्वास्थ्य जाँच गर्दा स्वास्थ्यमा समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरको खरिपाटीमा रहेकोे क्वारेन्टाइनमा पुर्याइएको हो । कोरोना भाइरस सङ्क्रमति क्षेत्रबाट ल्याउन लागिएका नेपालीलाई खरिपाटी र नगरकोटमा राख्नु हुँदैन भन्दै दैनिक आन्दोलन भए पनि आज कसैले अवरोध गरेनन् । सरकारले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गरेको छ । क्वारेन्टाइनमा ब्लक, ए, बी र सी गरी विभाजन गरिएको छ । ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मीलाई राखिएको छ । क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सीसी क्यामरा, आठ वटा टेलिभिजन, सबै ब्लकमा स्पिकर जडान गर्नुका साथै तीनवटा वासिङ मेशिन, ओछ्यान, तावेल, चप्पल, साबुन, मन्जन, ब्रश, माक्स, औषधिलगायत दैनिक रुपमा आवश्यक सबै सामग्री प्रत्येक बेडमा पुर्याइएको छ । एक कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीनवटा बेड रहने गरी कोठाको व्यवस्थापन गरिएको छ । शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन राखिएको छ । मनोरञ्जनका लागि दुईवटा ब्याडमिन्टन कोड निर्माण गरिएको छ भने, क्यारेमबोर्ड, लूडो, बच्चाका लागि बललगायतको खेल खेल्ने व्यवस्था गरिएको छ । कोठाभित्रै बस्ने नभई कोठाबाट बाहिर क्वारेन्टाइनभित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइनेछ । क्वारेन्टाइनमा १४ दिनमा पनि स्वास्थ्य जाँच एवं रगत सङ्कलन गरिनेछ भने अरू दिन व्यक्ति स्वयम्ले स्व–जाँच गर्न मिल्ने थर्मामिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुई पटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ । कुनै कुराको आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ । जाँचमा शङ्कास्पद देखिए क्वारेन्टाइन अगाडि तयारी अवस्थामा रहेको एम्बुलेन्सले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ । सरकारले विभिन्न अस्पतालमा १४७ वटा आइसोलेसन वार्ड तयार पारेको छ । क्वारेन्टाइनमा रहँदा अभिभावकहरुसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाइने छैन भने क्वारेनटाइन अगाडि आगन्तुक कक्षमा यहाँको अवस्थाबारे जानकारी गराइनेछ । प्रत्येक दिन बिहान बिहानी खाजा, ११ बजे खाना, ३ बजे खाजा र साँझ ७ बजे खानाको व्यवस्था गरिएको छ । पत्रकारका लागि क्वारेन्टाइन बाहिर सञ्चारकर्मी कक्षको व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा उनीहरुले प्रयोग गर्ने शौचालयको सेफ्टी ट्याङ्कीदेखि बढी भएको खाना व्यवस्थापन गर्ने जमिनमुनि छुट्टै संरचना बनाइएको छ । चौबिसै घण्टा संयुक्त सुरक्षा फौजले सुरक्षा प्रदान गर्नेछ । क्वारेन्टाइन बाहिर रहेको कन्ट्रोल रुमबाट २४ सै घण्टा अनुगमन गरिनेछ । स्थानीय बासिन्दामा त्रास नहोस् भनेर नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधान, सशस्त्र प्रहरीको संयुक्त नेतृत्वमा सुरक्षा व्यवस्था एवं टोली जनचेतना अभिवृद्धि गर्ने कार्य गरिएको छ । स्थानीय बासिन्दाका लागि संयुक्त सुरक्षा निकायका चिकित्सकसहितको स्वास्थकर्मी टोलीले प्रत्येक दिन खरिपाटी घुमाउनेस्थित सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर र औषधि वितरणसमेत गर्ने भएको छ । रासस
तीनवर्षदेखि बन्द रहेको जडीबुटी सङ्कलन खुला
