विकासन्युज

कोरोनाले प्रभाव नपारेको माथिल्लो तामाकोशीको काम ९९ प्रतिशत सम्पन्न

काठमाडौं । बाँधलगायत हेडवक्र्सको प्राविधिक परीक्षण गरिरहेको माथिल्लो तामाकोशी आयोजनाको काममा अहिलेसम्म कोरोना भाइरसको प्रकोपले खासै प्रभाव नपारेको आयोजनाले जनाएको छ । स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा अहिले बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट, स्टपलगलगायत अन्य हेडवक्र्सका संरचनाको प्राविधिक परीक्षण शुरु भइरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए । उनका अनुसार परीक्षणका क्रममा बाँधमा पानी राखेर परीक्षण शुरु गरिएको र अहिलेसम्मको परीक्षण राम्रो रहेको छ । परीक्षणको काम आवश्यकताअनुसार दुई हप्तासम्म चल्न सक्ने परीक्षणमा संलग्न प्राविधिकहरुले बताएका छन् । आयोजनामा मुख्य कामदार र प्राविधिक चिनियाँ, इटालियाली र भारतीय नागरिक छन् तर उनीहरु कोरोनाको समस्या हुनुअघिदेखि नै निरन्तर आयोजनाको काममा नै रहेकाले समस्या नभएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए । आयोजनामा ठेकेदार कम्पनीको काममा अहिलेसम्म समस्या नभए पनि कन्सल्टेन्टको काममा भने केही समस्या देखिएको छ । कोरोना भाइरसको प्रकोपपछि आयोजनाको कन्सल्टेन्ट कम्पनीमा काम गर्ने विज्ञ तथा प्राविधिकले अहिले आफ्नै घरबाट निर्देशन गरिरहेको आयोजनाले जनाएको छ । नेपालमा कोरोनाको समस्या नरहेको र आयोजनामा काम गर्ने कामदार, प्राविधिकहरु कोरोना प्रकोपअघिदेखि नै काममा रहेकाले समस्या नभएको तर आजदेखि भने आयोजनाको भ्रमणमा बाहिरको मानिसलाई आउन नदिइने श्रेष्ठले बताए । आयोजनाको काम अहिलेसम्म ९९ दशमलव चार प्रतिशतले काम सकिएको र आगामी असारभित्र एउटा टर्वाइनबाट ७६ मेगावाट परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको श्रेष्ठले जनाए । आयोजनामा छ वटा टर्वाइन रहेको र प्रत्येक टर्वाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन हुने उनको भनाइ छ । विसं २०६७ भदौ १७ गतेदेखि मुख्य सिभिल निर्माणकार्य शुरुआत गरिएको यस आयोजनामा विसं २०७२ वैशाख महिनामा गएको भूकम्प र त्यसपछिको तराई आन्दोलन तथा लामोसाँघु चरिकोट सडकको स्तरोन्नतिका कारणले निर्माण सम्पन्न हुने अवधिमा विलम्ब हुन गएको आयोजना प्रवक्ता डा गणेश न्यौपानेले बताए । प्रवक्ता न्यौपानेले भने, “वर्तमान कार्यप्रगतिका आधारमा यस आयोजनाबाट विसं २०७७ को असार मसान्त या साउन पहिलो साताभित्र परीक्षण उत्पादन शुरु गरिने र कुनै समस्या नभए त्यसले निरन्तरता पाउने छ ।” दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको यो आयोजनाका लागि ब्याजबाहेक ४९ अर्ब २९ करोड रूपैयाँ लागत प्रक्षेपण गरिएको जनाइएको छ । रासस

