काठमाडौं भ्यु टावर: भेटवालको आत्मसमर्पणले निर्माण कार्य सुस्ताएकाे हाे ?
काठमाडौं भ्यु टावरका ठेकेदार मनोज भेटवाल प्रहरीको नियन्त्रणमा रहेसँगै निर्माणाधीन भ्यु टावरको काममा सुस्तता देखिएको छ । केही दिन अघि मात्र दुई सय पचासभन्दा बढी कामदार लगाएर निर्माण भइरहेको भ्यु टावरमा आजभने कामदारको उपस्थिति पनि न्युन देखिएको छ । यसले पनि भ्यु टावर निर्माणमा असर पारेको बुझ्न सकिन्छ । निर्माण कम्पनी भने राति ११ बजेसम्म काम गरिहेहको बताउँछ । काठमाडौं महानगरिपालिका २८ पूरानो बसपार्कमा निर्माधीन रहेको भ्यु टावर निर्माण थालिएको तीन वर्ष बिते पनि प्रगति भने निराशाजनक छ । निर्माण कार्य शुरु भएको तीन वषए बितिसक्दा पनि हालसम्म भ्यु टावरको जगसमेत तयार भएको छैन । विगतका दिनहरुमा त्यति राम्रो कार्य नगरेपनि केही महिनादेखि भ्यु टावरको निर्माण कार्य उत्साहजनक रुपमा भइरहेको थियो । तर, अहिले ठेकेदार भेटवाल प्रहरीको नियन्त्रणमा रहेसँगै त्यसको असर निर्माण कार्यमा परेको बुझ्न सकिन्छ । काठमाडौं महानगरिपालिकाले २०६८ सालमा पूरानो बसपार्क हटाएर सार्वजनिक– निजी साझेदारी मोडलमा बहुपयोेगी व्यावसायिक कम्प्लेक्स बनाउने योजना अघि सारेको थियो । सोही अनुसार टावर निर्माण र सञ्चालनको ठेक्का जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले पाएको थियो । सो कम्पनीले भाडामा लिएको जग्गामा व्यापसयिक कम्प्लेक्स निर्माण गरी ३० वर्षसम्म प्रयोग गर्ने र त्यसपछि काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ । सम्झौतामा २९ तले भ्यु टावर निर्माण गरिने उल्लेख गरिएको छ । भने भ्यु टावर निर्माणको सम्पूर्ण निर्माणको लागत साढे सात अर्ब लाग्ने बताइएको छ । काठमाडौं महानगरिपालिकाका अनुसार भ्यु टावरको निर्माण कार्य सुस्त हुनु भनेको कम्पनीलाई नोक्सान हुनु बुझ्नु पर्ने बताउँछ । कम्पनीले निर्माण भइरहेको जमिनको भाडार सम्झौता बमोजिमको प्रिमियम रकम बुझाउनु पर्ने भएकोले यसमा महानगरपालिकाले कूनै प्रतिक्रिया दिँदैन । महानगरपालिकाले खुलामञ्चको २३ रोपनी अर्थात ११ हजार ८ सय ९० वर्गकिलोमिटर जग्गा वार्षिक ७० लाख रुपैयाँ भाडा बुझाउने गरी सम्झौता भएको छ । बनेपछि भने वार्षिक २ करोड ७० लाख महानगरलाई दिने उल्लेख छ । भ्यु टावरमा सपिङ मल, पार्किङ स्थल, कार्यालय भवन, चमेनम गृहलगायतका संरचना बनाउन सम्झौता पत्रमा उल्लेख गरिएको छ । यो परियोजनामा जलेश्वर हाउजिङ प्रालिको ५१ प्रतिशत सेयर, स्वच्छन्द निर्माण सेवाको २५ प्रतिशत र बिकोई बिल्र्डसको २४ प्रतिशत सेयर रहेको छ । २९ तले भ्यु टावर भनिए पनि सुरुमा १२ तले बनाई पछि थप्दै जाने निर्माण कम्पनीको योजना रहेको भेटवाल नजिक एक स्रोतको भनाइ छ । उनका अनुसार दुई तले भूमिगत पार्किङ रहने छन् । जसमा ३ सयभन्दा बढी गाडी अटाउ सक्ने छन् । पहिलो तलामा बसपार्कका काउन्टर, दोस्रो तलामा सूचना डेक्स,तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहने उनको भनाइ छ । त्यस्तै, बैंक तथा वित्तीय कारोबार गर्ने स्थान, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेष्टुरेण्ट तथा पुस्तकालय पनि रहनेछन् । काममा सुस्तता रहेपनि निर्माण कम्पनी भने अबको २ वर्षभित्र निर्माण सम्पन्न गर्ने दाबी गर्छ ।
