विकासन्युज

विश्वभर सेयर बजारमा उच्च गिरावट

काठमाडौं । विश्वको अर्थतन्त्र खस्किँदो अवस्थामा रहेको छ । विश्वभर कोरोना भाइरसको संक्रमणको प्रभाव परेसँगै त्यसको असर सेयर बजार लगायत सम्पूर्ण अर्थतन्त्रमा परेको छ । अमेरिकाको सेयर बजार ७ प्रतिशतले घटेर बन्द भयो । सेयर कारोबारमा पनि उच्च गिरावट आएको छ । जसले गर्दा बजारमा ‘सर्किट ब्रेक’ लागेर १५ मिनेटसम्म सेयर कारोबार रोकियो । त्यसैगरी, लन्डनको सेयर बजार पनि लगभग ५ प्रतिशतले ओरालो लाग्यो । रूस र साउदी अरेबियाबीचको निरन्तर तेलको मूल्यमा गिरावट आउँदा युरोप र एशियाभरिको बजार त्यसरी नै खस्केको छ । सेयरहरू पहिले नै कोरोना भाइरसको प्रभावको डरबाट ओरालो लागिरहेका थिए । जसलाई विश्लेषकहरूले बजार प्रतिक्रियालाई ‘पूर्ण नरसंहार’ को रूपमा वर्णन पनि गरे । डो जोन्स औद्योगिक औसत ७.८ प्रतिशत वा २,००० भन्दा बढी अंकले घट्यो । जुन अंकका आधारमा इतिहासको सबैभन्दा उच्च हो भने प्रतिशतका आधारमा वित्तीय संकट पछिको सबैभन्दा ठूलो गिरावट हो । अमेरिकाको स्टक एस एण्ड पी५०० ७.६ प्रतिशतले घटेर २७४६.५६ अंकमा झरेको छ । जबकि नास्ड्याक करिब ७.३ प्रतिशतले घटेको छ । जुन २००८ पछिको उच्च गिरावट हो । लन्डनमा भएको उच्च गिरावटको प्रभाव बेलायतमा पनि परेको छ । जसले बेलायतका ठूला कम्पनीहरूको मूल्यलाई झण्डै १२५ पाउन्ड बिलियनले घटाएको छ । फ्रान्स, जर्मनी र स्पेन साथ युरोपको सेयर बजारमा देखिएको गिरावटको प्रभाव यूके र यूएसमा पनि परेको छ । जसले यूके र यूएसको बजार ७ प्रतिशतले घटेको छ । ‘अहिले बजारमा त्रास देखिएको छ । अवस्था अझ राम्रो हुँदै जानु भन्दा पहिले खराब हुँदै जान्छ ।’ एमआईटीको स्लोन स्कूल अफ म्यानेजमेन्टका फाइनान्सका प्रोफेसर एन्ड्र्यू लोले भने । तेल उत्पादन विवाद तेलको मूल्यमा आएको नाटकीय गिरावट साउदी अरेबिया र रुसबीचको तेल निष्काशनको झट्का हो । साउदी अरेबियाले यो मूल्य घटाउने र अधिक तेल पम्प, मूल्य युद्धको डर पैदा गर्ने भन्यो । कोरोना भाइरसको प्रकोपले गर्दा कम मागको सामना गर्न आपूर्ति कम गर्ने रसियाको प्रस्ताव अरु आपूर्तिकर्ताहरुले अस्वीकार गरेपछि यस्तो भएको हो । साउदी अरेबियाले तेल बजारमा आफ्नो स्थितिको सुरक्षाका लागि आफ्नो मांसपेशिहरु ताजा गरिरहेको विश्लेषकहरुले जनाएका छन् । सोमबार, अन्तराष्ट्रिय तेल बेन्चमार्क ब्रेंटको मूल्य सन् १९९१ मा खाडी युद्धपछि पहिलो पटक २० प्रतिशतले घटेर व्यापारमा झण्डै तेस्रो गिरावट आएको छ । यस वर्ष तेलको मूल्य द्रुत गिरावट आएको थियो किनभने कोरोना भाइरस अन्तर्राष्ट्रिय स्तरमा फैलिन थालेको थियो, ईन्धनको माग घट्ने अपेक्षा गरिएको थियो । अमेरिका र बेलायतमा तेल कम्पनीहरूले बजारमा गिरावट ल्याए जसमा शेल, बीपी र चेभरनको सेयर १५ प्रतिशत वा सो भन्दा बढी छ । फ्याकफुर्ट र पेरिसमा बैंकहरू सबैभन्दा कठोर हिट भए, जबकि रूसी रूबल २०१६ पछि सबैभन्दा कमजोर तह अर्थात ८ प्रतिशतमा गिरेका छन् । यसभन्दा पहिले एसियाली बजारमा पनि तीव्र गिरावट आएको थियो । जापानको निक्की २२६ सूचकांक ५ प्रतिशतले गिरावट आएको थियो । अष्ट्रेलियको एएसएक्स २०० गत २००८ देखि दैनिक ७.३ प्रतिशतले घटेको छ । त्यस्तै, चीनको बेन्चमार्क शंघाई कम्पोजिट ३ प्रतिशतले र हङ्कङ्को ह्याङ सेङ्ग सूचक ४.२ प्रतिशतले घटेको छ । मंगलबार सुनको मूल्यमा १ प्रतिशतभन्दा बढी गिरावट आएको छ । स्पट सुन १ प्रतिशतले घटेर प्रति औंस १६६२.५६ डलर र अमेरिकी सुन ०.७ प्रतिशतले घटेर प्रति औंस १६६३ डलरमा झरेको छ ।

