विकासन्युज

सरकार ! बैंक किन खाेल्ने ? कसरी खाेल्ने ?

काठमाडाैं । हिजो नेपाल सरकारले अत्यन्त सुझबुझका साथ चैत्र  १८ गतेसम्मका लागि लकडाउन गर्ने ब्यबस्था गर्यो। यो ब्यबस्था संक्रामक रोग ऐन, २०२०को दफा २ बमोजिम गरिएको हो। ऐन बनेको ५६ बर्षमा पहिलो पटक यो ब्यबस्था प्रयोग गर्नुपर्ने स्थिति किन आयो भनेर मनन गर्नु पर्ने देखिन्छ। सरकारको पहिलेको निर्णयमा आवश्यक सेवा संचालनमा राख्ने गरी आएको थियो भने अहिले केहि सेवाहरु तोकेर निर्णय गरिएको छ। आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुसार जल, स्थल वा हवाई मार्गबाट यात्री वा मालसामानहरु ओसार पसार गर्ने यातायात सेवा पनि आवश्यक सेवामा पर्दछन तर बन्द गरिएको छ। बैकिङ भन्दा अति आबश्यक सेवा पनि यसरी बन्द गरिएको संक्रामक रोग ऐन २०२० अन्तर्गत हो तर बैकिङ खोल्ने नखोल्ने भनेर हिजोबाट यति धेरै  कन्फूजन  भएको अवस्था छ। यस सन्दर्भमा संक्रामक रोग ऐन, २०२० को दफा मा विशेष व्यवस्था गर्ने अधिकार को उपदफा ३ मा निम्न कुरा उल्लेख छ। “सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी नेपाल सरकारले पैदल वा जुनसुकै सवारीको साधनबाट लगिने वा ल्याइने सफरगर्ने यात्रुको जाँचबुझ गर्न र त्यस्ता पशु, पंक्षी वा यात्रुलाई कुनै संक्रामक रोग लागेकोछ भन्ने शङ्का लागेमा जाँचबुझ गर्न खटिएको कर्मचारीले त्यस्तो यात्रुलाई अस्पताल तथा अन्य स्थानहरूमा अलग गरी राख्न वा कुनै किसिमबाट ल्याउन लैजान वा सफर गर्नमा समेत निरीक्षण र नियन्त्रण गर्नको लागि आवश्यक आदेशहरू जारी गर्न सक्नेछ ।” आवश्यक सेवा सञ्चालन ऐन, २०१४को दफा ७ मा अरु नेपाल कानूनसँग बाझिएमा गर्ने सम्बन्धमा निम्नअनुसारकाे व्यवस्था छ । “प्रचलित नेपाल कानूनमा जे सुकै लेखिएको भए तापनि यो ऐन र यस ऐन अन्तर्गत निकालिएको आदेशमा लेखिएकोमा सोही बमोजिम रअरुमा प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।” यति प्रष्ट ब्यबस्था र सरकारी निर्णय हुदाहुदै पनि काेभिड १९ सर्ने धेरै सम्भावना भएको नगद समात्न र दिन बैकका कर्मचारी पैदल भएपनि पठाउनु पर्ने जस्तो देखिनु र कर्मचारीहरुमा त्रास र अन्यौलको स्थिति सृजना हुनु राम्रो देखिदैन। बैक खोले पनि हिजो भएको सरकारी निर्णयमा ‘पैसा निकाल्न र जम्मा गर्न आवत जावत गर्न पाईने’ उल्लेख छैन । मतलब उक्त प्रयोजनको लागि बैंक ग्राहक पुग्ने स्थिति छैन भने किन बैंकको शाखाहरु कर्मचारीको त्रास र भाईरसको जोखिम सहित खोल्नु पर्ने भो र? भुक्तानी सेवा महत्वपूर्ण छ तर त्यसको लागि बैकल्पीक उपायहरु धेरै दिईसकिएको छ। एटीएमबाट पैसा झिक्न मिल्ने सीमा बढाई सकिएको छ भने राष्ट्र बैकले पनि डिजिटल पेमेन्टको सिमा बढाएर निर्दैशन जारी गरिसकेको छ। आपतविपदमा उधारो मै लिएर पनि सामान किन्न सक्ने स्थिति हुन्छ भने सबै अस्पतालहरुमा डेविट कार्ड र  क्रेडिट कार्ड मार्फत भुक्तानी हुन्छ नै। चेकको भुक्तानी पनि राष्ट्र बैकले गरेको व्यबस्था पश्चात विश्वसनीय भैसकेको छ। जम्मा गर्नुपर्ने पैसा ६्/७ दिन घरमा राख्दा आपद नै पर्दैन । यसैले काेभिड १९ को सम्भावित जोखिम र हाम्रो सेवा सुचारु सम्बन्धी व्यबस्थामा छलफल गरी निर्णय गर्नुपर्छ । यदि बैंक खोल्नु नै पर्ने भएमा तत्सम्बन्धमा ब्यबस्था गरेर राष्ट्र बैंकको विवेकी र प्रष्ट निर्दैशन जरुरी देखिन्छ।(फेसबुकबाट)

‘लक डाउन’मा के गर्न पाइने र के गर्न नपाइने ?

