सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा १५ प्रतिशत छुट
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त अस्पतालको सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई मेदान्त मेडिसिटी अस्पतालको सेवा शुल्कमा साे मात्राकाे छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा मेदान्त अस्पतालका सेल्स एण्ड मार्केटिङ्गका उपाध्यक्ष सुकेश थरेजाले हस्ताक्षर गरेका हुन् । यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले भारतको गुरगाउँ , लखनउ, राँची, इन्दौर लगायतका मेदान्त अस्पतालका सबै शाखाहरुबाट पाउनेछन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।
सिटिजन्स लाइफ इन्स्योरेन्सले गर्यो ‘आर्ट अफ सक्सेज’ कार्यक्रम
काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले ‘आर्ट अफ सक्सेज’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित उक्त कार्यक्रम बसुन्धरा बैंक्वेटमा सम्पन्न भएको हो । कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फूयालले उद्घाटन गरेका हुन् । सिटिजन लिडरहरुको क्षमता अभिवृद्दि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरिय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको उक्त कार्यक्रममा ४ सय भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रशिक्षक डा. मदनराज विष्टले भावनात्मक मानव सम्बन्ध, अन्तर मनद्वारा योजनाको नेतृत्व, लिडर र म्यानेजरमा हूने पर्ने गुणहरु बारे प्रकाश पारेका थिए । व्यक्तिगत तथा व्यवसायिक रुपमा लाभमय क्रियाकलापको कारण लिडरहरुको बेजोड संलग्नता थियो ।
यी हुन् प्रचण्डलाई जुत्ता हान्ने युवक
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा भएको खुलासा भएको छ। उनलाई महानरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ । उनको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । जुत्ता प्रहार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको महानगरी प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले पुष्टि गरे । उनले जनयुद्धमा बुबा गुमाएका मोहन तिरुवाका छोरा रहेको खुलेको छ । उनका बुबा ०५६/५७ मा राज्यपक्षबाट मारिएका थिए । मोहन माओवादी कार्यकर्ता रहेको खुलेको एक उच्च प्रहरी अधिकारीले बताए । हाल उनी ललितपुरको डल्लु क्षेत्रमा बस्दै आएका थिए । उनले सुर्खेतमा अमिन पढेका थिए । युद्धमा बुबा गुमाएको आक्रोशमा उनले जुत्ता प्रहार गरेको हुनसक्ने बताइएको छ । उनी अहिले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता रहेको बताइएको छ तर जुत्ताले प्रचण्डलाई भने नलागेको प्रहरीले जनाएको छ । यसअघि प्रचण्डलाई भृकुटीमण्डपका आयोजित तत्कालीन माओवादीको चियापान समारोहमा एकजनाले माला लगाउने क्रममा थप्पड हानेका थिए । सम्बन्धित समाचार: प्रचण्डमाथि जुत्ता प्रहार
प्रचण्डमाथि जुत्ता प्रहार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै काठमाडौंस्थित राष्ट्रियसभागृहमा जुत्ता प्रहार भएको छ । भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आयोजना गरेको प्रथम स्मृति सभाको कार्यक्रम सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार भएको हो । जुत्ता प्रहार गर्दा उनलाई लागेको थिएन । प्रचण्डले कार्यक्रमलाई सम्बोधन गरिरहेको भिडिओ उनको सचिवालयले फेसबुकमा लाइभ गरिरहेको थियो । प्रचण्डले आफ्ना कुरा राखेर पोडियमबाट फर्कंदै गर्दा उनलाई लक्षित गर्दै जुत्ता प्रहार भएको हो । दर्शक बस्ने ठाउँबाट जुत्ता प्रहार भएपछि मञ्चमा रहेका सुरक्षाकर्मीले ती व्यक्तिलाई पक्राउ गरेको छ ।
महोत्तरीको विद्यालयलाई सिटिजन्स बैंकको आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले महोत्तरीको औरही नगरपालिका —१ स्थित श्री जनता आधारभूत विद्यालयलाई ७० हजारको आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएकाे हाे । यस विद्यालयले स्थापनाकाल देखिनै त्यस क्षेत्रभित्रका विशेषत जनजाती, दलित बाहुल्यता रहेको समुदायका बालबालिकाहरुलाइ ज्ञानको ज्योति छर्दै आएको छ । सामाजिक, आर्थिक रूपले विपन्न गरिब तथा दलित बालबालिकाहरुको पठन पाठनमा सहज होस भन्ने उद्देश्यका साथ विद्यालयले उक्त सहयोग रकमबाट विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीको खरिद गरि वितरण गरिएको छ । नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।
