चेक बाउन्सको आरोपमा गुरागाईं पक्राउ
तुलसीपुर । जिल्ला प्रहरी कार्यालय दाङले चेक बाउन्सको आरोपमा पीडितको उजुरीका आधारमा इटहरीबाट भोजराज गुरागाईंलाई पक्राउ गरेको छ । बैंक कसुर मुद्दामा इटहरी उपमहानगरपालिका–५ निवासी गुरागाईंलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमीत खड्काले बताए । पीडित मान कम्पनीले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएपछि गुरागाईंविरुद्ध बैँक कसुर मुद्दा दर्ता गरेको थियो । गुरागाईं विरुद्ध एक महिनाअघि मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएपछि उनी लुकीछिपी बसेको अवस्थामा मङ्गलबार साँझ इटहरीबाट प्रक्राउ गरी दाङ ल्याइएको हो । गुरागाईं विरुद्ध म्याद थप गरेर अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक खड्काले बताएका छन् । गुरागाईंले दिएको रु तीन लाख २० हजारको चेक नसाटिएपछि पीडितले उजुरी दिएका थिए । रासस
अनिश्चित बन्यो इपानकाे निर्वाचन
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)काे निर्वाचन अनिश्चित बनेकाे छ । विद्यमान विधान संशोधन गरी नयाँ ढाँचामा जाने योजनामा समस्या उत्पन्न भएपछि निर्वाचन उत्पन्न भएकाे हाे । संशोधन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको विद्यान फिर्ता आएपछि निर्वाचन अनिश्चित भएकाे हो । इपानले संशोधन गरेर पठाएको विधानमा जलविद्युत क्षेत्रमा योगदान गरेका अगुवा जलविद्युत उद्यमी, विज्ञ समेटेर ७ जनाको सल्लाहकार समिति बनाउने निर्णय गरेको थियो । यस्तै, आवश्यकता अनुसार क्षेत्रगत, विषयगत उपसमिति बनाउने निर्णय पनि भएको थियो । तर, यो व्यवस्था जिल्ला प्रशासनले ऐनविपरित रहेको किटान गरेको छ । विद्यमान ९ जनाको कार्यसमिति संशोधन गरी २३ पुर्याउने, प्रदेश प्रतिनिधि तोक्ने र विज्ञहरूको उपसमिति बनाउने प्रक्रियामा जिल्ला प्रशासनले रोक लगाएको छ । संस्था दर्ता ऐन अनुसार उपसमिति र प्रदेश संयोजक नियुक्ति गर्ने प्रक्रिया नभएकाले विधान संशोधनमा समस्या देखिएकाे हाे ।
लघु जलविद्युत आयोजनाको काम अन्तिम चरणमा
रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ छिपखोलामा बन्दै गरेको ४० किलोवाटको लघु जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको लगानीमा आयोजना निर्माण भइरहेको छ । चालू आर्थिक वर्षभित्र सम्पन्न हुने गरी काम अगाडि बढाइएको छ । आयोजनाको ८५ प्रतिशत काम सकिएको बताइएको छ । आयोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु एक करोड १४ लाख, गाउँपालिकाबाट रु २१ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु २० लाख, स्थानीयको सामाजिक कोषबाट रु सात लाख र स्थानीय ४० घरधुरीबाट प्रतिघर रु १० हजारका दरले रु चार लाख लगानी भएको छ । उपभोक्ता समिति अध्यक्ष नरहरि पुनले निर्माण सकिन लागेको बताएका छन् । गाउँपालिकाले थप बजेट विनियोजन गरेपछि चालू वर्षभित्र काम सकिने उनले बताए । छिट्टै बिजुली