विकासन्युज

सेयर बजार बन्द गर्नु उपयुक्त होइन, खुल्ला गर्ने यस्ता छन् ३ विकल्प

काठमाडौं । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न भन्दै नियामक निकाय धितोपत्र बोर्डले यो साता सेयर बजार बन्द गरेको छ । सेयर बजार बन्द गर्नु नै अहिलेको लागि उपयुक्त विकल्प हो भन्ने एकथरीको तर्क छ भने बजार बन्द गरेर आफ्नो स्वामित्वको निर्वाध भोगचलन गर्न पाउने संबैधानिक अधिकार कुण्ठित गरियो भन्ने अर्काथरीको तर्क छ । अहिलेको अवस्थामा यी दुबै तर्क सही छन् । किन सही छन् भने संकटको बेलामा मानिसले सही निर्णय लिन सक्दैन, सही निर्णय लिन नसक्ने बेलामा गरिएको सेयर किनबेच सही निर्णय हुँदैन । त्यसैले अहिलेको त्रासदीपूर्ण अवस्थामा सेयर बजार खोल्नु हुदैन । फेरि सरकारले कोरोना संक्रमणबाट बच्न भन्दै विभिन्न निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा विशेष सम्वोधन गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने जानकारी गराएका छन् । सरकारले २५ जनाभन्दा बढी जम्मा हुन रोक रोक लगाएको छ । यस्तो बेलामा सेयर बजार बन्द गर्नु ठीक कदम हो । तर, नेपालको संविधानले नागरिकलाई सम्पत्तिमाथिको हक पनि पद्रान गरेको छ । आफ्नो सम्पत्तिको निर्वाध भोगचलन गर्न पाउने संबैधानिक अधिकार सेयर बजार बन्द गर्ने नियामक निकायको निर्णयको कारण कुण्ठित भयो भन्ने तर्क गर्नेहरु पनि छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमण देखिएको छैन । संक्रमण देखियो भने फैलन सक्छ भनेर सरकारले उच्च सावधानी अपनाएको बेला मात्रै हो । सावधानी अपनाएकै बेलामा नागरिक अधिकार कुण्ठित गर्नु उपयुक्त नहुने यसको विपक्षमा रहेकाहरुको तर्क छ । त्यसोभए सरकारले गरेको निर्णय कार्यान्वयन पनि हुने, कोरोना संक्रमण विस्तार पनि रोकिने र नागरिक अधिकार कुण्ठित हुनबाट पनि जोगिने कुनै उपाय छैन ? नियामक निकायले बजार बन्द गर्न निर्णय दिनुअघिदेखि नै आफूहरु मध्यमार्गी उपायको विषयमा छलफलमा जुटिसकेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद बताउँछन् । ‘नेप्सेमा कारोबार हुने सेयर भनेको नागरिकको सम्पत्ति हो, धितोपत्र बोर्डले यो साताको लागि बजार बन्द गर्ने निर्णय गरेको छ, तर एक सातामै कोरोना संक्रमणको सम्भावना नसकिन पनि सक्छ, त्यसैले कुन विधि र विकल्प अपनाएर नागरिकको सम्पत्ति बन्धक नहुने तथा सम्भावित कोरोना महामारीको संक्रमणबाट पनि जोगिने भनेर हामीले छलफल गरिरहेका छौं,’ प्रमुख कार्यकारी अधिकृत साउदले विकासन्युजसँग भने । नेप्सेले छलफल गरेका विकल्प के कस्ता हुन् भन्ने बारेमा साउदले खुलाएनन् । कोरोना संक्रमणले आक्रान्त देशहरुमा पनि सेयर बजार खुलिरहेका छन् । नेपालमा संक्रमण पनि देखिएको छैन । अहिले नेपालले गरेको भनेको सम्भावित संक्रमण विस्तार रोक्नको लागि शतर्कता मात्रै हो । अरु देशको पुँजी बजारको पूर्वाधार र हाम्रो पूर्वाधार तुलना गर्न सकिने खालको छैन भन्ने तर्क पनि आएको छ । यस्तो समस्याको बेलामा पूर्वाधार तयार पार्न दबाब दिने कि बजार बन्द गराउन उक्साउने भन्ने अर्काे प्रतिप्रश्न हो । नेपाली सेयर बजारमा अझै पनि म्यानुअल कारोबारको हिस्सा धेरै छ । अनलाइन कारोबार गर्नेहरुको संख्या कम छ । यही बेलामा अनलाइन कारोबारलाई प्रोत्साहित गर्ने प्रकारका गतिविधि गर्नु उत्तम र दीर्घकालिन फाइदाको कुरा हो । शतर्कता अपानाएकै अवस्थामा सेयर बजार बन्द गर्ने हो भने संकट आएको अवस्थामा के गर्ने भन्ने अर्काे समस्या पनि आउन सक्छ । किनभने धितोपत्र बोर्डले बढीमा ५ दिन बजार बन्द गर्न पाउने कानुनी अधिकार पाएको छ । शतर्ककताकै समयमा बोर्डले सो अधिकार प्रयोग गरिसक्यो । समस्या नै देखियो भने बोर्डले अब के