काठमाडौं । सरकारले ११ चैतदेखि १८ चैतसम्म देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले देशभर लक डाउन गर्ने निर्णय गरेको हो । यस्तो लक डाउनको समयमा सरकारले नागरिकका अधिकांश अधिकार निलम्बन गर्ने गर्छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणपछि विश्वभरका विभिन्न देशहरुले यस्तो लक डाउन गरिरहेका छन् । सरकारले कोरोना संक्रमण फैलन सक्ने सम्भावना देखिएकोले संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी देशभर लक डाउन गर्ने निर्णय गरेको हो । लक डाउनको समयमा गर्न पाइने र नपाइने क्रियाकलापहरु यस्ता छन्ः १. औषधी उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा घर बाहिर निस्कन पाइन्छ । अत्यावश्यक बाहेकको काममा घरबाट बाहिर निस्कन पाइदैन । २. अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेकका सवै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधान संचालन गर्न पाइदैन । ३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सवै प्रकारका आन्तरिक व्यवसायिक उडानहरु बन्द हुन्छन् । ४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दूरसंचार, सूचना तथा संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक पर्ने सेवा वाहेक अन्य कार्यालय संचालनको लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र कार्यालयमा उपस्थित हुन्छन्, अन्य सवै प्रकारका कार्यालयहरु बन्द हुन्छन् । अति आवश्यक पर्ने बाहेकका सरकारी कार्यालयहरु पनि बन्द हुन्छन् । कर्मचारीलाई विदा दिइन्छ । ५. औषधी तथा स्वास्थ्य उपकरण, खाद्यान्न, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योगहरुबाहेक निजी क्षेत्रबाट संचालित अन्य उद्योग, कलकारखना बन्द हुन्छन् । बन्द हुने उद्योग तथा कलकारखनामा काम गर्ने कर्मचारीहरुले विदा पाउँछन् । ६. व्यवसायीहरुले औषधी र औषधीजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्नुपर्छ । अभाव देखाइ मूल्य बृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई सरकारले नियन्त्रणमा लिएर सामग्री जफत गरी रोगको रोकथाम र उपचार कार्यमा प्रयोग गर्छ । ७. संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा २ बमोजिम सरकारले अहिले गरेको लक डाउन आदेश कार्यान्वयन गर्नको लागि आवश्यक व्यवस्था मिलाउन नेपालका सबै प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिने र सोको लागि स्थानीय प्रशासन ऐन २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने सरकारको निर्णय छ । सम्बन्धित सामग्री मंगलबारबाट नेपाल पूर्ण रुपमा ‘लक डाउन’, घर बाहिर निस्कन नपाइने (निर्णयसहित)

बीमा कारोबार सहज बनाउने निर्णय, अबस्था सामान्य भएपछि पोलिसी नविकरण पाइने

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूकाे काराेबारलाइ सहज बनाउने गरी निर्देशनहरू जारी गरेकाे छ । विश्वभरी महामारीकाे रूपमा काेराेना भाइरस फैलिएकाे र अत्यावश्यक सेवाभित्र पर्ने बीमा सेवा सञ्चालन गर्नु पर्ने अवस्थामा बीमा समितिले बीमा काराेबारकाे भुक्तानी प्रकिया सरल बनाएकाे हाे । बीमा कम्पनीहरूले बीमालेख जारी गर्दा वा नविकरण जुनसुकै माध्यमबाट बीमाशुल्क संकलन गर्न सक्ने व्यवस्था गरिएकाे समितिले जनाएकाे छ । बीमा क्षेत्रमा धेरै काराेबार चेक भुक्तानी विधिबाट हुने गरेकाेमा अब डिजिटल काराेबारले प्राथमिकता पाउने छ । बीमा समितिले जीवन बीमा शुल्क बुझाउने समय पनि थपेको छ । तोकिएको समयमा शुल्क बुझाउन नसकेमा बीमालेख व्यतित नहुँने र उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको १५ दिनभित्र बुझाउन सकिने व्यवस्था समितिले गरेको छ । यस्तै, निर्जीवन बीमा कम्पनीले बीमालेख अवधी सकिएको समय अगाडि नै जानकारी दिनुपर्ने निर्देशन बीमा समितिले दिएकाे छ ।  

निर्माण व्यवसाय विकास परिषद्ले एक करोड दिने

काठमाडाैं । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड-१९ को रोकथाम र उपचारका लागि निर्माण व्यवसाय विकास परिषद्ले एक करोड रूपैयाँ दिने निर्णय गरेको छ । सरकारले स्थापना गरेको कोभिड-१९ सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सो रकम जम्मा गरिने परिषद्ले जनाएको हाे । परिषदमा अध्यक्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङसहित छन् ।  परिषद्को गत बुधबार बसेको बैठकको निर्णयानुसार सो रकम जम्मा गरिएको सदस्य सचिव सहसचिव गोपालप्रसाद सिग्देलले बताएका छन् । परिषद्मा पूर्वाधार निर्माणसम्बन्धी मन्त्रालय तथा निकायका प्रतिनिधि, नेपाल निर्माण व्यवसायी महासङघको प्रतिनिधि रहेका छन् ।

