सीडीओ र व्यवसायीको वार्ता सकियो, लकडाउन खुकुलो बनाउन सिफारिस
काठमाडाैं । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू र व्यवसायीबीच भएकाे छलफल सकिएकाे छ । लकडाउनकाे अबधिमै व्यापारीहरूले आफूखुसी न्युरोडलगायत विभिन्न ठाउँमा पसल खोलेपछि काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै प्रमुख जिल्ला अधिकारी(सीडीओ) को आकस्मिक बैठक बसेकाे थियाे । बिहीबार बसेकाे उक्त बैठकमा सीडीओहरूले व्यापारीले आफूखुसी पसल खोलेकोबारे सरकारलाई जानकारी गराउने निर्णय भएकाे छ । ‘लकडाउन खुकुलो बनाउने वा थप कडा बढाउने भन्नेबारे हामीले निर्णय गर्ने कुरा हाेइन, तर लकडाउन केही खुकुलो बनाउन सकिन्छ कि भन्ने सिफारिस गरेका छाैं ।’- भक्तपुरकी सीडीओ हुमकला पाण्डेले बताइन् । साथै, उनले बैठकका निर्णयहरू क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) लाई जानकारी दिइने बताइन्। यससँगै लकडाउन खुकुलो बनाउने वा थप कडा बढाउने भन्नेबारे आज अपरान्ह बस्ने मन्त्रिपरिषदकाे बैठकले निर्णय गर्ने छ । सम्बन्धित समाचारहरूः ‘नयाँ मोडालिटी बनाएर लकडाउनलाई खुकुलो बनाइने’ आज मन्त्रिपरिषद् बैठक बस्दै, यी हुन् छलफल हुने विषयवस्तु
बौद्ध जोरपाटीका पसल खुल्न थाले, व्यवसायी भन्छन्- भोकै पर्नुपर्ने अवस्था आएकाले खाेलेका हाैं
काठमाडाैं । बौद्ध, जोरपाटी तथा नारायणटारका पसल खुल्न थालेका छन् । कोरोना भाइरसको जोखिम हुन नदिन गत चैत ११ गतेदेखि जारी लकडाउनको ७३ दिन बितिसकेको छ । लकडाउन लम्बिँदै गएपछि व्यवसायीले जीविकोपार्जन गर्न कठिन भएको भन्दै पसल खोल्न थालेका हुन् । आयआर्जनको बाटो रोकिएको र परिवार पाल्नसमेत मुश्किल परेको जनाउँदै ती स्थानका व्यवसायीले पसल खोल्न थालेका हुन् । कर, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएकाले पसल खुल्ला गरेको नारायणटारका व्यापारी सुनिल सापकोटाले बताए । ‘हामीले अहिलेसम्म सरकारको निर्णयलाई स्वागत गर्दै सहयोग गर्दै आयौँ तर अब सकिने अवस्था छैन, घरभाडा, कर्मचारीको खाना खर्च, करलगायतको पैसा तिर्ने भनेकै पसल सञ्चालनपछि नै हो’ उनले भने । जोरपाटीमा कपडा व्यवसाय गर्दै आएका लक्ष्मण दुलाल भन्छन्- ‘भोकै पर्नुपर्ने अवस्था आएकाले पसल खोल्न थालेका हौँ । सामाजिक दूरी कायम गरेका छौँ ।’ बैंकबाट लिएको ऋणको ब्याज तिर्न नसक्दा दिन दिनै ऋणको भार थपिँदै गएको तथा परिवारसमेत भोकै पर्ने अवस्था आएपछि पसल खोल्न बाध्य भएको व्यवसायीको भनाइ छ । अहिले सो क्षेत्रमा कपडा, जुत्ताचप्पल, बिजुली, हार्डवेयरलगायत पसल खुलेका छन् । रासस
उद्योग व्यवसायीको चौतर्फि दवावमा सरकार, मन्त्रिपरिषद्ले व्यापार/व्यवसाय खोल्ने निर्णय गर्ला ?
