विकासन्युज

एफएनसीसीआईको एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाईको उम्मेदवारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दिने भएका छन् । संघाई अग्रणी त्रिवेणी समूहका निर्देशक हुन् । महासंघमा चार कार्यकाल बिताइसकेका उनी पूराना तथा अनुभवी उद्योगी हुन् । साथै, उनले औद्योगिक तथा व्यवसायिक क्षेत्रमा चिरपरिचित समूहका निर्देशक भई काम गरेका थिए ।

प्रिमियर लिगमा कोरोनाको प्रभावः आर्सनल-सिटीबीचको खेल स्थगित

लन्डन । इङ्लिस प्रिमियर लिगका प्रमुख दुई टिम आर्सनल र म्यान्चेस्टर सिटी फुटबल क्लबबीच यही बुधबार हुने खेल कोरोनाभाइरसका कारण स्थगित भएको छ । आर्सनलका खेलाडीहरु पूर्व सावधानीका लागि स्वेच्छाले ‘आइसोलेसन’ मा बसेकाले खेल स्थगित गरिएको हो । कोरोनाभाइरसकै कारण इङ्ल्यान्डको यस प्रतिष्ठित लिगको खेल स्थगित गरिएको यो पहिलो घटना हो । इटालीको सिरि ए फुटबल प्रतियोगिता रंगशालामा बिनादर्शक खेलाइए पनि इङ्लिस प्रिमियर लिगमा यस्तो प्रतिबन्ध लगाइएको छैन । तर खेलाडीहरु आफूखुशी आइसोलेसनमा बसेको यो पहिलो घटना हो । आर्सनलका खेलाडीहरु विपक्षी टिम ओलम्पियाकोसका प्रमुख इभान्जेलोस मारिनाकिससँगको भेटपछि संशकित बनेका हुन् । इभान्जेलोसले आर्सनलका खेलाडीसँगको भेटपछि आफूलाई कोरोनाभाइरस संक्रमण भएको घोषणा गरेका थिए । गत फेब्रुअरी २७ मा आर्सनलसँगको युरोपा लिग खेलमा ओलम्पियाकोस विजयी भएपछि इभान्जेलोसले आर्सनलका खेलाडीसँग भेटेका थिए । आर्सनल व्यवस्थापनव्दारा जारी विज्ञप्तिमा कोरोना संक्रमित व्यक्तिसँग भेघघाट भएका कुनै पनि व्यक्तिले कम्तीमा १४ दिन आफूलाई अरु व्यक्तिसँगको सम्पर्कबाट अलग्याउनु (आइसोलेसन) मा राख्नु पर्दछ भन्ने सरकारको निर्देशिकालाई पालना गर्नु पर्ने उल्लेख छ । ‘त्यसर्थ म्यान्चेस्टरसँगको बुधबार रातिको खेलमा हाम्रा खेलाडी उपलब्ध हुने छैनन् । प्रिमियर लिगले पनि खेल स्थगित गर्ने निर्णय गरेको छ । खेलाडीहरु पूरै १४ दिन घरमै रहने छन् । खेल अवधिमा मैदानमा मारिनाकिससँग सँगै रहेका आर्सनलका चार जना कर्मचारी पनि घरमै रहने छन् ।’ आर्सनलले कति जना खेलाडी प्रभावित छन् भन्ने बताएको छैन तर आगामी शनिबारको खेलमा सहभागी हुने सम्भावना रहेको संकेत गरेको छ । आर्सनलको विज्ञप्तिमा भनिएको छ, ‘हामी अर्को शुक्रबारसम्म पर्खिनेछौं, र त्यसपछि ब्राइटनसँगको खेलको तयारी गर्नेछौं । त्यतिञ्जेल १४ दिनको अवधि पूरा भइसकेको हुनेछ ।’ प्रिमियर लिगले जारी गरेको विज्ञप्तिमा लिगका कुनै पनि अरु खेल स्थगित गर्ने हालसम्म सोचाई नरहेको उल्लेख छ । ओलम्पियाकोससँगको खेलपछि आर्सनलले पोट्र्समाउथसँग एफए कप र प्रिमियर लिगमा वेस्ट ह्यामसँग खेल खेलेको छ । अर्को प्रिमियर लिगको क्लब उल्भरह्याम्प्टनले बिहीबार राति एथेन्समा खाली रंगशालामा युरोपा लिग अन्तर्गत ओलम्पियाकोससँग खेल्दैछ । उल्भरले युरोपा लिगका खेल रद्द गर्न अनुरोध गरेको छ, तर युरोपेली फुटबल संघले उल्भरको मागलाई अस्वीकार गरेको छ । रासस/एपी

