विकासन्युज

अल्फा बिटा एशियन एजुकेसन फेयर फागुन ८ गते हुँदै

काठमाडौं । अल्फा बिटाले नयाँ बानेश्वरस्थित आफ्नै भवन अल्फा बिटा कम्प्लेक्समा एशियन एजुकेसन फेयर आयोजना गर्ने भएको छ । मेला बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म सन्चालन हुने छ । भारत, जापान, मलेशिया, भियतनाम लगायतका एशियन राष्द्रहरुमा अध्ययन गर्न नेपाली विद्यार्थीहरुको आकर्षण बढिरहेको बेला यी देशहरुका विश्वविद्यालय तथा कलेजहरुका आधिकारिक प्रतिनिधिसहित एकै ठाउँमा विद्यार्थी र अभिभाकलाई स्ूचना दिने उदेश्यले मेला आयोजना गर्न लागेको अल्फा बिटाका प्रेसिडेन्ट तथा सिइओ द्विराज शर्माले जानकारी दिए । मेलामा २० वटा उत्कृष्ट विश्वविद्यालय तथा कलेजहरुको सहभागिता हुनुका साथै विद्यार्थीहरुले शैक्षिक प्रणाली , विश्वविद्यालय ,पढाई हुने कोर्ष लगायतका विषयमा सही जानकारी पाउनेछन् । मेलामा एक हजार पाँच सय देखि दुई हजार विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ । अल्फा बिटाले अष्ट्रेलिया सहित विश्वका १४ राष्ट्रका ३०० भन्दा बढी उत्कृष्ट विश्वविद्यालय तथा कलेजका लागि परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

निजी क्षेत्रसँगको साझेदारीबाट मात्र देशको समृद्धि हुन्छः उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले व्यवसायिक प्रबद्र्धनका लागि ढुक्कसँग काम गर्ने वातावरणको सृजना गरी उनीहरुसँग सही अर्थमा साझेदारी गर्न सकिएमा मात्र देशमा समृद्धि प्राप्त हुने बताएका छन् । दार्चुलामा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय महोत्सवलाई आइताबर सम्बोधन गर्दै उनले भने– निजी क्षेत्रलाई सरकारले विकासको साझेदारका रुपमा लिएर हातेमालो गरेर अघि नबढ्दासम्म देशमा समृद्धि सम्भव छैन । नेपालका तीनओटै तहका सरकारहरुले निजी क्षेत्रसँग सही अर्थमा र व्यावहारिक रुपमा साझेदारी गर्न सकेमा प्रदेशस्तरमा लगानी भित्रिने छ र यसबाट समृद्ध नेपाल र सुखी नेपालीको सरकारको अभियान सार्थक बन्नेछ उनले भने । नेपालको आर्थिक विकास तथा समृद्धिको यात्रामा निजी क्षेत्रको आवश्यकता र महत्वमाथि प्रकाशपार्दै देश विकासको तीन खम्बे अर्थनीतिमा निजी क्षेत्र एक दरिलो खम्बा हो र यससँगको सहकार्य र साझेदारीबाट मात्र देश समृद्ध बन्न सक्ने ढकालले बताए । उनले नेपाल नयाँ राजनीतिक संरचनामा प्रवेश गरेसँगै संघीय, प्रदेश र स्थानीय सरकारहरुले आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन प्रतिश्पर्धा गरेको देखिएकोले यसलाई व्यावहारिकतामा परिणत गरी तीनै तहका सरकारले निजी क्षेत्रको प्रबर्धन गरी अघि बढ्न सुझाव दिएका छन् । उपाध्यक्ष ढकालले आर्थिक क्षेत्र, व्यावसाय, श्रम, कर आदिका विषयमा नियम कानूनहरु निर्माण गर्दा सरोेकारवाला निजी क्षेत्रसँगको सल्लाह र परामर्शबाट ल्याउन सकिएमा यसको कार्यान्वयनमा सहयोग पुग्ने र अन्ततः यसबाट राज्य र नेपाली नागरिक नै लाभान्वित हुने धारणा पनि राखे ।

