सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग र क्वेष्ट इन्टरनेशनल कलेजको आयोजनामा भएको नारायण प्रसाद स्मृती बास्केटबल प्रतियोगिता २०७६ फागुन २ गते (शुक्रबार) सम्पन्न भएको छ । खेलकुदको विकासमा सहयोग गर्दै आइरहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा भएको बास्केट बल प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो । क्वेष्ट इन्टरनेशनल कलेज प्रांगणमा सम्पन्न बास्केटबल प्रतियोगिताको महिलातर्फ प्रथम सैपाल कलेज, दोस्रोमा रिलायन्स इन्टरनेशल एकेडेमी भएका थिए । त्यसैगरी पुरुष तर्फ प्रथममा सीसीआरसी कलेज र दोस्रोमा ओमेगा कलेज भएका थिए । बास्केटबल प्रतियोगिताका बिजेताहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकका संचालक लिसा शेरचनले पुरस्कार वितरण गरेका थिए । यसरी बैंकले हाल ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।
निर्यात २६.१ प्रतिशतले बढ्यो, व्यापार घाटा ७ खर्ब
काठमाडौं । चालू आर्थिक वर्षको ६ महीनामा कूल वस्तु निर्यात २६.१ प्रतिशतले वृद्धि भई ५७ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११.५ प्रतिशतले वृद्धि भएको थियो । यस अवधिमा भारततर्फ ४५.८ प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्फ ८.५ प्रतिशत र अन्य मुलुकतर्फ ३.८ प्रतिशतले घटेको छ । पाम तेल, अलैंची, जुटका सामान, आयुर्वे्दिक औषधि, दाललगायतका वस्तुको निर्यात बढेको छ । जस्तापाता, तार, तयारी पोषाक, जुस, तामाको तारलगायतका वस्तुहरूको निर्यात घटेको छ । पुस मसान्तसम्ममा कूल वस्तु आयात ४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३०.५ प्रतिशतले बढेको थियो । भारतबाट भएको आयात ९.१ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात १२.१ र ०.४ प्रतिशतले बढेको छ । यस अवधिमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, मेसिनरी तथा पार्टपुर्जा, विद्युतीय उपकरणलगायतका वस्तुको आयात बढेको छ । बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।
सिटिजन्स बैंक र ईसेवा मनि ट्रान्सफरबीच रेमिटेन्स सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ईसेवामनि ट्रान्सफरबीच विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ । यस सम्झौता बमोजिम अब ईसेवा मनि ट्रान्सफरमार्फत विदेशबाट नेपालमा पठाएको विप्रेषण रकम बैंकको सम्पूर्ण शाखामार्फत सजिलै भुक्तानी पाउन सकिने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल ८९ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु दिँदै आएको छ ।
आमा घर सेवा आश्रमलाई ग्लोबल आइएमई बैंकको तीन लाख सहयोग
काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आमाघर सेवा आश्रममा निर्माणाधीन भवनमा सोलार जडानका लागी ३ लाख रुपैयाँ सहयोग गरेको छ । ग्लोबल आइएमई बैंक बाग्मती प्रदेशका डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले शुक्रबार आयोजित एक कार्यक्रममा आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती तथा संरक्षक विजयराज सिग्देललाई उक्त रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेतीले सामाजिक उत्तरदायित्वमा पहल गर्दै ग्लोबल आइएमई बैंकले गरेको सहयोग देख्दा निकै हर्षित भएको विचार व्यक्त गरेका छन् । आमा घर सेवा आश्रमका संरक्षक विजयराज सिग्देलले बैंकले आश्रममा बस्ने बुढा आमाबुबाहरुका लागी अति आवश्यक तातोपानीका लागी सोलार जडानका निमित्त आर्थिक सहयोग प्रदान गरेकोमा ग्लोबल आइएमई बैंकलाई धन्यवाद व्यक्त गरेका छन् । उनले ग्लोबल आइएमई बैंक, आश्रमलाई आर्थिक सहयोग प्रदान गर्ने प्रथम बैंक भएको समेत जानकारी गराए । त्यसैगरी, डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले बैंक पनि समाजकै अंग भएकोले यस्तै किसिमका सामाजिक उत्तरदायित्व निर्वाहका निमित्त सामाजिक कार्यक्रमहरुमा सहयात्री भईनैरहने जानकारी गराए ।
पुसको मूल्यबृद्धि झण्डै ७ प्रतिशत, महंगीको धेरै भार भान्छामा
काठमाडौं । गत पुसको मूल्यबृद्धि ६.८२ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.५८ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष (आव) को ६ महिनाको तथ्यांकले यस्तो देखाएको हो । यो अवधिमा सबैभन्दा धेरै मूल्यबृद्धि खाद्य तथा पेश पदार्थ समुहको छ । राष्ट्र बैंकका अनुसार पुसमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यबृछि १०.२१ प्रतिशत भने गैर–खाद्य तथा सेवा समूहको मूल्यबृद्धि ४.२५ प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र फलफुल उपसमूहको मूल्य वृद्धि उच्च छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ । यो अवधिमा महिनामा काठमाडौं उपत्यकामा ७.२४ प्रतिशत, तराईमा ७.४६ प्रतिशत, पहाडमा ५.३९ प्रतिशत र हिमालमा ५.०१ प्रतिशत मूल्यबृद्धि भएको छ । गत वर्षको पुसमा यी क्षेत्रहरुमा क्रमशः ५.१५ प्रतिशत, ४.०२ प्रतिशत, ४.९२ प्रतिशत र ४.४८ प्रतिशत मूल्यबृछि थियो । गत पुसमा नेपालमा ६.८२ प्रतिशत मूल्यबृद्धि हुँदा भारतमा भने ७.५९ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मूल्यबृद्धि क्रमशः ४.५८ प्रतिशत र २.०५ प्रतिशत रहेको थियो ।
सूर्या लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा गायिका इन्दिरा जोशी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सकाे ब्राण्ड एम्बेसडरमा गायिका तथा लोकप्रिय टेलिभिजन शो नेपाल आइडलकी जज इन्दिरा जोशी आबद्ध भएकी छिन् । काठमाडौंको होटल र्याडिशनमा उनले कम्पनीसँगको सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै यसमा आवद्ध भएकी हुन् । उनलाई सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट एमडीआरटीका विजेता अभिकर्ताहरू सहित कम्पनीका सीईओ र अध्यक्ष तथा कम्पनी बोर्डका निर्देशकहरुले स्वागत गरेका थिए । कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले नयाँ ब्राण्ड एम्बेसडर पाएकोमा खुशी व्यक्त गर्दै यसले कम्पनीलाई नयाँ दिशामा अघि बढाउने बताए । उनले भने, “जोशी र हामी सबै मिलेर नयाँअवसरको खोजी र चुनौतीको सामना गर्दै सबै उमेर, समूह र क्षेत्रका मानिसको बीमा गराउन सक्छौं भन्नेमलाई लाग्छ ।” कम्पनीका सीईओ शिवनाथ पाण्डेले ब्राण्ड एम्बेसडरको सहयोगमा कसरी ग्राहकसँग जोडिन र उनीहरुलाई प्रभावकारी सेवा दिन सकिन्छ भन्ने विषयमा चर्चा गरेका थिए । ‘उहाँको प्रभाव ग्राहकलाई बीमाको लागि प्रेरित गर्न र जीवन बीमाको विषयमा धेरै सचेतना आवश्यक रहेका मानिसलाई पनि जीवन बीमाको विषयमा जानकारी दिन निकै महत्वपूर्ण छ ।’