बेनी अस्पतालमा निःशुल्क डायलासिस सेवा

गलेश्वर । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी अस्पतालमा अब मिर्गौला रोगबाट पीडित बिरामीका लागि नियमित डायलासिस सेवा शुरु हुने भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले बेनी अस्पताललाई डायलासिसका लागि आवश्यक उपकरणसहित बजेट विनियोजन गरेपछि आगामी चैत १ गतेबाट मिर्गौला उपचारका लागि डायलासिस सेवा शुरु गर्न लागिएको हो । गण्डकी प्रदेशले उपलब्ध गराएको चार वटा मेशिन र प्रवासी म्याग्देलीले दिएको दुईवटा मेशिन रहेको अस्पतालमा हेमोडायलासिस युनिट स्थापना गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटवालले बताए । उनका अनुसार युनिटमा चिकित्सक, स्टाफ नर्ससहितको जनशक्तिसमेत व्यवस्थापन भइसकेको बताए । पहिलो चरणमा तीन वटा बेड सञ्चालनमा ल्याउने उनले बताएका छन् । छ वटा मेशिनबाट दुई सिफ्टमा १२ जना बिरामीलाई दैनिक सेवा दिने गरी व्यवस्था मिलाइएको अध्यक्ष कटुवालले बताए । सेवा शुरु भएको छ महिनापछि आवश्यकताअनुसार बिहान, दिउँसो र साँझसमेत सेवा दिने योजना रहेको उनको भनाइ छ । सेवाको गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मिर्गौलापीडित बिरामी अधिकांशको न्यून आर्थिक अवस्थाका हुने भएकाले यातायात, खानबस्ने खर्चको अभावमा गाउँमै रोग पालेर बस्न बाध्य भएको अवस्थामा डायलासिस सेवाले सहज भएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका कार्यालय सचिव एवं मिर्गौला प्रत्यारोपण गरेका मङ्गला गाउँपालिका–१ कुहुँका डकबहादुर रोकाले बताए । मिर्गौलाका बिरामीले हप्ताको एकदेखि जटिलता हेरेर चार पटकसम्म डायलासिस गराउनुपर्ने हुन्छ । निजी अस्पतालमा एकपटक डायलासिस गराउँदा यातायात, खानाबस्नसहित गरी आठ हजारभन्दा बढीसम्म खर्च हुन्छ । कोरोना भाइरसको त्रास ः धार्मिक अनुष्ठान पनि स्थगित विश्वव्यापीरुपमा सन्त्रास फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्रले म्याग्दीको बेनीमा आयोजना गर्न लागेको श्रीमद्भागवत गीता ज्ञान महायज्ञ स्थगित गरेको छ । नेपाल सरकारको सचेतना, स्थानीय प्रशासनको अनुरोध एवं जनसमुदायको सुझावलाई उच्च सम्मान गर्दै बेनी शाखाले आगामी फागुन २९ गतेदेखि चैत ३ गतेसम्म बेनीमा सञ्चालनको तयारी गरेको महायज्ञ स्थगित गरेको बेनी शाखाकी प्रमुख ब्रह्माकुमारी रीनाले बताए । उनका अनुसार कोरोना भाइरसको त्रासका बीचमा आवतजावतमा समेत समस्या हुने भएकाले प्रशासनसँग समन्वय गरी महायज्ञ स्थगित गरिएको छ । व्यावहारिक एवं वैज्ञानिक प्रवचनमा म्याग्दीका ग्रामीण क्षेत्रमा रहेका सम्पर्क कार्यालय तथा विभिन्न विद्यालय, सामाजिक सङ्घसंस्थाबाट समेत प्रतिनिधित्व हुने भएकाले केही दिनका लागि महायज्ञ स्थगित गरिएको उनले बताए । समाजमा नैतिक शिक्षा दिने संस्थाका रुपमा स्थापित यो संस्थाले केही दिनमा अर्को कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ । रासस