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस, तेस्रो दिन १० खेल हुँदै

काठमाडौं । काठमाडौँमा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा सोमबार कूल १० खेल हुदैछन् । तेस्रो दिन लिग चरण अन्तर्गतका ६ खेल हुन्छन् जसमध्ये पहिलो खेलमा भारतीय राजदुतावासको टोली मेगा बैंक विरुद्ध खेल्दैछ भने दोस्रो खेलमा नेपाल लाईफ इन्स्याेरेन्स र प्राईम बैंक खेल्ने भएका छन् । त्यस्तै, तेस्रो खेलमा मेगा बैंक र सिप्रदी, चैथो खेलमा कामना सेवा विकास बैंक र कुमारी बैंक, पाचौँ खेलमा माछापुच्छ्रे बैंक र सनराईज बैंक तथा लिग चरणको अन्तिम खेलमा सिप्रदी र भारतिय राजदुताबासको टोली एकआपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । लिगचरण खेल पछि आजै नकआउट चरणका ४ खेल पनि कीर्तिपूर स्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट ग्राउण्डमा हुनेछन् । यसगरी, आइतबार दोश्रो दिनको खेलमा सुबिसु, सिभिल बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक, कामना सेवा विकास बैंक, नबिल बैंक, नेपाल टेलिकम, सेन्चुरी बैंक र कुमारी बैकले जित हात पारेका छन् । पहिलो दिनको खेलमा सुबिसुले नबिल बैंकलाई १ रनले पराजित गर्यो । सुबिसुले दिएको ६१ रनको लक्ष्य पछ्याउने क्रममा नबिलले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ५९ रन मात्र बनाउन सक्यो । त्यस्तै दोश्रो खेलमा सिभिल बैंकले प्राइम कमर्सियल बैंकलाई ११ रनले पराजित गरेको थियो । सिभिलले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा प्राइमले ५१ रन बनाएको थियो । तेश्रो दिनको खेलमा मुख्य प्रयोजक माछापुच्छ्रे बैंकले सुर्य नेपाललाई ५ रनले पराजित गर्यो । माछापुच्छ्रेले दिएको ६० रनको लक्ष्य पछ्याउने क्रममा सुर्य नेपालले निर्धारित ५ ओभरमा ५४मा समेटिएको थियो । त्यसैगरी, चौथो खेलमा एनआईसी एसिया बैंकले नेपाल राष्ट्र बैंकलाई ९ रनले पराजित गर्यो भने पाँचौ खेलमा सिभिल बैकले दोश्रो जित दर्ता गर्ने क्रममा नेपाल लाइफ इन्सुरेन्सलाई ५२ रनले पराजित गर्यो । यता छैठौं खेलमा कामना सेवा विकास बैंकले द काठमाडौँ पोस्टलाई ३७ रनले पराजित गर्यो । त्यस्तै सातौँ खेलमा नबिल बैंकले सुबिसुलाई ५ विकेटले पराजित गर्यो । दिनको आठौँ खेलमा नेपाल टेलिकमले एनसेल ’बि’ लाई १८ रनले पराजित गर्योे नवौं दिनको खेलमा सेन्चुरी बैंकले एनआईसी एसिया बैंकलाई ६ विकेटले पराजित गर्यो । एनआईसी एसिया बैंकले दिएको ६३ रनको लक्ष्य सेन्चुरीले विकेट नगुमाई पुरा गर्यो । दशौँ दिनको अन्तिम खेलमा कुमारी बैंकले द काठमाडौँ पोस्टलाई ५ विकेटले पराजित गर्यो ।