अर्थतन्त्रमा कोरोना असरः राष्ट्र बैंकको नजरमा ५ क्षेत्र बढी जोखिममा
काठमाडौं । नेपाल राष्ट्र बैंकले विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) ले सबैभन्दा असर पार्ने नेपाली अर्थतन्त्रको ५ क्षेत्र पहिचान गरेको छ । नेपालको पर्यटन, रेमिटान्स, प्रत्येक्ष विदेशी लगानी, शोधनान्तर अवस्था र वित्तीय स्थायित्वमा धेरै असर पार्ने राष्ट्र बैंकको भनाइ छ । नेपालको व्यापारिक सम्बन्ध भएका देश, रोजगारी प्रदान गर्ने प्रमुख राष्ट्र तथा पर्यटकीय सम्भावना उच्च भएका देशको अर्थतन्त्रमा पनि असर परेको र नेपालको आन्तरिक अर्थ व्यवस्था पनि कमजोर हुने भएकोले यी ५ क्षेत्रमा सबैभन्दा बढी असर देखिने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । ‘पर्यटन क्षेत्रमा अहिले नै गम्भीर असर देखिइसकेको छ, रेमिटान्स आयमा पनि असर देखिने संकेत मिलेको छ, वाह्य क्षेत्रको चुनौति बढ्ने तथा नेपालको वित्तीय स्थीरतामा प्रतिकूल असर पर्ने देखिन्छ,’ राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुखसमेत रहेका प्रवक्ता डा. भट्टले विकासन्युजसँग भने । विश्वभर सन्त्रास फैलाएको कोरोना भाइरसको असर सबैभन्दा पहिला नेपालको पर्यटन क्षेत्रमा देखिएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको थियो । सरकारको यस्तो घोषणा र तयारीलाई केन्द्रीत गरेको निजी क्षेत्रले पनि पर्यटन क्षेत्रमा लगानी बढाएको थियो । सरकारले नेपाल भ्रमण वर्ष मनाउने भएपछि निजी क्षेत्रले एयरलाइन्स, होटल, रेष्टुरेन्ट तथा लज, ट्राभल, ट्रेकिङ जस्ता पर्यटकीय व्यवसायसँग सम्बन्धित क्षेत्रमा लगानी बढाएका थिए । तर, विश्वभर कोरोना संक्रमण बढेसँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको प्रचार प्रसार लगायतका प्रायः सबै गतिविधि अनौपचारिक रुपमा रोकिएका छन् । कोरोना प्रभावको कारण विश्वका अधिकांश देशले अन्तराष्ट्रिय हवाई उडान रद्द गरेका छन् । कतिपय देशहरुमा त अन्य देशसँगको हवाई सम्पर्क नै टुटेको छ । आफूहरुको व्यवसाय चौपट भएको भन्दै हवाई सेवा संचालक संघले बैंकबाट लिएको ऋणको नियमित किस्ता, बीमा शुल्क जस्ता भुक्तानीमा समेत समस्या भएको बताएको छ । कोरोना संक्रमण बढेसँगै विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको छ । यद्यपि नेपालमा कोरोना संक्रमण पुष्टी भने अझै भएको छैन । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको उच्च जोखिममा राख्नु र नेपाल भ्रमणमा आउने पर्यटकको देशमा पनि कोरोना संक्रमण बढ्नु जस्ता कारणले होटल बुकिङ रद्द भएका छन् । नेपाल आउने पर्यटकको कमी हुने तथा पहिला बुकिङ भइसकेको पनि रद्द भएकोले होटल क्षेत्र कोरोनाबाट अधिक प्रभावित भएको छ । कोरोना भाइरस सन्त्रासको कारण पर्यटक आगमन कम भएर नेपालमा प्राप्त हुने ट्राभल आय घट्ने डा. भट्टले बताए । यद्यपि कोरोना संक्रमण देखिनु अघि नै पनि नेपालमा आउने पर्यटक गत वर्षको तुलनामा कम थियो । यस्तै, कोरोना सन्त्रासको कारण आन्तरिक पर्यटनमा पनि कमी आएको छ । आन्तरिक पर्यटनमा कमी आउँदा बन्द व्यापार, उद्योग, यातायात जस्ता क्षेत्रका आर्थिक गतिविधि कम भएका छन् । कोरोना भाइरस संक्रमणको कारण नेपाली अर्थतन्त्रको मेरुदण्ड जस्तै बनेको रेमिटान्स आयमा कमी देखिने भएको छ । नेपालीलाई सबैभन्दा धेरै रोजगारी दिइरहेका खाडी देशमा कोरोना संक्रमण फैलिएको, पेट्रोलियम पदार्थको मूल्य घटेका कारण ती देशको अर्थतन्त्रमा अर्काे प्रकारको समस्या देखिएकोले रेमिटान्स घट्न सक्ने अनुमान राष्ट्र बैंकको छ । आर्थिक गतिविधिमा शिथिलता आउँदा बैंकिङ क्षेत्रबाट प्रवाह भएको ऋणको नियमित किस्ता भुक्तानीमा समस्या उत्पन्न हुने र त्यसले वित्तीय स्थीरतामै समस्या पार्न सक्ने प्रारम्भिक अनुमान राष्ट्र बैंकको छ । कोरोना संक्रमणको विस्तारकै कारण नेपालमा आउने प्रत्येक्ष विदेशी लगानी पनि घट्ने देखिएको छ । रेमिटान्स र प्रत्येक्ष विदेशी लगानीमा कमी आउँदा नेपालको शोधनान्तर अवस्थामा समस्या आउन सक्ने आकलन राष्ट्र बैंकको छ । तर, नेपालमा उत्पन्न भएको असहज अवस्थालाई दृष्टिगत गरी विदेशी अनुदान र ऋण धेरै आयो भने शोधनान्तर अवस्थामा खासै समस्या देखिने छैन । सम्बन्धित सामग्री कोरोनाले नेपाली अर्थतन्त्रको खम्बा हल्लायो, आधा रेमिटान्स आउने देशमा नेपालीलाई ‘नो इन्ट्री’
एकै दिन २७४ मोटरसाइकल प्रहरी नियन्त्रणमा
लहान । ट्राफिक नियम उल्लङ्घन गरी चलाएको भन्दै सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको छ । होलीपर्वका बेला मादक पदार्थ सेवन गरी चलाएको, तीनभन्दा बढी व्यक्ति चढेको र हेलमेट नलगाई चलाएको भन्दै प्रहरीले मङ्गलबार एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय लहान, इलाका प्रहरी कार्यालय मिर्चैया, इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले ट्राफिक नियम उल्लङ्घन गरी चलाउने मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका सबै सवारी साधनलाई जरिवाना तिराएर छाडिने प्रहरीको भनाइ छ । यस्तै, होलीमा विभिन्न विषयलाई लिएर मादक पदार्थ झैझगडा गर्ने, जबर्जस्ती रङ दल्ने, महिलामाथि दुव्र्यवहार गर्ने छ जनालाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् । लागुऔषधसहित एक युवक पक्राउ प्रहरीको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहा नगरपालिका–१२ राधाकृष्ण मन्दिर छेउबाट एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले लागुऔषधसहित सिरहाको कल्याणपुर नगरपालिका–६ निवासी २७ वर्षीय मोहमद मुम्ताजलाई पक्राउ गरेको हो । पक्राउ परेका मुम्ताजको साथबाट नाइट्राजेपान आठ थान, नाइट्राभेट ४५ थान बरामद भएको प्रहरीले जनाएको छ । रासस
दैनिक उपभोग्य सामानमा कालोबजारी गर्ने ५ जना व्यापारी कारबाहीमा
