विकासन्युज

सिद्धार्थ बैंकका कर्मचारी तथा ग्राहकलाई चिरायु हस्पिटलमा २० प्रतिशत छुट

काठमाडौं । सिद्धार्थ बैंकका कर्मचारी तथा  ग्राहकले चिरायु हस्पिटलमा १५ देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस सम्बन्धि बैंक र काठमाडौँको बसुन्धारा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट प्रा। लि। बीच सम्झौता भएको छ । सम्झौता पश्चात बैंकका कर्मचारी र कर्मचारीका सदस्यहरुले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिंदा २० प्रतिशतसम्मको छुट पाउने छन् । साथै, बैंकका ग्राहकहरुले सेवा लिँदा १५ प्रतिशतसम्मको छुट पाउने छन् । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेश राज महर्जन र चिरायु हस्पिटलका तर्फबाट संचालन निर्देशक चन्देश्वर वैद्यले हस्ताक्षर गरेका हुन् । हाल बैंकले १८५ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अतिआवश्यक उद्योग तथा व्यवसायमात्र संचालन गर्न महासंघ आग्रह

काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएसँगै नेपाल सरकारले अति आवश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्न निर्देशक दिएको थियो । नेपाल राष्ट्रिय व्यवसायी महासंघले उद्योगी व्यवसायीलाई कोरोना भाइरसको प्रकोपबाट सुरक्षित राख्नका लागि अति आवश्यक उद्योग र व्यवसाय मात्र संचालन गर्न निर्देशन दिएको हो । आजबाट न्युरोडका अधिकांश पसल  बन्द भएकाे जानकारी दिँदै सरकारबाट निर्देशित अन्य क्षेत्रहरू बन्द गरी आफू पनि बच्न र अरुलाई पनि बचाउन महासंघका अध्यक्ष नरेश कटुवालले आग्रह गरेका छन् । ‘नेपाल संकटको घडीमा रहेको छ, सबै आपतकालीन निर्णयहरुलाई सिरोपर गर्दै व्यवसायिक धर्म र संवेदनशीतलाई ख्याल गरी आवश्यक सहयोग गर्नु पर्नेछ’ अध्यक्ष कटुवालले भने ।

बैंकहरुलाई राष्ट्र बैंकको निर्देशनः बैंक बन्द नगर्नु, सकेसम्म न्युनतम कर्मचारीले काम गर्नु

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरु बन्द नगर्न निर्देशन दिएको छ । आइतबार एक सूचना सार्वजनिक गर्दै बैंकले सम्पूर्ण बैंकले सो कूरा निर्देशन दिएको हो । कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले सकेसम्म न्यून कर्मचारीबाट सेवा प्रवाह गर्न बैंकले निर्देशन दिएके छ । बैंकले कर्मचारीलाई हुनसक्ने संक्रमण तथा संस्थाको विजिनेश कम्युनिटीलाई मध्यनजर गर्दै यथासंभव न्यूनतम कर्मचारीबाट सेवा सुचारु गर्न, यसका लागि रिमोट एक्सेस, वर्क फ्रम होम र सिफ्टवाइज वर्क लगायतका व्यवस्था अवलम्ब गर्न निर्देशन दिएकाे हाे । बैंक तथा वित्तीय संस्थाहरुलाई सेवाग्राहीहरुको भीडभाड नहुने सुनिश्चतताका साथ सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ।  बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको संभावनालाई न्यूनिकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरु अनिवार्य रुपमा अवलम्बन गर्न पनि भनिएको छ ।

उपत्यकाका ५० ठाउँमा हात धुने पाइने, कुन-कुन ठाउँमा छ हेर्नुस् ?