मार्तडी । मार्तडीस्थित गौमुल गाउँपालिकाले तीनवर्षदेखि बन्द रहेको जडीबुटी सङ्कलनलाई खुला गर्ने निर्णय गरेको छ । शनिबार बसेको सो गाउँ पालिकासभाले सो निर्णय गरेको हो । साविकका मानाकोट र दहकोट गाविसमा वन जङ्गलबाट सङ्कलन हुने जडीबुटी प्रतिबन्ध गर्ने निर्णयलाई सभाले उल्टाइदिएको जनाइएको छ । दहकोटको अम्लिस, मल्लोदुगुनलगायतका सामुदायिक तथा राष्ट्रिय वनबाट जडिबुटी सङ्कलन गर्न दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए । उनले जडीबुटी सङ्कलन गर्न तीन वर्ष बन्द गरिएको भएता पनि सङ्कलन गर्ने ठेकेदारले राजश्व सङ्कलनमा सहयोग पुर्याउन गाउँपालिकाको सिफारिस अनिर्वाय लिनुपर्ने व्यवस्था गरिएको बताए । सभाले जथाभाबी रुपमा वनमा जडीबुटी सङ्कलन कार्यलाई रोक लगाएको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिए । छैटौँ गाउँसभा तथा हिउँदे अधिवेशनले आर्थिक वर्ष ०७७/०७८ का लागि रु ३७ करोड बजेट प्रस्तावित गरेको छ । ३० वटा नीति तथा नियमावली पारित गरेको गाउँपालिकाले जनाएको छ । चालू आर्थिक वर्षमा सङ्घीय सरकार र प्रदेश सरकारबाट आएको र आन्तरिक आम्दानीबाट कूल रु ३१ करोड ४५ लाख ९९ हजार ७५७ रहेको छ । सङ्घीय सरकारबाट आएको समानीकरण रु सात करोड १० लाख, ससर्त अनुदान रु १३ करोड २७ लाख २७ हजार, राजश्व बाँडफाँडबाट रु पाँच करोड २९ लाख ६६ हजार ४१६ र विशेष अनुदान रु दुई करोड ९० लाख रहेको छ । प्रदेश सरकारबाट प्राप्त रकम राजश्व बाँडफाँड रु पाँच लाख दुई हजार, विशेष अनुदान रु ७५ लाख, समानीकरण ६ लाख २५ हजार आन्त्रिक अल्या रु एक करोड ३९ लाख ९९ हजार ३४० रहेको अध्यक्ष रोकायाले जानकारी दिए । हाल माघ मसान्तसम्म चालूतर्फ ३४ प्रतिशत र पूँजीगत तर्फको १३ प्रतिशत बजेट खर्च भएको बताइएको छ । रासस
जीएमको घुम्ने कुर्सी र विवेक झाको सीईओ यात्रा
नेपाल लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत विवेक झा काठमाडौं । गाउँमा प्रजातन्त्रको पक्षमा एक प्रकारको लहर थियो । पञ्चायती व्यवस्थाको कहरका कारण प्रजातन्त्रवादी समूहका नेता लुकीछिपी आउँथे । हजुरबा गाउँभरिकै लोकप्रिय अगुवा थिए। प्रख्यात जानकी मन्दिर नजीकैको एक गाउँमा निरशु झाको प्रख्याति यति थियो कि सबैले नाम लिन्थे । सुखदुःखका प्रतिमूर्ति झालाई गाउँभरिकाले एउटा ‘आइकन’का रुपमा लिन्थे । हजुरबाको परिवार कृषिमा आधारित थियो । पाँच दाजुभाइमध्ये जेठा झाको व्यवस्थापन कला आफैँमा प्रसिद्ध थियो । कसैलाई भेदभाव नगर्ने, सबैसँग समान व्यवहार गर्ने, आर्थिकदेखि कूटनीतिकरूपमा पनि चातुर्य हजुरबाको स्वभाव अनि १०० जनाको परिवार व्यवस्थापन गर्ने हजुरआमाको खुबी साँच्चै अनुकरणीय थियो । आखिर के चीज रहेछ, सबैले मान्ने र पुज्ने : मेरो बालमस्तिष्कले केही भेउ पाएको थिएन । रुपैठागाउँमा असाध्यै चोरी हुन्थ्यो । दक्षिणबाट आएका डाँकाले गाउँबस्ती सखापै हुने गरी लुटपाट गर्थे । त्यसबाट जोगिन सात–आठजना स्वयम्सेवक अघिपछि लगाएर हिँड्ने हजुर बा एकातिर, अर्कोतिर संयुक्त परिवारको व्यवस्थापन गर्ने अजुरआमाको कला के हो ? मेरो कलिलो मनले धेरै भेउ पाएको थिएन । त्यसमाथि तराईको ब्राह्मण समुदाय झा । जनकपुरमा त झा भनेपछि दिइने सम्मान पनि अजिबको नै छ प्रसिद्ध पण्डितको परिवार । हुने खाने पनि आउँथे, नहुने पनि आउँथे । कोही खाली हात फर्कंदैनथे । होइन, यो उल्का के होला भनेर मेरो मनमा बिझाइरहन्थ्यो तर त्यो एउटा व्यवस्थापनको ठूलो कला रहेछ । ठूलो परिवार मिलाउनेदेखि गाउँ नै मिलाउने कुरा फरक क्षमता भएकाले मात्रै सक्दा रहेछन् । हजुरआमा