सार्वजनिक सवारी साधनको अनुगमनमा खटिए महिला ट्राफिक प्रहरी
काठमाडौं। काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा आरक्षण सिट राखे नराखेको, आरक्षण सिटमा सम्बन्धित मानिसलाई राखे नराखेको, जेष्ठ नागरिक तथा विद्यार्थीले पाउने छुट दिए नदिएको, सिटमा लेखिए पनि अस्पष्ट तथा केरमेट भएको विषयमा अनुगमनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्कुटरमा २ जना महिला ट्राफिक प्रहरी परिचालन गरिएको छ । सरकारले दिएको छुट र आरक्षण सिट पूर्ण रुपले कार्यान्वयन नभएको, खोज्दा अपमानित हुनुपरेको, दुर्व्यवहार गरेको, भाडामा दिइँदै आएको छुट नदिएको, महिलामैत्री नभएको जस्ता यात्रुहरुले यात्रामा भोग्नु परेका समस्याबारे ठाउँको ठाउँ सुनुवाईको लागि आरक्षण सिट अनुगमन टोली खटाईएको कुरा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए । उनले भने ( “ सार्वजनिक यातायात प्रति सबैको अपनत्व महसुस गर्न र आफ्नो अधिकारबाट वञ्चित भएकालाई सहयोग गर्नका लागि यो टोली परिचालन गरिएको हो ।” महाशाखाका प्रमुख भएर आएदेखि नै एसएसपि ढकालले काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक सवारीहरूलाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउन आफै सडक पुगेर अनुगमन समेत गरेका थिए र अनुगमन पनि तीव्र बनाएका थिए । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिबन कुमार श्रेष्ठले भने – “यात्रुहरूले आरक्षणको सिटका लागि आवाज उठाउँदा अरु व्यक्तिका अगाडि खिल्ली तथा उपहासको पात्र हुनु परेको भन्ने जनगुनासोलाई समाधानको लागि २ जना महिला ट्राफिक प्रहरीलाई दैनिक ५० भन्दा बढी सार्वजनिक साधनहरू अनुगमनको लागि परिचालन गरिएको हो, यस टोलीले आजदेखि निरन्तर उपत्यकाको सबै ठाउँमा गई अनुगमन गर्नेछ ।” कानुनी व्यवस्था के छ ? सार्वजनिक यातायातमा पाउनुपर्ने आरक्षण सिटका कुरा नीति नियममा उल्लेख नै गरिएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०७ मा सार्वजनिक यातायातमा महिला तथा अपांग, जेष्ठ नागरिक, अशक्तका लागि सिट सुरक्षित राख्नुपर्ने व्यवस्था गर्नुपर्ने कुरा उल्लेख छ । त्यस्तै दफा १०९ मा सवारी चालक, यात्री लगायत कसलै पनि कसैसँग अभद्र, अशिष्ट शव्द र भेदभावपूर्ण अनुचित व्यहवहार गर्न नपाइने प्रस्ट उल्लेख गरिएको छ । यसरी यात्रुवाहक सवारीमा तोकिए बमोजिम सिट सुरक्षित नराखेमा ट्राफिक प्रहरीले एक हजार जरिवाना गराउन पाउँदछ भने भाडामा छुट नदिएमा ३ हजारसम्म जरिवाना हुन्छ। महिला आरक्षण अनि अपांग सिट, जेष्ठ नागरिक सिट वा जुन सिट जसका लागि भनी उल्लेख भएको नियम पालना गर्नु हरेक नागरिकको कर्तव्य हो । सचेत तथा असल अनि इमानदार नागरिक हुनुहुन्छ र सार्वजनिक सवारी साधनमा यात्रा गर्दै हुनुहन्छ भने याद राख्नुस्, कतै तपाई यस्तै अपांग र महिला सिटमा त बस्नुभएको छैन ? सार्वजनिक यातायातमा रहेको आरक्षण सिटको पूर्ण पालना र सही सदुपयोग लागि सम्बन्धित सम्पूर्णमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अनुरोध गरेको छ ।
कतारमा पनि भेटियो कोरोना सङ्क्रमित, सतर्कता अपनाउन दुतावासकाे आग्रह
काठमाडौं । वृहत रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित कतारमा पनि भेटिएको छ । पछिल्लो समय इरानबाट उद्धार गरेको एक कतारीमा कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको छ । दिन प्रति दिन कोरोना संक्रमण बढेसँगै दोहास्थित नेपाली दूतावासले सङ्क्रमण देखिएपछि कतारमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो । दूतावासले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन अवलम्बन गर्नुपर्ने उपाय अपनाउन आग्रह गरेको हो । कतारमा करीब चार लाख नेपाली विभिन्न पेशाव्यवसायमा संलग्न छन् । ति नेपालको स्वास्थ्यलाई ध्यान दिँदै दूतावासले हाछयुँ गरेपछि वा खोकेपछि, खाना पकाउनु वा खानुअघि, शौचालय प्रयोगपछि, बिरामी भेटेपछि हात फोहर भएमा वा जनावर छोएपछि अनिवार्यरुपमा हात धुन सबैलाई अनुरोध गरेको छ । यस्तै साबुनपानीले हात धुन, फोहर हातले नाक, मुख र आँखा नछुन, हाछ्युँ गर्दा वा खोक्दा नाक र मुख बन्द गर्न वा रुमाल प्रयोग गर्न, रुघाखोकीको सङ्क्रमण भएका वा श्वासप्रश्वाससम्बन्धी समस्या हुने व्यक्तिको निकटमा नबस्न पनि दूतावासले आग्रह गरेको छ । इरानबाट उद्धार गरी ल्याइएका एक कतारी कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको थियो ।