कर छुटको दायरा बढाइयो, मासिक ३८ हजार ४ सय ६१ रुपैयाँ तलब हुनेले कर तिर्नु नपर्ने

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेले तिर्नुपर्ने आयकरको सीमा बढाइएको छ । प्रधानमन्त्री केपी ओलीले सरकार गठन भएको २ वर्ष पूरा भएको उपलक्षमा संसदमा गरेको सम्बोधनमा कोषमा आवद्ध हुनेले कर छुट पाउने सीमा ३ लाख रुपैयाँबाट बढाएर ५ लाख रुपैयाँ पुर्याइएको जानकारी गराए । प्रधानमन्त्रीको सम्बोधनमा कर छुटको सीमा बढाइएको जानकारी प्राप्त भएको कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले जानकारी दिए । करको विषय भएकोले ऐनमा कुनै संशोधन जरुरी नभएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै कर छुटको सीमा वार्षिक ३ लाख रुपैयाँबाट ५ लाख रुपैयाँ पुर्याइएको जानकारी दिनुभएको छ, करको विषय भएकोले मन्त्रिपरिषदले निर्णय गरेर राजपत्रमा सुचना प्रकाशित गर्छ, अनि लागू हुन्छ,’ उपकार्यकारी निर्देशक पन्थीले विकासन्युजसँग भने । सरकारले वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी हुने र सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेले आयकर तिर्नु नपर्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्थापछि मासिक ३८ हजार ४ सय ६१ रुपैयाँसम्म तलब हुने कर्मचारीले आयकर तिर्नु पर्दैन । किनभने सरकारले आयकर गणना प्रयोजनको लागि एक वर्षलाई १३ महिना मान्छ । यसअघि वार्षिक ३ लाख रुपैयाँसम्म आम्दानी हुनेले कर छुट पाउने व्यवस्था गरिएको थियो । यो भनेको मासिक २३ हजार ७६ रुपैयाँसम्मको तलब भत्ता पाउनेले कर छुट पाउने अवस्था थियो । आयकरको सीमा थोरै राखिएको र खान लाउनै नपुग्ने आम्दानीमा पनि सरकारले कर लिएको भन्दै कोषमा आवद्ध हुनेको संख्या निकै कम थियो । कोषमा आवद्ध हुनेको कर छुटको सीमा बढाइएकोले आवद्ध हुनेको संख्या बढ्ने कोषको विश्वास छ । सम्बन्धित समाचार राष्ट्र बैंकको निर्देशनः अब ८० हजारभन्दा कम तलब खानेले गाडी किन्न नसक्ने ५० हजार तलब खानेले बढीमा २० लाख ऋण पाउने, तलबी कर्मचारीले कसरी लिने कर चुक्ता प्रमाण ?

सीमा निरीक्षणमा उपप्रधानमन्त्री पोखरेलसहित १० जनाकाे टाेली कालापानी क्षेत्र प्रस्थान

दार्चुला । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान गरेका छन् । आज नेपाली सेनाको हेलिकप्टरमार्फत पाेखरेल व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गरेका हुन् । उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सदस्य मानबहादुर धामी, गेल्बुसिह बोहरालगायत सुरक्षा अधिकारीसहित १० जनाको टोली व्यास क्षेत्र प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको छ । दार्चुला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ को उद्घाटन तथा दार्चुलास्थित दुर्गादल गुल्मको निरीक्षणको क्रममा उपप्रधानमन्त्री पोखरेल यहाँ आएका थिए । रासस

भृकुटीमण्डपमा जारी जुत्ताचप्पल मेलामा उपभोक्ताकाे भिड बढ्दै, ६० प्रतिशतसम्म छुट

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकको प्रदर्शनीमा उपभोक्ताको भिड बढ्दै गएको छ । भृकुटीमण्डपको प्रदर्शनी हल र ठूलो चौरमा भइरहेको क्यान इन्फोटेक (मेला) मा आउने उपभोक्ता भृकुटीमण्डप प्रवेशद्वारसँगैको मेलामा अवलोकन गर्नकै लागि सर्वसाधारण प्रवेश गर्ने गरेका छन् । उक्त मेलामा आउने उपभोक्ता सस्तोमा जुत्ताचप्पल पाएपछि नलिइ कोही फर्केका छैनन, शिखर सुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाइँले भने, मेलामा असाधारण मूल्यमा ब्राण्डेड जुत्ताचप्पल उपलब्ध छन् । मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, ल्याडवाक र शुल्याण्डका जुत्ताचप्पल उपलब्ध छन् । क्यान मेलामा आउने उपभोक्तालाई लक्षित गरिएको जुत्ताचप्पल मेलामा १ सय रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखिका जुत्त उपलब्ध रहेको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । साथै, १५ देखि ६० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध गराइएको थियो । मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अवसर उपभोक्ताले पाएका छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । त्यसैगरी, पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरुसमेत राखिएका छन् ।

सार्सभन्दा कोरोना भाइरस विश्व अर्थतन्त्रका लागि खतरा !

