विकासन्युज

विदेशबाट आएकालाई कहाँ कहाँ राखिने ? कुन कुन मन्त्रीलाई दिईयो जिम्मेवारी ?

काठमाडाैं । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् । विदशेबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा नजाँदासम्म बस्ने स्थान (होल्डिङ सेन्टर) झण्डै तीन हजार क्षमताको बनाइएको छ । सरकारले कोभिड-१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली शुक्रबारदेखि नेपाल फर्काउँदैछ । काठमाडौंमा तीन, ललितपुरमा दुई र भक्तपुरमा दुई सेन्टर निर्माण गरिएको छ । काठमाडौं र ललितपुरमा दुई होल्डिङ सेन्टर आवश्यक पर्दा प्रयोग गर्ने गरी जगेडामा तयारी अवस्थामा राखिएको छ । काठमाडौं र भक्तपुरमा एक/एक हजार क्षमताका बनाइएको छ भने ललितपुरमा ९०० क्षमताका छन् । सबै होल्डिङ सेन्टरको व्यवस्थापनको जिम्मेवारी भने नेपाली सेनालाई दिइएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेन्टरको आवश्यक तयारी पुरा भइसकेको जानकारी दिए । अन्य निकायको सहयोगमा सेनाले विमानस्थलबाट आएदेखि होल्डिङसेन्टरमा राख्ने र सम्बन्धित प्रदेशमा नबुझाउँदासम्मको प्रक्रिया, सुरक्षा तथा अन्य व्यवस्थापनको काममा सेनाको महत्वपूर्ण भूमिका रहने उनले जानकारी दिए । सरकारले काठमाडौंको यती पार्टी प्यालेस बसुन्धरा, स्काईजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस बसुन्धारामा होल्डिङ सेन्टर तयार पारेको छ जगेडाका रुपमा मिराकल पार्टी प्यालेस सुकेधारालाई तयारी अवस्थामा राखिएको छ । काठमाडौंमा रहेको होल्डिङ सेन्टरमा बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिनेछ । भक्तपुरमा एक हजार क्षमताका दुई पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । जसमा सूर्यविनायक नगरपालिका-५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र मध्यपुरथिमि नगरपालिका-४ स्थित हेरिटेज बैंक्वेट रहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए । यहाँ प्रदेश नं १ र २ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिने छ । प्रजिअ पाण्डेले भक्तपुरमा फोटोसहितको फर्म भर्ने व्यवस्था मिलाइएको तथा राति बस्नुपर्ने अवस्था हुन सक्ने भएकाले आवश्यक बेडको समेत व्यवस्थापन गरिएको जानकारी दिए । ललितपुरमा ९०० जनाका लागि डिलाईट पार्टी भेन्यू महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यू खरिबोट ग्वार्कोमा होल्डिङ सेन्टर बनाइएको छ । यहाँ जगेडाका रुपमा सिद्धार्थ कलेज धोवीघाट तयार पारिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यहाँको होल्डिङस्थलमा आएका नागरिकलाई सरल र सुरक्षित रुपमा व्यवस्थापन गरेर सम्बन्धित क्षेत्रमा पुर्याउने विषयमा आवश्यक तयारीको काम पूरा गरिएको जानकारी दिए । यहाँको खाने बस्ने व्यवस्थापन भने सरकारले गर्नेछ । सबै होल्डिङ सेन्टरको अन्तर्राष्ट्रिय मापदण्डअनुसार वैज्ञानिक रुपमा व्यवस्थापन गरिएको छ । अभिलेख राख्नेदेखि स्वास्थ्य जाँच गर्ने, विश्राम गर्ने स्थानको समेत आवश्यक व्यवस्थापन गरिएको छ । सेन्टरमा विशेषज्ञ चिकित्सकसहिको टोली रहनेछ । विदेशमा रहेका नेपाली मध्ये