तनहुँमा चैत १ गतेदेखि दादुरा रुबेलाविरुद्धको खोप लगाइने

दमाैली । तनहुँ जिल्लामा करिब २९ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । चैत १ गतेदेखि १८ गतेसम्म सञ्चालन हुन लागेको खोप अभियानका क्रममा २८ हजार ७६४ बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । अभियानको क्रममा नौ महिनादेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्लामा दुई चरणमा अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा चैत १ गतेदेखि ९ गतेसम्म ३७ वडामा र दोस्रो चरणमा चैत १० गतेदेखि १८ गतेसम्म ४८ वडामा अभियान सञ्चालन गरिनेछ । पहिलो चरणमा व्यास नगरपालिकाको श्याम्घा, कात्तिकेचौर, सतिस्वाँरा, गजुरे, रिस्ती, शुक्लागण्डकी नगरपालिकाको दुलेगौडा, खैरेनीटार, ढोरफिर्दी, फिरफिरे, राईपुर, थप्रेक, भिमाद नगरपालिकाको भानुमति, अरुणोदय, किहुँ, माझकोट, भानु नगरपालिकाको ज्यामरुक, रुपाकोट, चिसापानी, घिरिङ गाउँपालिकाको साभुङहटिया, घिरिङ, गजरकोट र ऋषिङ गाउँपालिकाको रानीपोखरी, राम्जाकोट, कोटदरबारमा अभियान सञ्चालन हुनेछ । दोस्रो चरणमा व्यास नगरपालिकाको घाँसीकुवा, पोखरीभञ्ज्याङ, केशवटार, तनहुँसुर, भानु नगरपालिकाको पुरनडिही, वसन्तपुर, पुर्कोट, बन्दीपुर गाउँपालिकाको बन्दीपुर, धरमपानी, आँबुखैरेनी गाउँपालिकाको देउराली, छिम्केश्वरी, म्याग्दे गाउँपालिकाको थर्पु, जामुने, मनपाङ, देवघाट गाउँपालिकाको सिन्च्याङगढी, बैदी, छिपछिपे, कोटा र ऋषिङ गाउँपालिकाको काहुँशिवपुर र भिरकोटमा अभियान सञ्चालन हुनेछ । अभियानका लागि ५३० खोप केन्द्र तोकिएका छन् भने २०४ खोपकर्ता परिचालन हुनेछन् । त्यस्तै एक हजार ६० स्वयंसेवक परिचालन गरिने कार्यालयले जनाएको छ । खोप तथा कोल्डचेन स्वास्थ्यकर्मीमार्फत् खोप केन्द्र नजिकका स्वास्थ्य संस्थामा पु¥याइएको छ । समुदायमा दादुरा रुबेला रोगविरुद्ध उच्च क्षमता शक्ति विकास गर्न र कन्जेनिटल रुबेला सिण्ड्रमको सङ्ख्यामा उल्लेख कमी ल्याई यसबाट हुने अपाङ्गता र मृत्युदरलाई शून्य अवस्थामा पुर्याउन अभियान सञ्चालन गर्न लागिएको हो । खोपको पहुँचबाट बाहिर रहेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन जिल्लाका प्रत्येक स्वास्थ्य संस्थामा प्रत्येक महिना संस्थागत खोपकेन्द्र, साविकका गाविसको वडामा कम्तीमा तीनदेखि पाँच वटा केन्द्रबाट प्रत्येक महिना बाह्य खोपकेन्द्र, गाउँपालिका र नगरपालिकाको स्वास्थ्य संस्थाका पकड क्षेत्रभित्र रहेका पहुँचबाट टाढा भएका बस्ती, समुदाय र भौगोलिक क्षेत्रमा कम्तीमा वर्षको चार पटक खोप केन्द्र स्थापना गरी खोप सेवा प्रदान गरिएको छ । खोप अभियान सञ्चालनका लागि जिल्लामा स्वास्थ्यकर्मीलाई तालीम तथा अभिमुखीकरण सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । सबै घरमा सन्देशमूलक कार्ड कार्यालयले अभियानकै क्रममा सबै घरधुरीमा सन्देशमूलक कार्ड वितरण गर्ने भएको छ । नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सन्देशमूलक कार्ड वितरण गर्न लागिएको हो । जिल्लाका ३० प्रतिशत बालबालिका अझै पनि विभिन्न खोप लगाउनबाट वञ्चित भएका छन् । “अझै पनि खोपबाट बालबालिका वञ्चित रहेकाले उनीहरुलाई खोपको पहुँचमा ल्याउन निमन्त्रणा कार्ड बाँड्ने तयारी गरेका छौँ”, प्रमुख अधिकारीले भने, “कार्ड वितरणपछि छुटेका बालबालिका खोपको पहुँचमा आउने विश्वास गरिएको छ ।” रासस