कोभिड-१९: वाग्मतीका सबै जिल्लामा आइसोलेशन

काठमाडाैं । वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना भाइरस (कोभिड-१९) प्रकोपबाट प्रभावित भई आकास्मिकरूपमा आएका बिरामीलाई तत्काल उपचारमा ल्याउन उपत्यकाबाहेक प्रदेशका १० जिल्लाको अस्पतालमा आइसोलेशन कक्ष पूर्ण तयारीका साथ राखिएको जनाएको छ । ती जिल्ला अस्पतालमा छुट्टाछुट्टै प्रकोष्ट कक्षमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मी, मास्क, प्रविधियुक्त पोशाक र उपकरणसहित सतर्कमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. अर्जुन सापकोटाले बताएका छन् । उनका अनुसार, ती अस्पतालको प्रकोष्ठ कक्षमा आवश्यक पर्ने प्रविधियुक्त पोशाक, मास्क एवं विभिन्न उपकरण खरिद गरी सम्बन्धित अस्पतालमा पठाउने कार्य भइरहेको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनबमोजिम जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा सम्बन्धित गाउँपालिका, थाहा नगरपालिका र नगरपालिकाको स्वास्थ्य चौकी, उपचौकी र प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मीले सम्बन्धित गाउँटोलका स्थानीय जनताको घरदैलोमा पुगी कोरोना भाइरस रोगको प्रभावबाट बच्ने विषयमा प्रदेशका १० वटै जिल्लामा अहिले जनचेतनामूलक अभियान सञ्चालन भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख निर्देशक रमेश अधिकारीले बताएका छन् । काठमाडौं उपत्यकाको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु सरुवा रोग अस्पताल, ललितपुर र भक्तपुर जिल्ला अस्पतालमा आइसोलेशनका लागि छुट्टाछुट्टै प्रकोष्ठ कक्ष स्थापना भइरहेको स्वास्थ्य निर्देशनालयले जनाइएको छ । प्रदेश राजधानी हेटौँडामा कोरोना भाइरसबाट बच्ने उपायबाट सजक रहे पनि बजारमा मास्कको अभाव भएकाले पर्याप्त उपलब्ध गराउन वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयलाई अनुरोध गरिससकेको मकवानपुरका प्रजिअ नारायणप्रसाद भट्टले बताएका छन्। वाग्मती प्रदेशमा काठमाडौं, ललितपुर र भक्तपुरसहित १३ जिल्ला समेटिएका छन् । रासस

गाँजाको खेतीलाई बैधानिकता दिँदा नेपालको जीडीपी ५ गुणाले बढ्छः उपाध्याय

काठमाडौं । पूर्वसचिव भीम उपाध्यायले गाँजाको खेतीलाई बैधानिकता दिएर खेती गरे नेपाली अर्थतन्त्रको कायापलट हुने बताएका छन् । गाँजाको माग र उपयोगिता व्यापक भएकोले अन्तराष्ट्रिय बजारमा धेरै माग भएकोले यसको विक्री गरेर नेपालले धेरै फाइदा लिन सक्ने उनको भनाइ छ । गाँजाको नसालु उपयोगिताको मात्रै चर्चा गरेर प्रतिबन्ध लगाइएको भन्दै उनले यसको नियन्त्रित खेती खुल्ला गर्नुको विकल्प नभएको बताए । यसको प्रयोग व्यापक भएको तथा नेपालमा सहजै उत्पादन गर्न सकिने गाँजामाथि प्रतिबन्ध अनावश्यक रहेको उपाध्यायले बताए । ‘गाँजाको उपयोगिता असाध्यै धेरै छ, नेपालमा अमेरिका, क्यानडा जस्ता देशबाट गाँजा प्रयोग भएका बस्तुहरु आयात भइरहेका छन्, नेपालमा भने गाँजा प्रतिबन्ध गरेर बसेका छौं, नेपालीले नेपाली अर्थतन्त्रको विशेषता नै बुझेनन्,’ इन्जिनियर समेत रहेका पूर्व सचिव उपाध्यायले भने । उनले गाँजा नसालु पदार्थभन्दा पनि नसा उतार्ने बस्तु भएको पनि दाबी गरे । सबै मानिसमा गाँजा तत्व हुने भन्दै उनले उसको थोरै सेवनले पनि धेरै प्रकारको रोग निको हुने पनि उनको दाबी छ । उपाध्यायसँगको विस्तृत अन्तर्वार्ताको लागि यहाँ क्लिक गर्नुहोला । गाँजाको डाँठबाट बनेको काठ स्टीलभन्दा १० गुणा हलुंगो र १० गुणा बलियो हुने प्रमाणित भएकोले त्यसमा पनि गाँजा प्रयोग हुने गरेको उपाध्यायले बताए । गाँजाको खेती खुल्ला गरेर सुरु गर्ने हो भने नेपालको अर्थतन्त्रको आकार ५ वर्षमा दोब्बर र १० वर्षमा ५ गुणाले बढ्ने उनको भनाइ छ । सम्बन्धित सामग्री एक रोपनी जग्गा हुनेले वर्षमै करोड कमाउँछ: गाँजा खेतीबारे तामाङ र स्थापितको अन्तर्वार्ता