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा नै व्यापारीहरुले पसलहरु खोल्न थालेका छन् । उद्योगीहरुले पनि कोरोनासगँ सुरक्षित रहेर उद्योग, व्यापार र कलकारखाना खोल्न माग गरिरहेका छन् । नेपाल उद्योग परिसंका अध्यक्ष सतिश मोरले आफुहरुले व्यापार व्यवसाय खोल्न पाउनु पर्ने दवाव दिँदै आएकोले आज बस्ने मन्त्रिपरिषद् बैठकले व्यापार व्यवसाय खोल्न पाउने निर्णय गर्नेमा आफु ढुक्क भएको बताए । आर्थिक गतिविधि ठप्प भएकोले विश्वले नै लकडाउनकै समयमा उद्योग, व्यापार र कलकारखानाहरु चलाइरहेको छ, छिमेकी देश भारतले पनि लकडाउनकै बिचमा उद्योगधन्दा, कलकारखाना र व्यापार सुरु गरिसकेको छ, हामीले पनि अब सुरु गर्नुपर्छ,’ उनले भने । ‘हामीले सरकारलाई लकडाउनको समयमा नै उद्योग सञ्चालन गर्न सकिन्छ भनेर सुझाव दिएका छौं, आशा छ सरकारले व्यापार व्यवसाय खोल्न सक्ने निर्णय गर्छ,’ उनले भने । अर्थतन्त्र चलायमान बनाउन पनि उद्योग र व्यापार सुरु गर्नुको बिकल्प नभएको उनले बताए । नेपाल चेम्बर अर्फ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि आफुहरुले सरकारसँग व्यापार व्यवसाय खोल्न पाउनु पर्ने माग राखेकोले त्यसमा सरकार सकारात्मक रहेको बताए । ‘हामीले काठमाडौं, भक्तपुर र ललितपुरको सिडियोसगँ पनि उद्योग र व्यापार सञ्चालन गर्ने विषयमा छलफल गरेका छौं, संघीय सरकारदेखि स्थानीय सरकारसगँ पनि हामीले छलफल गरेका थियौं, सबै सरकार उद्योग र व्यापार सञ्चालनका लागि सकारात्मक छन्,’ श्रेष्ठले भने । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आज बस्ने मन्त्रीपरिषदबाटै उद्योग र व्यापार सञ्चालनको विषयमा लचिलो निर्णय भएर आउनेमा आफु ढुक्क भएको बताए । ‘लकडाउनले सबैलाई समस्या परेको छ, अर्थतन्त्रका लागि पनि अब सुरक्षित रहँदै उद्योगधन्दा र व्यापार सञ्चालन गर्नुको विकल्प छैन्, आज बस्ने मन्त्रीपरिषद्को निर्णयले पनि उद्योग सञ्चालनका लागि सहज वातावरण सिर्जना गर्नेमा म विश्वस्त छु,’ ढकालले भने । सरकारले ७३ दिन देखि जारी राखेको लकडाउनको विरोध गर्दै आजबाट व्यापारीहरुले पसल खोल्न सुरु गरेका छन् । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते देखि चैत १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो । दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो । सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ गतेसम्म, चौथो चरणमा वैशाख १५ गतेसम्म र पाँचौं चरणमा वैशाख २५ गतेसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग परामर्श पनि गरेका थिए । छलफलमा विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका छन् । लामो लकडाउनका कारण व्यवसायीहरु समस्यामा परेकोले सररकारको लकडाउन लम्बयाउने निर्णयको अवज्ञा गर्न थालेका हुन । सरकारले अत्यावश्यक सेवा भने सञ्चालन गर्ने व्यवस्था गरेको थियो । अब लकडाउन कुन मोडालिटीमा गर्ने भन्नेबारे उच्चस्तरीय समितिको सिफारिसमा सरकारले निर्णय गर्ने भनिएको छ ।