बल्ने भएपछि स्थानीय उपभोक्ता खुशी भएका छन् । विद्युत्गृह तथा लाइन विस्तारका लागि आवश्यक सम्पूर्ण सामग्री आइसकेका छन् । सामग्री जडान गरेर विद्युत् बाल्न मात्रै बाँकी रहेको उनले बताएका छन् । गाउँमा आयोजनाको पोल गाड्ने र तार तान्ने काम सकिएको छ । बजेट अभावमा आयोजना एक वर्ष ढिलो हुने अनुमान गरिएको भए पनि फागुन १९ गते बसेको कार्यपालिकाको बैठकले विद्युत् शीर्षकको कूल बजेटमध्ये आधा यसमै लगानी गर्ने निर्णय गरेपछि निर्माण सकिने भएको वडा नं २ का वडाध्यक्ष जीवन केसीले बताए । रासस
वैकल्पिक बजारकाे खाेजिमा वायु सेवा कम्पनी
काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी सुरु गरेका छन् । कोरोना हल्लाले सबैभन्दा बढी पर्यटन क्षेत्रलाई असर पार्ने खतरा देखेका व्यवसायीले पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने ठूलो लगानी भएको हवाई क्षेत्रले बढी मार खेप्नुपरेको जनाएका हुन् । मुख्य पर्यटकीय याममै कोरोनाको त्रासले पर्यटन क्षेत्रलाई नराम्रोसँग प्रभाव पारेको छ । होटल क्षेत्रमा धमाधम बुकिङ रद्द भइरहेको छ भने हवाई क्षेत्रमा पनि व्यवसाय ह्वात्तै घटेको छ । कोरोनाको सबैभन्दा बढी प्रभाव नेपालको पर्यटन क्षेत्र त्यसमा पनि हवाई उद्योगमा पर्ने भएकाले वैकल्पिक बजारको खोजी थालिएको वायु सेवा सञ्चालक संघका महासचिव योगराज कँडेल शर्माले बताए । हेली एभरेष्टका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका शर्माले हवाई क्षेत्रमा पनि सबैभन्दा बढी हेलिकप्टर व्यवसाय मारमा परेको बताए । वसन्त ऋतुको अगाडि आरोही लगायतका विदेशीले धमाधम बुकिङ रद्द गरिरहेको उनले जानकारी दिए । हेली एभरेष्टको मात्रै १३२ बुकिङ भएकामा ५२ वटा रद्द भइसकेका छन् । सोही अनुपातमा अन्य हेलिकप्टरको पनि बुकिङ रद्द हुनेक्रम बढेको संघले जनाएको छ । अहिले सार्वजनिक सेवामा रहेका १० हेलिकप्टर कम्पनीका ३३ हेलिकप्टर छन् । यी मध्ये ३० हेलिकप्टर उडानयोग्य छन् । अहिले देनिक १–२ वटा मात्र उडान भइरहेको ती कम्पनीहरुले बताएका छन् । त्यसैगरी, जहाजतर्फ आन्तरिक उडानमा ९ वायु सेवा प्रदायक कम्पनीले उडान गरिरहेका छन् । महासचिव शर्माका अनुसार अघिल्लो वर्षको तुलनामा अहिले कोरोनाको हल्लाले दैनिक औसतमा ३ हजार यात्रु घटेका छन् । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा यो संख्या दैनिक ४ हजारबाट बढाएर ७ हजार पु¥याउने योजना थियो । सबैभन्दा बढी हेलिकप्टरको ५० प्रतिशतभन्दा बढी उडान कटौती भएको छ । जहाजतर्फ ठूला वायु सेवा कम्पनी बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स लगायतको उडान संख्या सन्तोषजनक रहे पनि डलर यात्री घटेपछि आर्थिक कारोवार ह्वात्तै घटेको महासचिव शर्माको भनाइ छ । विदेशीको चहलपहल घटेपछि देशका प्रमुख पर्यटकीय गन्तव्यमा व्यावसायिक सम्भावनाको खोजीका लागि प्याकेज बनाएर सहुलियत मूल्यमा हेलिकप्टर तथा जहाज सञ्चालन गर्ने योजना बनाइएको