हलिउड अभिनेता टम ह्याङ्क्सका दम्पतिमा देखियो कोरोना
काठमाडौं । प्रसिद्ध हलिउड अभिनेता टम ह्याङ्क्स र उनकी श्रीमती रिता विल्सनमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरुलाई अस्ट्रेलिया भ्रमणका क्रममा संक्रमण देखिएको थियो । ६३ वर्षिय एक्टर ह्याङ्क्सले सामाजिक संजालमार्फत आफू र श्रीमतीलाई अस्वस्थ रहेका पोस्ट गरेका थिए । जब अमेरिका आएर परीक्षण गर्दा दुवैमा कोरोना संक्रमण देखियो । ह्याङ्क्सले श्रीमान, श्रीमती नै आइसोलेसनमा बस्ने जानकारी दिए ।
कोरोना असर कन्सल्टेन्सीमाः वैदेशिक अध्ययन ठप्प
काठमाडौं । वैदेशिक अध्ययनको लागि विद्यार्थीलाई सहयोग गर्ने शैक्षिक परामर्शदाता संस्थाहरु संसारभरमा कोरोनाको प्रभावको कारण केही समय ठप्प हुने भएका छन् । संसारभर कोरोनाको संक्रमण बढेसँगै वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई सरकारले अर्काे सुचना जारी नभएसम्म रोक लगाए पछि कन्सल्टेन्सीहरु ठप्प हुने भएका हुन् । सरकारले विद्यार्थीलाई सात देशको लागि रोक लगाएको भनेर भने पनि विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च संक्रमण देशको रुपमा उल्लेख गरेपछि सबै देशहरुमा सरकारले वैदेशिक अध्ययन अनुमति पत्र रोक लगाएको हो । स्कोप कन्सल्टेन्सी सर्भिसेसका प्रबन्ध निर्देशक विक्रम केसी यो समय कन्सल्टेन्सीहरुको लागि अध्ययन र अनुसन्धान गर्न समय भएको बताउँछन् । अध्ययनको लागि विदेश जाने विद्यार्थीको संख्या करिब ठप्प भएकोले अन्य काममा समय दिइएको उनले बताए । ‘कोरोना सन्त्रासका कारण हरेक क्षेत्रमा असर देखिएको छ, तर यो समय बिजनेस भएन भनेर बस्नेभन्दा पनि महामारीबाट जोगिनु ठूलो कुरा हो, अझ हामीहरु त आफैमा अध्ययन गरिरहनु पर्ने क्षेत्रको संस्था भएकोले अध्ययन र अनुसन्धानमा समय दिइरहेका छौं,’ केसीले भने । प्लस टुको परीक्षापछि मात्र विदेश जाने विद्यार्थीको चाप बढ्ने गर्दछ । कन्सल्टेन्सी व्यवसाय सिजनल व्यवसाय भएकोले पनि यो समय शान्त रहने समय हो । कोरोनाले झन् शान्त बनाएको बुझ्नुपर्ने केसी बताउँछन् । जापानको लागि सबैभन्दा बढी विद्यार्थी अप्रिल महिनामा उड्ने गरेको साकुरा ईन्टरनेसनलका संचालक अनुज कुमार श्रेष्ठ बताउँछन् । तर, अहिले सरकारले कोरोनाको कारण वैदेशिक अध्ययन अनुमतिपत्र दिन रोक लगाएपछि कन्सल्टेन्सी क्षेत्र नै डामाडोल भएको छ । भिसा आइसकेका विद्यार्थी पनि कहिले उड्ने ठेगान नभएको उनले बताए । यद्यपि जापानले ३ महिना अध्यागमन पत्रलाई बढाएर ६ महिना बढाएको छ, जसले केही राहत भने दिएको श्रेष्ठले बताए । ‘वैदेशिक अध्ययन अनुमतिपत्र लिएर कलेजमा फी पठाएका विद्यार्थी सबैभन्दा बढी मारमा परेका छन्, यहाँबाट धेरै अभिभावकले ऋण लिएर पठाएका हुन्छन् तर कहिले उड्ने ठेगान नहुँदा यहाँ व्याज मात्र बढ्ने र विद्यार्थी अभिभावकहरुले यसमा केही गर्न पनि नसक्ने अवस्था सिर्जना भएको छ,’ श्रेष्ठले भने । सरकारले कोरोना संक्रमणलाई लक्षित गर्दै एनओसी बन्द गरेको पाटोलाई प्रशंशायोग्य रहेको नेपाल शैक्षिक परामर्श संघका उपाध्यक्ष तथा अर्बिट ईन्स्टिच्युटका निर्देशक शेषराज भट्टराई बताउँछन् । ‘व्यवसाय हो, कहिले नाफा र कहिले घाटा हुन्छ तर यो अवस्थामा नाफा घाटाभन्दा पनि नागरिकको सुरक्षा देशको हितले प्राथमिकता पाउनु पर्छ,’ उपाध्यक्ष भट्टराईले भने ।
