विकासन्युज

मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान बन्द, आन्तरिक यथावत्

काठमाडौं । कोभिड–१९को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आज मध्यरातिदेखि लागू हुनेगरी नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द गरेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारको निर्णयबमोजिम शनिबार जरुरी सूचना निकालेर नेपालमा उडान भर्ने सबै अन्तरराष्ट्रिय वायुसेवा कम्पनीको उडान अवतरण चैत ९ को राति २३ः५९ बजेदेखि चैत १८ सम्म सोही समयावधिका लागि स्थगन गरिएको जनाएको छ । प्राधिकरणले यस निर्णयबाट नेपालबाट अन्तरराष्ट्रतर्फ जाने यात्रु, एयर एम्बुलेन्स, कार्गो उडान तथा अत्यावश्यक उडानमा असर नपर्ने स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसर त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे यही चैत ७ गते साँझ राष्ट्रका नाममा गरेकाे सम्बोधनमा चैत ९ देखि १८ गतेसम्मका लागि अन्तरराष्ट्रिय उडान स्थगन हुने जनाएका थिए । आजै रातिदेखि कुनै पनि यात्रुवाहक जहाज नेपाल प्रवेश गर्न नपाउने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । उनका अनुसार विदेशबाट विनायात्रुको जहाज भने नेपाल आउन पाउनेछन् । यहाँबाट विदेश जाने यात्रुलाई ती वायु सेवा कम्पनीले लैजान सक्नेछन् ।अन्तरराष्ट्रिय उडान स्थगन गरिए पनि आन्तरिक उडान भने यथावत् रहने महानिर्देशक पोखरेलको भनाइ छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायु सेवा कम्पनीले उडान सेवा सञ्चालन गरिरहेका छन् । रासस

श्री एयरलाइन्सले साेमबारदेखि काठमाडौं-सिमरा उडान भर्ने

काठमाडौं । श्री एयरलाइन्सले सोमबारदेखि काठमाडौं–सिमरा उडान शुरु गर्ने भएको छ । एयरलाइन्सले शनिबार एक विज्ञप्ती जारी गर्दै उडान सुरू गर्ने जनाएकाे हाे । तीन महिना अघि नै टेस्ट फ्लाइट गरिसकेको एयरलाइन्सले नयाँ गन्तव्य थप गरेको हो । श्रीले बिहान सवा ८ बजे काठमाडौंबाट उडान हुनेछ भने सिमराबाट बिहान ९ बजेर ५ मिनेटमा उडान गर्नेछ । साथै दिनको दोस्रो उडान दिउँसो ३ बजेर ४० मिनेटमा हुनेछ भने ४ बजेर ३० मिनेटमा सिमराबाट काठमाडौंका लागि उडान हुनेछ । कम्पनीका प्रबन्धक अनिल मानन्धरले काठमाडौं–सिमराका लागि शुरुवातमा प्रमोसनल शुल्क २ हजार ८ सय रुपैयाँ तोकिएको छ भने सिमरा–काठमाडौंका लागि २ हजार रुपैयाँ भाडा तोकेकाे बताए ।

चैत २१ गतेसम्म सञ्चय कोषले आर्थिक कारोवार बन्द गर्ने

काठमाडौं । कर्मचारी सञ्चय कोष, पुल्चोक ललितपुर शाखाले यही चैत २१ गतेसम्मका लागि सम्पूर्ण सञ्चयकर्तामार्फत हुने कर्जा प्रवाह र बचत सङ्कलन (आर्थिक कारोवार) बन्द गर्ने भएको छ । कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आर्थिक कारोवार बन्द गर्ने निर्णय भएको शाखाका प्रतिनिधि रामेश्वर श्रेष्ठले राससलाई जानकारी दिए । शाखाले प्रेस विज्ञप्ति जारी गरी अत्यावश्यक सेवा भने यथावत् राख्दै सञ्चयकर्तालाई भाइरसविरुद्ध उच्च सतर्कता अपनाउन आह्वानसमेत गरेको छ । रासस