संघले जानकारी गराएको छ । व्यवसायीले उपत्यकाको पर्यटकीय क्षेत्र चन्द्रागिरि हिल्सबाट हेलिकप्टर चढेर काठमाडौँ उपत्यका राउन्ड लगाउन १० हजार रुपैयाँको प्याकेज बनाएर उडान अनुमतिका लागि नियामक प्राधिकरणलाई पत्राचार गरिएको महासचिव शर्माले जानकारी दिए । त्यसैगरी, मुख्य पर्यटकीय क्षेत्र पोखरा लगायतका गन्तव्यमा पनि यस्तो प्याकेज बनाइनेछ । आन्तरिक गन्तव्यमा जाने यात्रुलाई विशेष छुट ‘अफर’ लगायत व्यवस्था गरिने व्यवसायीको भनाई छ । अहिलेको अवस्था निरन्तर रहे हेलिकप्टर तथा जहाज ग्राउण्डेड गर्न बाध्य हुने बताउँदै संघका महासचिव शर्माले अहिले कम्पनी बचाउनका लागि खर्च कटौती र विभिन्न तौरतरिका अपनाइएको उल्लेख गरे । उनले भने, “कोरोना प्रभावले हवाई क्षेत्रमा अबको ३ महिनामा ४ अर्ब क्षति हुने अनुमान गरेका छौँ, अहिले जहाजको इन्सुरेन्स तिर्न र मर्मत खर्च निकाल्न धौधौ परेको छ । त्यसैले हवाई उद्योग बचाइदिन सरकारलाई गुहारेका हौँ ।” लाखौँ रुपैयाँ खर्चेर नेपाल आउने विदेशी जोखिमयुक्त देशको यात्रा गर्न रुचाउँदैनन् । त्यसको प्रत्यक्ष असर हवाई क्षेत्रमा पर्ने व्यवसायीको भनाई छ । वायु सेवा सञ्चालक संघले यही फागुन २३ गते विज्ञप्ति निकालेर कोरोना भाइरसको हल्लाका कारण आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको जनाएको थियो । नेपालको आन्तरिक उडानमा कोरोनाको प्रभावका कारण करिब ४ अर्ब क्षति हुने संघको अनुमान छ । अहिले प्रतिमहिना आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको दाबी गरिएको छ । अबको ३ देखि ६ महिना यसको असर थप देखिने व्यवसायीको आँकलन छ । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन तर पनि विशेष सजकता अपनाइएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमयुक्त मुलुक भनेको छ । कोरोनाको प्रभावले मुलुकको कुल गार्हस्थ उत्पादन ९जीडीपी० मा ०।४ प्रतिशत असर पुग्ने एसियाली विकास बैंकले प्रारम्भिक प्रक्षेपण गरेको छ । वायु सेवा सञ्चालकले सरकारसँग सहुलियत, बैंकमा तिर्नुपर्ने ब्याजमा पुनःकर्जाको सुविधा दिएर भुक्तानीको व्यवस्था मिलाउन माग गरेका छन् । व्यवसायीको मागका सन्दर्भमा सरकारले पनि कोरोनाको हवाई क्षेत्रमा के कस्तो असर परेको छ भनी नियामक निकायसँग विवरण लिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कोरोनाको प्रभावले पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कति क्षति पुग्छ भनी व्यवसायीसँग यकिन विवरण लिएर सरकारलाई सिफारिस गरिने बताए । अंग्रेजी वर्ष सन् २०२० को फेबु्रवरीसम्मको अवस्थालाई हेरेर के कति क्षति हुने र कस्ता विषयमा राहत र सहुलियत दिने भन्नेबारे सिफारिस गरिने उनले उल्लेख गरे । रासस
झोलाबाट शुरु भएको सहकारीले लिफ्टसहितको भवन बनाउँदै