पहिलो चरणमा शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) को सारजहाबाट १५० जनाभन्दा बढी नेपाली स्वदेश फर्कने निश्चित भएको छ । श्रम करारका साथै प्रवेशाज्ञाको अवधि समाप्त भएका, रोजगारी गुमाएका, विद्यार्थी, छोटो अवधिका लागि भ्रमणमा गएका व्यक्ति, तालिम तथा सेमिनारमा भाग लिन गएका कर्मचारी, आफन्तको मृत्यु भई काजकिरिया गर्न आउनुपर्ने व्यक्ति तथा उपचारका लागि गएका बिरामीको आगमनलाई प्राथमिकतामा राखिएको छ । त्यसैगरी आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका र नेपाल आउन नपाएका, कोरोनाबाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई पनि स्वदेश फर्काउने प्राथमिकताको सूचीमा समावेश गरिएको छ । ४० हजार हाराहारीका नागरिकले स्वदेश आउन चाहना राखेका छन् । व्यवस्थापनमा नेपाली सेनाको भूमिका समग्र होल्डिङ सेन्टरको व्यवस्थापनको जिम्मेवारी भने नेपाली सेनालाई दिइएको छ । अन्य काममा समेत सेनालाई सहयोगी भूमिकामा राखिएको छ । विमानस्थलबाट आउनेलाई होल्डिङ सेन्टर पुर्याउने र त्यसपछि होटल, क्वारेन्टिन, स्थानीय क्वारेन्टिनसम्म पुर्याउनका लागि नेपाली सेनासहित प्रशासन, स्थानीय तह, यातायात व्यवस्थापन विभाग र प्रहरीको भूमिका रहेको छ । क्वारेन्टिन इलाकाको सुरक्षा रेखदेखको पूर्ण जिम्मेवारी नेपाली सेनालाई दिइएको सेनाका प्रवक्ता पाण्डेले जानकारी दिए । त्यसमा गृह मन्त्रालय अन्तरगतका निकाय र स्थानीय तहको सहयोगी भूमिका हुन्छ । आएका व्यक्तिको हेल्थ फर्म भर्न लगाएर स्वास्थ्य जाँचको नेतृत्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्नेछ । त्यसमा नेपाली सेनाका चिकित्सकसहितको टोलीले सहयोग गर्नेछन् । नेपाल प्रवेश गरेकालाई स्थानीय तहको क्वारेन्टिनसम्म पुर्याउनका लागि प्रदेश र स्थानीय तहलगायत त्यहाँ रहेका स्थानीय कोभिड-१९ संकट व्यवस्थापन समितिले जिम्मेवारी लिनेछ । त्यसमा पनि सहयोगी भूमिका सेनाको रहनेछ । क्वारेन्टिनमा बसेकाको स्वास्थ्य परीक्षण सेनाको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्नेछ । विदेशबाट उद्धार गरेर ल्याईएकाको समग्र मूल व्यवस्थापनको जिम्मेवारी तथा सञ्चालन, अनुगमन भने कोभिड-१९ संकट व्यवस्थापन (सिसीएमसी) ले गर्नेछ भने नेपाली सेनाको सहयोगी भूमिका हुनेछ । कुन प्रदेशमा कुन मन्त्रीको जिम्मवारी ? विदेशबाट आएका नागरिकलाई सम्बन्धित प्रदेशसम्म पुर्याउनका लागि आवश्यक समन्वय गर्न सरकारले सात मन्त्रीलाई जिम्मेवारी तोकिसकेको छ । जसअनुसार प्रदश नं १ को जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश नं २ को जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई तोकिएको छ । वाग्मती प्रदेशको जिम्मेवारी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, गण्डकी प्रदेशको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल, प्रदेश नं ५ को जिम्मेवारी ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, कर्णाली प्रदेशको जिम्मेवारी वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी खानेपानीमन्त्री बीना मगरलाई तोकिएको छ ।  रासस