निरक्षर तर रामायण महाभारत सबै पढ्न सक्ने । सबैले आदर गरेर ‘माई’ सम्बोधन गर्ने उनै हजुरआमा, सबैले पुज्ने र सम्मान दिने उनै हजुरबाका नाति विवेक यतिखेर देशकै ठूलो बीमा कम्पनी नेपाल लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छन् । नजिकै पाठशाला थियो । हालको जनकपुर कलेज नजिकै । राजनीतिका कुरा पनि हुन्थे, समाज सुधारको चर्चा पनि चल्यो । विवेकका हजुरबा त्यसका साक्षी हुन्थे । पढे–लेखेको नभए पनि व्यवस्थापनको कुरा मैले हजुरबाबाटै सिकेको बताउँछन् । कुनै समय कान्छा प्रमुख कार्यकारी अधिकृतको परिचय बनाएका विवेक विगतमा फर्किदै र त्यसलाई वर्तमानसँग जोड्छन् । बुबा वीरगञ्जमा रहेको कृषि औजार कारखानाको महाप्रबन्धक भएर अवकाश पछिको जीवनमा थिए । कालीकान्त झा वास्तविक नाम भए पनि साहित्यमा समेत जमेका उनलाई केहीले ‘तृषित’का नामले समेत चिन्छन् । तराई त्यसमाथि पनि जनकपुरमा बिहान, दिउँसो, साँझ र रातको समयमा गाउने फरकफरक खालका गीत छन् । यस्तै विवाह, व्रतबन्ध तथा अन्य सांस्कृतिक कर्म गर्दा पनि त्यस्तै गीत गाइन्छ । ती सबै गीत जान्ने र लेख्ने क्षमता कालीकान्तमा थियो र छ । त्यस्तै जन्मकुण्डली बनाउने, राशि लेख्नेदेखि ज्योतिष कर्ममा समेत कहलाएका विवेकका बाबा पनि उस्तै परिचित व्यक्तित्वको रुपमा स्थापित थिए । इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण झालाई व्यवस्थापन क्षेत्रमा छिर्नु नै थियो । विगत सम्झँदै उनले भने, “१८ वर्ष भयो सिए पास गरेको मात्रै, नेपालको बैंकिङ क्षेत्रमा कुनै समयका स्थापित एवम् लोकप्रिय नाम रत्नराज बज्राचार्यले तातेताते गराएर हिँडाएको आजै जस्तो लाग्छ ।” “सिए पास गरेर आएपछि आठ वर्ष जति आर बज्राचार्य एन्ड कम्पनीमा काम गरे, म फर्मको पार्टनर समेत भइसकेको थिए, जुन बेला नेपाल लाइफ इन्स्सुरेन्स कम्पनी दर्ता हुँदै थियो, त्यतिबेला मैले यही कम्पनीको कन्सल्ट्यान्ट अडिटरका रुपमा काम गरेको थिए, कुनै समय आफैले लेखापरीक्षण गरेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन्छु भन्ने मलाई लागेको थिएन”, उनले भने, “म यो कम्पनीमा आउँछु भन्ने त झन् छँदै थिएन ।” हालको प्रभु (साबिक एलाइन्स), एलआइसी, युनिलिभर, नेपाल आयल निगम, उदयपुर सिमेन्ट तथा विभिन्न बैंकको समेत अडिट गरेको फेहरिस्त नै उनले सुनाए । अनि भने, “एनबी इन्सुरेन्समा त १० महिना जागिर नै खाए, मेरो कर्पोरेट तर्फको यात्राको पहिलो खुड्किलो थियो माछापुच्छ्रे बैंक, दुई वर्ष जति सो बैंकका काम गरेँ ।” विवेकले अझै पुराना दिन स्मरण गर्न थाले । “कृषि औजार कारखानाको महाप्रबन्धक बुबाको घुम्ने कुर्सीले पनि मलाई तान्थ्यो, म गएर बाबाको कुर्सीमा बसिदिन्थे, घुम्ने कुर्सी त्यसमाथि ‘टावेल’ राखेको कसरी पाइएला यो कुर्सीमा बस्न भनेर मेरो मनमा एक प्रकारको खुल्दुली चलिरहन्थ्यो”, उनले भने, “म खुर्रर दौडेर जान्थे र बसिहाल्थे, त्यो मेरो व्यवहार देखेर बुबा हाँस्नुहुन्थ्यो, त्यो मेरो कुर्सी मोह त थिएन नै तर कसरी पाइएला त यत्रो ठूलो कुर्सी ।” हजुरबा, हजुरआमाको जस्तै पिताजीको पनि व्यवस्थापन कला असाध्यै अनुकरणीय रहेको झाको स्मरण छ । हाकिम साब आउनुभयो भन्दै कत्रो मानसम्मान थियो । साहित्यिक नाम तृषित जस्तै सबैका प्रिय पनि मेरा बुबा । कार्यालय व्यवस्थापनको कौशल मैले पिताजीबाट सिकेको हो, विवेकले भन्दै जान्छन् । कमलादीस्थित नेपाल लाइफ इन्सुरेन्सको प्रधान कार्यालयका प्रमुख कार्यकारी अधिकृत झा कुनै व्यवस्थापनसम्बन्धी काममा व्यस्त थिए। केही समय हामीलाई कुराएर उनले आफ्नो वातनुकूलित कार्यकक्षमा बोलाए । उनले भने, “कुनै समय लेखापरीक्षण गरेको कम्पनीको नै प्रमुख हुन्छु भन्ने त लागेको थिएन तर समयले मलाई यो स्थानमा ल्याइदियो ।” वि.