बुद्ध एयरका ६ जहाज ग्राउन्डेड

काठमाडाैं । बुद्ध एयरले आफ्ना ६ जहाज ग्राउन्डेड गर्ने भएको छ। नेपालमा आन्तरिक उडान गर्ने निजी क्षेत्रको सबैभन्दा ठूलो एयरलाइन्स बुद्ध एयरले आफ्ना ६ जहाज ग्राउन्डेड गर्ने भएको हाे। कर्मचारी र यात्रुको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राख्दै उडान संख्या घटाउने निर्णय गरेको हो। कोरोनाको जोखिमका कारण एकातिर यात्रुहरु पाइनै छाडेको अर्कोतिर स्वास्थ्य जोखिम पनि बढेका कारण भोलिदेखि ६ जहाज ग्राउन्डेड गर्न लागिएको बुद्ध एयरले जानकारी दिएकाे छ । बुद्धले उडान भने जारी राख्ने बताएको छ। यसका लागि कर्मचारीहरुलाई आलोपालो मिलाएर बिदा बस्न निर्देशन दिइसकेको छ । हाल बुद्धसँग १३ जहाज छन् ।

सेलपेबाट सित्तैमा रकम स्थानान्तरण गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले रकम स्थानान्तरण सेवा निस्शूल्क उपलब्ध गराउने भएको छ । बैंकले हालको स्थितिलाई ध्यानमा राखी भिडभाड र हुलमुल कम गर्नको लागि आगामी बैशाख १८ गतेसम्मको लागि उक्त सेवामा छुट दिएको हो । सेलपेका ग्राहकहरुले सेलपे एप्पबाट आफ्नो घरमै बसी सरल र सहज माध्यमबाट वास्तविक समयमा कुनै पनि सेलपेमा आवद्ध भएका बैंकहरुका ग्राहकलाई रकम स्थानान्तरण गर्दा कुनै पनि सेवा शूल्क नलाग्ने व्यवस्था मिलाईएको छ । हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि सरकारबाट कुनै पनि प्रकारको भिडभाड र हुलमुल नगर्न सुझाव आएको हुँदा उक्त व्यवस्था मिलाएको हो । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।

कैलालीमा निषेधाज्ञा जारी

काठमाडाैं । कोरोना भाइरसको रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले अहिले २ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । संघीय सरकारको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशका पनि सबै नाका बन्द भइसकेको अवस्थामा कैलालीमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । सोमबार बिहानै देखि सुदूरपश्चिम प्रदेशका मुख्य शहर कैलालीको धनगढी, अत्तरिया, टीकापुर तथा कंचनपुरको महेन्द्रनगर बजार पूर्ण रुपमा बन्द रहेका छन् । भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै भारतको सीमा नाकासँग जोडिएका यी शहरहरुमा आवात जावत देखि हिँडडुलमा कडाई गरिएको छ । यसअघि आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यू नै जारी गरेको छ ।

नेपाली कामदार फिर्ता गर्न थाले विदेशी कम्पनी, दुई देशका ३ सय ३६ जना फिर्ता गर्न पत्राचार