रामपुर । झोलाबाट शुरु भएको रामपुर बचत तथा ऋण सहकारी संस्थाले पाल्पा जिल्लामै नमूनाका रुपमा लिफ्टसहितको बहुउद्देश्यीय भवन बनाउँदैछ । तीन वर्षभित्र सम्पन्न गर्ने योजनाका साथ रु दुई करोड ६५ लाखको लागतमा साढे चार तलाको भवन निर्माण गर्ने कार्य भइरहेको बताइएको छ । एक रोपनी जग्गामा पार्किङ सहितको भवन निर्माणको दोस्रो वर्षको काम शुरु भइरहेको छ । हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ भने अबको एकवर्ष भित्र निर्माण कार्य सकिने सहकारीका अध्यक्ष राजुप्रसाद श्रेष्ठले बताए । “सहकारीको इतिहास झोलाबाट शुरुआत गरिएको हो, अहिले आफ्नै कोषबाट पाल्पा जिल्लामै पहिलो लिफ्टसहितको सुविधा सम्पन्न भवन निर्माण कार्य गरिरहेका छौँ, हामी सदस्यको सेवालाई बढी प्राथमिकता दिएर काम गरिरहेका छौँ”, अध्यक्ष श्रेष्ठले भने । ‘सदस्यको पहिलो रोजाइ, व्यावसायिक सबल एवं उत्कृष्ट सहकारी’ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै व्यवसायिकतालाई प्रमुख प्राथमिकतामा राखेर कार्यक्रममा अगाडि बढाएको उनले बताए । छरिएर रहेका सहकारीलाई एकीकृत गरी सेवाको दायरालाई फराकिलो बनाउन चन्द्रज्योति बचत तथा ऋण सहकारीसँग एकीकरण गरी विसं २०६५ जेठ १ गतेदेखि कारोवार सञ्चालन गरी सहकारी एकीकरणको महत्वपूर्ण काम जिल्लामै गर्न सफल भएको छ । सहकारीले रु साढे ४२ करोड बराबरको कारोवार गर्दै आइरहेको व्यवस्थापक रामचन्द्र अधिकारी बताए । सहकारीमा हाल दुई हजार एक सय १९ महिला, एक हजार ८८८ पुरुष गरी चार हजार ५४ शेयर सदस्य आबद्ध छन् । १३ सदस्यीय सञ्चालक समितिमा तीन महिला र १० पुरुष छन् भने तीन जना लेखा समिति सदस्यमा एक महिला र दुई जना पुरुष छन् । संस्थाले नियमित, ऐच्छिक, दैनिक, बाल बचत, आवधिक, बीमा, रेमिट्यान्स, सामाजिक, ज्येष्ठ सदस्य, विशेष, शिक्षा, समूह बचतजस्ता सेवा प्रवाह गरिरहेको छ । व्यापार, घरखर्च, कृषि र पशु, घर निर्माण तथा जग्गा खरिद, वैदेशिक रोजगार, सामाजिक, शैक्षिक, उद्योग, हायर पर्चेज ऋण उपलब्ध गराउँदै आएको संस्थाका सचिव लेखनाथ शर्मा मरासिनीले बताए । सहकारीले गरेका काम कृषकलाई व्यावसायिक कृषि कार्यक्रमअन्तर्गत तालीम, महिलालाई लक्षित गर्दै व्यावसायिक रुपमा ढाका कपडा सिलाइकटाइ तालीम, संस्थागत विकासका लागि सहकारी अध्ययन अवलोकन भ्रमण (आन्तरिक तथा बाह्य), साधारण सभामा नियमित रुपमा असल बचतकर्ता तथा असल ऋणी, उद्यमी कृषकलाई पुरस्कृत गर्ने गरेको छ । निरन्तर सहकारी शिक्षा कार्यक्रम सञ्चालन, सामुदायिक रेडियोबाट सहकारी शिक्षा कार्यक्रम, राष्ट्रिय सहकारी दिवसको अवसर पारेर विभिन्न कार्यक्रम, पाल्पा जिल्लामा सञ्चालनमा रहेका सहकारी संस्थाका कर्मचारीलाई लेखा तालीम, सुपथ मूल्यको सहकारी सस्तो पसल सञ्चालन गरी सदस्यलाई सेवा दिइरहेको छ । साधारण सभामा सदस्यलाई यातायात भत्ता उपलब्ध, कृषक तथा वृद्धलाई अध्ययन अवलोकन भ्रमण, स्थानीय क्लब तथा आमा समूहसँग मिली सामाजिक कार्यमा सहभागी, साधारण सभामा विभिन्न विधामा सम्मानजस्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । पूर्ण तथ व्यावसायिक साकोस विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी लिमिटेड काठमाडौँबाट २०७० पश्चिमाञ्चल विकास क्षेत्रबाट सर्वोकृष्ट सहकारी संस्था, २०६५ सालमा नेपालमै पहिलो सहकारी एकीकरण पुरस्कारबाट डिभिजन सिँचाइ कार्यालयका पाल्पाबाट सम्मानित भएको छ । २०७४ मा आन्तरिक राजश्व कार्यालय बुटवलबाट पाल्पा जिल्लामै सबैभन्दा धेरै कर बुझाउने संस्था र २०७६ मा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड फिल्ड कार्यालय बुटवलबाट उत्कृष्ट बचतकर्ता पुरस्कारबाट सम्मानित भएको छ । विभिन्न प्रकारका बचत सेवा उपलब्ध गराई अधिकतम बचत गर्ने बानी बसाल्नु, सदस्यलाई प्रतिस्र्धात्मक ब्याजदरमा उत्पादनमूलक तथा घरायसी ऋण उपलब्ध गराई आर्थिक र सामाजिक विकासमा टेवा पु¥याउने, सदस्यको हित र विकास हुने खालका सामूहिक बचतलाई जोड दिने कार्यक्रम अगाडि बढाउँदैछ । आयआर्जन समूह निर्माण र सञ्चालन, लघु उद्यम व्यवसाय, उद्यमशीलता कार्यक्रम प्रवद्र्धनका क्रियाकलाप सञ्चालन गरी सदस्यको आयमूलक कार्यलाई बढावा दिई कार्य गर्ने, समान उद्देश्य भएका सहकारी संस्था, संस्थाको नीति, कार्यक्रम उद्देश्यसँग मेल खाने सहकारी, गैरसहकारी र वित्तीय कारोवार गर्ने संस्थासँग समन्वयात्मक कार्य गर्ने संस्थाका उद्देश्य छन् । रासस
प्रतितोला ४ सय रुपैयाँले घट्यो सुन, ८२ हजार ३ सयमा कारोबार
काठमाडौं । मंगलबार प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ८२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनले नयाँ मूल्य कायम गरेसँगै बुधबार ४ सय रुपैयाँ घटेको छ । त्यस्तै तेजावी सुन प्रतिताेला ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
चप्पल उद्योगमा आगलागी हुँदा एक जना गम्भीर घाइते, लाखौंकाे क्षति
राँझा । बाँकेको एक चप्पल कारखानामा आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् । बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित चप्पल उद्योग जयश्री सियाराम कारखानामा गए राति करिब १२ बजेबाट शुरु भएको आगलागीमा त्यहाँ कार्यरत कामदार दिलीपकुमार चमार गम्भीर घाइते भएका छन् । शरीरका अधिकांश भाग जलेको अवस्थामा उद्धार गरेर उनलाई उपचारका लागि भेरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आगलागी आज बिहान ८ बजेमात्रै पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । आगलागीबाट उद्योगको कच्चा पदार्थ र उत्पादित सबैजसो सामग्री नष्ट भएको छ । बाँके र बर्दियाका छ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाको निरन्तरताको प्रयासले आठ घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक सिंहले बताए । अमरजित सिंह र मनु केडियाले सञ्चालन गरेको उक्त उद्योगमा चप्पल, सरसफाइ ब्रस र पोछालगायतका सामग्री उत्पादन हुँदै आएको थियो । होली पर्वमा कामदार बिदामा रहेका कारण आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन नसकेको उहाँको भनाइ छ । आगलागीबाट ८/१० करोड रुपैयाँ मूल्य बराबरका मालसामान जलेर नष्ट भएको सञ्चालक सिंहले दाबी छ । प्रहरीले क्षतिको यकिन विवरण संकलनको काम भइरहेको जनाएको छ । विद्युत्त लाइन सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरे पनि यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । रासस
