कोरोना संक्रमणको त्रासबीच कसरी चल्दैछन् बीमा कम्पनीहरु ?
काठमाडौं । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस संक्रमणबाट बच्न नेपालमा पनि उच्च शतर्कता अपनाइएको छ । सरकारले चैत महिनाभरको लागि उच्च शतर्कताका विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । अन्य कार्यक्रमसँगै सरकारले यो समयमा अत्यावश्यक बाहेकका प्रायः सबै सेवा बन्द गरेको छ । अत्यावश्यक सेवामा अन्य १९ वटा सेवासँगै बीमा पनि पर्छ । त्रासका बीच बीमा कम्पनीहरुले कसरी सेवा प्रदान गरिरहका छन् वा कसरी बीमा कम्पनी संचालन भइरहेका छन् भन्ने विषयमा हामीले जीवनी बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुको संस्था जीवन बिमक संघ र निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था निर्जीवन बिमक संघका अध्यक्षसँग बुझ्ने प्रयास गरेका छौं । यो त्रासको बीचमा पनि सेवा प्रवाहमा कुनै सम्झौता नगरी ग्राहकलाई सकेसम्म धेरै सेवा दिने प्रबन्ध मिलाइएको संघहरुका अध्यक्षले जानकारी दिए । जीवन बिमक संघको अध्यक्ष सूर्या लाइफ इन्स्यारेसन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे छन् भने निर्जीवन बिमक संघको अध्यक्ष शिखर इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे छन् । जीवन बिमक संघ जीवन बिमक संघका अध्यक्ष तथा सूर्या लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शिवनाथ पाण्डे सेवा प्रवाहमा ग्राहकलाई अप्ठेरो नपर्ने व्यवस्था कम्पनीहरुले गरेको बताउँछन् । कोरोना भाइरस संक्रमणको त्रास तथा सरकारले अत्यावश्यक बाहेकका सेवा बन्द गरेकोले कार्यालय खोल्न गाह्रो भएपनि कम्पनीहरुले अधिकतम प्रयास गरेर सेवा सुचारु गरिरहेको बताए । ‘यस्तो बेलामा कार्यालय खोलेर सेवा प्रवाह गर्न सजिलो छैन, तर बीमा व्यवसाय अत्यावस्यक सेवाभित्र पर्ने भएकोले हामीले हरसम्भव प्रयास गरेर सेवा प्रवाह गरिरहेका छौं,’ सूर्या लाइफ इन्स्यारेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पाण्डेले भने । जीवन बिमक संघले सेवा संचालन गर्नको लागि यस्ता निर्णय गरेको छः १. नेपाल राजपत्र बमोजिम बीमा सेवा अत्यावश्यक सेवा भएको र नेपाल सरकारबाट मिति २०७६।१२।९ देखि २०७६।१२।२१ आवश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय भएकाले जीवन बीमा व्यवसाय गर्ने कम्पनीले सोही बमोजिम जीवन बीमा सेवा सुचारु रुपमा संचालन गर्ने । २. जीवन बीमा कम्पनीहरुले बीमा सेवा सुचारु गर्दा कोभिड १९ भाइरसबाट कर्मचारी, अभिकर्ता तथा सेवाग्राहीलाई पर्न सक्ने असरलाई न्यूनीकरण गर्न स्वास्थ्य सम्बन्धि आधारभूत सुरक्षाका उपयुक्त उपायहरु अवलम्बन गर्ने । ३. कर्मचारी, अभिकर्ता तथा सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर नपरोस भन्ने उदेश्यले न्यूनतम कर्मचारीबाट बीमा सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउँने । ४. विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै बीमा अभिकर्ताको इजाजतपत्र नविकरण गर्ने म्याद थप गर्न बीमा समितिमा अनुरोध गर्ने । ५. विकसित घटनाक्रमलाई मध्यनजर गर्दे संघले सम्बन्धित सरोकार व्यक्ति तथा बीमा समितिसँग आवश्यक छलफल तथा पारामर्श गरी उपयुक्त निर्णय लिदै जाने । निर्जीवन बिमक संघ निर्जीवन बिमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिपप्रकाश पाण्डेले निर्जीवन बीमा कम्पनीहरु पनि यथासम्भव बढी सुविधा दिने प्रयत्नमा रहेको बताए । कोरोना संक्रमण सन्त्रासको समयमा कार्यालय खोलेर सेवा प्रवाह सुचारु राख्नु चुनौतिपूर्ण भएपनि आफूहरुले त्यसको उचित व्यवस्थापन गरेको अध्यक्ष पाण्डेको