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीलाई रोजगारदाता कम्पनीले फिर्ता गर्न थालेका छन् । विश्वभर फैलिएको कोरोना सन्त्रासको कारण कम्पनी बन्द भएकोले कामदार फिर्ता प्रक्रियामा त्यस्ता कम्पनी लागेका हुन् । यसै क्रममा दुबई र बहराईनका कम्पनीहरुले ३ सय ३६ नेपाली स्वदेश फिर्ता पठाउने प्रक्रिया सुरु गरेका छन् । ती दुई देशका कम्पनीहरुले नेपालका वैदेशिक रोजगार व्यवसायीलाई पत्र पठाउँदै कामदार फिर्ता लैजान आग्रह गरेका छन् । दुबइ र बहराइनका कम्पनीले नेपाली कामदार फिर्ता लिन आग्रह गर्दै वैदेशिक रोजगार व्यवसायी संघ तथा सम्बन्धित म्यानपावरलाई पत्र पठाएका हुन् । वैदेशिक रोजगार रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारीमा विभिन्न मुलुुकका रोजगारदाता कम्पनी बन्द भएसँगै नेपालीलाई फिर्ता पठाउने पत्र आउन थालेको बताए । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले वैदेशिक रोजगारीमा तथा अध्ययन एवंम भ्रमणका लागि विदेशीयका नागरिकको अवस्थाप्रति संसारभरका सरकार केन्द्रित भएका छन् । ‘हालसम्म बहराईन र दुबईका ८ कम्पनीमा कार्यरत ३ सय ३६ नेपाली कामदारलाई फिर्ता पठाउन कम्पनीले सन्देश संप्रेषण गरेका छन्’ महासचिव श्रेष्ठले भने । बहराईनको राजधानीमा रहेको फोर सीजन होटलमा कार्यरत ४८ नेपालीलाई नेपाल फिर्ता गर्ने तयारी भएको भन्दै उक्त होटलले सूचना पठाएको छ । कोरोना भाइरसको संक्रमण फैलिए र होटल बन्द भएसँगै त्यहाँ कार्यरत सबै विदेशी नागरिकलाई आफ्नो देश फर्काइरहेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघलाई पत्राचार गरेको छ । मिलेनियम् एयरपोर्ट होटेल दुबई बन्द भएसँगै त्यस होटलमा कार्यरत ४ नेपालीलाई नेपाल फर्काउने तयारी गर्दै कम्पनीले पत्रचार गरेको थियो । ग्रान्ड कोज्मोपलिटन् होटल, दुबईमा कार्यरत १९ नेपाली कार्यरत छन् । कोरोना भाइरसको संक्रमणकै कारण होटल बन्द भएसँगै नेपाल फिर्ता पठाउन पत्रचार गरेको छ । दुबईमा रहेको ५ तारे रेडिसन होटल बन्द भएसँगै त्यहाँ कार्यरत ४७ जना नेपाली देश फर्काउनका सन्देश प्राप्त भएको छ । त्यस्तै दुर्बइमा रहेको अर्काे ५ तारे होटल इन्टरकन्टिनेंटल पनि बन्द भएको भन्दै त्यहाँ काम गरिरहेका १ सय २० जना नेपालीलाई नेपाल फर्काउन पत्र आएको छ । क्राउन प्लाजा दुबई पनि बन्द भएको छ । त्यहाँ रहेका ७८ जना नेपालीलाई नेपाल फर्काउन पत्र आएको छ । उक्त प्लाजाभित्र रहेका १२ वाटै रेष्टुरेन्ट बन्द भइसकेको जानकारी आएको छ । नियमित रुपमा देशभरिका धेरै कार्यक्रम हुने तथा खेलाडीको आकर्षित गर्न अब्बल रहेको अबूधाबी गल्फ क्लब बन्द भएको छ । त्यहाँ रहेका १३ जना नेपाली फर्काउन उक्त क्लबले पनि सन्देश पठाएको छ । दुबईमा रहेको अरबियन होटल ग्रुप पनि बन्द भएको र त्यहाँ रहेका ७ जना नेपालीलाई नेपाल फर्काउन उक्त कम्पनीबाट सन्देश प्राप्त भएको श्रेष्ठले जानकारी दिए । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको जुनसुकै मुलुकमा रहेका नागरिकलाई रोग संक्रमण भएमा दुवै देशको सहमतिविना पठाउन नपाउने घोषणा गरेको छ ।

आज क्षणिक वर्षाको सम्भावना

काठमाडाैं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली भई अपराह्नबाट उपत्यकासहित देशको धेरैजसो स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रिमनसुनसँगै स्थानीय वायु सक्रिय भएकाले अपराह्नपछि बदली भई वर्षा भएको वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताए । उनका अनुसार प्रिमनसुनको समय भएकाले पहाडी भू–भागको मौसम अपराह्नपछि परिवर्तन भइरहन्छ । प्रिमनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने मौसमविद्को भनाइ छ । मार्चदेखि शुरु हुने प्रि मनसुन मेसम्म चल्छ । भोलि देशको पश्चिमी भूभागमा सामान्य बदली रही पश्चिम पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जनाइएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम आठ दशमलव चार डिग्री र अधिकतम तापक्रम २४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