- उनले भने । यसैबीच सूर्या लाइफको ब्राण्ड एम्बेसडर बनेसँगै जोशीले भनिन्, ‘म यस कम्पनीको ब्राण्ड एम्बेसडर बन्न पाउँदा निकै उत्साहित र गौरवको महशुस गरिरहेको छु ।’ ब्राण्ड एम्बेसडर बनेसँगै जीवन बीमाको विषयमा सचेतना र शिक्षा फैलाउनमा मेरो महत्वपूर्ण भूमिका हुनेछ ।
सिजी भन्छः विश्व बैंकले दिएको १ करोड १८ लाख उपहार होइन, राम्रो काम गरेकोले पाएको हाे
काठमाडौं । सिजी कम्यूनिकेसनले १ करोड १८ लाख रुपैयाँ अमेरीकी डलर अनुदान लिएको भन्दै विभिन्न संञ्चार माध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण गरेको छ । सोही विषयमा सिजीले आईतबार प्रेस विज्ञप्ति मार्फत स्पष्टीकरण समेत दिएको छ । सिजी कम्प्यूकिनेसनका अनुसार सो रकम तत्कालिन एसटिएम टेलिकम सञ्चारले पूर्वाञ्चलको ग्रामिण क्षेत्रमा दूर सञ्चार सेवा पुर्याउनका लागि विश्व बैंकबाट पूँजीगत अनुदान प्राप्त गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले विश्व बैंकको ऋण सहयोगमा सञ्चालित ‘दूरसञ्चार क्षेत्र सुधार परियोजना’ अन्तर्गत सन् २००३ मा पूर्वाञ्चलका ५ सय ३४ गाविसमा टेलिफोन सेवा उपलब्ध गराउन बोलपत्र आह्वान गरेको थियो । सोही बोलपत्रमा तत्कालीन एसटीएम छानिएको सि.जी.ले जनाएको छ । विश्व बैंकले विशिष्ट प्रणालीको अधीनमा रही सहयोग प्रदान गर्ने तथा त्यसको नियमन र सुपरिवेक्षणमा पनि निश्चित मापदण्ड तय हुने गर्छ । उक्त अनुदान उपहार दिइएको होइन भन्ने सिजीको दाबी छ । शर्तअनुसार कार्यप्रगती र मापदण्डहरू पुरा भएपछि ५ किस्तामा उक्त रकम निकासा भइसकेको छ । एसटीमले तोकिएको समय र क्षेत्रमा १ हजार ४ सय पीसीओ स्थापना गरी उत्कृष्ट कार्यसम्पादन गरेको थियो । सोही कार्य सम्पादनको आधारमा दूरसञ्चार प्राधिकरणले सन् २००७ अप्रिल २ मा सम्पन्नताको प्रमाणपत्र जारी गरेको थियो। सि.जी. टेलिकमले सन् २०१३ मा मात्र एसटिएम खरिद गरेको सि.जी. टेलिकमको प्रवक्ता मदुसूदन पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री ओली डिसेसिभबाट डिफेन्सिभ अवस्थामा, अर्थमन्त्री नदोहाेरिने सम्भावना, अबको गभर्नर को ?
काठमाडौं । डा. युवराज खतिवडालाई राष्ट्रपतिले पुनः राष्ट्रियसभा सांसदमा मनोनित गरिनन् भने उनको अर्थमन्त्री पद पनि जानेछ । राष्ट्रियसभामा रिक्त अन्य सांसद पदमा निर्वाचन भइसकेपछि राष्ट्रपतिले नियुक्त गर्ने एक पद भने बाँकी नै छ । डा. खतिवडा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सांसदमा मनोनित भएका थिए । उनको राष्ट्रियसभा सदस्य पद २० फागुनमा सकिदैछ । सरकारको आम्दानी र खर्चको हिसाव राख्ने तथा सरकारलाई आवश्यक पर्ने आर्थिक स्रोत