भनाइ छ । निर्जीवन बीमा कम्पनीहरुले विगतमा दिए जस्तै सेवा दिनको लागि आवश्यक प्रबन्ध मिलाएको उनको भनाइ छ । ‘हामीले जे जति समस्या र अप्ठेरो भोग्नुपरे पनि ग्राहकलाई प्रदान गर्ने सेवामा कुनै कमी आउन नदिने गरी प्रबन्ध मिलाएका छौं, अहिले पनि हिजोका दिनमा ग्राहकले जे जस्तो सेवा पाउनु भएको थियो, त्यस्तो सेवा पाउनु भएको छ, फोनबाट हुने काममा फोनबाटैै तथा अन्यका कामका लगि २४ सै घण्टा हामी सेवामा समर्पित छौं,’ शिखर इन्स्यारेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पाण्डेले भने । मुख्य कुरा दाबी–भुक्तानी रहेको र आपूmहरुले त्यसमा कुनै अवरोध नआउने गरी आवश्यक प्रबन्ध मिलाइएकोले ग्राहकलाई अप्ठेरो नपर्ने उनको भनाइ छ ।
उपत्यकामा दुई दिन बत्ती नबल्ने, कुन-कुन ठाउँमा हाे हेर्नुस् ?
काठमाडौँ । चैत ११ र १२ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उपत्यकाका विभिन्न ठाउँमा बत्ती जाने भएकाे छ । नेपाल विद्युत प्राधिकरणले दुई दिन कुलेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युत् लाइन अवरुद्ध हुने बताएकाे हाे । कलङ्कीदेखि ढुंगेधारा सम्मको चक्रपथ विस्तार कार्यको लागि स्वीचाटार– स्वयम्भू फिडरबाट वितरित एच टी लाइनको जम्पर छुटाइ कार्य गर्नुपर्ने भएकोले बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सो लाइनको विद्युत् अवरुद्ध हुने भएको हो । उक्त फिडर अन्तर्गत बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानीलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फ्याक्ट्री लगायतका ग्राहकमा असुविधा पर्ने भएको छ । प्राधिकरणले निर्धारित समय अगावै सो कार्य सम्पन्न भएमा समय भन्दा अगावै लाइन सुचारु गर्ने जनाएको छ ।
कोरोना रोकथाम कोषमा ग्लोबल आइएमई बैंकको १ करोड १५ लाख सहयोग
काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले चैत्र ९ गते घोषणा गरेको “कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष” मा रु. १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ । साथै, सोही प्रयोजनार्थ कान्तिपुर पब्लिकेशनद्वारा स्थापित “कान्तिपुर कोभिड–१९ रोकथाम” कोषमा बैंकले रु १५ लाख आर्थिक सहयोग प्रदान गरेकोे छ । कोभिड–१९ ले विश्वसमुदायलाई त्रसित बनाइरहेको र नेपाल पनि उच्च जोखिममा रहेको यस घडीमा सरकारसँग हातेमालो गर्दै बैंकले उक्त रकम उपलब्ध गराएको हो । यस योगदानबाट कोरोना भाईरस विरुद्व लड्न नेपाल सरकारलाई थप प्रेरणा र सहयोग पुग्ने विश्वास बैंकले लिएकोे बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश ढकालले बताए । बैंकले आफ्नो स्थापनाकालदेखि नै विभिन्न दैवीक प्रकोप तथा अन्य विपतमा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ । साथै बैंकले आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने जनाएको छ ।
सांसद बस्नेतको एक महिनाको तलब कोरोना नियन्त्रण कोषमा
काठमाडाैं । सांसद महेश बस्नेतले कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन् । साेमबार सांसद बस्नेतले आफ्नो सांसदबापत सरकारी सेवाबाट प्राप्त भएको एक महिनाको तलब कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् । उनले सरकारको निर्देशनलाई अवज्ञा नगरी, आतङ्कित नभई सेल्फ क्वारेन्टाइनमा बस्न सबैलाई आग्रह समेत गरेका छन् । सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको बताउँदै उनले कोरोना भाइरसको सङ्क्रमणबाट आतङ्कित हुने नभई सावधानी अपनाउन आम नेपाली नागरिकलाई आग्रह गरेका छन्।
‘क्यू आर ६५२’ नम्बरको फ्लाइटका २ सय ५ जना यात्रुलाई काेराेना परीक्षण गर्ने कि ?