मंगलबारबाट नेपाल पूर्ण रुपमा ‘लक डाउन’, घर बाहिर निस्कन नपाइने (निर्णयसहित)

काठमाडौँ । सरकारले भोलि(मंगलबार)देखि देशलाई पूर्ण रुपमा लक डाउन गर्ने भएकाे छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले भाेली बिहान ६ बजेदेखि देशभर लक डाउन गर्ने निर्णय गरेको हो । सरकारले भाेलिदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि लक डाउन गरेकाे बताएकाे छ । लक डाउनमा अनावश्यक बाहिर निस्कन पाइने छैन । सबै हवाइसेवा बन्द हुनेछन्। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछन्। सरकारले हिजाे मात्रै भारततर्फका सबै नाका बन्द गर्ने निर्णय गरेकाे थियाे भने चीनतर्फका पहिले नै गरिसकेका छन् ।आज एक जना युवतीमा कोरोना भाइरसको संक्रमण देखिएसँगै सरकारले यस्तो निर्णय लिएको हो। सरकारले  उल्लेखित निर्णयहरूकाे पालना नगर्ने  र काममा बाधा पुर्याउनेलाई कारबाही गर्ने बताएकाे छ ।

कोरोना रोकथाम कोषमा बीमा समितिले २ करोड दिने

काठमाडाैं । कोरोना रोकथाम कोषमा बीमा समितिले २ करोड रूपैयाँ सहयाेग गर्ने भएकाे छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त  निर्णय गरेकाे हाे । सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचारकाे लागी चैत ९ गते मात्र उक्त काेष स्थापनाका गरेकाे  थियाे ।

विराटनगरमा मङ्गलबारदेखि ‘लक डाउन’

काठमाडाैं । कोभिड-१९ को सङ्क्रमण एवं रोकथामका लागि विराटनगर महानगरपालिकाले मङ्गलबारदेखि अनिश्चितकालीन ‘लक डाउन’ गर्ने घोषणा गरेको छ । महानगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकपछि उद्योगी व्यवसायी तथा सरोकारवालासँग छलफल पश्चात् लक डाउन गर्ने निर्णय गरिएको महानगर प्रमुुख भीम पराजुुलीले बताए । खाद्यान्न, औषधि, खानेपानी, विद्युत्, एम्बुलेन्ससेवालगायत अन्य अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको प्रमुख पराजुुलीले बताए । सुुरक्षाका लागि नगरवासीले स्वयम् लक डाउन गरेको बुझ्न उनले आग्रह गरे । उद्योग धन्दा कलकारखाना तथा बजार, पसल तथा यातायातका साधन बन्द भए पनि अति आवश्यक पसल भने खुला रहने छन् । विराटनगर लक डाउन भए पनि बिरामीलाई अस्पताल लानुपरेमा वा मरिमराउको अवस्थामा यातायातको साधन प्रयोय गर्न सकिने उनले बताए। अति आवश्यक कामबाहेक घरबाट बाहिर हिँलडुल नर्गन नगरवासीलाई महानगरपालिकाले आग्रह गरेको छ । सङ्कटका बेलामा कालाबजारी नर्गन व्यापारीलाई आग्रह गरिएको छ । केहि समस्या आएमा सङ्घीय, प्रदेश र स्थानीय सरकार जनताको साथमा रहेकाले कसैलाई नआत्तिन महानगरपालिकाले अनुरोध गरेको छ ।

नेपालमा कोरोना देखिएसँगै सरकारी कार्यालय बन्द गरिँदै, कर्मचारीलाई तयारी अवस्थामा राखिने

काठमाडौं । नेपालमा कोरोना भाइरस देखिएसँगै सरकारले अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु पनि बन्द गर्ने भएको छ । अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका काम नहुनेभन्दा पनि सेवाग्राही कार्यालय पुग्ने भएकाले कर्मचारीलाई कार्यालय नगइ घरमा तयारी अवस्थामा राख्न लागिएको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठक अहिले सिंहदरवारमा बसिरहेको छ । सो बैठकले कर्मचारीलाई घरमै तयारी अवस्थामा बस्ने तर कार्यालय आउन नपर्ने गरी निर्देशन दिने तयारी छ ।  तर, कार्यालय प्रमुख र उच्च पदस्थ कर्मचारीको भने बिदा हुने छैन । कोरोनाको त्रास बढदै जाँदा सार्वजनिक स्थलमा सर्वसाधारणको आवागमन नरोकिएको कारण कार्यालय बन्द गरेर सरकारले आवागमन रोक्न लागेको हो । सडक लगायत सार्वजनिक स्थलमा आवागमन रोक्न प्रहरीले घर बाहिर ननिस्कन र अत्यावश्यक कामबाहेक घरमै बस्न टोलटोलमा माइकिङ समेत गर्ने भएको छ ।