काठमाडौं । सरकारले दैनिक उपभोग्य सामानमा कालोबजारी गर्ने ५ जना व्यापारीलाई कारबाही गरेको छ । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा अनुगमन गर्दा उपभोग्य सामानमा कालोबजारी गर्ने ५ जना व्यापारीलाई कारबाही गरेको बताइएको छ । उद्योग वाणिज्य तथा वाणिज्य आपुर्ति राज्यमन्त्री मोतिलाल दुगडले सामानमा कालोबजारी गर्ने ५ जना व्यापारीलाई कारबाही गरेका बताए । उनले विश्वभर काेराेनाकाे त्रास भइरहेकाे बेला सामानमा कालाेबजारी गर्ने व्यापारीलाई कानुनको दायरामा ल्याई कारबाही गर्ने विकासन्यूजसँग बताए । विश्वरभर फैलिरहेको कोराना भाइरस ( कोभिड १९)को त्राससँगै दैनिक उपभोग्य सामानमा अभाव हुनेभन्दै उपभोक्ताले सामान भण्डारण पनि गर्न थालेका छन् । त्यही मौका छोपेर उनीहरुले सामानमा कालोेबजारी गर्ने प्रवृति पनि बढाएका हुन् । बजारमा उपभोग्य सामानको अभाव नभएपनि कृतिम अभाव सुरु गरेका छन् । व्यापारीहरुको यो प्रवृतिलाई रोक्न सरकारल अनुगमन टोली पनि बनाएको छ । बजार अनुगमनको क्रममा ती ५ जना व्यापारीलाई कारबाही गरेको हो । सरकारले खाद्यान्न तथा पेट्रोलियम पदार्थजस्ता अत्यावाश्क वस्तुको कुनै पनि अभाव नहुने बताइरहेकाे छ । अत्यावश्यक वस्तुमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गरे सरकारले कडाभन्दा कडा कारबाही गर्ने पनि चेतावनी दिएकाे छ।
ट्याक्सी चालकको दबाबमा विभाग, पठाओ र टुटुल नचलाउन निर्देशन
काठमाडौं । ट्याक्सी चालकको दबाबमा यातायात व्यवस्था विभागले पठाओ र टुटुल रोक्न निर्देशन दिएको छ । मंगलबार ट्याक्सी व्यवसायी तथा चालकले टुटल र पठाओलाई सरकारले कानुन विपरित सेवा प्रदान गर्न छुट दिएसँगै भन्दै विभाग घेराउ गरेका थिए । ट्याक्सी सञ्चालकहरुको दबाबपछि मंगलबार राती विभागले साे सूचना जारी गरेको हाे। विभिन्न प्रयोजन लागि दर्ता भएका सवारी साधनले आफूखुसी भाडा तोकी सार्वजनिक सवारीको रुपमा प्रयोग नगर्न सरकारले चेतावानी दिएको छ । यातायात व्यवस्था विभागले जारी गरेकाे सूचनामा कानुन उल्लंघन गरी अन्य प्रयोजनका लागि दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा २०४९ को दफा १२ को उपदफा १ मा अनुसार कारवाही हुने व्यवस्था रहेकाे छ । गत २०७५ माघमा विभागले यस्तै कारबाही थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निजी सवारीलाई भाडामा यात्रु बोक्न दिन निर्देशन दिएका थिए ।
कोरोनाले नेपाली अर्थतन्त्रको खम्बा हल्लायो, आधा रेमिटान्स आउने देशमा नेपालीलाई ‘नो इन्ट्री’