सं २०३० मा जन्मिएका झा आफूलाई अरूका लागि बाँच्ने एउटा सामान्य व्यक्तिका रुपमा चिनाउँछन्। जीवनलाई सरल बनाउन खोज्ने उनको विशेषता छ । माछापुच्छे बैंकको आन्तरिक अडिटरकै रुपमा रहँदै गर्दा नेपाल लाइफको तत्कालीन व्यवस्थापनले झाको योग्यता र क्षमता अनुमान लगाइसकेको थियो । त्यसमाथि आफ्नै कम्पनीको ‘अडिट’ गरेको व्यक्ति । मनोज भट्टराई प्रमुख कार्यकारी अधिकृत थिए । नेपाल लाइफको व्यवस्थापले झालाई सिनियर डिजिएम भएर आइदिन पटकपटक आग्रह गर्यो । जसले प्रयास गर्छ, त्यो सफल हुन्छ, प्रयास नै नगर्नेले त सफलता र असफलताको स्वाद नै चाख्न पाउँदैन । कार्यवाहक प्रमुख कार्यकारी अधिकृत हुँदै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको पनि आठ वर्ष पूरा भयो । व्यावसायिकजगत्मा हेर्दा आठ वर्षको अवधि ठूलो हो तर झा सन्तुष्ट देखिन्छन् । शुरुमा त केहीले बच्चा सिइओ भनेर पनि उडाए । संस्थागत हितका लागि खरो उत्रेको उउनलाई लाग्छ । कम्पनी सफल हुँदै गएको र नेपालको नम्बर एक बीमा कम्पनी हो भनेर कसैले भनिदिँदा छाती फुलेर चौडा हुन्छ । झा त्यहाँ जाँदा ५३ करोड रुपैयाँको व्यवसाय हुने गरेको नेपाल लाइफले गत आर्थिक वर्षमा मात्रै ९अर्ब रुपैयाँको व्यवसाय गरेको छ । बीमा बजारमा १८ प्रतिशतको हिस्सामा रहेको नेपाल लाइफ आजको दिनमा आइपुग्दा ३० प्रतिशतको हाराहारीमा छ । जीवन बीमा कम्पनीको हकमा एक तिहाइ हिस्सा त नेपाल लाइफकै छ । हरेक कम्पनीका आफ्नै काम गर्ने शैली र रणनीति हुन्छ । जीवन बीमाको नाम लिने बित्तिकै सबैको मुखमा नाम आइहाल्छ, नेपाल लाइफ । नेपालका बीमा कम्पनी बलिया छैनन्, यिनीहरुले भुक्तानी दिँदैनन्, एकाध वर्ष चलाउँछन् र भाग्छन् भन्ने बजारमा मनोविज्ञान थियो । धेरैले क्षणिक लाभ¬–हानिको मात्रै हिसाबकिताब गरेर बसेका थिए । बीमाबारे बुझेका भनिएकाहरु पनि सीमापारि जान्थे बीमा गर्न तर आज अवस्था फेरिएको छ । २० करोड रुपैयाँ सञ्चालकको लगानी र पाँच करोड रुपैयाँ नागरिकको लगानीबाट शुरु भएको नेपाल लाइफले बीमा क्षेत्रको इतिहास नै बदलिदिएको छ । बीमामा विशेषगरी विश्वास बेचिन्छ । नेपाल लाइफको मन्त्र पनि त्यही हो । उसले विश्वास बेचेको छ । एकपटक बीमा गर्न आएका पुनः फर्केर त्यही आउँछन् र भन्छन् नेपाल लाइफ नै ‘वेस्ट’ । अवधि पुगेकाले समेत बीमा रकम लिएर पुनः बीमा गर्न आउँछन् । शुरुआती दिनमा ‘नेक टू नेक’ व्यापार गर्ने अन्य बीमा कम्पनीलाई धेरै पछाडि छाडेर लामो दौडको घोडाका रुपमा आफूहरु अगाडि बढेको झाको दाबी छ । उनको आफ्नै सिद्धान्त छ ‘बिल्ड टू लास्ट’ । जति पनि रणनीति लिइन्छ, त्यो लामो समयका लागि हो । विश्वका उत्कृष्ट दशमा पर्ने बीमा कम्पनीको इतिहास हेर्ने हो भने पनि उनीहरुले तत्कालको फाइदाभन्दा पनि दीर्घकालीन फाइदाका लागि काम गरेका छन् । विशेषतः बिमितको विश्वास खण्डित हुन दिनुहुँदैन, परेको बेलामा प्राप्त हुने सहयोग नै जीवनभरका लागि स्मरण बन्न सक्छ । नेपालमा बीमाको हिस्सा करीब २५ प्रतिशतको हाराहारीमा पुगेको छ । वैदेशिक रोजगारीमा जानेका लागि गरिने म्यादी जीवन बीमाको तथ्याङ्क यसमा छैन । भारतको भन्दा नेपालको