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमणबाट सावधानी अपनाउनु पर्ने भन्दै खानेपानी मन्त्री बिना मगरको निर्देशनमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका विभिन्न ठाउँहरुमा हात धुने व्यवस्था गरेको छ । मन्त्री मगरको निर्देशनमा केयुकेएलले भक्तपुर, ललितपुर र काठमाडौंका विभिन्न सय ठाउँहरुमा साबुन पानीले हात धुने व्यवस्था गर्न लागेको हो । कोरोना भाइरसको संक्रमणबाट जोगिन हात धुनु सबैभन्दा उत्तम उपाय भएकाले ठाउँ–ठाउँमा हात धुनका लागि पानी र साबुनको व्यवस्था गरिएको केयुकेएलका कार्यकारी प्रमुख मिलन शाक्यले जानकारी दिए । केयुकेएलले आफ्नै खर्चमा भिडभाड हुने स्थानहरुमा हात धुने व्यवस्था मिलाएको हो । उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था भएपछि कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमबाट जोगिन सहज हुने भएको छ ।केयुकेएलको उपत्यकामा रहेका सबै शाखाहरुले आम नागरिकहरुका लागि साबुन पानीले हात धुने व्यवस्था गरेको छ । महाराजगञ्ज शाखाले पानीपोखरी, लाजिम्पाट, जमलको दरबार हाइस्कुल, विश्वज्योति हल, रत्नपार्क, वीर अस्पताल, भोटाहिटीको आकाशेपुल, सामाखुसी र गोगंबु गरी १५ ठाउँहरुमा हात धुने व्यवस्था मिलाएको छ । केयुकेएलको ललितपुरस्थित जावलाखेल शाखाले १५ ठाउँहरुमा हात धुने व्यवस्था गर्न लागेको छ । शाखाले जावलाखेल चोक, लगनखेल, पाटन कृष्ण मन्दिर, कुपण्डोल, सानेपा चोक र चापागाउँ लगायतको ठाउँमा हात धुने व्यवस्था गर्न लागेको हो । त्यस्तै भक्तपुरको मध्यपुर ठिमी शाखाले ठिमी चोक, लोकन्थली चोक, शंखधर चोक र गठ्ठाघर चोक गरी पाँच ठाउँहरुमा हात धुने व्यवस्था गरेको छ । केयुकेएलको क्षेत्रपाटी शाखाका प्रमुख नृगेन्द्र श्रेष्ठका अनुसार क्षेत्रपाटी चोक, बसन्तपुर दरबार स्वायरभित्र मरु गणेशस्थान, बांगे मुढा, इन्द्र चोक, इन्द्रायणी मन्दिर, कालधारा, ठहिंटी र न्युरोडको भूगोलपार्क गरी १० ठाउँहरुमा हात धुने व्यवस्था गर्न लागिएको छ । त्यस्तै बानेश्वर शाखाले हिजोबाट हात धुने व्यवस्था सुरु गरिसकेको छ भने कोटेश्वर, नरेफाँट, अनामनगर, डिल्लीबजार, ज्ञानेश्वर, मध्ये बानेश्वर र सिंहदरबार दक्षिण गेट गरी १० ठाउँहरुमा हात धुने व्यवस्था गर्न लागेको शाखा प्रमुख नारायण कर्णले बताए । त्यस्तै भक्तपुर शाखाले पनि ठाउँ ठाउँमा हात धुने व्यवस्था गर्न सुरु गरिसकेको छ ।  

सिटिजन्स बैंकको सुर्खेत शाखा स्थान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सुर्खेत शाखा स्थान्तरण भएको छ । बैंकले हाल रहेको सुर्खेत शाखा कार्यालय भन्दा करिव ५०० मिटर दक्षिण-पश्चिममा रहेको जुम्ला रोड, विरेन्द्र नगरपालिका वार्ड न ६, सुर्खेत स्थित आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरि बैंकिंग कारोबार संचालन गरेको छ । उक्त भवनबाटै कर्णाली प्रदेश अन्तर्गत बैंकका ७ वटा शाखाहरु (डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड र सिमिकोट तथा सुर्खेत) बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यका साथ प्रादेशिक कार्यालय स्थापना गरिएको छ । बैंकले सुर्खेत शाखा र कर्णाली प्रदेशको प्रादेशिक कार्यालय संचालनमा ल्याएको हो । बैंकले हाल ९४ वटा शाखा, ९४ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ

डिजिटल कारोबारको सीमा बढ्यो, मोबाइलबाट मात्रै १० लाखको कारोबार गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीको सीमा बढाएको छ । बैंकले आइतबार परिपत्र जारी गर्दै डिजिटल भुक्तानी सेवाको सीमा बढाएको जनाएको हो । सो परिपत्रका अनुसार अब मोबाइटल तथा इन्टरनेटका माध्यमबाट गरिने र मोबाइल वालेटको माध्यमबाट गरिने फन्ड ट्रान्सफरको सीमा बढ्ने भएके हाे। केन्द्रीय बैंकले मोबाइ बैंकिङ (क्युआर कोड समेत) बाट गर्ने कारोबारको सीमा दैनिक ५० हजारबाट बढाएर १ लाख र प्रतिमहिना २ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्याएको छ । इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को कारोबार सीमा भने यथावत राखेको छ । यस्तै, केन्द्रीय बैंकले मोबाइल वालेटबाट अन्य बैंक खातामा रकम ट्रान्सफर अथवा भुक्तानी गर्ने सीमा पनि प्रतिकारोबार २५ हजार, प्रतिदिन एक लाख र प्रतिमहिना ५ लाख पुर्यााएको छ । यसअघि यस्तो कारोबारको सीमा प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजार मात्रै रहेको थियो । केन्द्रीय बैंकले एक वालेटबाट अर्को वालेटमा रकम ट्रान्सफर गर्ने सीमा पनि बढाएको छ । यसअघि प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजारको मात्रै कारोबार गर्न सकिने व्यवस्था रहेकोमा अब प्रतिकारोबार २५ हजार, प्रतिदिन ५० हजार र प्रतिमहिना ५ लाख सम्म कारोबार गर्न सकिने भएको छ । यसअघि बैंक तथा वित्तीय संस्था र सेवा प्रदायकले अर्को सूचना नआएसम्मका लागि भन्दै डिजिटल कारोबार निःशुल्क गर्ने घोषणा गरिसकेका छन् । उनीहरूले नगद कारोबारमा कोरोनाको जोखिम भएको भन्दै डिजिटल कारोबार गर्न अपिल गर्दै निःशुल्क डिजिटल सेवाा उपलब्ध गराउने घोषणा गरेका थिए । इन्टरनेट बैंकिङ मर्चेन्ट पेमेन्टको सीमा प्रतिदिन १० लाख र प्रतिमहिना ३० लाख रहेको छ भने इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्फरको सीमा प्रतिदिन १० लाख र प्रतिमहिना ५० लाखसम्म रहेको छ । यता एजेन्ट वा सब एजेन्टबाट र बैंक खाताबाट वालेटमा रकम ट्रान्सफर गर्ने कारोबारको सीमा भने यथावत रहेको छ । [pdf id=202361]

भारतमा रेल सेवा बन्द

एजेन्सी । भारत सरकारले यात्रुवाहक रेल सेवा बन्द गरेकाे छ । भारत सरकारले मार्च ३१ सम्मका लागि देशभरिको यात्रुवाहक रेल सेवा बन्द गरेको जनाएकाे हाे । कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर सरकारले यात्रुवाहक रेल सेवा बन्द गरिएको जनाएको छ । भारतमा अहिलेसम्म ३ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ ।  

डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? यसरी लिन सकिन्छ सस्ताेमा अनलिमिटेड डाटा

काठमाडाैं । डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याक लगायत अफरहरु सस्तोमा प्रयोग गर्न सकिन्छ । वान आवर अनलिमिटेड प्याकमा एक घण्टासम्म डाटा चलाउन, भ्वाइस कल गर्न वा एसएमएस पठाउन सकिन्छ । जम्मा २० रुपैयाँमै यो प्याक उपलब्ध हुनेछ । यसबाट एक घण्टासम्म जति पनि डाटा चलाउन वा कुराकानी गर्न पाइने छ । यसका लागि सिधै *1415*8# डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्न सकिन्छ । त्यसैगरी यो प्याक लिनका लागि FDPACK लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । ‘अनलिमिटेड नाइट डाटा प्याक’ अन्तर्गत १८ रुपैयाँमा अनलिमिटेड डाटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइन्छ । त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म लगातार जति पनि डाटा प्रयोग गर्न सकिन्छ । रातको समयमा डाटा चलाउनु पर्ने व्यक्तिहरुका लागि यो प्याक निकै उपयोगी छ । एक रातका निम्ति ‘अनलिमिटेड नाइट डाटा प्याक’ लिनका लागि *1415*3# मा र ७ रातका लागि लिन *1415*3#2 मा डायल गर्नुपर्छ । त्यसैगरी एक दिनको प्याकका लागि NUNL र ७ दिनका लागि भए UNL7 टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिन्छ । नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा प्राप्त हुने विभिन्न प्याकेजमध्ये आफूलाई उपयोगी हुने डाटा प्याक छनौट गरेर पनि प्रयोगमा ल्याउन सकिन्छ । त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याक खरिद गरी प्रयोग गर्न सकिन्छ ।