देशैभर लामो दूरीका सवारीसाधन बन्द, काठमाडौंका सडक हुन थाले खाली
काठमाडौं । लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएसगैँ काठमाडौंका सडक खाली हुन थालेका छन् । सरकारले सोबारदेखि देशैभर लामो दूरीको सवारीसाधान सञ्चालनमा रोक लगाए पछि काठमाडौंका सडक खाली हुन थालेको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट बच्न सरकारले आजदेखि देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । कोरोना भाइरसको त्रास बढेसँगै सरकारले सावधानी अपनाउन सवारीसाधन बन्द गर्ने निर्णय लिएको थियो । कोरोनाभाइरस संक्रमण रोकथामका लागि सरकारले चैत १० देखि २१ गते सम्मकालागि लामो रूटका सार्वजनिक सवारीसाधन संचालन बन्द गर्ने घोषणा गरेको थियो । ७ चैत (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्दै आजदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनमा रोक लगाएको घोषणा गरेका थिए । केहिदिनयता गाडी नचल्ने भएपछि उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चैत ७ गते काठमाडौं उपत्याकाको विभिन्न नाका हुँदै १ लाख ३० हजार ८ सय २२ जना र चैत ८ गते २ लाख ६ हजार ३ सय ३९ जना यात्रु बाहिरिएका छन् । ९ चैतदेखि संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवाहरू देशैभर २१ चैतसम्मका लागि बन्द गरिसकिएको थियो । शिक्षण संस्थाहरू यसअघि नै बन्द भइसकेका छन् भने परीक्षा पनि स्थगित गरिसकिएको छ । सरकारी प्रावधान अनुसार लामो दूरी भन्नाले २५० किलोमिटरभन्दा टाढालाई मानिन्छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अहिलेको अवस्थामा रोगबाट जोगिन सबैले स्वास्थ्य सतर्कता अपनाउनका लागि लामो दूरीका सवारीसाधन बन्द गरिएको बताए ।
साेमबारदेखि नेपालका सबै सीमा नाका बन्द गर्ने मन्त्रिपरिषद्काे निर्णय
काठमाडाैं सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । साेमबार विहान १० बजेदेखि सबै नाका बन्द हुनेछ । भारतमा कोरोनाको संक्रमणकाे फैलावट उच्च रूपमा देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने निर्णय लिएकाे हाे । भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ । मन्त्रिपरिषदको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने निर्णय गरेको हो ।
सोमबारदेखि सेयर बजार बन्द, सेबोनको पक्षमा अर्थमन्त्री बोलेपछि नेप्से लत्रियो
काठमाडौं । सोमबारदेखि आगामी आइतबारसम्म सेयर बजार बन्द हुने भएको छ । आइतबार नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिले पाँच कार्यदिन सेयर काराेबार बन्द गर्ने निर्णय गरेकाे बाेर्डका कार्यकारी निर्देशक तथा प्रबक्ता निरज गिरीले जानकारी दिए । धिताेपत्र सम्बन्धि कानुनले पाँच दिनसम्म बजार बन्द गर्न निर्देशन दिन सक्ने अधिकार धिताेपत्र बाेर्डलाइ दिएकाेले साेही अनुसार निर्णय भएकाे उनले बताए । ‘आगामी आइतबारसम्म सेयर बजार बन्द हुन्छ । त्यसपछि अवस्था हेरेर बाेर्डले निर्णय लिन्छ’ विकासन्युजसँग प्रवक्ता गिरीले भने । आइतबार विहानैदेखि सेयर कारोबार खुला गर्ने कि बन्द गर्ने भन्ने विषयमा विवाद भएको थियो । नेपाल धितोपत्र बोर्डले पुँजी बजार अत्यावश्यक सेवाभित्र नपर्ने जनाउँदै कारोबार बन्द गर्न बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्जलाई मौखिक निर्देशन दिएको थियो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनका आधारमा बजार बन्द गर्नुपर्ने धितोपत्र बोर्डको भनाई थियो । पुँजी बजारका अगुवा लगानीकर्ताले पनि गत विहीबार देखि नै कोरोना महामारीका कारण बजार संकटमा परेको तर्कसहित बजार बन्द गर्न