गर्छ ? सेयर कारोबार बन्द गर्नु राम्रो कुरा होइन । यसले अविश्वास नै पैदा गर्छ । यस्तो बेलामा नियामक निकायसहित सरोकारवालाले ३ विकल्पमा बजार खुल्ला गर्न सक्छन् । पहिलो विकल्प पहिलो विकल्प भनेको विनाशर्त बजार खोल्ने नै हो । बजारले बजारको स्वभाव अनुसार काम गर्न पाउनु पर्छ । अहिले बजार धेरै घट्यो भने फेरि बढ्छ । बजार भनेको नै यही हो । योभन्दा पहिला २९३ विन्दुमा नेप्से परिसुचक पुगेको बेलामा कोरोना आएको थिएन । भूकम्पको त्रासदी पनि थिएन । अर्थमन्त्री पनि बजारमैत्री भनेर चिनिएका तत्कालिन एमालेका नेता सुरेन्द्र पाण्डे थिए । तर बजार घट्यो । र, जतिबेला बजार बढेर १८८१ विन्दुमा पुगेको थियो, त्यो बेला पनि त्यस्तो उत्पादत केही भएको थिएन । बजारले आफ्नो गति, विश्लेषण र स्वभाव अनुसार प्रतिक्रिया जनाएको थियो । दोस्रो विकल्प दोस्रो विकल्प भनेको बजारका प्राविधिक मापदण्डलाई निश्चित समयका लागि थप कसिलो बनाएर बजार खुल्ला गर्ने भन्ने हो । जस्तो कि अहिले एकै दिन बजार ६ प्रतिशतले घट्यो वा बढ्यो भने बन्द गरिन्छ । निश्चित अवधीको लागि यो ६ प्रतिशतको सीमालाई २ वा ३ प्रतिशतमा झारौं । अर्थात सर्किट ब्रेकका जे जति व्यवस्थाहरु छन्, तिनलाई केही समयको लागि कसिलो बनाएर बजारलाई सकेसम्म स्वभाविक बन्न प्रेरित गर्ने भन्ने हो । यस्तै, कारोबार समय पनि अहिलेकोबाट घटाएर २ वा ३ घण्टा बनाउन सकिन्छ । तेस्रो विकल्प तेस्रो विकल्प धितोपत्र कारोबारको अन्तराष्ट्रिय मूल्य र मान्यता अनुसारको छैन । यो विकल्प ‘संकट नै सिर्जनाको जननी हो’ भन्ने सिद्धान्तमा आधारित छ । त्यो भनेको के हो भने बजार खोल्ने । तर, यसरी खुल्ला गरिएको बजारमा एक दिनमा एक जनाले निश्चित रकम बजारको सेयर खरिद विक्री गर्न पाउने परिमाणात्मक बन्देज लगाउन सकिन्छ । जस्तो कि कसैलाई अस्पतालमा औषधोपचार गर्न ५० हजार रुपैयाँ चाहिएको छ भने उसले सो बराबरको सेयर बेचेर नगद बनाउन पाउने बाटो खुल्ला गर्नै पर्छ । उदाहरणको रुपमा कुनै सेयरधनीले एक सातामा वा १५ दिनमा ५० हजार रुपैयाँ बराबरको मात्रै सेयर बेच्न पाउने व्यवस्था गर्ने हो त्यसले सेयर बजारमा धेरै असर पार्दैन । सो लगानीकर्ताले राखेको सेयर विक्री भएन भने नागरिक लगानी कोषले किन्ने अन्तिम विकल्प राख्न सकिन्छ । तर, यसको कार्यान्वयन गर्न केही नीतिगत कठिनाइहरु छन् । अहिलेको व्यवस्थाले कोषलाई केही समस्या हुन सक्छ । कोष व्यवस्थापनलाई संचालक समितिले निश्चित परिमाणको सेयर किन्न अधिकार दिएकोले सो सीमाभित्रको सेयर खरिद गर्न कुनै समस्या नभएको कोषका उपकार्यकारी निर्देशक डा. इन्द्र कट्टेल बताउँछन् । कोष व्यवस्थापनलाई संचालक समितिले दिएको सीमा बृद्धि गर्नुपर्ने अवस्था रह्यो भने त्यसको बाटो खुल्ला राख्नुपर्ने हुन सक्छ । रकमका आधारमा परिमाणात्मक बन्देज नलगाउने हो भने गत विहीबारको सेयर मूल्यलाई त्यसबाट घटबड नहुने गरी फिक्स्ड गर्न सकिन्छ । यस्तो व्यवस्था निश्चित अवधिको लागि मात्रै गर्न सकिन्छ । तर, खरिदकर्ता निश्चित गरेर वा मूल्य फिक्स्ड गरेर गरिने कारोबार सेयर कारोबारको सैद्धान्तिक दायराभित्र पर्दैन । यो विकल्प भनेको संविधानले व्यवस्था गरेको सम्पत्तिमाथिको नागरिकको हक कुण्ठित हुनबाट जोगाउनका लागि मात्रै हो । विकल्प अरु पनि हुन सक्छन् । संकटको समयमा बजारमा अनावश्यक चलखेल गर्ने तत्व हावी हुन सक्छ । यस्ता तत्वलाई मुन्टो उठाउने ठाउँ नै नदिने प्रबन्ध गरी सेयर कारोबार खुल्ला राखिनु पर्छ । बजार खुल्ला राख्दा सेयर बजारको अन्तराष्ट्रिय मूल्य मान्यता अनुसार नै खुल्ला गर्नुपर्छ, त्यति पनि हुन सकेन भने संविधानको व्यवस्था अनुसार नागरिककको सम्पत्तिमाथिको अधिकार कुण्ठित हुन दिनु हुदैन ।