‘नयाँ मोडालिटी बनाएर लकडाउनलाई खुकुलो बनाइने’
काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै प्रमुख जिल्ला अधिकारी(सीडीओ) हरुले लकडाउनलाई खुकुलो बनाउने जनाएका छन् । उनीहरुले नयाँ मोड्यालिटि बनाएर कोभिड-१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो बनाउने जानकारी दिएको नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताएका छन् । नेपालका अध्यक्ष श्रेष्ठले बिहीबार तीनवटै प्रमुख जिल्ला अधिकारीहरु समक्ष कोभिड-१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलयमान गर्नुपर्ने सुझाव पेश गरेका थिए । यी सुझावलाई तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले सकारात्मक रुपले लिएका चेम्बरका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । अध्यक्ष श्रेष्ठले काठमाडौंको प्रमुख जिल्ला अधिकारी जनकाराज दाहाल, ललितपुरको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र सुरक्षाकर्मीहरुसँगको भेटमा उक्त सुझाव पेश गरेका हुन् ।
एसइई, कक्षा ११ र १२ को परिक्षाबारे एक साताभित्र निर्णय हुन्छः शिक्षामन्त्री
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले बुधबार आयोजना गरेको भर्चुअल संवादमा उनले ती परीक्षाका विषयमा विभिन्न तीन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आगामी साताभित्र निचोडमा पुगिने बताए । उनले अहिले परीक्षा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन, परीक्षा सञ्चालन गर्न सम्भव नभए राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिन कस्तो कानूनी उपाय अवलम्बन गर्नुपर्छ र कक्षा १० को परीक्षालाई नयाँ रूपमा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने विकल्पका मन्त्रिपरिषद्ले निर्णय गर्ने जानकारी दिए । उनले बन्दाबन्दीपछि अन्तिममा शिक्षण संस्था नै खुल्ने र त्यतिञ्जेलका लागि अस्थायी समाधान गर्न वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका कार्यान्वयनमा ल्याइएको उल्लेख गरे । ‘आगामी असार १ गतेबाट विद्यालय खोल्न खोजिएको होइन’, उनले भने- ‘तत्कालका लागि विकल्प मात्र हो । ४५ दिनपछि पनि यस्तै अवस्था रहेमा विभिन्न तीन योजनाका साथ अगाडि बढ्नेछौँ । दशैँ अगाडि कसरी जाने र दशैँ पछाडि कसरी जाने भन्ने योजना बन्नेछ ।’ मन्त्री पोखरेलले निर्देशिका कार्यान्वयनमा स्थानीय तहको भूमिका नै महत्वपूर्ण हुने स्पष्ट गर्दै भने, ‘पहिलो १५ दिनको काम हेरौँ । सबै विद्यार्थी त्यसबाट लाभान्वित भए त्यसलाई शैक्षिकसत्रसँग जोड्न सकिन्छ र त्यसले औपचारिक मान्यता पाउने छ ।’ रासस
मनाङमा देखा पर्यो सेतो हिमाली गिद्ध