माग गरेका थिए । तर नेप्सेले सेयर बजारलाई सधैं स्वतन्त्र छोड्नु पर्ने र सेयर किन्ने वा बेच्ने लगानीकर्ताको संबैधानिक अधिकार हनन् गर्न नहुने तर्क गर्दै बजार बन्द नगर्ने अढान लिएको थियो । २०७२ सालमा भने भूकम्प पछि पनि सेयर बजार २२ दिन बन्द गरेर खुला गरिएको थियो । बजार बन्द गर्न बोर्डले दिएको निर्देशनको पालना नेप्सेले नगरेपछि अर्थमन्त्रीले आईतबार धितोपत्र बोर्ड र नेप्सेका अध्यक्ष, कार्यकारी प्रमुख र सञ्चालकहरु राखेर सहमतिको प्रयास गरेका थिए । बैठकमा धितोपत्र बोर्डबाट अध्यक्ष भिष्मराज ढुंगान, सञ्चालक यज्ञप्रसाद ढुंगेल, कार्यकारी निर्देशक निरज गिरी सहभागि थिए भने नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, सञ्चालक रमेश अर्याल र महाप्रबन्धक चन्द्रसिंह साउद सहभागि थिए । बैंठकमा अर्थमन्त्री युवराज खतिवडाले नियामक निकायले गरेको निर्णय अनुमति प्राप्त संस्थाले मान्नु पर्ने सामान्य अभ्यासको पनि परिपालना नभएको र सानोतिनो विषयमा अनावश्यक विवाद गरेको टिप्पणी गरेका थिए । २०७२ सालको भूकम्पपछि २२ दिन बजार बन्द भएको उदाहरण दिदै अर्थमन्त्रीले संकटको बजारमा बजारमा स्थायीत्व दिन नियामकले आवश्यक निर्णय लिनु पर्ने उनको भनाई थियो । स्रोतका अनुसार दुई पक्षीय बैठकमा अर्थमन्त्रीले सेबोनको पक्ष लिएपछि नेप्सेका पदाधिकारीहरु लत्रिएको थिए । बैंठकमा नेप्सेका पदाधिकारीले धितोपत्र बोर्डको लिखित निर्देशन आएपछि त्यसका पालना गर्ने बताएका थिए । स्रोतका अर्थमन्त्रालयमा भएको बैठक सकिएपछि साँझ धितोपत्र बोर्डको सञ्चालक समितिले यो साताको लागि सेयर बजार बन्द गर्ने निर्णय लिएको हो ।
काेराेनाकाे जाेखिम न्यूनिकरण गर्न नेपाल बैंककाे १ कराेड सहयाेग
काठमाडाैं । नेपाल बैंक लिमिटेडले कोरोनाको जोखिमलाई न्युनिकरण गर्न १ करोड रुपैयाँ सरकारलाई सहयोग गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणबाट सृजना हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नागरिकलाई बचाउनका लागि बैंकले साे रकम सहयाेग गर्ने निर्णय गरेकाे हाे । बैंक सञ्चालक समितिको बैठकले कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न सरकारले गरिरहेकाे काममा सघाउ पुर्याउने उद्धेश्यले साे रकम सहयाेग गर्ने निर्णय गरेकाे हाे । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम सहयोग गर्ने भएको हो । उक्त रकम सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा गरिने बैंकले जनाएकाे छ ।
पशुपतिनाथमा एक पटकमा १० जनालाई मात्र प्रवेश गर्न दिने
काठमाडाैं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा एक पटकमा १० जना मात्रै भक्तजनलाई मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ । पशुपति क्षेत्र विकास कोषाध्यक्ष डा. मिलनकुमार थापाको अध्यक्षतामा आज बसेको बैठकले १० जनाले दर्शन गरेपछि मात्रै थप १० जनालाई पालैपालो प्रवेश गर्न दिने निर्णय गरेको हो । त्यस्तै, विद्युतीय शव दाह गृहमा ७ जना भन्दा बढी मलामिलाई प्रवेश गर्न निषेध गरिएको छ । त्यस्तैगरि पसुपति नाथको मन्दिरमा गरिने विशेष पूजालाई अक्रो सूचना नभएसम्मका लागि स्थगत गरिएको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै, जल अभिषेक गर्दा र बेलुकाको आरतीमा बस्ने भक्तजनहरुलाई अर्को सूचना नभएसम्मका लागि उपस्थित नहुन सुचित गरिएको छ ।
सेयर बजार ५ दिनसम्म बन्द गर्ने निर्णय
