विकासन्युज

आमाकाे मृत्यु भएकाे एक सातामै अभिनेता इरफान खानको निधन

काठमाडौं । बलिउड अभिनेता इरफान खानको मृत्यु भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो। उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्।  जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खानले अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो। गत शनिबार उनकी आमाको निधन भएको थियो।

निगमको दक्षिण कोरिया चार्टर्ड उडान स्थगित

काठमाडौं। भोली बिहीबारका लागि तय भएको नेपाल वायु सेवा निगमको दक्षिण कोरिया चार्टर्ड उडान स्थगित भएको छ । बिहीबारका लागि कोरियामा कार्यरत नेपाली कामदार लैजान निगमको उडान तय भएको थियो। दक्षिण कोरिया लैजान लागिएका सबै कामदारको स्वास्थ्य परीक्षण गर्नुपर्ने र समय लाग्ने भएकोले तत्कालका लागि उडान स्थगित गरिएको निगमले बताएकाे छ। दक्षिण कोरियाबाट विदामा आएका दुई सय ८० जना नेपाली कामदार रोजगारी गन्तव्यमा फर्किन लागेका भएपनि उनीहरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । उडानको अर्को मिति भने तय भएको छैन ।

लकडाउन खुकुलो पार्न सुझाव

काठमाडौं । देशमा भइरहेको लकडाउनलाई खुकुलो बनाउन सुझाव दिइएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले सुझाव लकडाउनका ककारण धेरै ठाउँमा समस्या भएकोले त्यति जोखिम नभएको ठाउँमा लकडाउन खुकुलो बनाए पनि हुने सुझाव दिएको हो । प्रतिष्ठानले सीमित क्षेत्रमा र कम जाेखिम भएकाे क्षेत्रमालकडाउन खुकुलो पार्न सुझाव दिएको छ । यस्तै, प्रतिष्ठानले यस वर्षको एसईई र ११ कक्षाको परीक्षा स्थगित गरी अघिल्ला परीक्षाहरुका आधारमा विद्यालयले नै उत्तीर्ण वा अनुत्तीर्णको प्रमाण पत्र दिन पनि सुझाव दिएको छ ।

एसईई र कक्षा ११ को नतिजा विद्यालयले नै निकाल्नु पर्ने !

काठमाडाैँ । एसईई र कक्षा ११ को नतिजा विद्यालयलाई नै निकाल्नु पर्ने सुझाव दिइएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले  यस वर्षको एसईई र ११ कक्षाको परीक्षा स्थगित गरी अघिल्ला परीक्षाहरुका आधारमा विद्यालयले नै उत्तीर्ण वा अनुत्तीर्णको प्रमाण पत्र दिन सुझाव दिएको हाे । कक्षा ११ को परीक्षा पनि यस वर्षका लागि स्थगित गरी विद्यालयमा लिइएका अघिल्ला परीक्षाहरुका आधारमा प्रमाण पत्र वितरण गर्न उपयुक्त हुने प्रतिष्ठानको ठहर छ । प्रतिष्ठानले कक्षा १२ को परीक्षा भने सबै उपाय अपनाई सञ्चालन गर्न आग्रह गरेको छ । कोरोनाको जोमि बढ्ने डरले लकडाउन भएसँगै सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई), कक्षा ११ र १२ तथा सबै विश्वविद्यालयका सबै परीक्षा स्थगित गरेको छ । प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले अपिल निकालेर संकटको यो घडीमा कक्षा ११ को परीक्षा यस वर्षका लागि स्थगित गरी विद्यालयमा लिइएका अघिल्ला परीक्षाहरुका आधारमा प्रमाण पत्र वितरण गर्नु नै उचित हुने बताएका छन् । यसैगरी विद्यालयहरुले दिवा खाजामा खर्च गरिराखेको पैसा बालबालिकाका अभिभावकलाई दिने व्यवस्था गर्न पनि प्रतिष्ठानले सुझाव दिएको छ ।