स्पर्स लघुवित्तले ३५ जना किसानलाई दियो कृषि तथा पशुपालन सम्बन्धी तालिम

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय भुताहा नवलपरासीले ग्राहक सदस्यहरुका लागी कृषि तथा पशुपालन सम्बन्धी तालिम दिएको छ । संस्थाले फागुन २८ गते नवलपरासीको भुताहामा उक्त तालिम दिएको हो । तालिमको उद्घाटन प्रमुख अथिति केन्द्रीय कार्यालय अनुगमन विभागका अनुगमन अधिकृत अरबिन्द मल्लले गरेका हुन् । व्यावसायीक रुपमा कृषि तथा पशुपालन गरीरहेका किसान र कृषि तथा पशुपालन गरी व्यावसाय विस्तार गर्न उत्सुक ३५ जना किसान महिला सदस्यहरुका लागी तालिम दिइएको थियो । तालिमको स्रोत व्यक्ति पशुविज्ञ हेमन्त कुमार चौधरीले पशुपालन सम्बन्धी र कृषिविज्ञ सुरेन्द्र कुमार सिंहले कृषि सम्बन्धी तालिम दिएका थिए । स्रोत व्यक्तिहरुले कृषि तथा पशुपालन गर्दा ध्यान दिनुपर्ने कुराहरु समस्या आएमा त्यसलाई समाधान कसरी गर्ने उपायहरुको बारेमा जानकारी गराइएको थियो । माया कुमारी चौधरीले व्यावसायीक तरकारी खेती गरी सफलता तथा आत्मनिभर भएको जानकारी गराएकी छन् । कार्यक्रममा प्रमुख अथिती मल्लले संस्थाले ग्राहक सदस्यलाई यस्ता किसिमको तालीम नियमित रुपमा दिँदै गएको र भविष्यमा पनि यस्ता सीपमूलक तालिमहरु नियमित रुपमा दिँदै जाने बताए । साथै, तालिममा सहभागीहरुलाई प्रमाणप्रत्र पनि वितरण गरिएको थियो ।

सिद्धार्थ बैंकको नयाँ शाखा गोरुसिङेमा

काठमाडौं । सिद्धार्थ बैंकले बुधबार कपिलवस्तुको गोरुसिङेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १८३ (३ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटीएम र १६ सयभन्दा बढी पीओएस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सेञ्चुरी बैंकले गर्यो निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । बैंकले आफ्नो नवौं वार्षिक उत्सवको उपलक्ष्यमा आफ्नो प्रधान कार्यालय पुतलीसडकमा उक्त कार्यक्रमहरु सञ्चालन गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रम चावहिलस्थित ओम हस्पिटल तथा ताहाचलस्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रिय रक्तसञ्चार सेवाको सहयोगमा सम्पन्न भएको हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । बालबालिकाहरु देखि लिएर वृद्धवृद्धाहरुसमेतको सहभागी उक्त शिविरमा धेरै जनाको निःशुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो । रक्तदान कार्यक्रममा पनि ३५ जनाभन्दा बढीको सहभागी थियो । बैंकका संचालक समितीका अध्यक्ष राजेशकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको वार्षिक कार्यक्रममा बैंकले महेन्द्र माध्यामिक विद्यालय हेलम्बु-६, सिन्धुपाल्चोकलाई २ थान ल्यापटप र १ थान प्रोजेक्टर प्रदान गरेको छ । त्यसैगरी बैंकले ‘आवर चाइल्ड केयर’ अनाथाश्रमलाई खाद्य सामाग्री पनि प्रदान गरेको छ ।

रेमिट्यान्समा अग्रसर हुँदै सनराइज बैंक, गर्याे जीएमई रेमिट्यान्ससँग सम्झौता

काठमाडौं । सनराइज बैंक रेमिट्यान्स सेवामा अग्रसर हुँदै गएको छ । उक्त सेवाको लागि बैंकले जीएमई रेमिट्यान्ससँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएमई रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार सनराइन बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकहरुले सनराइज रेमिट मार्फत पठाएको रकम जीएमई रेमिट्यान्सका नेपाल अधिराज्य भर रहेका ८ हजारभन्दा बढि एजेन्टबाट छिटो, छरितो तरिकाले पाउने भएका छन् । साथै, सम्पुर्ण ग्राहकले सनराइज रेमिट मार्फत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्नेछन् । बैंकले हाल १३० वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १५४ वटा एटीएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।