नेपालमा थप एक जनालाई देखियो कोरोना

काठमाडाैं । नेपालमा थप एक जनालाई काेराेना देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एक जनामा काेराेना देखिएकाे बताएका हुन् । उनले साेमबारकाे पत्रकार सम्मेलनमा थप एक जनामा काेराेना देखिएकाे बताएका हुन् ।  फ्रान्सबाट कतार हुँदै आएकी ती महिलामा हिजाे साँझ मात्र काेराेना पाेजेटिभ देखिएकाे उनले बताए । अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए । १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको मन्त्री ढकालले जानकारी दिए। फ्रान्समा पढ्न गएकी ती विद्यार्थीकाे नाम, ठेगाना खुलाउनु राम्राे नहुने मन्त्री ढकालले बताए । ‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनी सँगै जहाजमा आएका अन्य मानिस कहाँ-कहाँ छन्? भनेर खोजी गर्दैछौं’, पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने। याेसँगै हालसम्म नेपालमा काेराेनाकाे दुई केस देखा परेका छन् । पहिलाे ससंक्रमित भने निकाे  भएर घर गईसकेका छन् ।  

त्रिशुली गल्छी जलविद्युत आयोजनाको पीपीए खारेज

काठमाडौं । ७५ मेगावाटको त्रिशुली गल्छी जलविद्युत आयोजनाको विद्युत् खरीद बिक्री सम्झौता (पीपीए) खारेज भएको छ । नुवाकोट र धादिङमा निर्माण हुने भनिएको जलविद्युत आयोजनाको नेपाल विद्युत प्राधिकरणले सोमबार सार्वजनिक सूचना गरी सम्झौता खारेज गरिएको जानकारी गराएको छ । पीपीएमा भएको व्यवस्था बमोजिम आयोजनाको प्रवर्द्धक कम्पनी सिद्धकाली पावरले लगानी जोहो (वित्तीय व्यवस्थापन) गर्न नसकेको भन्दै सम्झौता खारेज गरिएको जानकारी गराएको हाे । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले आयोजनाको उत्पादन अनुमतिपत्र पनि गत मंसिरमा खारेज गरिसकेको छ । मन्त्रालयले अनुमपति पत्र खारेज गरी आयोजनालाई बास्केटमा राखेको छ । प्राधिकरण र कम्पनीबीच २०७३ जेठ २०मा पीपीए भएको थियो । पीपीएको दफा ३८.२मा भएको प्रावधान बमोजिम कम्पनीले २१ महिनाभित्र वित्तीय व्यवस्थापन गर्न नसकेपछि सम्झौता खारेज गरिएको प्राधिकरणले जानकारी दिएको छ । दफा ३८.२मा सम्झौता लागू भएको २१ महिनाभित्र आयोजनाको वित्तीय व्यवस्थापन समापन भएको विवरणसहितको जानकारी दिनु पर्ने र त्यस्तो विवरण प्राधिकरणमा प्राप्त नभएमा सम्झौता स्वतः खारेज हुने व्यवस्था छ । आयोजनाको अनुमानित लागत १५ अर्ब ५० करोड रुपैयाँ थियो । त्यसमध्ये ९ अर्ब ८३ करोड रुपैयाँ चिनियाँ कम्पनीले लगानी गर्ने र बाँकी नेपाली लगानीकर्ताबाट जुटाउने गरी समझदारी भएको थियो ।