बागलुङमा तामा खानीको सम्भाव्यता अध्ययन शुरु
गलकोट । बागलुङको काठेखोला गाउँपालिका–७ रेशको धनिखोरियास्थित खानीदुलामा रहेको तामा खानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । दुई चिनियाँ प्राविधिक टोलीले खानीको सम्भाव्यता अध्ययन शुरु गरेपछि यहाँका स्थानीयवासी हर्षित भएका हुन् । विगतमा स्थानीयवासीले खानीदुलामा तामा निकालेका पाँच वटा गहिरा प्वालसमेत भएकाले तामा खानीको सम्भाव्यता अध्ययन थालिएको काठेखोला गाउँपालिकाले जनाएको छ । सो तामा खानीमा तामाको अवस्था र सम्भावनाका विषयमा दुई चिनियाँ प्राविधिक टोलीले खानीको सम्भाव्यता अध्ययन थालेको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकरी दिए । “वडाभित्र रहेका स्रोत र साधनको पहिचान गर्ने कार्यक्रमअन्तर्गत तामा खानीको सम्भाव्यता थालेका हौँ”, लामिछानेले भने, “खानीका तामाको अवस्थाका विषयमा ल्याब परीक्षणपछि मात्रै पत्ता लाग्नेछ ।” खानीलाई उत्खनन गरेर आर्थिक उपार्जन गरी वडालाई समृद्ध बनाउने उद्देश्यले खानीको सम्भाव्यता अध्ययन शुरु गरेको वडा कार्यालयले जनाएको छ । तामा खानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी हर्षित भएको वडाध्यक्ष लामिछानेले बताए । उनका अनुसार वर्षौँदेखि ओझेलमा परेको खानीको उत्खननपछि यस क्षेत्रमा समृद्धिको ढोका खुल्नेछ । जिल्लाको काठेखोला गाउँपालिकाको पहलमा खानीको सम्भाव्यता अध्ययनका लागि प्राविधिक टोली झिकाएर अध्ययन थालेको हो । चिनियाँ टोलीले जोम्बिङ इन्ड्रेस्टिलको प्राविधिक सहयोगमा बागलुङ नगरपालिका–९ तित्याङ अडडाँडा, बागलुङ नगरपालिका–११ रायडाँडा तथा काठेखोला गाउँपालिकाको रेशमामा फलाम तथा तामा खानीको सम्भाव्यता अध्ययन गरिरहेको छ । बागलुङ नगरपालिका–९ तित्याङस्थित अडडाँडामा तामा खानी उत्खननका लागि चिनियाँ प्राविधिक टोली आएर खानीको भित्रि तहमा तामाको अवस्थाको अध्ययन तथा खानी खन्ने काम गरिरहेको वडाध्यक्ष गणेश थापाले जानकारी दिए । उक्त टोलीले जोम्बिङ इन्ड्रेस्टिलको प्राविधिक सहयोगमा नेपालको शुभम् ग्रुपसँग मिलेर तामा खानीको अध्ययन गर्न बागलुङ आएको हो । अडडाँडामा तामा खानीको प्रचुर सम्भावना रहेको भन्दै तामा खानीको उत्खननसमेत थालिसकेको ग्रुपका प्रतिनिधि सूर्य अधिकारीले जानकारी दिए । उनका अनुसार तित्याङ र रेशबाट ठूलो परिणाममा तामा निकाल्न सकिएमा स्थानीय तहलाई फाइदा पुग्ने बताए । बागलुङ जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिकामा परम्परागत तरिकाले तामा तथा फलामखानी सञ्चालनमा आए पनि पछिल्लो समय बन्द भएका थिए । रासस