काठमाडाैं । धितोपत्र बोर्डले सेयर बजार ५ दिनसम्म बन्द गर्ने निर्णय गरेकाे छ । बाेर्डमा आइतबार बसेकाे बैठकले सेयर बजार ५ दिनसम्म बन्द गर्न निर्देशन दिने निर्णय गरेकाे हाे । बोर्ड स्रोतका अनुसार सोमबारदेखि कार्यदिनसम्म सेयर कारोबार हुने छैन । अर्काे साताको लागि भने परिस्थिती हेरेर निर्णय हुने छ । शुक्रबार प्रधामन्त्री केपी शर्मा ओलीले सम्बोधनको क्रममा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने घोषणा गरेका थिए । अत्यावश्यक सेवामा सेयर बजार नपर्ने भएपनि आइतबार दिनभर लगानीकर्ताका संगठन र नेप्सेबीच सेयर कारोबार खोल्ने कि बन्द गर्ने भन्ने विषयमा विवाद भएर याे निर्णय भएकाे हाे ।
बाहुबली सिमेण्टले वितरण गर्याे स्यानीटाइजर र मास्क
काठमाडौं। बाहुबली सिमेण्टको उत्पादक बालाजी सिमेण्ट इण्डष्ट्रिज प्रा.लि. ले कोरोना भाइरस (कोभिड-१९) संक्रमण हुनबाट जोगिन स्यानीटाइजर र मास्क वितरण गरेकाे छ । विश्वभर नाक मुख मास्कले ढाक्ने र हातधुने अभियान नै चलाइएको परिप्रेक्ष्यमा कम्पनीले पनि एभरेस्ट प्यारेन्टरल्स् प्रा.ली.को सहकार्यमा उक्त अभियान शुरू गरेकाे हाे । कोरोना भाइरस व्यक्तिदेखि व्यक्तिमा सर्ने अधिकतर जोखिमयुक्त भएको अध्ययनहरुले देखाएका छन् । हाल नेपालमा पनि यो भाइरसको रोकथामको प्रयास भैरहेका छन्, जसको लागि नेपाल सरकार तथा नागरिकहरु एवं जिम्मेवार निकायहरुले भरमग्दूर प्रयास गरिरहेका छन् । यसै सन्दर्भमा कम्पनीले पनि कोरोना भाइरस फैलिन नदिनआम नागरिकहरुलाई हातधुन स्यानीटाइजर र नाकमुख ढाक्न मास्क वितरण गर्ने कार्य अघि बढाएको छ । उक्त वितरण कार्य काठमाडौं उपत्यका भित्रका धेरै भिडभाड हुने विभिन्न स्थानहरुमा गरिएका छन् । ‘हामी चाहन्छौं देश कोरोनाको त्रासबाट आक्रान्त भैरहेको यस घडीमा यहाँका नागरिकहरुलाई सीमित संख्यामै भएपनिमास्क र स्यानीटाइजर वितरण गरेर उनीहरुको स्वास्थ्य सुरक्षित बनाउन सकौं । वास्तवमा भन्ने हो भनें देशको एक उद्या्ेग भएको नाताले यो हाम्रो सामाजिक दायित्व पनि हो, देशलाई परेको बेलामा साथदिनहामीकहिल्यै पछि पर्ने छैनौ ।’ बालाजी सिमेण्ट इण्डष्ट्रिज प्रा.लि.का प्रवन्ध निर्देशक गौरव गाडियाले भने । हाल काठमाडौं उपत्यकामा वितरण गरिए पनि यदि आवश्यक परेमा यो अभियानलाई देशैभर फैलाउने लक्ष्य कम्पनीले लिएको छ ।
ज्याकमा र अलीबाबा फाउन्डेसनले नेपालसहित १० एशियाली राष्ट्रलाई चिकित्सा सामाग्री प्रदान
काठमाडौं । ज्याकमा र अलीबाबा फाउन्डेशनले एसोसियाका १० थप देशलाई कोरोना भाइरस (कोभिड १९) बिरूद्धको विश्वव्यापी लडाईमा चिकित्सा सामाग्रीहरु प्रदान गर्ने योजनाको घोषणा गरेको छ । अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलंकाका सरकारहरूले यीदुई संस्थाहरू मार्फत १८ लाख मास्क, २ लाख १० हजार, कोभिड १९ टेस्ट किट, ३६ हजार सुरक्षात्मक कपडाहरुका साथै भेन्टीलेटर, निधार थर्मोमिटर र अन्य धेरै अत्यावश्यक चिकित्सा उपकरण र सामाग्रीहरु प्राप्त गर्ने छन् । ‘एसियाका थप १० देशहरूमा आपतकालिन सामाग्रीहरु प्रदान गर्नेछौं’ ज्याकमाले आफ्नो ट्विटर खाता मार्फत उनका फाउण्डेशनका प्रतिज्ञा घोषणा गरे । ‘छिटो डेलिभर गर्नु सजिलो छैन, तर हामी यसलाई पूरा गर्ने छौं ।’ यस्तो विशाल संख्यामा वितरण गर्दा हुने चुनौतीलाई जीत्न इलेक्ट्रोनिक वल्ड ट्रेड प्लेटफार्म इडब्लुटीपीको उपयोग गरीनेछ । ‘महामारीको प्रकोपले विश्व व्यापी लजिस्टिक्स्मा चुनौतीहरू ल्याएको छ । इडब्ल्यूटीपीको सहयोगका साथ, हामी दुर्गम समुदायसम्म अत्यावश्यक सामाग्रीहरुको वितरण छिटो भन्दा छिटो गर्न सक्दो कोशिश गरिरहेका छौं’ इडब्ल्यूटीपीका महासचिव जुन्ता ओ सङले भने । दुई संस्थाहरूले मलेसिया, इन्डोनेसिया, थाईल्यान्ड र फिलिपिन्सलाई चिकित्सा सामाग्रीहरु अनुदान गर्ने घोषणा भएको गरेका थिए ।