कम्पनी रजिष्ट्रार कार्यालयः वर्षमा ६ काण्ड, बिदाका दिन पनि छोड्दैनन् घुस लिन
काठमाडौं । ‘सरकारी कार्यालयमा कुनै काम गराउन जानु पर्यो भने घुस बिना कामै हुँदैन’– सर्वसाधारण सेवाग्राहीबाट यस्तो गुनासो पटक–पटक आउने गरेको छ । सरकारी कुन कार्यालयमा बढी घुस लेनदेन हुन्छ भन्ने सम्झ्यो भने सबैभन्दा बढी भन्सार र मालपोत जस्ता कार्यालय पहिलो नम्बरमा आउँछन् । यी कार्यालयहरु घुस अड्डाका रुपमा परिचित हुँदै आएका छन् । यस्तै, घुस लेनदेन हुने कार्यालयका रुपमा कम्पनी रजिष्ट्रार कार्यालय प्रष्ट देखिन थालेको छ । पछिल्लो समय भ्रष्टाचारको आरोपमा सो कार्यालयका कर्मचारीहरु महिनैपिच्छे पक्राउ परेका सूचना तथा समाचारहरु पनि आइरहका छन् । बुधवार छुट्टी लिएर बसेका कम्पनी रजिष्ट्रार कार्यालयका सुब्बा डोरप्रसाद पन्थीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार घुस लिँदालिदै पक्राउ गर्यो । पन्थीले बुधबार छुट्टी लिएका थिए । बिदा लिएको दिन पनि कम्पनी रजिष्ट्रार कार्यालयको गेटबाट पैसा लिँदै गर्दा अख्तियारको टोलिले मुचुल्का उठाएर उनलाई नियन्त्रणमा लिए । अहिले उनी माथि आयोगले अनुसन्धान सुरु गरेको छ । आजै अख्तियारले उनी माथि अनुसन्धान सुरु गरेको पत्र कम्पनी रजिष्ट्रार कार्यालाई दिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सन्तोष दाहालले अख्तियारले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको विकासन्यूजलाई जानकारी दिए । पछिल्लो समय कार्यालयमा मौलाएको घुस प्रकरणले कम्पनी रजिष्ट्रार कार्यालय बदनामी हुनु परेको अवस्था छ । उक्त कार्यालयमा काम गर्छु भन्न पनि लाज लाग्ने अवस्था आएको सोही कार्यालयमा कार्यरत एक कर्मचारीले बताए । कम्पनीको यस्तो हालत देखेर आफै लाज लागेर आउँछ, कसैले सोध्यो भने म उद्योग मन्त्रालयमा काम गर्छु भन्छु,’ ती कर्मचारीले भने । कम्पनी रजिष्ट्रारको कार्यालयमा घुस काण्डको श्रृंखला यस्तो गत कार्तिकमा मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त कार्यालयका दुई जना सहायक रजिष्ट्रारलाई छलफलका लागि बोलायो र अनुसन्धानका लागि हिरासतमा राखेको थियो । अख्तियारले उनीहरु माथि अनुसन्धान थालिएको पत्र कम्पनी रजिष्ट्रार कार्यालाई पठाएको थियो । अनुसन्धानका लागि अख्तियारले कम्पनी रजिष्ट्रार कार्यालयमै कार्यरत सहायक रजिष्ट्रार सीताराम खड्का र हाल उद्योग मन्त्रालयमा कार्यरत अर्का सहायक रजिष्ट्रार टंक भट्टराईलाई बोलाएको कार्यालयमा बोलाएको थियो । सहायक रजिष्ट्रार खड्काले आर्थिक चलखेल गर्दै १ महिनामा नै करिब १ हजार फाइलको काम गरेको स्रोतले बतायो । गत माघ १ गते रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थी घुससहित पक्राउ परेकी थिइन् । उनले दर्ता रहेको स्कुलको कर तिर्न जाने सेवाग्राहीसँग राजस्व रकम कम गरिदिने भन्दै एक लाख रुपैयाँ घुस लिएकी थिइन् । यसअघि गत २८ मंसिरमा सोही कार्यालयमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई अख्तियारले पक्राउ गरेको थियो । उनले सेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिएका थिए । यसैगरी, गत ११ असोजमा अख्तियारले कार्यालयकै उप रजिष्ट्रारद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । शंकर इलेक्ट्रिकल इन्डष्ट्रिज प्रालिका सञ्चालक निरञ्जन जटियालाई कार्यालयमा उपस्थित नगराई स्वामित्व हस्तान्तरण गरेको आरोपमा उनीहरूलाई अख्तियारले पक्राउ गरेको थियो ।
एनआईसी एशिया र अष्ट्रेलियाको लिगल रेमिटबीच रेमिट्यान्स सम्झौता