बीमा विस्तार राम्रो छ । कतिपय कम्पनी समस्यामा परेको बेलामा पनि नेपाल लाइफको गति भने एउटै छ । दश लाखभन्दा बढी त बीमा गर्ने नै पुगिसके । सबै कोषको हिसाब गर्ने हो भने करीब एक खर्बको हाराहारीमा पुगिसकेको छ । शेयरधनीले पनि राम्रै लाभांश पाएका छन् । बीमा गर्नेले पनि राम्रै मुनाफा लिँदै आएका छन् । जतिबेला विश्वासको परीक्षण हुन्छ नि त्यो बेला उसले आफ्नो जिम्मेवारी पूरा ग¥यो कि गरेन भन्ने विषय महत्वपूर्ण हुन्छ । चालीस हजारको हाराहारीमा अभिकर्ता बनाएको नेपाल लाइफका प्रमुख झाको भनाइ छ । “परेको बेलामा म यस्तो गर्छु है भन्नेले जिम्मेवारी पूरा ग¥यो कि गरेन भन्ने कुरा नै महत्वपूर्ण हुन्छ”, उनले भने, “बिमितलाई पर्ने विश्वास नै हाम्रो प्रमुख सम्पत्ति हो, त्यो नै हाम्रो परीक्षण हो, हामीले भनेको कुरा पूरा ग¥यौ भने त्यो सही ठहरियो, गर्न सकेनौं भने त्यो असफल भयो ।” बिमितलाई दिएको विश्वास र प्रतिबद्धता पूरा गरेकै कारण नेपाल लाइफ लोकप्रिय भएको झा बताए। कुनै काम गरिँदैछ भने त्यो आजका लागि मात्रै नभई भोलिका लागि हो भन्नेमा स्पष्ट हुनुपर्ने फराकिलो सोच छ उनमा । गाउँमा सबैको एउटै पण्डित हुन्छ, हजुरबा, बाबा र छोराका पनि । किन त्यस्तो भयो होला, उदाहरण पेश गर्दै झा भन्छन्, “त्यो विश्वास होइन र ? बीमा पनि त्यस्तै हो, जहाँ राम्रो हुन्छ र अपनत्व महसुस हुन्छ, त्यही न मान्छे आउने हुन् ।” नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा छ । हिमाल पग्लिैछ, भूकम्पको त्रास पनि उस्तै छ । विपद्ले ल्याउने जोखिमबाट जुध्न पनि बीमा जरुरी छ । समयले मान्छेलाई सिकाउँदै लगेको छ । फजुल खर्च जोगाउने हो भने सहजै बीमा गर्न सकिन्छ भन्ने मान्यता स्थापित हुँदै गएको छ । भौतिक सुख सुविधा बढ्दै जाँदा जोखिम पनि बढ्दै गएको छ । सबैभन्दा ठूलो समस्या देखिँदैछ त्यो हो जलवायु परिवर्तन । त्यसले महामारी ल्याउँदैछ । छिमेकी देश चीन यतिखेर नोबल कोराना भाइरसको महामारीमा छ । वातावरणीय सन्तुलनमा आएको बदलावका कारण महामारी मात्रै नभई नयाँ प्रकारका रोगसमेत देखा परेको छ । झाको बुझाइ छ, “तपाईं र तपाईंको परिवारलाई सुरक्षित राख्ने र उनीहरुलाई साँच्चै माया गर्ने भए एकमात्र विकल्प भनेकै बीमा हो ।” विगतका केही बुझाइ कारण बीमामा केही विकृति पनि देखिए । जुन कारणले बीमा गर्नुपर्ने थियो, त्योभन्दा बाहिर गएर प्रचार गरियो । बचत मात्रै गर्ने भए बैंक तथा वित्तीय संस्था छन् । जोखिम व्यवस्थापन र बचत दुवै गर्ने भए बीमा उपयुक्त माध्यम हो भन्ने कुरालाई नेपाल लाइफले स्थापित गरेको छ । परिवारका लागि गरिने अरू खर्चको स्थानमा बीमा पनि राखेर हेर्नुपर्ने उनको सुझाव छ । आफूलाई कुन उपयुक्त लाग्छ, सोही ‘पोलिसी’ लिन सकिन्छ । बचत लिने कि जोखिम बहन गर्ने पनि लिने, त्यो बीमा गर्नेको इच्छा भयो तर समयमा बीमा नगर्दा कुनै भवितव्यमा परेर कोही कसैको निधन भयो भने त्यसले आफू त जान्छ नै कमाउने माध्यम पनि लिएर जान्छ तर परिवारलाई ऋण मात्रै छाडिदिन्छ । त्यसकारण बीमा जरुरी छ । समान्य भाषामा आफ्नो धारणा राख्दै झाले भने, “सुरक्षाका लागि योभन्दा उपयुक्त विधि अरू के हुन सक्ला ?” विगतमा बीमा कम्पनीप्रतिको विश्वास नै कम थियो । कम्पनी रहन्छ कि रहँदैन, १५ वर्षपछि पैसा कसरी लिने भन्ने थियो तर नेपाल लाइफले बिमितलाई तपाईंको अवधि पूरा भयो, रकम लिन आउनुस् भनेर फोन नै गर्न थालेको पनि धेरै भयो । “बिमितले बिर्सेको