मनाङ । ‘सेतो हिमाली गिद्ध मनाङ’मा देखा पर्न थालेको छ । सो प्रजातिको गिद्धलाई विश्व संरक्षण सङ्घ (आइयुसिएन)ले सन् २०१७ मा लोपोन्मुख पंक्षी बर्गमा राखेको थियो । विश्वमा २३ प्रजातिका गिद्ध पाइने भए पनि नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन् । खैरो गिद्धबाहेक अन्य आठ प्रकारका गिद्धलाई नेपालमा लोपोन्मुखको सूचीमा समावेश गरिएको छ । नेपालका प्रसिद्ध पंक्षीविद हेमसागर बरालले घरपालुवा चौपाया बिरामी परेको अवस्थामा उपचारगर्दा डाइक्लोफिनाक लगायत एनएसएआइडीजस्ता औषधिको प्रयोग गरिनु नै गिद्ध लोप हुनुको मुख्य कारण भएको बताए । ती औषधिको प्रयोग गरी उपचार गरेका गाईवस्तु एक/दुई हप्ता नबित्दै मरेको खण्डमा त्यसरी मरेका गाईवस्तुको सिनो खाएपछि यात गिद्ध मर्ने वा अन्यत्र सर्ने गर्छन् । यसले गर्दा नेपालमा गिद्धको सङ्ख्या घट्दै गएको उनले बताए । गिद्धलाई प्रकृतिको कुचिकारका रुपमा लिइन्छ । यसले मरेका र सडेगलेका सिनो खाइदिँदा दुर्गन्ध र त्यसबाट उत्पन्न रोगव्याधीबाट मानिसलाई सुरक्षित बनाउने काम गर्छ । लामो समयको बन्दाबन्दीका कारण वातावरणमा देखा परेको परिवर्तनसँगै ती जातका गिद्धहरु आहाराको खोजीमा यहाँ आइपुगेको विज्ञहरु बताउँछन् । यसैगरी गिद्धलाई आहाराको कमी हुनाका साथै यसलाई बसोबास र बच्चा उत्पादनका लागि आवश्यक पर्ने वनजङ्गलमा आवश्यक पर्ने सिमलका रुख मासिनुले पनि यिनीहरु बसाइँ सर्ने गर्छन् । यसको वासस्थान कमी भएपछि बसाइँ सर्नाले पनि यो गिद्ध लोप हुँदै गएको मानिन्छ । आजकाल भने हिमाली प्रजातिका गिद्ध करिब १ सयको सङ्ख्यामा एउटै समूहमा आहाराको खोजी गर्दै आउन थालेका समूहमा भेटिने गरेको छ । नेपाललाई सबैभन्दा धेरै प्रजातिको गिद्ध एकै स्थानमा पाउने मुलुकको सूचीमा समेटिएको छ भने एसियामा १६ प्रजातिका र उत्तर र दक्षिण अमेरिकामा सात प्रजातिका गिद्ध पाइन्छन् । भेटिएका मध्ये अधिकांश पाँच वर्षमुनिको रहेको चरा विज्ञ बरालको भनाइ छ । गिद्धको सरदर आयु ५० वर्षको हुने उनले बताए । रासस
तनावमा साना व्यवसायीः न रातमा निद्रा लाग्छ नत दिनमा भोक !
काठमाडौं । आजभन्दा ६ महिना अगाडि हेटौंडा घर भएकी सरिता दाहालले काठमाडौंको कलंकीमा ८ लाख रुपैयाँमा एउटा कपडा पसल खरिद गरिन् । तीन महिना अघिसम्म सो पसल राम्रैसँग चलेको थियो । ८ लाख रुपैयाँ बैंकबाट ऋण लिएर सञ्चालन गरेको सो पसलको भाडा, छोरीको पढाई खर्च र घर खर्च पनि राम्रैसँग चलाइरहेकी थिइन् सरिताले । तर, तीन महिना बित्न नपाउँदै सरिताले आफ्नो पसल अनिश्चितका लागि बन्द गर्नु पर्यो । चैत ११ गतेदेखि देशमा लकडाउन सुरु भएपछि मानिसको आवतजावतदेखि सम्पूर्ण व्यापार व्यवसायहरु पनि बन्द भए । त्यही अवस्थामा सरिताले पनि आफ्नाे पसल बन्द गर्न पुगिन् । सरितालाई लागेको थिएन कि यो लकडाउन यतिका दिनसम्म रहन्छ भनेर । तर, उनी र उनी जस्ता लाखौं व्यवसायीहरुका कमाइ खाने भाँडो (व्यापार व्यवसाय) बन्द भएपछि अब के खाने भन्ने चिन्ताले पिरोल्न थालेको छ । बैंकबाट लिएको ८ लाख रुपैयाँको व्याज तिर्नुपर्ने, कपडा पसलको भाडा तिर्नुपर्ने, अनि छोरी र घर खर्च पनि चलाउनु पर्ने । अब यो सब कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले उनलाई साह्रै सताउन थालेको छ । उनी भन्छन्, ‘ऋण लिएको पैंसाले धेरै समस्या पारेको छ, पसल बन्द भएपछि कसरी ऋण तिर्ने भनेर चिन्ता परेको छ, पसलमा श्रीमान र मैले नै व्यापार गर्ने गरेका थियौं, एउटा छोरीलाई पनि त्यही पसलको कमाइबाट पढाउने भनेर काठमाडौं आएका थियाैं, अब के गर्ने भन्ने चिन्ताले साह्रै पिरोल्न थालेको छ ।’ ‘दिनमा ३० हजार जतिको व्यापार हुन्थ्यो, त्यसबाट व्याज र परिवार चलेको थियो, अहिले त्यो बाटो बन्द भयो ।’ उनले भनिन् । देशव्यापी रुपमा निरन्तर बढिरहेको लकडाउनको कारण दिनभरी व्यापार व्यवसाय गरेर खाने साना व्यवसायीहरु साह्रै मारमा परेका छन् । सीमित रकम बैंकबाट ऋण लिएर सानो व्यवसाय सुरु गरेका उनीहरुलाई एकातर्फ बैंकको व्याज तिर्ने चिन्ता छ भने अर्को तर्फ पसलको भाडा र घर खर्च चलाउने तनाव छ । लामो सपना बोकेर काठमाडौंमा आई सानो तिनो व्यापार व्यवसाय सुरु गरेका उनीहरुलाई अहिले घरबेटीको भाडा दिनु पर्ने कचकच, बैंकबाट व्याज तिर्नु पर्यो भनेर आउने दैनिक फोन र छोराछोरीको विद्यालयबाट आउने फोनले पनि वाक्कदिक्क बनाइरहेको छ । कतिपयले त राति निद्राल नै नलागेर सुत्ने औषधि खाएर सुत्ने गरेको गुनासो विकासन्युजसँग गरे । आज लकडाउनको ७३ दिन पुगेको छ । काठमाडौंको कलंकीमै कपडा पसल सञ्चालन गर्दै आएका सुजन घिमिरेले पनि पसल बन्द गरेका ७३ दिन पुगिसक्यो । तर, उनको पसल खोल्ने भने कुनै सुरसार नै छैन । १० वर्ष पहिले देखि कलंकीमा कपडा पसल गरेर ४ जना परिवारको घर खर्च चलाउँदै आएका सुजन चैत ११ गतेदेखि घरभित्रै छन् । उनको पनि सरिताको जस्तै हाल छ । चैत १० गते ५४ हजारको व्यापार गरेको थिएँ, पसलमा आउने ग्राहकले भोलिबाट पसल बन्द हुन्छ भन्थे, तर उनीहरुले सस्तोमा कपडा दिन्छ कि भनेर भनेको होला भन्ने सोचेको उनी बताउँछन् । बेलुका कोठामा गएर समाचार हेर्दा भोलिबाट लकडाउन भनेर थाहा पाएको उनी बताउँछन् । त्यसपछि निरन्तर चिन्ता बढ्न थालेको उनले बताए । दैनिक ४०/५० हजारको व्यापार गरेर घरपरिवार चलाइरहेका सुजनलाई जति लकडाउन बढ्दै गयो घरायसी चिन्ता पनि थपिँदै गयो । ‘घरधनीहरुले घरको र सटरको भाडाहरु माग्न थाले, लकडाउन भएकोले व्यापार खुलेपछि व्यापार गरेर भाडा दिन्छु भनेर घरधनीलाई सान्त्वना गरेको उनी बताउँछन् । ‘व्यापारबाट दिनमा ८/१० हजार कमाइ थियो, र त्यही कमाइबाट बुटवलमा एउटा घडेरी जोडेको थिएँ, अब त्यो नै बेच्नु पर्ने अवस्था आइसक्यो, पसल र घरको गरी महिनाको ६० हजार भाडा तिर्नु पर्छ, गाउँमा गएर खेती गरौं भने पनि जग्गा छैन्, अब पसल खोल्नुको बिकल्प नै छैन्,’ घिमिरेले भने । यस्तै, कलंकीमै गोकुल खाजा घर नाम दिएर व्यापार व्यवसाय गर्दै आएका गोकुल लामा पनि अहिले तनावमा छन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसभन्दा पनि घर खर्च कसरी चलाउने, भाडा कसरी तिर्ने भन्ने चिन्ताले आफुलाई सताउन थालेको उनी बताउँछन् । लकडाउन हुनु भन्दा