निर्माणाधीन ढल्केबर सवस्टेशनकाे काम काेराेनाका कारण प्रभावित
काठमाडाैं । कोरोना भाइरसका कारण नेपालको भौतिक विकास निर्माणमा ठूलो प्रभाव परेको छ । चीनबाट प्राविधिक जनशक्ति आउन नसक्दा देशकै ठूलो सबस्टेशन निर्माणमा समेत समस्या पैदा भएको छ । मुलुकको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापार गर्ने लक्ष्यका साथ धनुषामा निर्माणाधीन ४०० केभी क्षमताको ढल्केबर सवस्टेशनको काम प्रभावित भएको छ । ‘ग्यास इन्सुलेटेड सवस्टेशन (जिआईएस)’का उपकरणको सञ्चालन परीक्षण गर्न कोरोना भाइरसले गर्दा चिनियाँ इञ्जिनीयर आउन नसक्दा सवस्टेशनको निर्माण प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर सवस्टेशन मुलुकभित्रको सबैभन्दा ठूलो सवस्टेशन भए पनि निर्माण सम्पन्न हुनै लाग्दा कोरोनाको प्रभावमा परेको हो । सवस्टेशनको उपकरण जडानमा खटिएका प्राविधिकले अहिलेकै अवस्थामा चिनियाँ इञ्जिनीयर निर्माण क्षेत्रमा आउन नसक्ने र आएको खण्डमा पनि काम नहुने अवस्था देखिएको छ । चीनबाट आएका इञ्जिनीयरलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुँदा तत्काल उनीहरु आउँदा पनि आयोजनाको काम करिब साढे एक महिना ढिला हुने देखिएको छ । आयोजनाले आजदेखि उपकरणको सञ्चालन परीक्षणको तयारी गरेको थियो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना भइरसका कारण चिनियाँ इञ्जिनीयर आउन नसक्दा निर्माणको अन्तिम चरणमा पुगेको सवस्टेशनको काम प्रभावित भएको जानकारी दिए । “जिआइएस तथा अरु उपकरण जडान भइसकेका छन्, चीनमा उत्पादित उपकरण भएकाले सञ्चालन परीक्षणका लागि चिनियाँ इञ्जिनीयर आउनुपर्छ, कोरोना भाइरसका कारण उनीहरु आउन नसक्दा सवस्टेशन सञ्चालन हुने मिति धकेलिएको हो”, उनले भने । गत पुसभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यका साथ काम भएको सवस्टेशनको जाडोमा तराईमा चलेको शीतलहरका कारण उपकरण जडान प्रभावित हुँदा करिब डेढ महिना ढिलाइ भइसकेको छ । पछिल्लो पटक आगामी चैतभित्र सवस्टेशन सञ्चालनमा ल्याउन लक्ष्य राखिएको छ । सवस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात तथा निर्यातका लागि पूर्वाधार तयार हुनेछ । त्यसको साथै ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिनेछ । सवस्टेशनमा रहने ट्रान्सफर्मरको क्षमता ९४५ केभीए छ । कूल २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सवस्टेशनमा आएको माथिल्लो तामाकोशीको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन मिल्ने गरी संरचना बनाइएको छ । वर्षायाममा बढी भएको विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारत निर्यात गर्न सकिनेछ । सो प्रसारण लाइनको क्षमता ४०० केभी रहेको छ । यस्तै, हिउँदमा आवश्यक परेमा ६०० मेगावाटसम्म विद्युत् आयात गर्न सकिन्छ भने दुई मुलुकबीच इनर्जी बैंकिङ गर्नसमेत मार्ग प्रशस्त हुनेछ । दुई मुलुकबीच इनर्जी बैंकिङ गर्ने विषयमा यसअघि नै सहमति भइसकेको छ । हाल ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन २२० क्षमतामा मात्रै सञ्चालनमा रहेको छ । ढल्केबरमा ४०० केभीको सवस्टेशन निर्माण सम्पन्न भएपछि यो प्रसारण लाइनसमेत ४०० केभीमा सञ्चालन हुनेछ । प्राधिकरणका अनुसार सवस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताका पावर ट्रान्सफर्मर रहने छन् । जसले करिब ९०० मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् । नेपाल सरकार र प्राधिकरणको करिब रु दुई अर्ब लगानीमा निर्माणाधीन ४००/२२० केभीको ढल्केबर सवस्टेशन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सवस्टेशन हो । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षभित्रमा ४०० केभीको ढल्केबर सवस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा गरेको छ । सवस्टेशन निर्माण भारतीय कम्पनी एबीबी र परामर्शदाताको काम नेपाली कम्पनी एनइए इञ्जिनीएरिङले गरिरहेको छ । प्राधिकरण र कम्पनीबीच सवस्टेशन निर्माणका लागि ८ डिसेम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणले मकवानपुरको हेटौँडा र सुनसरीको इनरुवामा पनि ४००/२२० केभीको सवस्टेशन निर्माण गरिरहेको छ । उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीको विस्तार तथा सुदृढीकरण गरिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । रासस