जुटाउने अर्थमन्त्रालयको नेतृत्वका बारेमा अहिले अन्योल छ । अर्थमन्त्रालय मात्रै होइन, सरकारको आर्थिक सल्लाहकार नेपाल राष्ट्र बैंकको नेतृत्व पनि खाली हुँदैछ । गभर्नर डा. चिरन्जीबी नेपालको कार्यकाल ५ चैतमा सकिदैछ । त्यसपछि नेपाल राष्ट्र बैंकमा पनि नयाँ गभर्नर आउनु पर्छ । अबको १६ दिनपछि अर्थमन्त्रालयमा अर्काे नेतृत्व आउने सम्भावना पनि छ । र, अर्थमन्त्री डा. खतिवडाको राष्ट्रियसभा सदस्य पद थप नभए अर्थमन्त्रालय खाली भएको अर्काे १६ दिनपछि अर्काे महत्वपूर्ण निकाय नेपाल राष्ट्र बैंक पनि नेतृत्वविहिन हुनेछ । यही परिवेशमा अहिले प्रश्न उठिरहेको छ – अर्थमन्त्रालय र राष्ट्र बैंकको अबको नेतृत्व कसले सम्हाल्छ ? सबैभन्दा पहिला अर्थमन्त्रालयको अबको नेतृत्वका बारेमा चर्चा गरौं । डा. खतिवडालाई पुनः राष्ट्रियसभा सदस्य बनाउँदा उनी नै अर्थमन्त्रीमा कायम रहनेछन् । अर्थमन्त्रीमा निरन्तरता दिने अवस्था आएन भने डा. खतिवडालाई फेरि सांसद बनाइने छैन । डा. खतिवडाको सांसद पद गयो भने पनि अर्थमन्त्री नियुक्त गर्न खासै समस्या हुने छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि सांसदलाई अर्थमन्त्रीमा नियुक्त गर्न संबैधानिक र कानुनी हिसावले कुनै अप्ठेरो छैन । प्रधानमन्त्री ओली अहिले पार्टीमा रक्षात्मक अवस्थामा छन् । पार्टी सचिवालयमा उनी आफ्नो निर्णय गराउन सक्ने अवस्थामा छैनन् । प्रधानमन्त्री ओलीको विशेष पहलमा मन्त्री र पछि राष्ट्रियसभा सांसद बन्ने मौका पाएका डा. खतिवडालाई पुनः सांसद बनाउन सकिने विश्वास प्रधानमन्त्री ओलीसँग नै छैन । डा. खतिवडाको क्रियाकलापलाई लिएर पार्टीभित्रै उनको व्यापक आलोचना हुने गरेको छ । त्यसैकारण उनलाई अर्थमन्त्रीमा निरन्तरता दिन प्रधानमन्त्री ओलीलाई समस्या भएको हो । पार्टीमा आफू रक्षात्मक अवस्थामा रहेकोले प्रधानमन्त्री ओली डा. खतिवडालाई राष्ट्रियसभा सदस्यमा पुनः सहजै सिफारिस गर्ने मुडमा छैनन् । आफूले गरेको सिफारिस अनुसार डा. खतिवडालाई सांसद बनाउन नसकिएला कि भन्ने दुविधा प्रधानमन्त्रीमा छ । पार्टीमा निर्णायक (डिसेसिभ) रहेका बेला प्रधानमन्त्री ओलीले डा. खतिवडालाई मन्त्री र सांसद बनाएका थिए । अहिले प्रधानमन्त्री ओली नै रक्षात्मक (डिफेन्सिभ) अवस्थामा रहेकोले डा. खतिवडाको मन्त्री र सांसद पद धरापमा छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली आफूले चाहेको व्यक्तिलाई सांसद बनाउन सकिन्छ भन्नेमा दुविधामा रहेको र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाहेको व्यक्तिलाई तत्काल सांसद नबनाउने मुडमा रहेकोले राष्ट्रियसभा ससदस्य मनोनितमा ढिलाई भएको नेकपा स्रोत बताउँछ । ‘आफूले चाहेको व्यक्तिलाई सांसद बनाउन सकिन्छ भन्नेमा प्रधानमन्त्री विश्वस्त हुनुहुन्थ्यो भने राष्ट्रियसभा सदस्य मनोनित गरिसक्नुहुन्थ्यो, अर्का अध्यक्ष प्रचण्डले सिफारिस गरेको व्यक्तिलाई सांसद बनाउन तयार हुनुहुन्थ्यो भने पनि राष्ट्रियसभाले पूर्णता पाउँथ्यो, आफूले चाहेको व्यक्तिलाई सांसद बनाउन नसकिने र प्रचण्डले चाहेको गरेको