काठमाडौं । चैत ४ गते कतारको दोहाबाट नेपाल आएकी एकजना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि अहिले झन ठूलाे त्रास फैलिएकाे छ । नेपालमा अहले सम्म एक जनामा पनि काेराेना देखिएन भन्ने हल्ला चलिरहेका बेला उनमा काेराेना पाेजेटिभ देखिएपछि त्रसित बनेका हुन् । अहिले मानिसहरू त्याे घटनालाइ लिएर विभिन्न किसिमका टिकाटिप्पणी गर्न थालेका छन् । कतिले उनकाे घरपरिवारलाई पनि चेकजाँच गर्न भनिरहेका छन् भने कतिपय त उनीसँगै हवाइमा आएका सबैलाई चेकजाँच गर्नु पर्ने आवाज उठाइरहेको छन् । सोमबार कतार एयरवेजबाट नेपाल आएकी ती विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि उनीसँग आएका अन्य यात्रुले पनि परीक्षण गनुपर्ने धारणा नागरिकले मात्र हाेइनन् विज्ञहरूले पनि राखेका छन् । अहिले मार्च १७ अर्थात् चैत ४ गते कतारको दोहाबाट नेपाल आएकी ती युवतीमा संक्रमण पुष्टी भएपछि उक्त फ्लाइटमा आएका अन्य यात्रुको पनि खोजी सुरु भएको जनाइएकाे छ । कतारको दोहाबाट उडान भरी चैत ४ गते बिहान १०ः३० बजे नेपाल उत्रेकी युक्त यात्रुलाई कोरोनाको संक्रमण पुष्टी भएको सरकारले सोमबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी दिएको हाे । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलाेचन पाैड्यालका उनुसार उनी कतारको दोहाबाट क्यू आर ६५२ नम्बरको फ्लाइटबाट नेपाल आएकी थिइन् । प्राधिकरणका अनुसार उक्त दिन त्यो जहाजमा २ सय ५ जना यात्रु रहेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशक बद्री बहादुर खड्काले ती सबैकाे काेराेना परीक्षण गर्नु पर्ने बताए । यसका लागि सरकारले गृहकार्य थालेकाे उनकाे भनाइ छ । उनले साे फ्लाइटमा आएका सबैले सेल्फ क्वारेन्टाइनमा बस्न पनि आग्रह गरे । तर,उक्त जहाजमा यात्रा गरेका अन्य २ सय ५ जना यात्रुहरुलाई भने अझै पनि क्वारेन्टाइनमा राखिएको छैन । अहिले विभिन्न ठाउँबाट ती २ सय ५ जना यात्रुहरुलाई सम्पर्कमा ल्याई क्वारेन्टाइनमा राख्नु पर्ने आवाज उठिरहेको हो । उनीहरूलाई क्वारेन्टाइनमा राखी काेराेना परीक्षण गर्नु पर्ने धारणा अहिल सर्वत्र छ ।
जिल्लाका अस्पतालमा मास्क र ग्लोभ्स छैन, डाक्टर भन्छन्: कसरी गर्ने उपचार ?
