बैंक अफ काठमाण्डूले ल्यायो भिसा नगद फिर्ता योजना
काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके भिसा नगद फिर्ता योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो कार्ड बाहक ग्राहकहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभलाई मध्यनजर गर्दै उक्त योजना सार्वजनिक गरेको हो । कार्डबाहक ग्राहकहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिनाभित्र पीओएस तथा इकमर्श कारोबार गर्दा ५ सय रुपैयाँ नगद फिर्ता पाउने छन् । जस अन्र्तगत एक महिना भित्र कम्तीमा २ वटा पीओएस कारोबार गर्दा २ सय ५० रुपैयाँ नगद फिर्ता पाउनु हुनेछ तथा कम्तीमा २ वटा इकमर्श कारोबार गर्दा २ सय ५० रुपैयाँ नगद फिर्ता पाउने बैंकले जानकारी गराएको छ । उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुशार लागू हुनेछ । यस योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार ५ सय वा सो भन्दा बढि हुनुपर्नेछ । उक्त नगद फिर्ता योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहकहरुलाई अनुरोध गरेको छ । बैंकले हालसम्म ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
सिभिल बैंकको शाखा अब काठमाडौंको बाङ्गेमुढामा
काठमाडौं । सिभिल बैंकले काठमाडौं जिल्लाको बाङ्गेमुढामा आफ्नो शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा उक्त स्थानमा नयाँ शाखा खोलेको हो । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्ग तथा काठमाडौं महानगरपालिका वडा नं. २५ का अध्यक्ष निल काजी शाक्यले संयुक्त रुपमा गरेका हुन् । सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भुरुङ्गखेल स्थित प्रभात माध्यमिक विद्यालयलाई कक्षाकोठा मर्मतसंभार तथा सजावटको लागि २५ हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेका हुन् । उक्त सहयोग रकम सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्गले प्रभात माध्यमिक विद्यालयकी प्रतिनिधि सुरभि श्रेष्ठलाई प्रदान गरेका हुन् । बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्गले उक्त अवसरमा बैंक आर्थिक उन्नतिको सहयात्री भएको बताउँदै यस क्षेत्रको समग्र आर्थिक विकासको लागि सिभिल बैंकले स्थानीय निकाय तथा यहॉका उद्यमी व्यवसायीसंग सहकार्य गरि अगाडी बढ्ने बताएका छन् । त्यसैगरि काठमाडौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निल काजी शाक्यले त्यस क्षेत्रमा सिभिल बैंकले आफ्नो शाखा विस्तार गरि सो क्षेत्रको सामाजिक तथा आर्थिक उन्नतीमा टेवा पुर्याउने कुरामा विस्वस्त रहेको बताए । उक्त समारोहमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले त्यस क्षेत्रका वचतकर्ता तथा उद्दमी व्यवसायीहरुलाई उच्चस्तरीय बैंकिङ्ग सेवा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् । बैंकले हालसम्म ५३ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै, कुल शाखा संख्या १११ पुगेकोे छ ।
जनताको निसानामा नेता, को को परे थप्पडदेखि जुत्ता खानेसम्म ?