नबिल बैंकको ऋणपत्र चैत २ गतेदेखि बिक्रीमा, कर्जा जोखिम न्युन
काठमाडौं । नबिल बैंकको कूल २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र आगामी चैत २ गतेदेखि बिक्री हुने भएको छ । ‘१० प्रतिशत नबिल डिबेञ्चर २०८२’ नाम दिइएको नबिल बैंकको उक्त ऋणपत्रको अवधि ७ वर्ष तोकिएको छ । जसमा लगानीकर्ताले १० प्रतिशत बराबरको निश्चित व्याजदर पाउने छन् । उक्त ऋणपत्रमध्ये एक अर्ब २० लाख करोड रुपैयाँ बराबरका १२ लाख कित्ता ऋणपत्र व्यक्तिगतका लागि र ८० करोड रुपैयाँ बराबरका ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने छ । ऋणपत्र निष्कासन छिटोमा चैत ५ गते र ढिलोमा चैत १६ गते बन्द हुनेछ । नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन बमोजिम कुल ऋणपत्रको ४० प्रतिशत सर्वसाधारणलाई छुट्याउनुपर्ने प्रावधान बमोजिम यस्तो व्यवस्था गरिएको हो । त्यसमा म्युचुअल फण्डका लागि छुट्याइएको ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता समेत समावेश रहेको छ । बैंकले आफ्नो व्यवसाय वृद्धिको लागि सो मात्राको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले यसभन्दा अगाडि सात वर्ष अवधि तथा वार्षिक ८.५ प्रतिशत व्याजदर भएको ‘नबिल बैंक बोण्ड २०७५’ नामक कूल ३० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो । उक्त ऋणपत्र लक्ष्मी क्यापिटल मार्केटमार्फत् बिक्री हुनेछ । उक्त सेवा प्रदान गरे बापत क्यापिटललाई एकमुष्ठ ५ लाख ५० हजार रुपैयाँ सेवा शुल्कको रुपमा दिने बैंकले जानकारी गराएको छ । सर्वसाधारणले भने आफ्नो डिम्याट खातासँग लिङ्क भएका जुनसुकै बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रयोगकर्ताले इन्टरनेट पहुँच भएका जुनसुकै स्थानबाट आवेदन गर्न सक्नेछन् । यस्तो छ कम्पनीको अवस्थाः कम्पनीको ‘१० प्रतिशत नबिल डिबेञ्चर २०८२’ ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी एल एए माइनस’ रेटिङ्ग प्रदान गरेको छ । जसले बैंकको कर्जा जोखिम न्युन रहेको बुझिन्छ । जसलाई समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित मानिन्छ । गत आवमा कम्पनीको प्रतिसेयर नेटवर्थ २५७.३१ रुपैयाँ, प्रतिसेयर आम्दानी ५०.५७ रुपैयाँ र संचित नाफा नोक्सान ३७ लाख ३५ हजार ३ सय ३४ रुपैयाँ रहेको छ । त्यस्तै, चालु आवमा प्रतिसेयर नेटवर्थ ३१० रुपैयाँ, प्रतिसेयर आम्दानी ५६ रुपैयाँ र संचित नाफा नोक्सान ७६ लाख ६० हजार ७ सय २८ रुपैयाँ प्रक्षेपण गरिएको कम्पनीले जनाएको छ । काठमाडौंको दरबारमार्गमा केन्द्रिय कार्यालय रहेको यस बैंकको अधिकृत पुँजी १० अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, जारी पुँजी र चुक्ता पुँजी ९ अर्ब रुपैयाँ रहेको छ ।
सरकार उच्च सतर्कता अपनाउँदै, विद्यालय परीक्षा गराउँदै