कोरोनाबारे गलतसूचना सम्प्रेषण गर्नेविरुद्द अनलाइनबाट उजुरी गर्न सकिने

काठमाडाैं । प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा कोरोनाबारे अफवाह फैलाएर गलत सूचना सम्प्रेषण गर्नेविरुद्द उजुरी गर्न आग्रह गरेको छ । काउन्सिलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै केही मिडिया, सामाजिक सञ्जाल प्रयोगकर्ता र जिम्मेवारी व्यक्तिले अफवाह फैलाएकाे उल्लेख गर्दै त्यस्ताे गर्नेविरूद्द उजुरी गर्न आग्रह गरेको हाे । काउन्सिलले गलत सूचना, समाचार सम्प्रेषण नगर्न निर्देशनसमेत दिएको छ । साथै, संयमित हुनुपर्ने गम्भीर समयमा समाजका कतिपय जिम्मेवारी व्यक्तिले समेत आम मानिसलाई नै आतङ्कित र तरङ्गित बनाउने गरी केही मिडियामार्फत् अफवाह फैलाइरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । कसैले अफवाह फैलाउने सामग्री सम्प्रेषण भएको पाइएमा उजुरी गरेर सहयोग गरिदिनुहुन काउन्सिलले अनुरोध गरेको छ । त्यसका लागि  http://complain.presscouncilnepal.org वा[email protected] मा उजुरी गर्न सकिने जनाइएको छ ।

कोरोना भाइरसबाट सुरक्षित रहन हिमालयन बैंकले चाल्याे यस्ताे कदम

काठमाडौं । हिमालयन बैंकले कोरोना संक्रमणको महामारीबाट आफ्ना कर्मचारीहरु तथा ग्राहकहरुको सुरक्षाको लागि विभिन्न कदम उठाएको छ । जसबाच बच्न बैंकले स्यानिटाइजर तथा शरिरको तापक्रम जाँच्ने उपकरण प्रयोगमा ल्याएको छ । नेपाल सरकारले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन तथा नेपालमा फैलिन नदिन गरेको विभिन्न निर्णयहरुलाई आत्मसाथ गर्दै बैंकले उक्त कदम चालेको हो । आफू र आफ्नो नजिकका व्यक्ति संक्रमित नहुन् भन्नका लागि आफै सचेत हुनु जरुरी रहेकोले बैंकले आफ्ना शाखाहरुमा कर्मचारी तथा ग्राहकहरुका लागि आवश्यक स्यानिटाइजर राखी प्रयोग गर्न भनेको छ । त्यसका साथै बैंकले प्रत्यक्ष तथा दैनिक रुपमा विभिन्न व्यक्तिहरुसंग सम्पर्क गर्नु पर्ने भएकोले आफ्ना कर्मचारीहरु तथा ग्राहकहरुलाई कार्यलयमा प्रवेश गर्नुपूर्व अनिवार्य रुपमा शरिरको तापक्रम नापि निश्चित तापक्रम भन्दा बढि भएको ग्राहक तथा कर्मचारीलाई कोरोना भाइरसको बारेमा आवश्यक सचेतना प्रदान गर्ने तथा सुरक्षा रणनीति बताई चिकित्सकसँग आवश्यक परामर्श गर्न आग्रह गरेको छ ।

८ महिनामा साढे २२ प्रतिशतले बढ्याे निर्यात, आयात २ प्रतिशतले घट्याे

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आर्थिक वर्षको आठ महिनामा कूल आयात २ दशमलव ६२ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चालु आर्थिक वर्षको आठ महिनामा कूल ९ खर्ब २४ अर्ब २४ करोड २६ लाख ३५ हजार रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको तुलनामा करीब २५ अर्ब कम हो । गत आर्थिक वर्ष २०७५/७६ को सोही अवधिमा कुल ९ खर्ब ४९ अर्ब १० करोड ९८ लाख २८ हजार बराबरको आयात भएको थियो । यस्तै, सोही अवधिमा कूल ७४ अर्ब ९० करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । आर्थिक वर्ष २०७५/७६ का तुलनामा चालू आर्थिक वर्षको आठ महिनामा निर्यात कूल २२ दशमलव ३५ प्रतिशतले बढेको छ । सो आर्थिकमा कूल ६१ अर्ब २२ करोड ४२ लाख ८९ हजार बराबरको निर्यात भएको थियो । विभागका अनुसार मुलुकको कूल व्यापार नौ खर्ब ९९ अर्ब १५ करोड ५ लाख ८१ हजार रुपैयाँ बराबर भएको छ । गत आर्थिकमा भने १० खर्ब १० अर्ब ३३ करोड ४१ लाख १८ हजार रुपैयाँ बराबरको व्यापार भएको थियो । पछिल्ला दिनमा विश्वव्यापीरुपमा कोरोनाको सङ्क्रमण बढेपछि चीनबाट आयात हुने मालवस्तु रोकिएका छन् । भारतबाट भइरहेको आयात भने रोकिएको छैन । विभागका अनुसार सबैभन्दा बढी आयात तथा निर्यातसमेत वीरगञ्ज भन्सारबाटै भएको छ । चालू आर्थिक वर्षको आठ महिनामा सो भन्सारबाट कूल तीन खर्ब १५ अर्ब ४८ करोड १४ लाख १५ हजार बराबरको आयात भएको छ । प्रतिशतका आधारमा सो भन्सारको हिस्सा २३ दशमलब १३ रहेको छ । यस्तै सोही नाकाबाट कूल २३ अर्ब ७७ करोड ८० लाख पाँच हजार बराबरको निर्यात भएको छ । विराटनगर भन्सारबाट कूल रु ९९ अर्ब ४८ करोड २० लाख २५ हजार बराबरको आयात भएको छ । सोही भन्सारबाट कूल २० अर्ब ९९ करोड ४१ लाख ४४ हजार बराबरको निर्यात भएको छ । भैरहवा भन्सारबाट कूल एक खर्ब ५६ अर्ब ७७ करोड ५४ लाख ७३ हजार बराबरको आयात तथा दुई अर्ब २० करोड ९१ लाख १९ हजार बराबरको निर्यात भएको छ । वीरगञ्जस्थित सुख्खा बन्दरगाहबाट कूल एक खर्ब १७ अर्ब ६८ करोड १७ लाख ७७ हजार बराबरको आयात हुँदा एक अर्ब ७६ करोड बराबरको निर्यात भएको छ । उता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट कूल ९८ अर्ब ७४ करोड २९ लाख २४ हजार बराबरको आयात हुँदा १६ अर्ब ४५ करोड २२ लाख २४ हजार बराबरको निर्यात भएको छ । देशभर कूल २४ भन्सार कार्यालय सञ्चालनमा छन् । त्यसमध्ये १४ भन्सार कार्यालयबाट हुने निर्यात भने शून्यःप्राय छ । रासस