अबका दिन उद्यमी व्यवसायीका लागि सहज नुहने- विनोद चौधरी

काठमाडौं । लगानी पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजना विशेष समितिका संयोजक तथा प्रतिनिधि सभा सदस्य विनोद चौधरीले अबका दिन उद्यमी व्यवसायीका लागि सहज नुहने बताएका छन् । कोभिड-१९ कारण अर्थतन्त्रमा परेको असर र प्रदेशको आगामी आर्थिक बर्ष २०७७/७८ को बजेटका उदेश्य र लिनु पर्ने प्राथमिकताका बारेमा बोल्दै उनले सो कुरा बताएका हुन् । आगामी दिनमा देशको लगानी, पूर्वाधार र रोजगारका क्षेत्रमा लिइनु पर्ने नीतिका बारेमा सबै प्रदेशका सदस्यहरु र उद्योगी व्यवसायीहरुसँग गरिएको छलफल कार्यक्रममा उनले कोभिड-१९ का कारण अबका दिन उद्यमी व्यवसायीका लागि सहज नुहने भन्दै त्यसको असर कम गर्न लागि हामी सबैको सामुहिक प्रयास जरुरी भएको बताए । साथै, उनले यो विशेष समितिले कोभिड १९ का कारण समस्यामा परेको अर्थतन्त्रलाई पुनःउत्थान गर्न संघीय सरकार र प्रदेश सरकारले लिनु पर्ने नीति र आगामी आर्थिक बर्षको बजेटमार्फत् सम्बोधन गरिनुपर्ने बिषयमा प्रकाश पारेका छन् । सोही उदेश्यले प्रदेश सभाका सदस्यहरु र उद्योग व्यवसायसँग सम्बन्धित सबै पक्षसँग निरन्तर छलफल आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा समितिका सहसंयोजक उमेश श्रेष्ठले अब पनि व्यवसाय निर्वाध सञ्चालन गर्न नसके अर्को वर्षको आर्थिक वृद्धिदर ऋणात्मक हुने बताए । संघीय बजेटले स्वास्थ्य, शिक्षा र कृषिलाई केन्द्रमा राखेर बजेट निर्माण गर्न असफल हुँदा त्यसको असर प्रदेश बजेटमा पर्ने चिन्ता उनले प्रकट गरेका छन् । कार्यक्रममा विशेष समितिका सहसंयोजक पूर्व मन्त्री दीपक खड्काले यो समिातिले उद्योगी व्यवसायी र राजनैतिक नेताहरुको बीच पुलको काम गर्ने बताए । त्यस्तै, कार्यक्रममा विशेष समितिका सहसंयोजक मा. इन्द्र वानियाले आवत जावतको कठिनाईले व्यापारमा धेरै घाटा भएको र अब व्यवसायीहरु घाटा सहन नसक्ने बताए । कार्यक्रममा संघीय सरकारको २०७७।०७८ को नीति तथा कार्यक्रम, बजेट र आगामी दिनमा मौद्रिक नीतिमा उद्यमी व्यवसायीका चासोका बारेमा समितिका तफबाट सबैलाई जानकारी गराईएको थियो । सबैजसो प्रदेशका सहभागीहरुले अबका दिनमा लामो लकडाउनका कारण कोभिड-१९ का कारणले भन्दा अरु रोगले धेरैको ज्यान गएको, आत्महत्याको दर बढेको, सुत्केरी मृत्युदर भयाभह भएको विचार राखेका थिए । यसैगरी लकडाउन बढ्दै गएमा कोभिड-१९ ले भन्दा भोकले धेरैको ज्यान जाने चिन्ता सहभागीहरुको थियो । प्रदेश १ का सहभागीहरुले उद्योग धन्दा बन्द रहेको, मेची र विराटनगर नाकाबाट निर्वाध नागरिकहरुको आगमन रहेकोले ठुलो जोखिम रहेको कुरा बताए । विराटनगर कोरोडोरमा मात्रै ५ सय उद्योग बन्द हुँदा ९० हजारको रोजगारी जोखिममा रहेको तथ्यांक प्रस्तुत भएको थियो । अब विदेशबाट आउने युवाहरु श्रमिक नभई