भए पनि हामीले फोन गरेर नै रकम लिन आउनुस् भन्न थालेका छौँ, पैसा तिर्नमात्र होइन, लिन आउनुस् भनेर हामीले शुरु गर्दै गर्दा विश्वासको मात्रामा यत्ति धेरै बढोत्तरी भएको छ कि नेपाल लाइफको ‘माउथ पब्लिसिटी’ नै भएको छ”, उनले सुनाए । कम्पनीको सुरक्षित जीवन बीमा बढी प्रचलित छ । यस्तै ‘मनी ब्याक’ योजना पनि उस्तै लोकप्रिय छ । कुनै दीर्घरोग लाग्यो वा ‘क्रिटिकल इलनेस’ भयो भने कुनै पनि गुनासो नराखी बीमा रकम उपलब्ध गराएको झाको दाबी छ । दुर्घटनामा कोही प¥यो भने उसलाई एकाध दिनमा नै रकम दिने व्यवस्था गरिएको भन्दै प्रमुख कार्यकारी अधिकृत झा नेपाल लाइफको टेलिभिजनमा बज्ने विज्ञापनले भन्ने जस्तै सबैलाई सहज रुपमा जोखिम बहन गरिरहेको बताए । केहीले बीमा रकम लिन लामो समय लगाएको गुनासो पनि आएको छ । बीमा गर्दा दिइने कागजातमा उल्लेख गरिएका सर्तहरु लागू हुनेछन् भन्ने कुराले समस्या पनि पारेको छ । मसिनो अक्षरमा लेखिने सर्तहरु आम मान्छेले पढ्दैनन् पनि । सोही कारण दुःख पाएको गुनासो पनि आएकै छ । यस्तै अभिकर्ताबाट विदेश जाने, सम्पर्कबाट हराउँदा पनि समस्या देखिएको छ । हाम्रो जिज्ञासा पनि त्यही थियो, बीमा गर्दा अनेकन प्रलोभन देखाउने तर पैसा फिर्ता दिने बेलामा यो भएन, त्यो भएन भन्ने प्रचलनका विषयमा प्रमुख कार्यकारी अधिकृत झाले भने, “हाम्रोमा खासै समस्या छैन, हामीले सूचना पाएसम्म हाम्रा कर्मचारी नै पुगेर बीमा रकम दिने गर्नुभएको छ ।” उनले एकाध विषयमा एकाध ठाउँमा समस्या आयो भनेर सयौँ राम्रा कामलाई ओझेलमा पनि पार्न नहुने कूटनीतिक जवाफ पनि दिए । उनले मृत्युतर्फको १५० वटा दाबीको भुक्तानी बाँकी रहेको तथ्याङ्क दिए । गलत व्यक्तिले दाबी भुक्तानी पाउनु पनि गलत हुने भन्दै समस्यारहित ढङ्गले काम गरिरहेको बताए । शेयर बजार धेरै तल जाँदासमेत नेपाल लाइफको शेयरमा धेरै उतार–चढावका सन्दर्भमा सहजै भने, “त्यो हामी प्रतिको विश्वास नै थियो, केही वर्षपहिले कम्पनीले थप सार्वजनिक निष्कासन (एफपिओ) ल्यायो, त्यसबाट थप एक लाख ५० हजार शेयर सदस्य थपिए, हरेक साताको शेयर बजारको विवरणमा सर्वाधिक कारोवार गर्ने दश कम्पनीमा नेपाल लाइफ सधैँ पर्ने गरेको छ ।” नेपाल लाइफको ‘पेड अफ क्यापिटल’ ५ अर्ब ४९ करोड, रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ छ । यस्तै जीवन बीमा कोषमा ७८ अर्ब रुपैयाँ छ । यस्तै लगानी झण्डै ८५ अर्ब रुपैयाँ छ । चालु आवको ६ महिना मात्रै ४ अर्बभन्दा बढी नयाँ बीमा गरेको छ । यस्तै कूल प्रिमियम मात्रै १४ अर्ब रुपैयाँ बराबर भएको छ । गत वर्षभन्दा वृद्धिदर असाध्यै राम्रो छ । यस्तै किस्ता बुझाउने दर पनि राम्रो छ । यस्तै बिमितले १५ अर्ब ७३ करोड रुपैयाँ ऋण लिएका छन् । कम्पनीका २ सय शाखा सञ्चालनमा छन् । नेपालको विश्वस्तरीय दर्जाको कम्पनीका रुपमा नेपाल लाइफ स्थापित छ । सरकारको ‘सेक्युरिटी’मा लगानी गरेको छ । यस्तै बैंकका मुद्दति खाता मात्रै कम्पनीले ७५ प्रतिशतभन्दा बढी रकम जम्मा गरेको छ । शेयर बजार, पूर्वाधार विकास बैंकमा नौ प्रतिशत लगानी छ भने कम्पनीले आफ्नै लगानीमा कमलपोखरीको सिटी सेन्टरमा लगानी गरेको छ । यस्तै अन्तर्राष्ट्रिय कम्पनीसँग मिलेर प्रविधिको क्षेत्रमा पनि केही गर्ने सोच बनाएको छ । ‘हाउजिङ’ व्यवसायमा पनि हात हाल्ने सोच छ । आजका दिनमा एउटै खालका ‘प्रोडक्ट’ बेचिरहेका बीमा कम्पनीको दायरा क्रमशः फराकिलो हुँदै जाने झाको विश्वास छ । उनले