काडमाडौं । पछिल्लो समय नेताहरु बारम्बार कार्यकताको आक्रमणको निसानामा परेका छन् । वि.स २०६३ पछि नेताहरु आक्रमणको निसानामा पर्दै आएका छन् । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, स्व सुशील कोइराला , बाबुराम भट्टराईदेखि माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीसम्मलाई विभिन्न समयमा विभिन्न हिसावले निशानामा परेका थिए । प्रचण्डलाई झाप्पड र जुत्ता प्रहार बाग्लुङको राजकुट गाविस वडा नम्बर २ का पदम कुँवरले पूर्वबिद्रोही नेता एंव पूर्वप्रधानमन्त्री प्रचण्डमाथि झापड हानेका थिए । कुँवरको परिवारका सदस्यहरु सशस्त्र दन्द्धका क्रममा माओवादी पार्टीमा सक्रिय भएर लागेका थिए । उनीहरुको परिवारको घर सम्पत्ति सुरक्षा फौजले माओवादी आतंककारी भन्दै २०६० सालमा ध्वस्त पारिदिएको थियो । वैदेशिक रोजगारका लागि कतार गएर फर्केपछि उनले प्रचण्डलाई झाप्पड हानेका थिए । आक्रोश विस्फोट भएर झापड हानेको अभिव्यक्ति त्यतिबेला उनले दिएका थिए । आज पनि पुन: ‘प्रचण्ड’लाई ताकेर जुत्ता प्रहार भएको छ । पूर्व अर्थमन्त्री समेत रहेका कम्युनिस्ट नेता स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा राष्ट्रिय सभा गृहमा आइतवार आयोजित सभामा सम्बोधन सकेर फर्किने क्रममा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएको हो । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा जनयुद्धमा बुबा गुमाएका मोहन तिरुवाका छोरा रहेको खुलेको छ । झलनाथलाई झाप्पड वि.सं २०६७ साल माघ ७ गते नेकपा एमाले अध्यक्ष झलनाथ खनाललाई सुनसरीका देवीप्रसाद रेग्मीले झापड हाने । सुनसरी भरौलका रेग्मी एमालेका पूर्व कार्यकर्ता थिए । उनले इनरुवामा आयोजित सार्वजनिक कार्यक्रममा खनाललाई झापड हानेका थिए । पार्टी प्रवेशीहरुको लाइनमा बसेर खनालकै हातबाट टीका लगाइसकेपछि उनले गालामा थप्पड हानेका थिए । उनले नेताहरुलाई चेत आओस र सुध्रिउन भन्ने उद्देश्यले झापड हानेको बताएका थिए । उनले झापड हानेको केही हप्तामै झलनाथ खनाल प्रधानमन्त्री भए । खनालले झापडलाई आर्शिवादका रुपमा लिएको भन्दै एक अन्तरवार्तामा हासो गरेका थिए । सुशिल कोईरालामाथि फ्रेम प्रहार वि.सं २०६८ सालमा कांग्रेस सभापति सुशील कोइरालामाथि फ्रेम प्रहार भयो । काठमाडौँको कपनमा आयोजित क्षेत्रीय कार्यक्रममा नेविसंघका पूर्व क्षेत्रीय सभापति प्रवेश बस्नेतले कोइरालालाई आक्रमण गरेका थिए । कार्यक्रममा कोइरालालाई सम्मानस्वरुप खादा ओढाउँदै गर्दा अगाडिबाट एक्कासी उनले काठको फ्रेमले हानेका थिए । पाटी भित्रको आन्तरिक विवादको कारण आक्रमण भएको बताइएको थियो । झक्कुप्रसादलाई झाप्पड वि.सं २०६८ साल बैशाखमा माओवादी सभासद झक्कुप्रसाद सुवेदीले पनि झापड खाएका थिए । तिनकुनेस्थित कफी सपका संचालक प्रेमराज देवकोटाले उनलाई बोलाएर झापड हानेका थिए । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडाबाट फर्किंदै गरेका सभासद सुवेदीलाई तिनकुने सुविधानगरमा रहेको कफी पसल संचालकले संविधान कहिले बन्छ भन्दै झापड हानेका थिए । आफूले पसल बन्द गरेर भोट हालेको नेताले सविंधान कहिले बन्छ भन्न नसकेको कारणले झापड हानेको भनि देवकोटाले दिएको अभिव्यक्ति चर्चित बनेको थियो । बाबुरामलाई जुत्ता प्रहार पछिल्लो समय नयाँशक्तिका संयोजक बाबुराम भट्टराई ताकेर जुत्ता फालियो । पोखराको पृथ्वीनारायण क्याम्पस हाताभित्र नयाँशक्ति निकट विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा भट्टराईलाई लक्षित गरेर कैलालीका सञ्जिव भट्टराईले जुत्ता प्रहार गरेको थिए ।
प्रतिकिलो १ लाखमा कपाल निर्यात, कसले किन्छ नेपाली कपाल ?