काठमाडौं । नेपालकाे एनआईसी एशिया रेमिट र अष्ट्रेलियाको लिगल रेमिटबीच रेमिट्यान्स सम्झौता भएकाे छ । उक्त सम्झौता पश्चात अष्ट्रेलियाका नेपालीहरूले लिगल रेमिटबाट रकम पठाएर एनआईसी एशिया बैंकको एनआईसी एशिया रेमिट मार्फत तुरुन्त रकम भुक्तानी लिन सक्नेछन् । साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिनेछ । लिगल रेमिट मार्फत अष्ट्रेलियामा रहेका नेपालीहरूले पठाएको विप्रेषण रकम नेपालमा रहेका उनीहरुका आफन्तहरू वा अन्य व्यक्तिहरूले सजिलै भुक्तानी गर्न सक्नेछन् । उनीहरुले यस बैंकको मुलुकभर छरिएर रहेका ३१९ वटा शाखा, १०७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा ९ हजारभन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नेछन् । एनआईसी एशिया बैंक र लुम्बिनी ग्रुप प्राइभेटबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत सुरु भएको छ ।
टाटा मोटर्सले फागुन ३० गतेदेखि स्प्रिङ्ग बोनान्जा गर्दै
काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले स्प्रिङ्ग बोनान्जा कार्यक्रमकोे आयोजना गर्न लागेको छ । उक्त कार्यक्रम यहि फागुन ३० देखि चैत २ गते (१३ मार्चदेखि १५ मार्च, २०२०) सम्म थापाथली स्थित टाटा मोटर्सको सोरुममा आयोजना गर्न लागेको हो । ग्राहकले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर र एनआरजी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै उक्त कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, जेन्युइन एसोसेरीज, एक वर्षको सवारी कर, गाडिको डेलिभरीमा मोवाईल फोन, प्रत्येक गाडीको मुल्याङ्कनमा कार परफ्युम, डोर प्राईज र प्रत्येक टेस्ट ड्राईभमा एक जोडीलाई मुभि टिकेट तथा विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका छन् ।
अब त्रिविकाे सर्टिफिकेटमा सेक्युरिटी फिचर, नक्कली र सक्कली सजिलै छुटिने
काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ । नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने भएको हो । ट्रान्सक्रिप्ट लिन विद्यार्थीले अब ५ गुणासम्म बढी शुल्क तिर्नु पर्ने भएको छ। प्रवीणता प्रमाणपत्र तहको लागि २ हजार, स्नातकका लागि २ हजार २ सय, स्नातकोत्तर तह र एमफिलका लागि २ हजार ५ सय र विद्यावारिधिका लागि ३ हजार तोकिएको जानकारी परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। अहिले त्रिविले स्नातक तहलाई ४ सय ५० र स्नातकोत्तर तहका लागि ५ सय शुल्क लिँइदै आएको छ। बाक्लो गाता (फोल्डर)मा प्रोभिजनल सटिर्फिकेटसहित दिइने नयाँ ट्रान्सक्रिप्ट अहिलेको भन्दा पाँच गुणा बढी शुल्क लाग्ने परीक्षा नियन्त्रक जोशीले बताए। नक्कली ट्रानस्क्रिप्ट लिने क्रम बढेकाले त्यसलाई रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने जानकारी दिएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)का नियन्त्रक जोशीले त्रिवि प्राज्ञिक परिषद्बाट निर्णय गरी सोसम्बन्धी प्रक्रिया सुरु गरिएको जानकारी दिए। उनका अनुसार उक्त ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर जाँच गर्न पनि सकिने छ। त्यसको बीचमा छापसहितको सात प्रकारका विभिन्न फिचरको ढाँचा रहनेछ जसलाई ‘गुलुची’ भनिन्छ। त्यसैको आधारमा नै ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर पत्ता लगाइन्छ। ‘अहिले बजारमा त्रिविकै नक्कली ट्रान्सक्रिप्ट बनाउने गरिएको छ,’ परीक्षा नियन्त्रक जोशीले भने, ‘त्यसलाई रोक्न सेक्युरिटी फिचर भएको ल्याउन लागिएको हो।’ पानीमा नभिज्ने र नच्यातिने विशेषता नयाँ ट्रान्सक्रिप्टमा हुने जनाइएको छ। सबैलाई एउटै किसिमको दिइने ती ट्रान्सक्रिप्टको बाहिरी गाता भने पाँच किसिमका हुनेछन्। अहिले वितरण हुने ट्रान्सक्रिप्ट समान छैनन्। अन्य सङ्कायभन्दा चिकित्सा र इञ्जिनियरिङ विषयका भने फरक–फरक ट्रान्सक्रिप्ट छन्। सबैलाई समान खालको दिन सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट दिन लागिएको हो। नियन्त्रक जोशीले विसं २०७७ बाट परीक्षा दिने विद्यार्थीलाई उक्त ट्रान्सक्रिप्ट वितरण गरिने जानकारी दिए। ‘त्यसको ढाँचा तयारी गरिएको छ,’उनले भने, ‘अब केही दिनमा बोलपत्र आह्वान गर्ने तयारीमा छौं।’ ट्रान्सक्रिप्टमा सम्बन्धित विद्यार्थीको फोटोसमेत राखिनेछ। विसं २०१६ मा स्थापित त्रिविले विसं २०५४ बाट मात्र छापेर ट्रान्सक्रिप्ट दिन थालेको हो। पनिकाले तह अनुसारका रातो, हरियो, निलो, खैरो र बैजनी रङ्गका पाँच प्रकारका फोल्डरभित्र ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट राखेर दिनेछ। यसैगरी त्रिविले चैत १५ गतेदेखि अब सबै सङ्कायका ट्रान्सक्रिप्ट २४ घण्टाभित्र उपलब्ध गराउने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले अब सबै सङ्कायको फाराम भरेको २४ घण्टाभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको परीक्षा नियन्त्रक जोशीको भनाइ छ। त्रिविले विसं २०७५ बाट त्रिवि परीक्षा व्यवस्थापन सूचना प्रणाली लागू गरेर मानविकी र शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट दिँदै आएको छ।
पर्वतकाे दृष्टीबिहिन विद्यार्थीलाई ग्लोबल आईएमई बैंकको सहयोग
काठमाडौं । ग्लोबल आइएमई बैंकले पर्वत जिल्लाको दृष्टीविहिन विद्यार्थीहरुलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीहरुलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरेको हो । उक्त सामाग्रीहरु सांसद गिरी र ग्लोबल आइएमई बैंक कुश्मा शाखाका शाखा प्रमुख प्रकाश शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्री, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडी, विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चापागाँई लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । ग्लोबल आइएमई बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाई तथा विभिन्न सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ ।
एफवान सफ्टद्वारा ‘क्वीक भुक्तानी’ प्लाटफर्मको शुरुवात, मेगा बैंकसहित तीन कम्पनी सम्मानित
काठमाडौं । एफवान सफ्ट इन्टरनेशनलले ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ प्लाटफर्मको कार्य सुरुवात भएको गरेकाे छ । उक्त प्लाटफर्मको काम सुरु भएकाे अधिकारिक घोषणा गर्दै कम्पनीले यसका प्रथम प्रयोगकर्ताहरुलाई सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा प्रथम बैंकको रुपमा मेगा बैंक, प्रथम क्रेता कम्पनीको रुपमा हामा कन्सट्रक्सन प्रा. लि. र प्रथम बिक्रेता कम्पनीको रुपमा बि एल स्टील प्रा. लि. रहेका छन् । ‘क्वीक भुक्तानी’ युकेएड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रम सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो । आवद्ध बैंकहरुले आफ्ना ग्राहकहरुलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराँदछन् भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्दछ । ‘क्वीक भुक्तानी’ यस्तो अनलाईन प्लाटफर्म हो जसले विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता (सप्लायर), ती सामान तथा सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउँदछ । सप्लायरले, यो प्लाटफर्म प्रयोग गरी, आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछ । यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्र्पूण रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ ।
बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोना सङ्क्रमण, हालसम्म ६ जनाको मृत्यु
काठमाडौं । बेलायतका स्वास्थ्य मन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको सङ्क्रम भएको छ । बिरामी स्वास्थ्य हेर्ने कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेको अधिकारीले जनाएका छन् । हालसम्म बेलायतमा ३ सय ८२ जनामा सङ्क्रमण भएको र ६ जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संघले जनाएको छ । उनलाई के कसरी कोरोना भाइरसको सङ्क्रमण भयो भन्ने बारेमा स्पष्ट हुन नसकेको र अनुसन्धान भइरहेको अधिकारीको भनाइ छ । बेलायतमा अहिलेसम्म ३ सय ८२ जनामा सङ्क्रमण भएको र छ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अष्ट्रेलियामा भने सङ्क्रमितको सङ्ख्या ११२ पुगेको छ । स्वास्थ्य विभागले बुधबारसम्म थप १२ जना थपिएर सङ्क्रमितको सङ्ख्या ११२ पुगेको बताएको छ । मृत्यु हुनेको सङ्ख्या भने तीन मात्रै रहेको पनि विभागले उल्लेख गरेको छ । यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना सङ्क्रमण नियन्त्रण र उपचारका लागि १.५५ अर्व अमेरिकी डलर छुट्याइएको घोषणा गरे । उनले सरोकारवालासँग छलफल गरेर कोरोना नियन्त्रण र उपचारका लागि विभिन्न प्याकेज तयार पारिएको पनि जानकारी दिए । यसैगरी दक्षिण कोरियामा थप २ सय ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै देशभरी कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७ हजार ७ सय ७५ पुगेको छ । अष्ट्रेलियामा भने बुधबारमात्र १२ जना थपिएर सङ्क्रमितको सङ्ख्या १ सय १२ पुगेको बताएको छ । मृत्यु हुनेको सङ्ख्या भने ३ मात्रै रहेको रहेका छन् । त्यसैगरी थप ६ जनाको मृत्यु भएको छ भने कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ६१ पुगेको छ । स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसबाट सङ्क्रमितमध्ये ४१ जना निको भएर घर फर्किएका छन् । जापानमा पनि कोरोना भाइरसका कारण मृत्यु हुने र सङ्क्रमितको सङ्ख्या थप बढेको छ । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले दिएको विवरणका अनुसार सङ्क्रमितको सङ्ख्या बढेर ५ सय ६८ पुगेको छ । उनीहरुले कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको जनाइएका छन् । कोरोनाको सुरुवात भएको देश मानिने चीनमा भने अहिले नयाँ बिरामी थपिनेक्रम घटेको छ । केही दिनअगाडिसम्म दैनिक सयौं बिरामी थपिने गरेकोमा बुधबार थप २४ जना नयाँ बिरामी भेटिएका छन् । त्यसैगरी थप २२ जनाको मृत्यु भएको जनाइएको छ । उता अमेरिकामा सङ्क्रमितको सङ्ख्या १ हजार नाघेको छ । स्वास्थ्य अधिकारीका अनुसार कूल संक्रमितको सङख्या १ हजार १ पुगेको हो भने मृत्युहुनेको सङ्ख्या २८ पुगेको छ । त्यस्तै वासिङट्नमा २ सय ६०, न्यूयोर्कमा १ सय ७३, क्यालिफोर्नियामा १ सय ४४ जनामा कोरोना भाइरस सङ्क्रम भएको पुष्टी भएको जनाएको छन् । रासस/सिन्ह्वा
प्रधानमन्त्रीकी मृगौला दाता समिक्षा भइन् डिस्चार्ज
काठमाडौं । प्रधानमन्त्रीकी मृगौला दाता समिक्षा संग्रौला डिस्चार्ज भएकी छिन् । संग्रौला बुधबार डिस्चार्ज भएकी हुन् । प्रधानमन्त्री सल्लाहकार विष्णु रिमालले ट्वीटर मार्फत उनी डिस्चार्ज भएको जानकारी दिएका हुन् । गत बुधबार समीक्षाले प्रधानमन्त्रीलाई मृगौला दान गरेकी हुन् । उनले आफ्नो बायाँतर्फको म्रगौला ओलीलाई दिएकी हुन् ।