काठमाडाैं । सम्भावित कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेशन वार्ड तयार पारेका अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूतिको माग गरेका छन् । शङ्कास्पद बिरामी अस्पताल आएमा उपचार गर्न विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसारको सुरक्षाको व्यवस्था नभए अस्पतालले आइसोलेशन वार्ड तयार पारे उपचारमा स्वास्थ्यकर्मी नखटिने चिकित्सकहरुले बताएका छन् । पहिला सुरक्षा गर्न सके मात्रै सङ्क्रमित बिरामीको उपचार गर्न सकिने बताउँदै चिकित्सकहरुले सरकारले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सुरक्षाका लागि सबै व्यवस्था गर्नुपर्ने बताएका हुन् । मध्यपुरथिमिमा सञ्चालित मध्यपुर अस्पतालकी प्रसूति रोग विशेषज्ञ एवं चिकित्सक डा रबिना प्रधानाङ्गले अस्पतालमा कोरोना सङ्क्रमितको आशङ्काका बिरामी आएमा मेडिकल टोली नै भाग्नुपर्ने अवस्थाको सृजना हुन नहुने बताए। मध्यपुर अस्पतालले चार श्ययाको आइसोलेशन वार्ड तयार पारेर राखे पनि मेडिकल टोलीसँग आफू सुरक्षित छु भन्ने विश्वस्त पार्नेगरी व्यवस्था हुन नसके बिरामीको उपचारमा समस्या आउने उनले बताए । उनले भने, ‘उपचारमा खटिने स्वास्थ्यकर्मीको टिम पहिला सुरक्षित महशुस हुनु पर्यो, आफ्नै ज्यान जोखिममा छ भन्ने जान्दाजान्दै बिरामीको नजीक जाने आँट कसैले गर्दैन, आवश्यक सुरक्षाका सबै पूर्वाधार एवं सामग्री तयारी अवस्थामा हुनुपर्यो ।’ आफ्नो अस्पतालमा सामान्य मास्क र ग्लोभ्ससमेत सकिएर किन्न खोज्दा बजारमा कहीँ नपाएको बताउँदै उनले अस्पतालका सबै स्वास्थ्यकर्मीले कपडाको मास्क लगाएर सेवामा खटिनु परेको बताए । अस्पतालमा आइसोलेशन वार्ड मात्रै भएर के गर्नु, डाक्टर छिरेर काम गर्ने अवस्था आएन भने के मोबाइल र अनलाइनबाट उपचार गर्ने ? भन्दै डा प्रधानाङ्गले भने, ‘कोरोनाको बिरामी आए उपचार गर्ने सरकारको पूर्ण तयारी खै, साधारण मास्क छैन, सङ्क्रमितको उपचार गर्दा लगाउने एन नाइन्टी मास्क खै ?, पिपिई सेट खै ? मेडिकल टोलीको सुरक्षाका लागि खै व्यवस्था ?, मेडिकल टोलीको सुरक्षाको जिम्मा कसले लिन्छ ?’ कोरोना सङ्क्रमितको उपचार गर्दा लगाइने पोसाक (पिपिई-पर्सनल प्रोटेक्शन इक्विप्मेन्ट) बजारमा कतै नभएको र सरकारले समेत उपलब्ध गराउन नसकेको अवस्थामा सुरक्षित भएर काम गर्न नसकिने चिकित्सकको भनाइ छ । धेरै पाठ सिक्नुपर्ने औँल्याउँदै उनले कोरोना सङ्क्रमितको उपचार अरू बिरामीको उपचार नहुने निश्चित तोकिएको अस्पतालमा मात्रै गर्नुपर्ने र मेडिकल टोलीको पूर्णसुरक्षाको अनुभूति गराउँदै निश्चित समयका लागि उपचार केन्द्रमै बस्ने गरी व्यवस्थापन हुनुपर्ने भनाइ राखे । नागरिक अस्पतालकी नर्सिङ इन्चार्ज सुन्दरी जोशीले अस्पतालमा ज्वरो नाप्ने थर्मल गनदेखि मास्कसमेत नभएको बताए । उनले चार हजार रूपैयाँ पर्ने एउटा थर्मल गनको बजारमा नौ हजार भनेको बताउँदै पिपिईसमेत नभई आइसोलेशनमा बिरामी उपचार गर्न नसकिने बताए । सङ्क्रमित बिरामीको उपचारमा खटिएका व्यक्तिलाई घर जान दिइने हो भने घरपरिवार र अन्य व्यक्तिलाई पनि सङ्क्रमण हुने जोखिम उच्च रहने भएकाले यसबारेमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको माग छ । यता धुलिखेल अस्पताललाई कोरोना सङ्क्रमितको उपचार गर्ने अस्पताल बनाउने सरकारले तयार गरेपछि यहाँ स्वास्थ्यकर्मीदेखि कर्मचारीसमेत त्रसित भएका छन् । आज कोरोना आशङ्काका एक बङ्गलादेशी आएको र उसलाई ज्वरो देखिएपछि टेकु अस्पताल