काेराेना राेकथामका लागि कृषि विकास बैंककाे एक करोड २५ लाख सहयाेग

काठमाडौं । कृषि विकास बैंकले कोरोना कोषमा एक करोड २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणकाे लागि नेपाल सरकारद्वारा स्थापना गरिएको उक्त कोषमा बैंकले सो मात्राको रकम सहयोग स्वरुप उपलब्ध गराएको हो । कोभिड-१९ कोरोना नामक भाईरसले आम विश्वसमुदायलाई त्रसित बनाई रहेको यस अवस्थामा नेपाल र नेपाली जनता पनि उच्च जोखिममा रहेको यस विपतको घडीमा कोभिड-१९ कोरोना नामक भाईरससंग सावधानी पूर्वक डटेर सामाना गर्नका लागि व्यक्तिगत सुरक्षा सामाग्री, स्वास्थ्य उपकरण, नमूना परिक्षण किट र क्वारेण्टाईन लगायत अत्यावश्यक सामग्री स्वास्थ्य व्यवस्थाको उचित प्रबन्ध मिलाउन उक्त सहयोग गरेको हो । मन्त्रिपरिषद्को आइतबार साँझको बैठकले कोरोना संक्रमणका विरूद्ध ५० करोडको कोषको घोषणा गरेको थियो। सो कोषमा मन्त्रीहरूबाट एक महिनाको पारिश्रमिक योगदान गर्ने बताइएको थियो।

वीरगञ्ज नाकाबाट भारत प्रवेश गर्नेको लर्को

काठमाडाैं । सरकारले भारत र चीनसँग जोडिएको सबै नाकामा एक साताका लागि आवागमन बन्द गर्ने निर्णय गरे पनि प्रदेश नं २ को वीरगञ्ज नाकाबाट भारत प्रवेश गर्नेको आज बिहानैदेखि लर्को लागेको छ । सरकारले गरेको उक्त निर्णय कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई निर्देशन दिए पनि एकाबिहानै काठमाडौँलगायत नेपालका विभिन्न शहरमा काम गर्ने भारतीय आफ्नो देश फर्किने क्रममा वीरगञ्ज नाका हुँदै भारततर्फ जानेहरुको बिहानैदेखि ताँती नै लागेको थियो । अति आवश्यक सामान बोकेका मालबाहक ट्रक, तेल बोकेका ट्याङ्कर एकाबिहानै भारतबाट वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गरेको छ । भारतबाट नेपाल आउने पैदलयात्रीलाई जाँच गरी तथा हेल्थ डेस्कमा स्वास्थ जाँच गरी छाड्दै गरेको छ । त्यहाँ रहेका वीरगञ्ज महानगरपालिकाका अहेव जितेन्द्रप्रसाद गुप्ताले थर्मामिटरबाट सामान्य जाँच गरी छाड्ने गरेको छ । एक जना मात्र स्वास्थकर्मीले पैदलयात्रीलाई स्वास्थ जाँच गर्ने गरेकाले भीडको कारण समस्या परेको बताएका छन् । आज बिहानैदेखि नेपालबाट भारत तथा भारतबाट नेपालतर्फ एक हजारभन्दा बढी पैदलयात्री प्रवेश गरेको त्यहाँ रहेका सशस्त्र प्रहरीले जनाएको छ । भारतको विहारमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएपछि सो रोगको सङ्क्रमण फैलिन नदिन नेपाली सीमामा रहेका सशस्त्र प्रहरी तथा नेपाली सेनाले कडाइका साथ जाँच गर्ने गरेको स्थानीय प्रशासनले जनाएको छ । यसैबीच जिल्ला प्रसाशन कार्यालय पर्साको आइतबार बसेको सुरक्षा समितिको बैठकले भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले वीरगञ्ज रक्सौल नाका भएर नियमितरूपमा आवतजावत गर्नेबाहेक भारतका विभिन्न स्थानबाट आउने भारतीयलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो । रासस