पहिले चिया, खाजा तथा खाना लगायत बिक्री गरेर दिनमा ८/१० हजारको व्यापार हुने गरेको बताउँदे उनले अहलिे छोरीको पढाई खर्च, कोठा भाडा कसरी तिर्ने भन्ने तनावले पिरोल्न थालेको उनले बताए । ‘सरकारले भाडा छुट दिन्छ भनेर हल्ला हुँदा धेरै खुशी लागेको थियो, तर पछि सरकारले घरभाडाको विषयमा बोल्नै छाड्यो, घरधनीले पनि सरकारले भनेर हुन्छ ? सरकारको घर होर भन्न थाले, समस्या हामीलाई नै छ,’ उनले भने । रोगले भन्दा पनि भोकले मरिने होकी भन्ने चिन्ता पनि हुन थालेको उनको भनाई छ । यी त केही प्रतिनिधि पात्रहरु मात्र हुुन् । यसरी दुरदराजबाट ठूलो सपना बोकेर काठमाडौंमा सानो व्यापार व्यवसाय सुरु गर्दै आएका मानिसहरु लाखौं छन् । अहिले लकडाउनको समयमा ती सबैको समस्या एउटै छ। हिजोको दिनमा त्यही व्यवसायबाट घर खर्च र भाडा तिर्दै आएका उनीहरु अहिले ठूलो समस्यामा परेका छन् । आफुहरुलाई कोराना भाइरसको संक्रमणभन्दा पनि भोकले मरिने होकी भन्ने चिन्ता बढ्न थालेको उनीहरू बताउँछन् । दिनभरी व्यापार गरेर घरखर्च चलाउने उनीहरुको व्यापार विगत तीन महिनादेखि बन्द हुँदा अब के गर्ने कस्तो गर्ने भन्ने अवस्थामा उनीहरु पुगिसकेका छन् । सरकारले यी साना व्यवसायीहरु मात्र नभई सम्पूर्ण नागरिकको जीवन सहज र यस्तो किसिमको तनाव सिर्जना नगर्नको लागि उचित व्यवस्थापन गर्न जरुरी छ ।
अमेरिकी विदेशमन्त्रीद्धारा विभिन्न देशका विदेशमन्त्रीसँग छलफल
वासिङ्टन । अमेरिकी विदेशमन्त्री माइकल पोम्पेओले विभिन्न देशका विदेशमन्त्रीहरुसँग कोभिड १९ तथा अन्य विषयहरुका बारेमा छलफल गरे । उनले बुधबार भारत, अष्ट्रेलिया, ब्रालिज, इजरायल र दक्षिण कोरियाका विदेशमन्त्रीहरुसँग फोनवार्ता गरेको बताए । हालै अमेरिका तथा विश्वका ती देशहरु पनि कोभिड १९ महामारीको समस्याबाट गुज्रिरहेको भन्दै यसबाट निकासका साथै आपसमा के कसरी सहयोग गरेर अघि बढ्ने भन्ने बारेमा सो छलफलका क्रममा कुराकानी भएको बताइएको छ । अमेरिकी विदेश मन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा विदेशमन्त्री पोम्पेओले कोभिड १९ महामारीबाट बच्नका लागि ती देशहरुले के कसरी समन्वय गरेर अघि बढिरहेका छन् भन्ने बारेमा जानकारी लिएका थिए । साथै त्यस कुराकानीका क्रममा ती देशहरुलाई यो महामारीबाट बच्नका लागि अमेरिकाले पनि आवश्यक सहयोग गर्ने आश्वासन विज्ञप्तिमा जानकारी दिइएको छ । त्यस छलफलका क्रममा ती विदेशमन्त्रीहरुले आगामी दिनमा पनि महामारीको रोकथाम र नियन्त्रणका लागि सहयोग र समन्वयका साथ अघि बढ्दा के कस्तो फाइदा हुन्छ भन्ने बारेमा पनि जानकारी गराएका थिए । त्यस छलफलका क्रममा अमेरिका चीन सम्बन्ध तथा अरु क्षेत्रीय विषयहरुका साथै आगामी दिनमा कोभिड महामारीबाट मुक्ति के कसरी हुने र त्यसपछिको विश्वको आर्थिका विकासको अवस्थालाई के कसरी अघि बढाउने भन्ने विषयका पनि विदेशमन्त्री पोम्पेओले विदेश मन्त्रीहरुसँग आवश्यक मात्रामा कुराकानी गर्नेछौं । रासस/एएनआई