कोरोना संक्रमण फैलियो भने उपचार गर्न कस्तो तयारी गरेका छन् उपत्यकाका यी अस्पतालले ?

काठमाडौं । पछिल्ला वर्षहरूमा विश्व समुदायमाझ नयाँ रोगले महामारीको रूप लिइरहेको छ । यस्ता महामारीले लाखौं मानिसको ज्यान पनि लिइरहेको छ । यस वर्ष कोरोना भाईरसले संसारभर महामारीको रुप लिएको छ । यस्ता महामारीको रुपमा फैलदै गर्दा स्वास्थ्य सेवा प्रदायकहरुले कसरी तयार गरिरहेका छन् भन्ने एउटा मुख्य प्रश्न हो । महामारी आउने संकेत पहिला आउँदैन । कुन रोगले कतिबेला महामारीको रुप लिन्छ भन्न पनि सकिदैन । नेपालमा विभिन्न समयमा विश्वभर फैलिएको महामारी तथा नेपालमा मात्रै फैलने माहामारीले पनि धेरैको ज्यान लिने गरेको छ । के छ त अस्पतालहरुको तयारी ? त्रिवि शिक्षण अस्पताल त्रिवि शिक्षण अस्पतालमा महामारी व्यवस्थापनको लागि छुट्टै डिजास्टर टिम रहेको अस्पतालका निर्देशक प्रेमकृष्ण खड्काले बताए । यो टिमले कसरी काम गर्ने भन्ने विषयमा अस्पतालले माहामारी व्यवस्थापनको लागि आफ्नै ३६ पानाको प्रोटोकल तयार पारेको र त्यही अनुरुप काम गर्ने खड्काले जानकारी दिए । यद्यपि विश्वभर आतंक मच्चाएको कोरोना भाइरस (कोभिड–१९) लागि भने अस्पतालले खासै तयारी गरेको छैन । कोरोना रोकथाम र उपचारको लागि के कस्तो सावधानी र तयारी गर्ने भन्ने सन्दर्भमा अस्पतालले छुट्टै कमिटी बनाउँदै गरेको खड्काले बताए । पाटन अस्पताल कुनै पनि महामारीको लागि आफूहरु पहिलादेखि नै तयार रहेको पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्मा बताउँछन् । ‘हामीले महामारी व्यवस्थापनको लागि आफ्ना कर्मचारीहरुलाई समयसमयमा तालिम दिईरहेका हुन्छौं, एकपटक तालिम दिएर याद नहुने हुनाले हामीले समुह बनाएर तालिम दिदैं आईरहेका हुन्छौं, हामी आफ्नो प्रोटोकल अनुसार कुन व्यक्ति कहाँ खटिने, कसरी खटिने भन्ने कुरा निर्धारण गरिसकेका हुन्छौं,’ शर्माले भने । महामारी व्यवस्थापनको लागि आईसोलेसन बेड छुट्टाउनेदेखि लिएर रोग फैलन नदिनलाई अस्पतालका कर्मचारीहरुले अपनाउनु पर्न पूर्वसवाधानीका सबै विकल्प अपनाइएको उनको भनाइ छ । पाटन अस्पतालले कोरोनाको लागि ५ वटा आईसोलेसन बेड छुटाएको छ । सुमेरु अस्पताल धापाखेलस्थित सुमेरु अस्पतालले पनि आफूहरु पूर्वतयारी अवस्थामा रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालले कुनै पनि महामारी त्यसमा पनि सरुवा