काठमाडौं । वैदेशिक रोजगार गन्तव्यमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएसँगै रेमिट्यान्समा प्रभाव पर्ने देखिएको छ । नेपालको अर्थतन्त्रको मूल आधारको रुपमा रहेको रेमिट्यान्स आय घट्ने देखिएको हो । रोजगारीको गन्तव्य मुलुकमा कोरोना संक्रमणसँगै त्रासका कारण कम्पनीहरु बन्द गर्नु पर्ने अवस्था आएको छ । कम्पनी नै बन्द हुँदा नेपालीको रोजगारी गुम्ने र कोरोना संक्रमको शंका तथा प्रभावका कारण पनि बैदेशिक रोजगारीमा रहेका नेपालीको आम्दानी घट्ने देखिएको हो । कोरोना असरको कारण नेपालमा भित्रने रेमिटान्स घट्ने अनुमान नेपाल राष्ट्र बैंकले गरेको छ । नेपालमा आउने रेमिटान्समध्ये करिब ५० प्रतिशत खाडी देशबाट आउने र ती देशमा कोरोना प्रभाव देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । ‘नेपाल आउने रेमिटान्समा करिब ५० प्रतिशत खाडी देशबाट आउने गरेको छ, यसमा पनि सबैभन्दा धेरै रेमिटान्स आउने कतारबाट हो, कतार नेपालसहितका विदेशी कामदार लिन बन्द गरेको कारण रेमिटान्स कम हुने देखिन्छ,’ राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुख समेत रहेका डा. भट्टले भने । कोरोना प्रभाव देखिनु अघि नै नेपालमा आउने रेमिटान्सको बृद्धिदर करिब स्थीर रहेको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको ६ महिनासम्म गत आर्थिक वर्षको तुलनामा ०.९ प्रतिशतले मात्रै रेमिटान्स बढेको छ । यस्तो अवस्थामा कोरोना प्रभावले बैदेशिक रोजगारी संकटमा पर्ने हुँदा रेमिटान्स आय घट्ने अनुमान अधिकारीहरुको छ । अहिलेसम्म विश्वका १ सय १० देशमा कोरोना संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा राखेको छ । तर, नेपालमा अहिलेसम्म कोरोना संक्रमण भएको फेला परेको छैन । वैदेशिक रोजगारीमा जान रोक लगाएका मुलुकबाट नै आधाभन्दा बढी रेमिट्यान्स भित्रिँदै आएको छ । केही दिन अगाडी कतार जानकै लागि करिब ३५ हजार नेपाली कामदारको भिसा आइसकेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । कोभिड १९ को संक्रमण बढेसँगै कतारले नेपालसहित १४ देशका नागरिकलाई देश भित्रिन रोक लगाएको छ । साउदीलगायत अधिकांश देशहरुले अन्तराष्ट्रिय उडान अवतरणमा रोक लगाएका छन् । नेपालीको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकहरु कतार, साउदी अरब, बहराइन, जापान, दक्षिण कोरिया, कुवेत जस्ता देशले विदेशी कामदार लिन रोकिसकेका छन् । गत वर्ष मात्र ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ रेमिटान्स नेपाल भित्रिएको थियो । गत आर्थिक वर्षमा पनि ५ लाखभन्दा बढी नेपाली विदेश गएका थिए । गत वर्षको तथ्यांक हेर्दा बढी रेमिट्यान्स (करिब १८ प्रतिशत) कतारबाट भित्रिएको छ भने यएईबाट १३.४ प्रतिशत, साउदी अरेबिया १२.५ प्रतिशत, मलेसियाबाट ९.७ प्रतिशत रेमिट्यान्स भित्रिएको थियो । त्यस्तै, छिमेकी राष्ट्र भारतबाट करिब १४ प्रतिशत रेमिटान्स भित्रिएको थियो । वैदेशिक रोजगारीको मुख्य गन्तव्य रहेको देशमा कोरोनाको प्रभाव बढेसँगै देशको आर्थिक खम्बाको रुपमा रहेको रेमिट्यान्सको अवस्थामा कमी आउनेछ । त्यस्तै चालु आर्थिक वर्षको ६ महिनामा मात्र ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कलङ्की–धोबीखोला सडक विस्तार तत्काल शुरु नहुने
