
काठमाडौं । नबिल बैंकको कूल २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र आगामी चैत २ गतेदेखि बिक्री हुने भएको छ । ‘१० प्रतिशत नबिल डिबेञ्चर २०८२’ नाम दिइएको नबिल बैंकको उक्त ऋणपत्रको अवधि ७ वर्ष तोकिएको छ । जसमा लगानीकर्ताले १० प्रतिशत बराबरको निश्चित व्याजदर पाउने छन् ।
उक्त ऋणपत्रमध्ये एक अर्ब २० लाख करोड रुपैयाँ बराबरका १२ लाख कित्ता ऋणपत्र व्यक्तिगतका लागि र ८० करोड रुपैयाँ बराबरका ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने छ । ऋणपत्र निष्कासन छिटोमा चैत ५ गते र ढिलोमा चैत १६ गते बन्द हुनेछ ।
नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन बमोजिम कुल ऋणपत्रको ४० प्रतिशत सर्वसाधारणलाई छुट्याउनुपर्ने प्रावधान बमोजिम यस्तो व्यवस्था गरिएको हो । त्यसमा म्युचुअल फण्डका लागि छुट्याइएको ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता समेत समावेश रहेको छ ।
बैंकले आफ्नो व्यवसाय वृद्धिको लागि सो मात्राको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले यसभन्दा अगाडि सात वर्ष अवधि तथा वार्षिक ८.५ प्रतिशत व्याजदर भएको ‘नबिल बैंक बोण्ड २०७५’ नामक कूल ३० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो ।
उक्त ऋणपत्र लक्ष्मी क्यापिटल मार्केटमार्फत् बिक्री हुनेछ । उक्त सेवा प्रदान गरे बापत क्यापिटललाई एकमुष्ठ ५ लाख ५० हजार रुपैयाँ सेवा शुल्कको रुपमा दिने बैंकले जानकारी गराएको छ ।
सर्वसाधारणले भने आफ्नो डिम्याट खातासँग लिङ्क भएका जुनसुकै बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रयोगकर्ताले इन्टरनेट पहुँच भएका जुनसुकै स्थानबाट आवेदन गर्न सक्नेछन् ।
यस्तो छ कम्पनीको अवस्थाः
कम्पनीको ‘१० प्रतिशत नबिल डिबेञ्चर २०८२’ ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी एल एए माइनस’ रेटिङ्ग प्रदान गरेको छ । जसले बैंकको कर्जा जोखिम न्युन रहेको बुझिन्छ । जसलाई समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित मानिन्छ ।
गत आवमा कम्पनीको प्रतिसेयर नेटवर्थ २५७.३१ रुपैयाँ, प्रतिसेयर आम्दानी ५०.५७ रुपैयाँ र संचित नाफा नोक्सान ३७ लाख ३५ हजार ३ सय ३४ रुपैयाँ रहेको छ । त्यस्तै, चालु आवमा प्रतिसेयर नेटवर्थ ३१० रुपैयाँ, प्रतिसेयर आम्दानी ५६ रुपैयाँ र संचित नाफा नोक्सान ७६ लाख ६० हजार ७ सय २८ रुपैयाँ प्रक्षेपण गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौंको दरबारमार्गमा केन्द्रिय कार्यालय रहेको यस बैंकको अधिकृत पुँजी १० अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, जारी पुँजी र चुक्ता पुँजी ९ अर्ब रुपैयाँ रहेको छ ।