व्यक्तिलाई सिफारिस पनि नगर्ने अवस्थामा प्रधानमन्त्री देखिनुभएको छ,’ नेकपाका एक नेताले भने । ओली निकट पूर्व एमाले नेताहरु भने राष्ट्रियसभा सदस्य मनोनयमा प्रचण्डको कुरा सुनिरहन जरुरी नभएको तर्क गर्छन् । प्रतिनिधिसभाको सभामुख चयन गर्ने बेलामा प्रचण्डले पूर्व माओवादीको भाग खोजेका कारण राष्ट्रियसभा सदस्य मनोनयन पूर्व एमालेको भागमा स्वतः पर्ने ओली निकट नेताको भनाइ छ । ‘सभामुख पद पूर्व माओवादीले पाएकोले सो पदमा फेरि पूर्व माओवादी नै हुनुपर्छ भनेर प्रचण्डले अड्डी कस्नुभयो, त्यो नजिर अनुसार पूर्व एमालेले पाएको पद रिक्त भएमा पूर्व एमालेले नै र पूर्व माओवादीले पाएको पद रिक्त भएमा पूर्व माओवादीले नै पाउने होला, त्यसैले राष्ट्रियसभामा पूर्व एमालेतर्फको पद रिक्त हुन लागेकोले प्रचण्डको सहमति आवश्यक हुन्न,’ ओली निकट एक नेताले भने । तर, ओली निकट नेताहरुले भने झै पूर्व एमालेका प्रभावशाली नेताहरु पनि प्रचण्डसँग छन् । पूर्व अध्यक्ष झलनाथ खनाल तथा बरिष्ठ नेता माधव पनि प्रचण्ड नजिक छन् । सचिवालय सदस्यहरुमा महासचिव विष्णु पौडेल र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल पछिल्लो समय ओलीको पक्षमा मौन हुन थालेका स्रोतले बताएको छ । यही कारण ओली सचिवालयमै करिब अल्पमतमा पुगेका बताइएको छ । अबको गभर्नर को ? गभर्नर डा. चिरन्जीवी नेपालको कार्यकाल ५ चैतमा सकिदैछ । नयाँ गभर्नर नियुक्तिको लागि मन्त्रिपरिषदले अर्थमन्त्रीको अध्यक्षतमा ३ सदस्यीय सिफारिस समिति गठन गर्नुपर्छ । सिफारिस समितिमा एक जना पूर्व गभर्नर हुनैपर्छ । तर, अर्थमन्त्रीको पद नै यकिन छैन । फागुन २० अघि समिति बनाउँदा डा. खतिवडाको अध्यक्षतामा समिति बन्छ । तर, उनको सांसद पद रहेन भने उनी मन्त्री पनि नरहन सक्छन् । यस्तो अवस्थामा अर्थमन्त्रीको हैसियतले डा. खतिवडाको अध्यक्षतामा समिति बन्ने सम्भावना कम छ । तर, डा. खतिवडा नै सांसदमा दोहोरिने अवस्था रहेमा उनको मन्त्री पद जाने सम्भावना कम हुन्छ । त्यस्तो अवस्थामा भने नयाँ गभर्नर सिफारिस समिति बनाउन गाह्रो हुने छैन । गभर्नर पद रिक्त हुनै लाग्दा आगामी गभर्नर को होला भनेर व्यापक अड्कलबाजी चल्न थालेको छ । अर्थमन्त्री डा. खतिवडासँग नजिक भएर काम गरेका तथा प्रधानमन्त्री ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पनि विश्वास गरेका निवर्तमान अर्थसचिव राजन खनाललाई आगामी गभर्नरको रुपमा हेर्ने गरिएको पनि छ । तर, प्रधानमन्त्री ओलीको रोजाईमा खनालभन्दा पनि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी नै अगाडि छन् । त्यसैकारण डेपुटी गभर्नर शिवाकोटी नै आगामी गभर्नर हुन सक्छन् भन्ने अड्लबाजी पनि गरिएको छ । यस्तै, राष्ट्र बैंक संचालक समिति सदस्य सुवोधकुमार कर्ण तथा अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ पनि आगामी गभर्नरका लागि आकांक्षी छन् । गभर्नरका आकांक्षी धेरै भएपनि अर्थमन्त्रीमा डा. खतिवडाको कार्यकाल दोहोरिने नदोरिने यकिन भएपछि मात्रै अबको गभर्नर को बन्ला भन्ने प्रक्षेपण गर्न अलि सजिलो हुनेछ ।