काठमाडाैं । चीन सरकारको आर्थिक सहयोगमा विस्तार गर्ने तयारी भइरहेको चक्रपथको दोस्रो खण्ड (कलङ्की–धोबीखोला) को तत्काल काम शुरु नहुने भएको छ । नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ का कारण तत्काल चिनियाँ टोली आउने सम्भव नभएकाले निर्माण तत्काल शुरु नहुने देखिएको हो । चिनियाँ टोली यही महिना आउने तयारी भए पनि रोगका कारण तत्काल आउने नदेखिएको सडक विभागले जनाएको छ । चक्रपथको कोटेश्वर–कलङ्की खण्ड निर्माण गरेको चीन सरकारले नै कलङ्की–धोबीखोला निर्माणका लागि विस्तृत अध्ययन गरेको थियो । पहिलो खण्डमा निर्माण शुरु हुँदा पनि सडकमा रहेका संरचना नहटेका कारण यो खण्डमा पहिले संरचना हटाउने गरी सहमति भएको थियो । झण्डै सबैतिर निर्माणस्थल खाली भइसकेको काठमाडौँ चक्रपथ सुधार योजनाका प्रमुख अमृतमणि रिमालले जानकारी दिए । महाराजगञ्ज क्षेत्रमा केही घरहरु हटाउन बाँकी भए पनि अरु स्थानमा सडकको अधिकार क्षेत्रमा रहेका बिजुललीका खम्बा, टेलिफोनको खम्बा, खानेपानीको पाइप, ढल, रुखलगायत हटाइएको छ । उनले भने, “हामीले आवश्यक तयारी गरिसकेका छौँ चिनियाँ टोली आउन नसक्ने हुँदा काम शुरु नहुने देखिएको छ ।” निर्माणस्थल खाली गरेर आगामी महिनासम्म निर्माणका लागि हस्तान्तरण गर्ने सरकारको योजना थियो । सो सडकमा दुई वटा ‘अण्डर पास’, प्रत्येक एकएक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ । कोटेश्वर–कलङ्की सडकमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ । आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार र सहायक चार गरेर जम्मा आठ लेन नै रहने बताइएको छ । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने डिजाइनमा उल्लेख छ । रासस
बाढीपीडितलाई शिविर खाली गराउन प्रशासनको निर्देशन
सुर्खेत । सुर्खेत जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गामा आश्रय लिइरहेका बाढीपीडितलाई शिविर खाली गराउन निर्देशन दिएको छ । सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानअन्तर्गत प्रशासनले वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका १५ घरधुरी बाढीपीडितलाई उक्त स्थान छाड्न निर्देशन दिएको हो । विसं २०७१ मा इत्राम, नेवारेखोलाको बाढीबाट विस्थापित बनेका यहाँ बस्दै आएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले विस्थापितका नाममा सार्वजनिक जग्गा अतिक्रमण बढेको बताए । सरकारी जग्गा अनधिकृत रूपमा सधैँभरि व्यक्तिले भोगचलन गर्न नपाउने उनको भनाइ छ । विस्थापित रामकुमारी खत्रीले आफूहरुसँग घरवास, जग्गा/जमिन नहुँदा सरकारी जग्गामा आश्रय लिन बाध्य भएको बताए । प्रशासनले एकाएक टहरा खाली गर्न निर्देशन दिएपछि विस्थापितहरु आक्रोशित भएका छन् । “सरकारले घरवास बनाइदिनुको साटो उल्टै त्रिपालको सहारामा बसेकालाई लखेट्दैछ, यसबाट हामी चिन्तित बनेका छौँ”, उनले भने, “घरबारविहीन भएका बेला प्रशासनले यहाँ ल्याएर राख्यो, अहिले स्थायी बसोबासको टुङ्गो नलाग्दै लखेट्न थालियो ।” प्रदेश सरकारले जग्गाधनी पुर्जाका आधारमा विस्थापितलाई आवास निर्माणमा बजेट उपलब्ध गराउँदै आएको छ । रासस