काठमाडौं । सन् २००३ मा चीनमा पहिलो पटक सार्स भाइरस देखा पर्याे । जसकाे करिब आठ हजार संक्रमितमध्ये ७७ जनाको ज्यान गयाे । सार्स भाइरसकाे १६ वर्षपछि पुन: आज संसारभरी कोरोना भाइरसले सोभन्दा बढी असर देखाइसकेको छ । हालसम्म पनि कुनै उपचार पत्ता नलागेको अवस्थामा यो रोगका कारण कतै अझै धेरै मानिसहरुको मृत्यु हुने त हैन भन्ने शंका पैदा भएको छ । चीनको वुहान शहरमा पहिलो पटक देखा परेको कोरोना भाइसले चीनकाे अर्थतन्त्रलाई अघिल्लो सार्सले भन्दा नराम्रोसँग शिथिल बनाउने अनुमान विश्लेषकहरुले लगाएका छन् । अझ द्रुत रुपमा बढिरहेको चीनको अर्थतन्त्र आकार, अमेरिकासँगको उसको गहिरो आर्थिक तथा व्यापारिक सम्बन्ध, चीनिँयाहरुले संसारको विविध कुनाहरुमा बढाइरहेको लगानी तथा लगभग हरेक राष्ट्रसम्म फैलिएको उसको सेवा तथा वस्तुको सञ्जाललगायतको पक्षलाई ध्यानमा राख्ने हो भने कोरोना भाइरसको विश्व अर्थतन्त्रमा पर्ने असर अध्याधिक बृहत देखिने भएकाे छ । सन् २००३ को सार्स महामारीको प्रकोपको सामना गर्दाको समयमा चीनको कुलग्राहस्थ उत्पादन करिब १०.६ खर्ब अमेरिकी डलर बराबरको थियो । जुन आज बढेर लगभग १३० खर्ब अमेरिकी डलरको भएको छ । अर्कातर्फ पछिल्लो समयमा आफ्नो व्यापारलाई  बढाउने उदेश्यका साथ चीनलाई बृद्धि र नाफाको मुख्यालय बनाउनका लागि अमेरिकी कम्पनीहरुबिच घम्साघम्सी परिरहेको छ । तर, यिनै कम्पनीहरु अहिले चीनमा कोरोनाभाइरसको कारणले ब्यापार तथा बिक्रीमा आएको भारी गिरावटको कारण प्रताडित हुनु परेको छ । अघिल्लो सार्सको प्रकोपको समयमा पनि केहि समय बन्द भएको अमेरिकी गेमि जायण्ट लाभ भेगास साण्डस् कर्पले मकाउ स्थित उसका क्यासिनोहरुबाट ठूलो घाटा बेहोरिरहेको छ । क्यासिनोहरुमा जाने ग्राहकहरुको संख्यामा ८० प्रतिशतभन्दा बढीको कमी आएको उसले जनाएको छ । त्यसोत कम्पनीको कुल घाटा थाहापाउने दोश्रो त्रैमासिकसम्म कुर्नुपर्ने भएता पनि लाभ भेगास साण्डस् कर्पका सीइओ रब गोल्स्टेनले व्यापारमा आएको ८० प्रतिशतको कमीलाई संचालन खर्च कम गरेर सन्तुलन गर्छु भनेर सोच्नु मूर्खता मात्र हुने टिप्पणी दिएका छन् । १. चीनको कुल ग्राहस्थ उत्पादन सन् २००३ मा- १०.६ खर्ब अमेरिकी डलर अहिले- १३०.६खर्ब अमेरिकी डलर चीनको अर्थतन्त्र संसारकै सबैभन्दा धेरै वृद्धि भइरहेको अर्थतन्त्र मध्येको एक हो । कोरोना भाइरसको कारण हाल उसको आर्थिक तथा व्यापारिक गतिविधीमा आएको मन्दिका कारण चीनले ठूलो नोक्सानी व्यहोर्नु पर्ने अनुमान गरिएको छ । २. चीनको विश्वब्यापी निर्यात सन् २००३ मा- ४३८ अर्ब अमेरिकी डलर अहिले- २०.५ खर्ब अमेरिकी डलर आजको दिनमा चीनले बिगतमा कहिले पनि नगरेको वस्तु तथा सेवाको निर्यात संसारभरी गरिरहेको छ । गतवर्ष चीनको सबैभन्दा ठूलो निर्यातकर्ता बनेको अमेरिकाले चीनबाट१५२ अर्ब अमेरिकी डलर बराबरको विद्युतीय सामाग्रीमात्रको आयात गरेको थियो । यसैगरी चीनले अमेरिकातर्फ ११७ अर्ब अमेरिकी डलर बराबरको मेसिनरी सामाग्री, ३५ अर्ब अमेरिकी डलर बराबरको फर्निचर, २७ अर्ब अमेरिकी डलर बराबरको खेलौना र सो सम्बन्धी सामाग्री र १९ अर्ब अमेरिकी डलर बराबरको प्लाष्टिकको सामाग्री निर्यात गरेको