पठाइएको अस्पतालको आकस्मिक शाखाले जानकारी दिएको छ । अस्पताललाई कोरोना सङ्क्रमित बिरामीको उपचार केन्द्र बनाउने भनिए पनि अस्पतालमै सिलाएको कपडाको मास्क र कपडाकै गाउन लाएर स्वास्थ्य परीक्षण गर्नुपर्ने बाध्यता भएपछि यहाँका कर्मचारीसमेत त्रसित भएको आशिश थापाले बताउनुभयो । ज्वरो नाप्न ढोकादेखि नै कर्मचारी खटाए पनि अस्पताल प्रशासन र शाखाप्रमुखले सम्भावित जोखिमलाई गम्भीर रुपमा नलिँदा कर्मचारीमै जटिल समस्या आउन सक्ने र ढुक्क भएर साँझ घर जान सक्ने अवस्था नभएको उनको गुनासो छ । कोरोना सङ्क्रमितको उपचार गर्ने भए निश्चित टोली बनाएर २४ घण्टा त्यही बस्ने र उपचार गर्ने गरी चीनले गरेको व्यवस्थाअनुसार गर्नुपर्ने यहाँका कर्मचारी र स्वास्थ्यकर्मीको भनाइ छ । अस्पताल प्रशासनले कर्मचारीको बेवास्ता गरेको गुनासो गरेका छन् । रासस
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको एक महिनाको तलब काेराेना कोषमा
काठमाडाैं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरसविरुद्ध जुध्न सरकारले बनाएको केन्द्रीय राहत कोषमा एक महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउने भएका छन् । सो कोषमा अध्यक्ष तिमिल्सिनाले आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका हुन् । उनले संघीय संसद् सचिवालयको आर्थिक शाखालाई पत्रमार्फत आफ्नो एक महिनाको तलब कोषमा जम्मा गरिदिन निर्देशनसमेत दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कोष स्थापनाको निर्णय गरेको थियो । अध्यक्ष तिमिल्सिनाले सरकारको कोष बनाउने निर्णयको स्वागत गर्दै विश्वमा देखिएको सन्त्रासमा सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेका छन् । उनले सरकारले कोरोनाबाट बच्नका लागि दिएका निर्देशनहरु पालना गर्न सबैलाई आग्रह समेत गरेका छन्। रासस
कोरोना भाइरसको संक्रमण रोक्न साउदी सरकारले जारी गर्याे आंशिक कर्फ्यू
काठमाडौं । साउदी अरबमा कोरोनाको संक्रमण हुनेको संख्या बढ्दै गएकोसँगै आंशिक कफ्र्यू जारी गरेको छ । संक्रमण नियन्त्रणलाई ध्यान राख्दै साउदी अरबका राजा सलमान बिन अब्दुल अजिज आल साउदले साउदी अरबमा मार्च २३, २०२० को समय राती ०७ बजे देखि लागू हुने गरी कफ्र्यू लगाएको हो । आगामी २१ दिन सम्म साँझ ०७ बजे देखि बिहान ०६ बजे सम्मका लागि कर्फ्यु आदेश जारी गर्न भएको छ । केहि अत्यावश्यक सेवा संचालन मात्र खुल्ने गरी लगाइएको यो कर्फ्युको पूर्ण पालना गर्न साउदी अरबमा रहेका सम्पूर्ण नेपालीलाई राजदूतावास अनुरोध गरेको छ । कोरोना संक्रमणको यो कठिन परिस्थितिमा साउदी अरबमा रहेका नेपालीहरुमा रोगको संक्रमण रोक्न स्वास्थ्य सावधानी र साउदी सरकारको नियम कानुन निर्देशन पालनाको सम्बन्धमा सचेतना विस्तार गर्न गैर आवासीय नेपाली संघ एवं सम्पूर्ण सामाजिक संघसंस्था नेपाली राजदूतावास अनुरोध गरेको छ । साउदीमा मार्च ०२, २०२० मा एक जनाबाट शुरु भएको भाइरसको संक्रमण तीन हप्ताको अवधिमा ५ सय ११ जनामा फैलिसकेको छ । हालसम्म नेपाली नागरिकहरुमा यो संक्रमण देखिएको छैन । यो संक्रमण नेपाली नागरिकहरुमा हुन नदिन आउँदा दिनहरुमा समेत अत्यन्त सचेत भई कोरोना संक्रमण हुन नदिने सावधानीहरु अपनाउन आग्रह गरेको छ । तसर्थ, कर्फ्युको समयमा आवास बाहिर ननिस्कन र स्वास्थ्यका कारण निस्किनुपर्ने भएमा सरकारी अधिकारीहरुसँग पूर्ण समन्वय गर्ने स्वास्थ्यका सावधानी अपनाउनुका साथै राजदूतावासको निरन्तर सम्पर्क रहन अनुरोध गरेको छ ।