नेपालमा श्रम गर्न नचाहेर विदेश गएर मालिक बन्न चाहेका नेपाली भएको उल्लेख गर्दै उनीहरुको व्यवस्थापन निकै चुनौतीपूर्ण रहको सहभागीहरुको विचार थियो । प्रदेश २ का सहभागीहरुले प्रदेशको भौतिक पूर्वाधार अत्यन्त नाजुक छ, सिमानाबाट हजारौंको संख्यामा नेपालीहरुको दैनिक प्रवेश भइरहेको तर उनीहरुको व्यवस्थापन गर्न नसकिएकोले पुरै प्रदेश आतंकित छ भन्ने विचार व्यक्त गरे । देशमा सबैभन्दा धेरै उद्योग रहेको यो प्रदेशमा सबैभन्दा धेरै समस्या पनि यही रहेको उल्लेख गर्दै सहभागीहरुले अबको बजेटले यी समस्या समाधानका उपायहरुका ध्यान दिने आसा व्यक्त गरे । बाग्मती प्रदेशका सहभागीहरुले काठमाडौं हेटौंडा सरुंग मार्गले यो प्रदेश र पुरै देशको मुहार परिवर्तन गर्ने बताउँदै अहिले कामदार र उद्योगलाई उत्पादन र वितरणसँग मात्रै जोडेर नपुग्ने बताए । साना व्यवसाय डबे ठुला चल्न नसक्ने हुँदा अबको दिन मागमा केन्द्रित हुने र त्यो कठिन हुने उनीहरुको विचार थियो । यो प्रदेशले आगामी वर्ष पूर्वाधारमा धेरै खर्च गर्नुपर्नेमा सहभागीहरुले जनाए । गण्डकी प्रदेशको कार्यक्रमका सहभागीहरुले यो कोभिड १९ सत्ताधारी पार्टीहरुका लागि अबसर भएको तर उद्योग धन्दाका लागि अभिशाप भएको बताए । पर्यटन उद्योगको मेरुदण्ड यो प्रदेश कोभिड १९ का कारण त्रसित भएको सहभागीहरुको भनाई थियो । कार्यक्रममा समितिका सदस्य सूर्य वहादुर केसीले अबका दिनमा नेपाली श्रम बजारमा दक्ष श्रमिकको अभाव हुनेहुँदा त्यसको प्रभाव उत्पादन र लागतमा पर्ने बताए । प्रदेश पाँचको कार्यक्रममा सहभागी हुँदै सहभागीहरुले यो प्रदेश देशको खाद्य भण्डार र वुद्धको जन्मभूमी भएकोले कृषि र पर्यटन यसको विकासका आधार हुन् भन्ने विचार व्यक्त गरे । अहिले कोभिड १९ को सबैभन्दा धेरै असर यही प्रदेशमा परेकोले त्यसको असर कम गर्ने नीति आगामी बजेटले लिनुपर्ने यो प्रदेशका सहभागीहरुको रह्यो । कर्णाली प्रदेशको कार्यक्रमका सहभागीहरुले यातायातको समस्या नै कर्णालीको विकासको अबरोध भएकोमा जनाए । महत्वपूर्ण जडिबुटि देखि लिएर राराताल सम्मको यो क्षेत्रको बजेटले कनेक्टिभिटीमा ध्यान दिनुपर्ने उनीहरुले बताए । सुदुर पश्चिम प्रदेशको छलफल कार्यक्रमका सहभागीहरुले नेपाल भारत सीमाबाट आएका नेपालीहरुको जाँच राम्रो नहुदा कोरोनाको स्थिति भयावह भएको बताए । पचास प्रतिशत जनसंख्या गरिवीको रेखा मुनी रहेको यो प्रदेशमा कोभिड १९ का कारण यो संख्या अझैं बढ्न जानाले अबका दिन रोजगारी केन्द्रित कार्यक्रम ल्याउनुको विकल्प नरहेको विचार व्यक्त गरे । विशेष समितिले कार्यक्रमको छलफलमा उठेका सबै विषयहरु समेटेर विस्तृत प्रतिवेदन तयार गर्नेछ । प्रतिवेदनले प्रदेशहरुले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटमा सम्वन्धित प्रदेशका जनताका समस्या सम्बोधन गर्न मार्गनिर्देश गर्नेछ ।