तराई पढ्न गएका ३ सय विद्यार्थी फर्काउन ३० लाख विनियोजन

काठमाडौं। डोल्पाको एक गाउँपालिकाले तराईका जिल्लामा पढ्न गएका विद्यार्थी घर फर्काउनका लागि रु ३० लाख रकम छुट्याएको छ । काइके गाउँकार्यपालिकाको आपतकालीन बैठकबाट जिल्ला बाहिर पढ्न गएका करिब ३०० विद्यार्थी घर फर्काउनका लागि ३० लाख रकम छुट्याएको हो । देशव्यापीरूपमा कोरोनाको त्रासका कारण नेपालगञ्ज, काठमाडाँै, पोखरा, सुर्खेतलगायतका जिल्लामा पढ्न गएका विद्यार्थीहरु घर फर्कन चाहेकाले उनीहरुलाई फर्काउनका लागि बैठकबाट रु ३० लाख रकम छुट्याइएको गाउँपालिकाका अध्यक्ष अङ्गत रानाले जानकारी दिए । आफू बसेको ठाउँबाट हवाईजहाज वा गाडी जुनसुकै सवारी साधनबाट घर फर्कने विद्यार्थीको भाडा गाउँपालिकाले व्यहोर्ने उनले बताए । विद्यार्थीका लागि छुट्याइएको रु ३० लाख रकमबाट मास्क, स्यानिटाइजर र साबुन खरिद गर्ने बताइएको छ । रासस

सोमबार प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुन

काठमाडौं । साताको दोस्रो दिन तोलामा ५ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ७७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आइतबार प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी ५ सय रुपैयाँ बढेर सोमबार प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । भने चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सरकारकाे करोना कोषमा नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनले १ करोड सहयोग गर्ने

काठमाडौं। सरकारद्वारा घोषणा गरिएको ‘कोरोना कोष’ मा नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनले एक कराेड रूपैयाँ सहयोग गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको उक्त काेषमा फाउन्डेसनले साे मात्राकाे सहयाेग गर्न लागेकाे हाे । बसन्त चाैधरीले ट्विटर मार्फत उक्त रकम बराबरकाे सहयोग गर्ने घोषणा गरेका हुन् । ‘नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने घोषणा गर्दछौं।’ उनले ट्विटरमा लेखेका छन् । मन्त्रिपरिषद्को आइतबार साँझको बैठकले कोरोना संक्रमणका विरूद्ध ५० करोडको कोषको घोषणा गरेको थियो। सो कोषमा मन्त्रीहरूबाट एक महिनाको पारिश्रमिक योगदान गर्ने बताइएको थियो।

लक्ष्मी बैंक अब काभ्रेको पनौतीमा पनि, शाखा संख्या १२१ पुग्यो

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १२१औँ शाखा काभ्रेको पनौतीमा संचालनमा ल्याएको छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ४ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १५० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकअनुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

अष्ट्रेलियामा आजबाट लकडाउन सुरु

काठमाडौं । अष्ट्रेलियामा आजबाट लकडाउन सुरु भएको छ । अत्यावश्यक ठाउँहरु बाहेक अष्ट्रेलियामा सबै ठाउँहरु आजबाट बन्द गरिने भएकाे हो । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आजबाट लकडाउन गर्न घोषण गरेका हुन् । क्यासिनो, बार, नाईटद क्लब, सिनेमा घर, जिम सेन्टर जस्ता मनोरन्जनका स्थानहरु बन्द हुनेछन् भन रेष्टुरेन्टहरुमा टेकअवेको मात्र व्यवस्था हुनेछ । सुपरमार्कट, पेट्रोल स्टेसन, फामेर्सी, अस्पताल, सपिङ मल, बैंकहरु खुला हुनेछन् । यसका साथै पार्क जस्ता सार्वजनिक ठाउँहरु पनि खुला हुनेछन् । यद्यपी विद्यालयहरु बन्द नहुने मोरिसनल बताएका छन् । तर अभिभावकहरुले चाहेको अवस्थामा आफ्ना छोराछोरीलाई घरमै राखेर अनलाईन कक्षाहरु उपल्बध भए लिन सक्ने उनले बताएका छन् । यस्तै अष्ट्रेलिया बासीहरुलाई पुर्ण रुपमा घरबाट निस्कन रोक भने लगाईएको छैन । उनीहरुलाई मानिसहरुसँग बाहिर निस्कँदा कम्तिमा पनि एक मिटरको दुरी राख्न आग्रह गरिएको छ । यस्तै  उनीहरुलाई अनावश्यक यात्राहरु पनि नर्गन अनुरोध गरिएको छ ।