काठमाडौं । कोरोनाले विश्वभर त्रास फैलाइरहेको अवस्थामा नेपाल सरकारले पनि उच्च सर्तकता अपनाउन सुरु गरेको छ । सिरकाले भिडभाड तथा मानिस जम्मा हुने कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिइसकेको छ । बुधबार विश्व स्वास्थ्य संगठनले पनि कोरोनालाई महामारीको रुपमा संज्ञा दिइसकेको छ । सरकारले कोरोनसँग लड्नको लागि उच्च सर्तकता अपनाउँदै गर्दा विद्यालयहरु भने धमाधम परीक्षा चलाउने तर्फ अगाडि बढिरहेका छन् । परीक्षाको समय अधिकांश विद्यार्थीको लागि त्रासको विषय हो । एकतर्फ भाइरसको त्रास फैलिरहेको समयमा परिक्षाको त्रासले कतै विद्यार्थीको नतिजामा त समस्या पार्दैन त ? अहिले अभिभावक पनि त्रसित बनेका छन् । शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शमाले अहिलेको समयमा हामीहरु त्यति त्रसित हुनुपर्ने अवस्था नभएको बताए । ‘हामी सचेत पक्कै हुनुपर्छ तर त्रसित भने हुनुहुँदैन, अहिलेसम्म कुनै पनि परीक्षा रद्द नर्गन निधो हामीले गरेका छा’, उनले भने । भाइरसले कति लामो समयसम्म असर गर्ने हो भन्ने एकिन नभएको र परीक्षा कतिसम्म सार्ने र विद्यालय कतिसम्म बन्द गर्ने भन्ने तय हुन नसकेकोले समयमा नै परीक्षाहरु सकेर विद्यालयहरु बन्द गर्नु सबैभन्दा उत्तम उपाय भएको शर्माको भनाइ छ । यो समयमा सबैभन्दा उत्तम उपाय विद्यार्थीलाई सही काउन्सिलिङ रहेको र त्यसको लागि मन्त्रालयले विद्यालयहरुलाई पत्रचार गरिसकेको शर्माले जानकारी दिए । मन्त्रालयले बिहिबार सबै विद्यालयहरुलाई कक्षा ९ सम्मको सबै परीक्षा चैत ५ गतेसम्म पुरा गर्न निर्देशन दिएको थियो । चैत ६ गते देखि एसईई परिक्षा रहेकोले आफुहरुले भिडभाड कम गर्नलाई ९ सम्मको परिक्षा सिध्याउनलाई निर्देशन दिएको शर्माले बताए । कक्षा १२ सम्म देशभर ४५ लाख भन्दा बढि विद्यार्थी रहेका छन् जुसमा सबैभन्दा बढि कक्षा १ मा ५ लाख विद्याथी छन् । समयमा परिक्षा नसकिँदा समयमा नतिजा नआउने र समयमा नतिजा नआउँदा नयाँ भर्नामा समस्या ल्याउने र थप तनाव सृजना हुने त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र संकायका डिन कृष्ण प्रसाद गौतम बताउँछन् । स्नातक तहमा हाल नेपालभर ३ लाख विद्यार्थी अध्ययन गरिरहेका छन् ।
माक्स र सेनिटाइजरमा व्यापारीले शतप्रतिशत नाफा खाँदा हुन्छ : उद्याेग राज्यमन्त्री
काठमाडौं । नेपालको कानुन अनुसार व्यापारीले २० प्रतिशतभन्दा धेरै नाफा लिएर बस्तु बिक्री गरे भने कालो बजारी ऐन अनुसार कसुर गरेको हुन्छ । तर उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले माक्स र सेनिटाइजर शतप्रतिशतसम्म मूल्य वृद्धि गरेर बेच्न पाउने बताएका छन् । माक्स र सेनिटाइजर नेपालमा अभाव भएको र व्यापारीले विदेशबाट आयात गर्न असहज भएकोले पनि व्यापारीले शतप्रतिशत नाफा खान पाउने दुगडले बताए । ‘संक्रटको बेला छ, व्यापारीले माक्स र सेनिटाइजर ल्याउनै छाडे भने झन धेरै समस्या हुन्छ, त्यसैले पनि यी दुईवटा बस्तुुमा शतप्रतिशत नाफा खादा हुन्छ, अहिले बजारमा १० रुपैयाँको माक्सलाई ५० रुपयौंमा बिक्री गरिरहेका छन्, त्यस्ता व्यापरीहरुलाई भने कारवाही गर्नुपर्छ,’ दुगडले भने । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले व्यापार गर्दा २० प्रतिशतभन्दा धेरै नाफा खान नपाउने र २० प्रतिशतभन्दा धेरै नाफा खाएमा कार्वही हुने बताए । ‘हामी त कानुन अनुसार बोल्ने हो, बस्तु उत्पादनदेखि बिक्रीसम्मको हिसाव जोड्दा कुनै बस्तुको मूल्य शतप्रतिशत वृद्धि भएको हुनसक्छ तर व्यापारीले नै शतप्रतिशत नाफा खाएर सामान बिक्री गरेको पाइएमा हामी कारवाही गछौं’, महानिर्देशक सुवेदीले भने । सरकारले