प्रदेश २ का ५ जना मर्यादापालकलाई काेराेना पुष्टि, बैठक अनिश्चितका लागि स्थगित

काठमाडाैं । प्रदेश नम्बर २ को प्रदेश सभामा कार्यरत ५ जना मर्यादापालकमा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण देखिए‍पछि प्रदेश सभा बैठक स्थगित गरिएकाे छ। पाँच जना मर्यादापालकमा कोरोना पुष्टि भएपछि पूर्वनिर्धारित प्रदेश सभाको चौँथो अधिवेशनको दोस्रो बैठक अनिश्चितका समयका लागि स्थगित भएकाे हाे । दोस्रो बैठक कार्यसूची अनुसार बिहीवार ३ बजे आह्वान गरिएको थियो। तर, मर्यादापालकको रिपोर्ट पोजेटिभ आएपछि बैठक अनिश्चित समयसम्मको लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ।

आज नेपाल एयरलाइन्सकाे जहाज नेपाली लिएर जापान उड्दै

काठमाडौं । आज भिसा लागिसकेका नेपाली नागरिकहरु लिएर नेपाल वायुसेवा निगमकाे जहाज  जापानको नारिता उड्ने भएकाे छ । जापानमा भिसा लागिसकेका नेपाली नागरिकलाई लिएर जहाज नारिता उड्न लागिएकाे बताइएकाे छ । नेपालबाट बिहीबार र आगामी २५ गते नारिता उड्ने गरी जहाज चार्टर्ड भएको निगमले जनाएको छ । यी दुई जहाज निजी ट्राभल एजेन्सीले चार्टर्ड गरेको र यसमा नेपालस्थित जापानी दूतावासको कुनै भूमिका समेत नरहेको निगमले बताएको छ ।

नेपाल छिरेको भाइरस कडा छैन- डा. वासुदेव पाण्डे

काठमाडाैं । कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ लाग्नेजस्ता लक्षण देखिनुपर्नेमा त्यसो पाइएको पाइएको र्छैन । इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले यहाँ देखिएका ९५ प्रतिशत सङ्क्रमितमा कोभिड-१९ को लक्षण नदेखिएको बताए । संसारमा भने ८० प्रतिशत सङ्क्रमितमा पनि लक्षण देखिएको छैन । उनले कोभिड-१९ परीक्षणका क्रममा ती बिरामीमा सङ्क्रमण देखिए पनि सङ्क्रमतिको अवस्था भने सामान्य मानिस सरहको छ । लक्षण नदेखिनुमा परीक्षण ढिलो, नेपालमा प्रवेश गरेको भाइरस कडा खालको नहुने र नेपालीमा प्रतिरोधात्मक क्षमता बढीजस्ता कारणले लक्षण नदेखिएर सङ्क्रमण हुनसक्ने बताए । ‘कोरोना भाइरस मानिसमा १४ दिनसम्म देखापर्ने गर्दछ, तर हामीले परीक्षण १४ दिनपछि पनि गरेका छौँ’, उनले भने- ‘भाइरस मानिसमा सरेको १४ दिनपछि परीक्षण गराउँदा लक्षण नदेखिन सक्छ ।’ सङ्क्रमितमध्ये पाँच प्रतिशत बिरामी भने सङ्क्रमणको लक्षणसहित मुटुरोग, उच्चरक्तचाप, दमलगायतका बिरामी छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले पनि शुरु-शुरुमा बाहिरबाट आउने बिरामीमा भाइरसको लक्षण भए पनि पछिल्लोपटक आउने बिरामीमा नभएको बताए । उनले कतिपय बिरामीलाई उच्च ज्वरो, स्वास फेर्न गाह्रो, थकाइ लाग्नेजस्ता लक्षण भने देखिएको बताए । ‘शुरु-शुरु बाहिर मुलुकबाट लक्षण लिएर आएका सङ्क्रमितमा लक्षण देखिएको थियो’, अस्पतालका निर्देशक डा राजभण्डारीले भने, ‘तर पछि भारतबाट आएका सङ्क्रमितमा भने त्यस्तो लक्षण देखिएको छैन ।’ उनले लक्षण नदेखिएपछि दीर्घरोगी सङ्क्रमितलाई बढी पावरको औषधि प्रयोग गर्नुपरेको बताए । सङ्क्रमण भएका व्यक्तिमा १४ दिनपछि पिसीआर परीक्षण गर्दा भाइरस निकै कम सक्रिय रहेको हुन्छ । त्यतिबेला परीक्षण गराएका व्यक्तिमा सङ्क्रमण देखिन पनि सक्छ, नदेखिन सक्छ । भाइरस पाँचदेखि १० दिनमा एकदमै सक्रिय हुनाले त्यतिबेला पिसीआर परीक्षण गराउनुपर्ने हुन्छ । इपिडीमियोलोजी महाशाखाका निर्देशक डा पाण्डेले बाहिरबाट आएकालाई राम्रो क्यारेन्टिनमा राख्न, सके डेङ्गु मलेरियाजस्ता रोगबाट बचाउन सकिने बताए । उनले अहिले स्थानीय तहले बनाएका क्यारेन्टिनमा त्यति राम्रो व्यवस्थापन नभएकाले डेङ्गु, मलेरियाजस्ता रोग फैलने डर रहेको बताए । नेपालमा अहिलेसम्म दुई हजार छ सय ३४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये दश जनाको मृत्यु भएको छ भने २७८ उपचारपछि घर फर्किसकेका छन् । यस्तै अन्यको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म ६५ जिल्लामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण युवा अवस्थाका व्यक्तिमा सबैभन्दा बढी देखिएको छ । १५ वर्षदेखि २४ वर्ष उमेरका ७१३, २५ वर्षदेखि ३४ वर्ष उमेर समूहका ५६२, ३४ वर्षदेखि ४५ वर्ष उमेर समूहका ३४४, ४६ वर्षदेखि ५४ वर्ष उमेर समूहका १२६ जनामा रहेका छन् । वृद्धा र केटाकेटीमा कम छ । अहिलेसम्म पिसीआर ८० हजार २६७ र आरडिटी एक लाख २० हजार २७९ जनामा परीक्षण गरिएको छ । यस्तै, एक लाख ५५ हजार ८६८ क्वारेन्टिनमा र दुई हजार १३ जना आइसोलेसनमा रहेका छन् । रासस