भने, “सम्पत्ति शुद्धीकरणमा पनि उत्तिकै ध्यान दिएको छ कम्पनीले, यो नेपालको मात्रै समस्या होइन, विश्वव्यापी समस्या हो, हामीले छुट्टै युनिट नै बनाएर काम गरेका छौँ, बीमा समितिको सबै निर्देशन पालना गरेका छौँ ।” शेयरधनीलाई औसतमा ४०० प्रतिशतको हाराहारीमा लाभांश दिएको उनले दाबी गरे । नेपालबाट एक्चुरीका लागि बाहिरिने मोटो रकम नेपालमा नै रोक्न एक्चुरी साइन्सको पढाइ शुरु गरिएको छ । त्रिभुवन विश्वविद्यालयले त्यो कोर्षको पढाइ नै शुरु गरेको छ । एक्चुरी पाउन नै मुस्किल परिरहेका बेला त्रिभुवन विश्वविद्यालयले उत्पादन गर्ने जनशक्तिले काम गर्ने उनको भनाइ छ । “हामी भारतमा निर्भर थियौँ, किनकि हामीसँग विशेषज्ञ थिएनन्, चार्टर्ड एकाउटेन्टभन्दा बढी गाह्रो पढ्न तर बिस्तारै जनशक्ति तयार हुँदैछ”, उनले भने । आफू पनि त्यो पढाउने सन्दर्भमा विश्वविद्यालयसँग जोडिएको जानकारी दिए । यस्तो छ कम्पनीको पछिल्लो विवरण कम्पनी चालु आवको छ महिनामा २५.०९ प्रतिशतले खुद नाफामा वृद्धि गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार ३५ करोड नौ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा कम्पनीले खुद नाफा २८ करोड पाँच लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवको पुस मसान्तसम्म १० अर्ब ४७ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जनमा ३२.७९ प्रतिशतले वृद्धि गरेर चालु आवको सोही अवधिमा १३ अर्ब ९१ करोड १० लाख ६३ हजार रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा कम्पनीले अभिकर्ता कमिशन एक अर्ब ६१ करोड ११ लाख ८२ हजार रुपैयाँ वितरण गरेको छ । कम्पनीले ३ अर्ब १९ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । त्यस्तै १ अर्ब २० करोड भुक्तानी हुन बाँकी दाबी रकम छ । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ६१ करोड ५५ लाख र महाविपत्ति कोष जगेडामा ७७ अर्ब ५९ करोड २९ लाख २७ हजार रुपैयाँ छ । कम्पनीको प्रतिशेयर आम्दानी १२.७७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७८.३१ गुणा, प्रतिशेयर नेटवर्थ १५६.२४ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्ति मूल्य १ हजार ६ सय २४ रुपैयाँ छ । (राससका रमेश लम्सालसँगकाे कुराकानी आधारित )
स्वस्थ बच्चा प्रतियोगिता समापन, ८ महिना आर्यस तिवारी पहिलाे स्थानमा
काठमाडौं । ग्राण्डी ईन्टरनेसनल अस्पतालसँगको सहकार्यमा लायन्स क्लबको चौंथो स्वस्थ बच्चा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा २ वर्षसम्मको बच्चा तर्फ पहिलो आर्यस तिवारी ८ महिना, दोस्रो स्पन्दन शर्मा १९ महिना र तेस्रो युभान राज जोशी ५ महिना का भएका छन् । यस्तै २ वर्ष देखि ३ वर्षसम्म तर्फ रिदान नेपाल २५ महिना, दोस्रो सुदिश्याम बस्नेत ३१ महिना र तेस्रो सुबल मालाकार भएका छन् । भाग लिनको लागि अस्पतालले जन्मदर्ता कार्ड, खोपको कार्ड अनिवार्य गरेको उक्त प्रतियोगितामा ६२ जना बालबालिकाको सहभागिता रहेको थियो । अस्पतालको प्रांगणमा भएको यस प्रतियोगिता सन् २०१५ देखि लायन्स क्लबले आयोजना गर्दै आएको छ । उपचार भन्दा रोकथाम नै ठुलो भएको र कुनै पनि बालबालिका पछि गएर रोगले नसताओस् भन्ने उदेश्यको साथ स्वस्थ बच्चा प्रतियोगिता आयोजना गरेको लायन्स क्लबका पुर्व जिल्ला गर्भनर मधुकर कुमार उपाध्याय बताउँछन् । बालबालिका बाल्यअवस्था देखि नै स्वस्थ हुनुपर्छ भन्ने सन्देश सबै अभिभावकमा प्रवाह