काठमाडौँ । हामीले पैसा तिरी काटेर फालेको कपाल ठूला र विकसित मुलुकमा निर्यात हुन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर, नेपालबाट चीन, भारत, दक्षिण कोरियामात्रै नभई अमेरिकासम्म नेपाली कपाल निर्यात हुने गरेको छ । त्यो पनि वैधानिक रूपमा । जति लामो कपाल भयो, उति बढी मूल्य पाइन्छ । गत आर्थिक वर्षमा नेपालबाट क्यानडामा प्रति केजी १ लाख ३ हजार २ सय २ रुपैयाँमा नेपाली कपाल निर्यात भएको छ । क्यानडामा गत आर्थिक वर्षमा १६ लाख ५१ हजार ४१ रुपैयाँमा १६ केजी कपाल निर्यात भएको छ । नेपालले आर्थिक वर्ष २०७५/०७६ मा मात्रै २२ करोड ९५ लाख २१ हजार ८ सय ४० रुपैयाँमा ७ हजार ४ सय ३० केजी कपाल निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्दन केन्द्रको तथ्याङमा उल्लेख छ । आर्थिक वर्ष २०७४/०७५ मा १६ करोड ५६ लाख ८० हजार ८ सय १० रुपैयाँमा ७ हजार १ सय ७३ केजी कपाल निर्यात भएको केन्द्रको तथ्याङमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा ४ करोड ३८ लाख ४१ हजार ३० रुपैयाँले कपाल निर्यात वृद्धि भएको छ । पछिल्लो वर्ष २ सय ५७ केजीेले कपाल निर्यातमा वृद्धि भएको हो । केन्द्रकाे तथ्यांक अनुसार नेपालबाट सबैभन्दा धेरै दक्षिण कोरियामा १८ करोड ४४ लाख २३ हजार ९ सय ८९ रुपैयाँको ५ हजार १ सय ५४ केजी कपाल निर्यात भएको छ । विभिन्न ब्युटिपार्लर र सैलुनले काटेको कपाल, दाह्री र जुँगा संकलन गरी निर्यात गर्ने गरेको व्यापार तथा निकासी प्रवर्दधन केन्द्रले जनाएको छ । केन्द्रको तथ्यांकअनुसार नेपालबाट चीन, बेल्जियम, भुटान, जापान, दक्षिण कोरिया र नेदरल्यान्डमा कपाल निर्यात हुने गरेको छ । कलंकीमा रहेको ठाकुर सैलुनका सञ्चालक तथा सिटीईभीटीईमा व्यट्रिपार्लर प्रशिक्षक राजकुमार ठाकुरले आफुले काटेको कपाल संकलन गरेर विदेश निर्यात हुने गरेकाे बताए । उनले प्रशिक्षण दिँदा पनि लामो र राम्रो कपाल नेपालबाट निर्यात हुने जानकारी दिने गरेको बताए । नेपालभरी करिब १६/१७ हजारजति सैलुन रहेका छन् । केन्द्रकाे तथ्यांक अनुसार नेपालबाट सबैभन्दा धेरै दक्षिण कोरियामा ८ करोड ५७ लाख ३ हजार ९ सय ८३ रुपैयाँको २ हजार १ सय ५४ केजी कपाल निर्यात भएको थियो । जापानमा ३ करोड ३६ लाख १५ हजार १०८ रुपैँयाको १ हजार १०६ केजी कपाल निर्यात भएको छ । चीनमा २ करोड ५७ लाख ६१ हजार ६८० रुपैँयाको ५२१ केजी कपाल निर्यात भएको थियो । नेदरल्यान्डमा १ करोड ७३ लाख ८० हजार ९०४ रुपैँयाको ८५६ केजी कपाल निर्यात भएको थियो । ताइवन चीनमा १३ लाख ६७ हजार १५५ रुपैँयाको ८ केजी कपाल निर्यात भएको थियो । बेल्जियममा ५ लाख ७५ हजार ४६१ रुपैँयाको ५२ केजी कपाल निर्यात भएको थियो । बेलायतमा ३ लाख ७९ हजार ८८५ रुपैँयाको ३८ केजी कपाल निर्यात भएको थियो । स्वीजरल्याडमा ३ लाख १० हजार ४८५ रुपैँयाको ८ केजी कपाल निर्यात भएको थियो । कसरी सुरु भयो विश्वमा कपालको व्यापार ? करिब साढे ६ दशकअघि कोरियाली सरकारले हरेक व्यक्तिले मुलुक निर्माणका लागि एक न एक वस्तु दान गर्नैपर्ने व्यवस्था ल्याएको थियो । त्यसपछि महिलाले लामो कपाल राज्यलाई दान दिन थाले । दान दिएको कपाल विदेश निर्यात गरी विदेशी मुद्रा आर्जन हुन थालेको थियो । त्यसपछि विश्वभर नै कपाल व्यापारले वैधानिकता पाएको हो ।
अब त्रिभुवन विमानस्थलबाट आवत-जावत गर्ने प्रत्येक यात्रुको स्वास्थ्य परीक्षण गरिने
काठमाडौं । अब त्रिभुवन विमानस्थलबाट आवत-जावत गर्ने प्रत्येक यात्रुको स्वास्थ्य परीक्षण गरिने भएकाे छ । आइतबारबाट लागु हुने गरी विमानस्थलबाट आवत-जावत गर्ने यात्रुकाे स्वास्थ्य परीक्षण गरीने बताइएकाे छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिमकाे सूचिमा राखेसँगै नेपालले सतर्कता अपनाएकाे हाे । अब सबै एयरलाइन्सबाट नेपाल भित्रने यात्रुको व्यक्तिगत रुपमा हेल्थडेस्कले जाँच गर्नेछ । यसअघि आगमन कक्षमा थर्मल स्क्यानरबाट क्यान गर्ने र स्क्यान गर्दा १०० डिग्री फरेनाहाइटभन्दा बढी तापक्रम देखिएका यात्रुलाई थप जाँचका लागि अस्पताल लैजाने गरिएको थियो ।
अब टेलिकमको डाटा प्रतिएमबी ५ पैसामै चलाउन सकिने