सरकारको बजेटप्रति निर्माण व्यवसायी असन्तुष्ट, थप माग समेट्न आग्रह

काठमाडाैं । निर्माण व्यवसायी महासंघले सरकारले सार्वजनिक गरेको आगामी वर्षको बजेटमा असन्तुष्टि जनाएको छ ।समग्र रुपमा बजेट राम्रै भएपनि निर्माण व्यवसायीको पुर्नउत्थान, व्यवसायीहरुको इजाजतपत्रको नविकरणको शुल्क मिनाह, बैंक ग्यारेन्टी र बीमाको म्याद थप लगायतमा निर्माण व्यवसायका क्षेत्रमा परेको असरलाई सम्बोधन नगरिएको भन्दै असन्तुष्टि जनाएकाे हाे । महासंले एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदमहरुबाट प्रभावित निर्माण व्यवसाय समेतलाई पुर्नउत्थानमा जोड नदिइएको गुनासो गरेकाे छ । व्यवसायीहरुको इजाजतपत्रको नविकरणको शुल्क मिनाह, बैंक ग्यारेन्टी र बीमाको म्याद थप, श्रम सूचना बैंकको स्थापना, रोजगारीका लागि तालिमको व्यवस्था लगायतका व्यवस्थाहरु बजेटमा उल्लेख भएतापनि कोभिड १९ को कारण निर्माण व्यवसायको क्षेत्रमा परेको गम्भीर असरलाई स्पष्टका साथ सम्बोधन हुन नसकेकोले व्यवसायीलाई थप उत्साहित बनाउन सकेको छैन,’ विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