थियो । ३. चीनियाँ अर्बपतिहरु सन् २००३ मा- ० अहिले- ३२४ जना (सन् २०१९) पछिल्लो समयमा चीनमा अर्बपतिहरुको संख्या लगातार बढिरहेको छ । हालसालै चीनकोे सबैभन्दा ठूलो इकमर्श कम्पनी अलिबाबाको अध्यक्ष पदबाट राजीनामा दिएका ज्याकमा चीनको सबैभन्दा धनी व्यक्ति हुन् । उनीसँग ४२ अर्ब अमेरिकी डलर बराबरको कूल सम्पत्ति रहेको छ । ४. अमेरिकाको भ्रमण गर्ने चीनियाँ पर्यटक सन् २००३ मा- एक लाख ५७ हजार जना अहिले- २८ लाखजना (सन् २०१८) नव धनाढ्य चीनियाँहरुको संख्यामा आएको बृद्धिसँगै उनीहरुमाझ संसारका विभिन्न देशहरुको भ्रमण गर्ने प्रबृत्तिमा व्यापकता छाएको छ । पर्यटनलाई गुणस्तरीय जिवनको महत्वपूर्ण निर्धारक मान्न थालेका चीनिँयाहरुको विश्व पर्यटन क्षेत्रमा बढ्दो योगदान रहेको छ । धेरै घुम्ने मात्र नभइ चीनियाँहरुले आफूलाई खर्चालु पर्यटकका रुपमा पनि स्थापित गराइ सकेका छन् । एक सर्वेक्षणका अनुसार गैर-चीनिँया पर्यटकहरुले विदेश भ्रमणको क्रममा सामान किन्नका लागि प्रतिब्यक्ति ओसत ४८६ अमेरिकी डलर खर्च गर्छन् भने सोहि प्रयोजनका लागि चीनिँया पर्यटकहरुले प्रतिब्यक्ति औसत ७६२ अमेरिकी डलर खर्च गर्दछन् । ५. चीनमा स्टारबक्स सन् २००३ मा- १ सय ५२ अहिले – चार हजार १ सय २३ चीनमा आर्थिक क्रियाकलाप तथा खर्चालु उपभोक्ताहरुको संख्यामा आएको उल्लेखनीय वृद्धिका कारण विश्वका ठूला ब्राण्डहरुले यहाँको आकर्षक बजारहरुबाट लाभ हासिल गर्न सो देशमा आफ्नो उपस्थिती बढाइरहेका छन् । २०१९ सम्म यहाँ चार हजार २१३ वटा रिटेल स्टोरको स्थापना गरिसकेको स्टार बक्सले कोरोना भाइरसको कारण आफ्नो आधाभन्दा बढी स्टोरहरुलाई हालबन्द गरेको छ । ६.चीनमा म्यारियट होटल सन् २००३ मा– ३९ अहिले – ३४८ (२०१९) अमेरिका पछि चीन म्यारियट चेन होटलको सबैभन्दा ठूलो बजार हो । सन् २०१८ माम्यारियटले त्यहाँको सबैभन्दा ठूलो इकमर्स कम्पनी अलीबाबासँग साझेदारी सम्झौता गर्यो जसले चीनियाँ यात्रीहरुलाई अलिबाबाको यात्रासम्बन्धी वेबसाइटमार्फत म्यारियट होटलमा आफूले चाहेको सेवा बुक गर्न सक्ने अवसर दिएको छ ।

६ महिनामै बढ्यो साढे ४ खर्बले रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष काे ६ महिनामै ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७६/७७को अर्धवार्षिकसमयमा मात्र उक्त रकम नेपाल भित्रिएको छ । गत आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ भित्रिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा ७ खर्ब ५५ अर्ब ५ करोड रुपैयाँ रेमिटान्स नेपाल भित्रियाे। देशको प्रमुख अर्थतन्त्रको आधार रेमिट्यान्सले कुल ग्राहस्थ उत्पादनको एक चौथाई भाग ओगटेको छ । आर्थिक वर्ष २०७४/७५ मा ११ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ व्यापार घाटा भएको थियो । त्यस्तै आर्थिक वर्षमा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ व्यापार घाटा भयो । नेपालको व्यापार घाटाको कहालि लाग्दो अवस्थालाई विदेशबाट भित्रिने रेमिट्यान्सका कारण अर्थतन्त्रको जग यथावत रहेको छ । सम्बन्धित समाचार  खाडीको पसिनाले थेग्दैछ नेपाली अर्थतन्त्र, वार्षिक ५ लाख नेपाली विदेशिदै