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा डोनेसन बक्स हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले मुस्ताङ जिल्लाको बारा मुक्तिक्षेत्र गाउँपालिका स्थित मुक्तिनाथ मन्दिरलाई डोनेसन बक्स प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त मन्दिरलाई बक्स हस्तान्तरण गरी सहयोग गरेको हो । उक्त सहयोगले मुक्तिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरुले चढाउने नगद रुपैयाँको व्यवस्थापनमा सहयोग पुग्नेछ । बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट डेभलपमेन्ट बैंकका शाखा प्रमुख राजिव पौडेलले गण्डकी प्रदेशका सांसद महेन्द्र बहादुर थकाली तथा मुक्तिनाथ बिकास समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्याललाई हस्तान्त्तरण गरेका हुन् । बैैंकले ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको जानकारी गराएको छ ।

यति एयरलाइन्सले पनि भाडा घटायो

काठमाडौं । यति एयरलाइन्सले पनि भाडा घटाएकाे छ । आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै यतिले हवाई भाडा घटाएको बताएको हो । यति एयरले अब भद्रपुरको भाडादर ९ हजारबाट अधिकतम सिमा ६२ सय रुपैयाँ कायम गरेको छ । बिराटनगरको ७ हजार ४ सय ४५ रुपैयाँबाट ५५ सय कायम गरिएको छ । भैरहवाको ६१ सयबाट ४९ सय कायम भएको छ । नेपालगन्जको ९ हजार ८ सय ५० बाट ६३ सय कायम गरिएको छ । पोखराको ५ हजारबाट ३७ सय रुपैयाँ कायम गरिएको छ । अन्य गन्तब्यको भने अधिकतम मूल्य यथावत राखिएको छ । यो दर लामो दूरीका सवारी साधन सञ्चालनमा नआएसम्मका लागि कायम रहने कमपनीले जनाएको छ । घटेको भाडादर १० चैतबाट २१ चैतसम्म कायम रहने भएको छ । आन्तरिक उडानतर्फ नेपालका तीन वटै ठूला एयरलाइन्सले भाडा घटाएका छन् । यति एयरलाइन्सले समेत भद्रपुर, बिराटनगर, भैरहवा, नेपालगन्ज र पोखराको लागि निर्धारित टिकटको माथिल्लो दर घटाएको छ । यसअघि बुद्ध एयरले आइतबार र श्री एयरलाइन्सले शनिबारनै अधिकतम् मूल्य घटाउने निर्णय गरेका थिए । संकटकालिन अवस्थामा वायुसेवा कम्पनीले अधिकतम् भाडा लिएपछि कम्पनीहरु व्यापक आलोचना भएको थियो । त्यसपछि शनिबार नै पर्यटन मन्त्री योगेश भट्टराईले भाडादर समायोजन गर्न सुझाव दिएका थिए  ।