लकडाउन कार्यान्वयनमा प्रहरीको थप सक्रियता

काठमाडौं । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न नेपाल प्रहरीले मुलुकभर थप सक्रियता बढाएको छ । सरकारले जारी गरेको लकडाउनलाई पूर्ण कार्यान्वयनका लागि प्रहरीले गाउँगाउँसम्म सक्रियता बढाएको हो । गृहको निर्देशनअनुसार पछिल्लो समयमा प्रहरीले लकडाउनलाई थप कडाइसमेत गरेको छ । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले लकडाउनका बेला व्यक्तिलाई घरबाट बाहिर निस्कन नदिन र पासबिनाका सवारी आवागमनमा रोक लगाउन मातहतका प्रहरीलाई आवश्यक निर्देशन दिएको बताए । कालोबजारी नियन्त्रण गर्ने, लकडाउन पालना गराउने तथा अनुगमन गर्ने एवं उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिने काममा समेत प्रहरी सक्रिय रहेको प्रहरी महानिरीक्षक ज्ञवालीको भनाइ छ । प्रहरीले करिब ३५ हजारपटक माइकिङ गरेर सचेतनामूलक कार्यक्रम गरेको जानकारी दिँदै उनले अपराध अनुसन्धान, अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका साथै विपद् र विषम परिस्थितिबाट सिर्जित घटना रोक्न योजनाबद्धरूपले काम अघि बढाइएको बताए । लकडाउनको कार्यान्वयन अनुगमनका लागि आधुनिक प्रविधि (ड्रोन) को समेत प्रयोग गरी प्रहरीले गतिविधिको निगरानी गरिरहेको छ । पहिलोपटक घरबाट बाहिर निस्केका व्यक्तिलाई लकडाउनको जानकारी गराएर जहाँबाट आएको हो त्यहीँ फिर्ता पठाउने र पुनः दोहोर्याएर आएमा आवश्यक कारवाही गर्ने गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी महानिरीक्षक ज्ञवाली भने, “लकडाउन आदेशलाई अन्य निकायसँग समन्वय गरी नेपाल प्रहरीले पूर्णरूपमा समन्वयात्मक भूमिका र कार्यान्वयन गरिरहेको छ ।” कोरोनाको सङ्क्रमणलाई रोक्न सामाजिक दूरी कायम गर्नु महत्वपूर्ण हुन्छ । लकडाउन कार्यान्वयनमा खटिने प्रहरीसमेत उच्च जोखिममा छ । यस अवस्थामा सुरक्षित हुनका लागि मास्क, स्यानिटाइजरको प्रयोग गर्न सकिन्छ । आवश्यक औषधि उपचारका लागि नेपाल प्रहरी अस्पतालले विशेष व्यवस्था गरेको समेत प्रहरी प्रधान कार्यालयले जनाएको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले प्रहरीका लागि नेपाल प्रहरी अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गरेका बताउनुभयो । लकडाउनको अवस्थामा अधिकतम जनशक्ति खटाउने उद्देश्यअनुरुप विभिन्न प्रशिक्षणमा रहेका प्रहरी जनशक्तिलाई जुनसुकै अवस्थामा पनि आवश्यक स्थानमा खटाउन सकिने गरी तयारी अवस्थामा राखिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्सालले हाल तालिम स्थगन गरी प्रहरी कर्मचारीलाई लकडाउनको कार्यान्वयनका लागि खटाइएको जानकारी दिए । सम्भावित अवाञ्छित गतिविधिबारे चनाखो हुँदै स्वास्थ्यकर्मी, अस्पताल, भीडभाड व्यवस्थापनमा प्रहरीले सक्रियता बढाएको जनाइएको छ । रासस

के नेपालमा कोरोनाको औषधी पत्ता लागेको हो र ?

हेटौंडा । कोरोना महामारीले विश्व नै त्रासमय भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी गरे । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दाबी गरे । भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेस्ट्रीमा पिएचडी उपाधि हासिल गरेका डा.दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको जानकारी दिए । वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदैै डा. दासले सरोकारवालासँग सहयोगको आव्हान समेत गरेका थिए । उनले कोरोना भाइरसको औषधी निर्माण गर्न कडा मेहनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दाबी पनि गरे । यसअघि उनले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाए । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू आज उनले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारी समेत लिए । चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा कोरोनाको उपचार पद्धति र औषधीको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधीको थप परीक्षण हुन बाँकी नै छ । नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निष्कर्ष पुग्न सकिनेछ । डा. दासको दाबीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुन् । रासस

काे हुन् आज देखिएका ३ काेराेना संक्रमित ?

काठमाडाैं । नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएकाे छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमाको थप तीन जनामा कोरोना संक्रमण देखिएकाे हाे ।  उनीहरु ५०ऽ ४६ र ३१वर्षका पुरुष हुन् । टेकु अस्पताल स्रोतका अनुसार तीनमध्ये दुई जना संक्रमित बारा र एक जना वीरगन्जका रहेका छन्। उनीहरु तीनैजना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ जसमा १६ जना निको घर फर्किसकेका छन् । उनीहरु तीनैजना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए ।  संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदै छ ।  

लकडाउनको समयमा १ सय ५ फर्मको अनुगमन, १५ दिनमा ३२ कम्पनी कारबाहीमा

काठमाडौं । लकडाउनको अवधिमा १ सय ५ व्यवसायी कम्पनी कारबाहीमा परेका छन् । गत चैत ११ गतेदेखि मुलुकभर लकडाउनको अवधिमा गैरखाद्य तथा गुणस्तरहिन सामान बिक्री गर्ने १ सय ५ कम्पनी कारवाहीमा पारेका छन् । विभागले जरिवानाबाट ४७ लाख ५० हजार रकम असुल गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता रविन्द्र आचार्यले जानकारी दिए । वैशाखको १ गतेदेखि १५ गतेसम्म ५५ वटा खाद्य तथा व्यवसायी कम्पनीमाथि अनुगमन भएकोमा ३२ वटा कम्पनीलाई कारबाही भएको प्रवक्ता आचार्यले जानकारी दिए । उनका अनुसार जरिवाना रकम वापत बैशाख महिनाको १५ गतेसम्म ३८ लाख २० हजार रुपैयाँ उठेको  छ । त्यस्तै, चैत महिनाभरमा १ सय ६९ वटा खाद्य, पानी व्यवसायी माथि अनुगमन गर्दा ३२ वटा व्यवसायिक कम्पनी कारबाहीमा परेका छन् । चैत महिनामा २३ लाख ४५ हजार रुपैयाँ जरिवाना रकम असुल गरिएको छ । पाँच वटा वाणिज्य कार्यालयका ४८ जना कर्मचारीहरु बजार अनुगमनमा खटिरहेको विभागका प्रवक्ता आचार्यले जानकारी दिए ।