गर्नु आफुहरुको मुख्य उदेश्य रहेको उपाध्यायले बताए । आजको बच्चाहरु नै भोलिको देशको सबल सक्षम नागरिक हुन् । यदि कोही बच्चा बिरामी हुन्छ भने त्यसको असर परिवारलाई मात्र नपरेर पुरा समाजलाई पनि पर्ने उपाध्याय बताउँछन् । बच्चाहरु हेर्दा स्वस्थ देखिए पनि कतिपय अवस्थामा उनीहरुको भित्रि अवस्था राम्रो नभएको हुन सक्ने ग्राण्डी अस्पतालका बाल रोग शाखाका प्रमुख डा. सन्जय राज थापा बताउँछन् । यो विषयलाई हरेक अभिभावकले ध्यान दिन जरुरी रहेको उनले बताए ।
नाट्टा गण्डकी प्रदेशको साधारण सभा, पर्यटनको विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य
काठमाडौं । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार पोखरास्थित टिका रिसोर्टमा आयोजित सो साधारण सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सरकारले हवाई ईन्धनको मूल्य घटाएपनि वायुसेवा कम्पनीहरुले भने हवाई भाडा नघटाएको गुनासो गरे । उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार भएको भएपनि त्यो सर्वसाधारण र ग्राहकहरुलाई फाईदा हुने गरि जानुपर्ने बताए । ‘सरकारले एयर फ्यूल चार्ज घटायो तर त्यो घटेको मूल्यअनुसार वायुसेवा कम्पनीहरुले भने टिकटदर घटाएनन्, सचिव अधिकारीले भने । उनले आगामी दिनमा अझ हवाई ईन्धनको मूल्य घटाउन प्रयास गर्ने भन्दै पूर्वाधारमा समेत जोड दिईरहेको बताए । उनले पछिल्लो दिनमा कोरोनाभाईरसका कारण पर्यटन क्षेत्र समस्यामा परेको भन्दै त्यसमा सरकारले ध्यान दिईरहेको बताए । ‘हामीजस्तो सानो मुलुकले हवाई उडान नै रोक्नु हुँदैन्, त्यसले अर्थतन्त्रमा नै असर पर्नेछ, तर सरकारले त्यसलाई नजिकबाट निगरानी गरिरहेकोछ, उनले भने । पर्यटन सचिव अधिकारीले स्थानिय हवाई कम्पनीहरुको क्षमता अभिवृद्धि गरिनुपर्ने भन्दै सातै प्रदेशलाई एक आपसमा जोड्न काम अगाडि बढाईरहेको जानकारी दिए । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरालाई पर्यटकिय नगरीको रुपमा थप विकास गर्न पर्यटन व्यवसायीहरुसँग मिलेर कामगर्ने बताए । उनले पोखरामा पर्यटक बस पार्क बनाईरहेको र त्यो केहि समयमै तयार हुने अवस्थामा रहेको जानकारी दिए । ‘ट्राभलर टूर बसको स्तरीकरण गरिनुपर्दछ, अहिले हेर्दा नगरबसमा पनि पर्यटक बस भनेर लेख्ने जस्तो अबस्था आएकोछ,’ पोखरा महानगरपालिकाका मेयर जिसीले भने । नाट्टा गण्डकी प्रदेशको वार्षिक साधारण सभामा बोल्दै नाट्टा केन्द्रका अध्यक्ष अच्युत शर्मा गुरागाईँले पर्यटन पूर्वाधार विकास गर्न र पर्यटकिय क्षेत्रमा सुविधा पुर्याउन सरकारसँग आग्रह गरे । त्यस्तै अध्यक्ष गुरागाईँले माइस टूरिजमको विकास गर्न र अन्तराष्ट्रिय स्तरको सेमिनारहरु गर्न सेमिनार हलको अभाव रहेको भन्दै सरकारले जग्गा दिन निजी क्षेत्र बनाउन तयार रहेको स्पष्ट पारे । २५ औं साधारण सभामा बोल्दै नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पोखरेलले पर्यटकिय नगरीको रुपमा पोखरा चर्चित भएपनि पछिल्लो दिनमा पर्यटकिय गन्तव्य नथपिएकोमा चिन्ता व्यक्त गरे । उनले पर्यटकहरुलाई थप आकर्षित गर्न नयाँ प्रडक्ट विकास गर्नु आवश्यक भएको भन्दै प्रबद्र्धनले मात्र पोखरामा पर्यटक नआउने बताए । कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका उत्कृष्ट २ टूर एण्ड ट्राभल अपरेटर तथा २ जना कर्मचारीहरुलाई सम्मान गरिएको थियो । नाट्टा गण्डकी प्रदेशको २५ औं वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।