भन्सार पनि छुट दिने सरकारले भन्सारबाट आयात हुने माक्स र सेनिटाइजरमा छुट दिने बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले माक्स र सेनिटाइजरको आयातमा सहज बनाउने गरी भन्सार छुट गर्ने भएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोराना भाइरसबाट नेपालसमेत उच्च जोखिममा रहेको उल्लेख गर्दै मास्क र सेनिटाइजरको भन्सार छुट दिने भएको हो । अहिले बजारमा माक्स र सेनिटाइजर चरम अभाव देखिएको छ । बजार अभावसँगै कालोबजारी गर्ने व्यवसायीलाई समेत मन्त्रालयले अनुगमन गर्दै कारबाही गरिरहेको छ ।
कुवेत सरकारद्वारा अन्तर्राष्ट्रिय हवाई उडान बन्द
काठमाडौं । कुवेत सरकारले सबै अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान भोलिबाट बन्द गर्ने निर्णय गरेको छ । कुवेतले एक सूचना जारी गर्दै शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको हो । विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको हो । कुवेत सरकारका अनुसार कुवेत सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान भोलिबाट बन्द रहनेछन् । त्यस्तै, कर्मचारीहरूलाई पनि दुई साता बिदा दिइएको छ । कुवेत सरकारले त्यहाँ कार्यरत कर्मचारीलाई पनि दुई साता छुट्टी दिँदै घरमै बस्न अपिल गरेको छ ।
सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो, ८१ हजार ५ सयमा कारोबार
काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबार ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ८२ हजारमा कारोबार भएको तेजावी सुन बिहीबार ८ सय रुपैयाँ घटेर प्रतितोला ८१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी तोलामा २० रुपैयाँ घटेर प्रतितोला ८ सय ६० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोनालाई यस कारण दियो ‘महामारी’को संज्ञा
काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिडज्ञ १९ )लाई महामारीको दर्जाको रुपमा घोषणा गरेको छ । बुधबार मात्रै संगठनले कोरोनालाई हामारीको दर्जा दिएको हो । पछिल्लो समय तीव्र गतिमा संक्रमितको सङ्ख्या बढेसँगै डब्ल्यूएचओले यसलाई ‘महामारी’ को दर्जामा राखेको हो । मानिसबाट मानिसमा सर्ने तथा एकै समय धेरै मुलुक प्रभावित भएपछि डब्ल्यूएचओले त्यस्तो संक्रमणलाई महामारीको श्रेणीमा राख्ने गर्दछ । एकै समयमा कुनै रोग विश्वभर तीव्र गतिमा फैलिरहेको अवस्थालाई ‘महामारी’ को संज्ञा दिने गरिन्छ । डब्ल्यूएचओले काेराेना भाइरसकाे सक्रियताको खतरनाक स्तरलाई मध्यनजर गर्दै कोरोनालाई महामारीको संज्ञा दिइएको बताएकाे छ । यसअघि नै डब्ल्यूएचओले कोरोनाभाइरसले महामारीको रुप लिन सक्ने चेतावनी दिएको थियो । यद्यपि महामारी संज्ञा दिने अवस्थामा पुगेको आधारहरु देखा नपरेका कारण यसअघि डब्ल्यूएचओले यसलाई ‘महामारी’ शब्द प्रयोग गरेको थिएन । पछिल्लो समय यो भाइरस विश्वका ११४ मुलुकमा फैलिएको र एक लाख १८ हजार मानिसमा संक्रमण देखिएको डब्ल्यूएचओको भनाइ छ । संक्रमणलाई रोक्न देशहरुले के–कस्ता उपाय अपनाउँछन् भन्ने कुराले नै महामारीको स्तर निर्धारण हुने डब्ल्यूएचओले जनाएको छ । पछिल्लो पटक सन् २००९ मा स्वाइन फ्लुलाई यस्तो श्रेणीमा राखिएको थियो, जसले हजारौँ मानिसको मृत्यु भएको थियो ।