रोगहरुको लागि ३ खण्डको आईसोलेसन वार्ड छुटाएको बताएको छ । सुरुमा महामारीको वा कुनै पनि सरुवा रोगको शंकामा आएका बिरामीलाई अस्पतालले ईमर्जेन्सी वार्डमा राख्ने, त्यसपछि रोग पुष्टी भएको अवस्थामा जेनरल वार्डमा विशेषज्ञहरुले जाँच्ने र थप उपचारको लागि बेग्लै वार्डमा सार्ने गरेको छ । आफ्नो पहल र प्रयासले मात्रै अपुग भएमा सरुवा रोगको विशेषज्ञता प्राप्त टेकु अस्पतालसँग सहयोग लिने गरेका छ । हाल अस्पतालमा मास्क, स्यानिटाईजर, पन्जाहरुको समस्या भइरहेको प्रशासनले बताएको छ । आफूहरुसँग यस्ता सामाग्रीहरुको स्टक पनि बाँकी नरहेको र यस्तै अवस्था रहे संक्रमण रोगहरुको उपचारमा समस्या आउने बताएको छ । मेडिसिटी अस्पताल नख्खु स्थित मेडिसिटी अस्पतालले पनि आफुहरु कुनै पनि महामारीको लागि तयारी अवस्थामा रहेको अस्पतालका आईसियु प्रमुख डा. दिपेश आर्यलले बताए । मेडिसीटी अस्पताल एनएबीएच मान्यता प्राप्त अस्पताल हो । एनएबीएच अस्पताल र स्वास्थ्य सेवा प्रदायकहरुको लागि राष्ट्रिय मान्यता दिने बोर्ड हो । अल्का अस्पताल जावलाखेलस्थित अल्का अस्पतालले पनि आफूहरु कुनै पनि प्रकारको महामारीको लागि जहिले पनि तयारी अवस्थामा रहेको जानकारी दिएको छ । अस्पताल प्रशासनले आफूहरुसँग यस्तो समयमा खटिने एउटा विशेष टिम रहेको र उनीहरुले कुनै पनि अवस्थामा अस्पतालले कसरी काम गर्ने भन्ने सुझाव दिने गरेका जानकारी दिएको छ । यस्तै, कोरोनाको लागि अस्पतालले एउटा रुम छुटाएको छ र केही थप समस्या आइपरेको अवस्थामा स्वास्थ्य मन्त्रालयले ललितपुरको हब अस्पतालको रुपमा तोकेको पाटन अस्पतालसँग समन्वय गर्ने गरेको जानकारी अल्का अस्पातलले दिएको छ । बीर अस्पताल दशकै जेठो अस्पताल बीरले पनि महामारीहरुसँग सामना गर्नको लागि तयारी रहेको अस्पताल नर्सिङ प्रशासककी मिरा श्रेष्ठले बताईन् । अस्पतालले हाल कोरोनाको लागि भने ५ वटा आईसोलेसन बेड छुट्टाएको छ । ‘हामी एकदम तयार अवस्थामा छौं तर हाम्रो अस्पतालमा देशभरबाट मानिसहरु आउने र त्यसमा पनि विशेष गरेर आर्थिक स्थिति कमजोर भएकाहरु आउने गर्छन्, यस्तो विरामीको सामान्यतः रोग प्रतिरोधात्मक क्षमता अन्यको दाँजोमा कम हुन्छ, जसले गर्दा उनीहरुमा संक्रमण बढ्ने जोखिम अधिक हुन्छ,’ श्रेष्ठले भनिन् । त्यसैले पनि बीरमा त्यस्ता बिरामीको लागि आईसोलेसन वार्ड नराख्न आफुहरुले चाहेको श्रेष्ठ बताउँछिन् ।