काठमाडाैं । तपाईलाई एकै पटक धेरै डाटा प्रयोग गर्नुपर्ने आवश्यकता छ । त्यसो भए अब चिन्ता गर्नु पर्दैन । यसको समाधानको लागि नेपाल टेलिकमले लार्ज डाटा प्याक उपलब्ध गराइरहेको छ । यो प्याक एक पटक सब्स्क्राइब गरे पछि लामो समयसम्म चलाउन पाइन्छ र तुलनात्मक रुपमा निकै सस्तो पर्दछ । कम्पनीले यस अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । ३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिनसम्म चलाउन सकिन्छ । यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ छ । त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिन सम्म प्रयोग गर्न सकिन्छ । यसको मूल्य ३ हजार रुपैयाँ छ । यसरी प्याक प्रयोग गरी डाटा चलाउदा प्रतिएमबी करिव ५ पैसा मात्र खर्च लाग्दछ । उल्लेखित रकम करसहितका हुन् । लार्ज डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट*1415# डायल गरेर विन्टर अफर अन्तर्गतको लार्ज डाटा प्याक छनोट गर्नु पर्दछ । त्यसैगरी सिधै *1415*1*7# डायल गरेर पनि यो सेवा प्राप्त गर्न सकिन्छ । त्यसपछि आफूलाई आवश्यक ३० जीबी डाटाका लागि १ र ६० जीबी डाटाका लागि २ छनोट गरी प्याक लिन सकिन्छ । आफूले प्रयोग गरिरहेको मोबाइलमार्फत एसएमएस पठाएर पनि यी प्याकहरु सब्स्क्राइब गर्न सकिन्छ । यसका लागि क्रमशः DATA30GB वा DATA60GB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्दछ । नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा दिइएको विभिन्न प्याकेज मध्ये लार्ज डाटा प्याक छनोट गरेर वा Self Care Account मा रजिष्टर गरेर पनि यी प्याकेज खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याक खरिद गरी प्रयोग गर्न सकिन्छ ।
सिद्धार्थ बैंकले दाङको तुलसीपुरमा गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । सिद्धार्थ बैंकले दाङको तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका ४५ भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए । देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि बैंकले यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ । बैंकले देशभर १८२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०४ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
जीवन बीमा कम्पनीले आर्जन गरे ५४ अर्ब रुपैयाँ बीमा शुल्क, कसले कति कमाए ?
काठमाडौं । जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको माघ महिना सम्ममा ५४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघसम्म सो रकम आर्जन गरेका हुन् । उक्त बीमाशुल्क मध्ये जीवन बीमा कम्पनीले प्रथम बीमा शुल्कतर्फ १७ अर्ब ९० करोड रुपैयाँ र नविकरण बीमा शुल्कतर्फ ३५ अर्ब ६१ करोड रुपैयाँ आर्जन गरेका छन् । बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमा शुल्कतर्फ १ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेका छन् । कम्पनीहरुले माघ महिनासम्ममा ७४ लाख ७८ हजार ८ सय ८४ बीमालेख जारी गरेका छन् । सो मध्ये वैदेशिक रोजगारमार्फत जारी भएको बीमालेखको संख्या ८ लाख ५३ हजार ३७ रहेको छ । जीवन बीमा कम्पनीतर्फ सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्याेरेन्सले १६ अर्ब १२ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै, एलआइसी नेपालले ८ अर्ब ८४ करोड रुपैयाँ र बीमा संस्थानले ६ अर्ब रुपैयाँ आर्जन गरेको देखिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय बीमाबाट पाइने रिटर्नमा धेरै जना आकर्षित भएको बताए । बीमाका फाईदा बारे बुझ्नेको संख्या बढ्दो क्रममा रहेको उनको भनाइ छ । जीवन बीमातर्फ अभिकर्ताहरुले बीमा चेतना बढाउन मद्धत गर्दे आएका कारण बीमाशुल्क संकलनमा हुने गरेका पुराना केही समस्याहरु घट्दै गएका छन् । बीमा कम्पनीहरु एक अर्काको प्रतिस्पर्धी बन्दै गएको अवस्था छ, हामीले नियामक निकाय (बीमा समिति) का तर्फबाट बीमा चेतना बढाउन काम गर्दै आएका छौँ’,त्यसले पनि पछिल्लो समय कम्पनीहरुले राम्रै रकम आर्जन गर्दै आएका छन्,’ उनले भने ।