जगदुल्ला जलविद्युतले मुआब्जा बाड्न थाल्याे

जाजरकाेट । जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य मङ्गलबारदेखि शुरु भएको छ । विद्युत् उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका–४ इल डोल्पाबाट मुआब्जा वितरण शुरु गरिएको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिएका छन् । पहिलो चरणमा इलस्थित स्थानीयवासीले मुआब्जा पाउने छन् भने दोस्रो चरणमा अर्थात चैत १४ गते काईगाउँमा वितरण गरिने छ । इलमा ६३ घरधुरीको ७१ रोपनी जग्गको प्रतिरोपनी रु पाँच लाख ५० हजार र काईगाउँमा १८७ रोपनी १०० घरधुरीको प्रतिरोपनी रु पाँच लाख १५ हजारका दरले मुआब्जा वितरणको कार्य अगाडि बढेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । कूल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेघावाट मात्र विद्युत् उत्पादन गर्न सकिने बताइएको छ । प्राविधिक टोलीको सल्लाहअनुसार क्षमता घटाएर काम शुरु गरिएको आयोजनाको अवको एक महिनाभित्र विस्तृत परियोजनाको प्रतिवेदन आउने प्रमुख सापकोटाले जनाए । बीस महिनाभित्र निर्माण पूरा गर्ने भनी गरिएको सम्झौताअनुसार काम पूरा नभएपछि अहिले छ महिना थपेर विस्तृत परियोजना प्रतिवेदनको कामलाई तीव्रता दिइएको छ । आयोजनाको विद्युत् उत्पादन गृह मुड्केचुला गाउँपालिका–४ इलमा बन्ने छ भने जगदुला गाउँपालिका वडा नं १ र २ मा ड्याम निर्माण गरिनेछ । पहिलो चरणमा २५८ रोपनी जग्गा अधिग्रहण गर्न लागिएको हो । अर्धजलाशयका रुपमा निर्माण कार्य थालिएको आयोजनाको छ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ । करिब ६.१ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २० मिटर उचाइको जलाशययुक्त ड्याम निर्माण हुनेछ भने उक्त ड्यामको १०० मिटर चौडाइ हुनेछ । छ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिनेछ । विस्तृत परियोजनाको जिम्मा एनइए इञ्जिनीयरिङले रु २७ करोडमा लिएको उनको भनाइ छ । आयोजना निर्माणका लागि १० प्रतिशत शेयर स्थानीयवासीले हाल्न पाउने छन् । सरकारले आफैंर स्थानीयवासीलाई शेयर दिएर यो आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । डोल्पाको भाग्य र भविष्यसँग जोडिएको आयोजना भएकाले यसलाई छिटोछरितो निर्माणका लागि पहल कदमी जारी रहेको डोल्पाकी सांसद सत्य पहाडीले जानकारी दिए । नलगाड जलविद्युत् आयोजना र जलदुल्ला जलविद्युत् आयोजना निर्माणस्थल एक दिनको फरक दूरीमा छन् । यी दुवै विद्युत् आयोजना निर्माणका लागि ११ केभी प्रसारण लाइन जाजरकोटबाट जोड्ने कामसमेत शुरु भएको पहाडीले बताए । भौगोलिक रुपमा निकै जटिल भूवनोट रहेको डोल्पामा विकास गर्दा निकै चुनौती मोल्नुपर्नेछ । विद्युत् उत्पादन गृह र ड्यामस्थलसम्म मात्र अहिले जग्गा अधिग्रहण गरी मुआव्जाको काम शुरु भएको छ । अत्यन्तै चिसो र सफा पानी रहेको यो आयोजना निर्माण कार्य शुरु भएसँगै जग्गाको भाउ बढेको मुड्केचुलाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिएका छन् । आयोजना निर्माणको बाधक सडक त्रिवेणीदेखि इलसम्म सडक निर्माण गर्नका लागि भएको वोलपत्र आह्वान रद्द भएपछि सडक निर्माण कार्य अलपत्र भएको छ । बजेट सुनिश्चित नहुँदा बोलपत्र आह्वान गरेर पनि रद्द भएको भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख योगेन्द्र धरालाले जानकारी दिए । रु १० करोडमा बोलपत्र आह्वान भए पनि बजेटको सुनिश्चितता नहुँदा समस्या भएको उनको भनाइ छ । अब नयाँ बजेट सुनिश्चित नभएसम्म बोलपत्र आह्वान गर्न नसकिने उनको भनाइ छ । सो सडक निर्माणका लागि रु ३० करोडको बजेट छुट्याएर काम शुरु गर्ने तयारीमा रहेको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए । उनका अनुसार डिपिआर प्रतिवेदन पहिले नै फाइनल भइसकेकाले बजेट खोजी भइरहेको छ । रासस

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

भक्तपुर । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट भएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा आज बिहान करिब ७ः४० बजे प्रेसर कुकर बम विस्फोट भएको हो । बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खाल र घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । बम विस्फोटबाट बा १९ च ४७८१ नम्बरको निजी भ्यानको सिसामा क्षति पुगेको उनले जानकारी दिएका छन् । पूर्वमन्त्री बाँस्कोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरमा सिसासमेत फुटेको छ । घटना कसले घटायो भन्नेबारेमा घटनास्थलमा अहिले प्रहरी टोलीले अनुसन्धान गरिरहेको प्रनाउ कोइरालाले जानकारी दिए । बाँस्कोटाको घर क्षेत्रमा मङ्गलबार दिनभर प्रहरीले गस्ती गरेको आज भने बिहानैदेखि प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको स्थानीयवासीको भनाइ छ । बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन । ठूलो आवाज निस्किएर बम विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् । सेक्युरिटी प्रिन्टर प्रेस खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग रु ७० करोड कमिशन काण्डमा मुछिएपछि उनले राजीनामा दिएका थिए । पूर्वमन्त्री बाँस्कोटा मन्त्री भएदेखि नै भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका छन् । रासस

धनगढीको विद्यालयलाई सिटिजन्स बैंकको आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले धनगढी जिल्लाको श्री शारदा माद्यामिक विद्यालयलाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मंगलबार एक कार्यक्रम आयोजना गरी उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । बैंकले विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्नका लागि आवश्यक पर्ने कम्प्यूटर ल्याबका सामग्रीहरु खरिद गर्नका निम्ति उक्त सहयोग रकम उपलब्ध गराएको छ । विद्यालयले विद्यार्थीको चौतर्फी विकाशको निम्ति विभिन्न कार्यक्रमहरुलाई पाठ्यक्रममा समावेश गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आई रहेको छ । नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । बैंकले हाल ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

इसेवाबाट बीमाको प्रिमियम भुक्तानी गर्दा नगद पाइने, साथै मोबाइल पनि

काठमाडौं । जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्ने उदेश्यका साथ इसेवाले आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । यस उपहार योजनामा कुनैपनि जीवन बीमाको प्रिमियम इसेवाबाट भुक्तानी गर्दा प्रतिकारोबार सय रुपैयाँसम्म कमाउनुको साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल जित्न सकिनेछ । यस योजना अन्तर्गत एक महिनामा २० देखि ४९ वटा बीमाका प्रिमियम भुक्तानी गर्नेले प्रतिकारोबार ५० रुपैयाँ, ५० देखि ९९ वटासम्म प्रिमियम भुक्तान गर्ने व्यक्तिले प्रतिकारोबार ७५ रुपैयाँ तथा सय वटा भन्दा माथि कारोबार गर्नेले प्रतिकारोबार सय रूपैयाँ रुपैयाँ इन्सेन्टिभ पाउनेछन् । यो योजना एजेन्ट नेटवर्क तथा व्यक्तिगत एकाउन्ट दुबैमा लागु हुनेछ । यो योजना १, मार्च २०२० देखि जुलाई ३१ सम्म लागु हुनेछ । यस योजनाको इन्सेन्टिभ रकम हरेक महिना गणना हुने र आगामी महिनाको २ हप्ताभित्र ग्राहकको इसेवा खातामा उपलब्ध गराइनेछ । पाँच महिनाको अवधिमा कोही पनि ग्राहकले ५ सयवटा लाइफ इन्स्योरेन्स्को भुक्तानी गर्न सफल भएमा प्रतिकारोबार सय इन्सेन्टिभका साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल समेत प्राप्त गर्न सक्नेछन् । पछिल्ला दिनमा अनलाइनबाट बीमाको प्रिमियम भुक्तानी गर्नेको संख्या बढ्दै गएकोमा यसलाई अझ प्रोत्साहन गर्न यो योजना सञ्चालन गरिएको हो । इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।