इन्धनकाे मूल्य सस्ताे भएसँगै बुद्ध एयरले भाडा घटायाे, यस्ताे छ भाडादर

काठमाडाैं । हवाई इन्धनको मूल्य सस्तो भएपछि बुद्ध एयरले भाडा घटाएको छ। बुद्धले गन्तव्यअनुसार २ सय २५ देखि १ हजार १ सय ५ रुपैयाँसम्म भाडादर घटाएको जानकारी दिएको छ। केही समयअघि नेपाल आयल निमगले हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ घटाएको थियो। त्यस्तै बजेट मार्फत् सरकारले इन्धनमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर पनि हटाइदिएको थियो। समग्रमा इन्धनको मूल्य घटेपछि बुद्धले सोहीअनुसार भाडा समायोजन गरिएको जानकारी दिएको छ।लकडाउनका कारण उडान बन्द भएपनि खुल्नेवित्तिकै उडानका लागि सबै तयारी पुरा गरिएको जानकारी दिएको छ। घटेकाे भाडादर: माउण्टेन फ्लाइट    – ८६० काठमाडौं– भरतपुर– २७० काठमाडौं – पोखरा – ३९५ काठमाडौं – विराटनगर–६०० काठमाडौं – जनकपुर– ३२० काठमाडौं – सिमरा –२२५ काठमाडौं – भैरहवा –५१५ काठमाडौं – धनगढी–११०५ काठमाडौं – नेपालगञ्ज –८१५ काठमाडौं – भद्रपुर– ७५० काठमाडौं – तुम्लिङटार –४६५ विराटनगर – तुम्लिङटार –२७० पोखरा माउण्टेन फ्लाइट–७८५ पोखरा – भरतपुर–२८० पोखरा – भैरहवा –३२५ काठमाडौं – राजविराज –५१० काठमाडौं – सुर्खेत –८६५

कर्णाली प्रदेशले महामारी, भोकमरी र रोजगारीलाई प्राथमिकतामा राखेको छः प्रकाश ज्वाला

अहिले सातै प्रदेश सरकारलाई बजेट निर्माण गर्ने चटारो छ । यही चटारोमा कर्णाली प्रदेश सरकार पनि जुटिरहेको छ । चालु आर्थिक वर्षका लागि ३४ अर्ब ३५ करोड ३४ लाख रुपैयाँको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कतिको बजेट ल्याउँदैछ ? बजेटका प्राथमिकता के–के हुन् ? र कोरोना भाइरसको महामारीलाई केन्द्रित गर्दै प्रदेश सरकारका नयाँ कार्यक्रमहरु के कस्ता छन भनेर कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालासँग विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । कर्णाली प्रदेशको आगामिक आर्थिक वर्षको बजेटको प्राथमिकता के–के हुन् ? अहिले कोरोनाको महामारी छ । यो महामारीलाई मध्येनजर गर्दै हाम्रो बजेट आउँछ । हुनत अहिलेको बजेटको प्राथमिकता सबै प्रदेशका एकै किसिमका होलान् । कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको बजेटका मुख्य प्राथमिकता भनेका महामारी नियन्त्रण, भोकमरीबाट जनताको जीवन रक्षा गर्ने, रोजगारीका अवसरहरु सिर्जना गर्ने हो । आम नागरिकलाई रोजगारी दिएर आत्मनिर्भर बनाउने नै हो । कोरोना भाइरसले अहिले अर्थतन्त्र र मानिसलाई निकै असर पारेको छ । आर्थिक पुनरुत्थान र यसको जोखिम कम गर्नतर्फ हाम्रो बजेट केन्द्रित हुनेछ । अहिले स्वास्थ्यका भौतिक पूर्वाधारहरु निर्माण गर्न सकिन्छ । शिक्षालाई कसरी व्यावहारिक बनाउने भन्ने तर्फ हाम्रो ध्यान जानेछ । कर्णाली प्रदेश सरकारले कोरोनाबिरुद्ध ठुलो जनशक्ति पनि परिचालन गरेको छ । हामीले नीति तथा कार्यक्रम मार्फत पनि कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणसँगै स्वास्थ्य, शिक्षा र कृषि रोजगारीलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छौं । कर्णाली प्रदेशका सबै स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गरिने पनि हामीले भनेका छौं ।  सबै जिल्ला अस्पतालमा कम्तीमा १ सय शय्याको आइसोलेसन, ५ शय्याको आईसीयु र एक भेन्टिलेटरको व्यवस्था पनि गर्ने भनेर निती तथा कार्यक्रममा उल्लेख पनि छ । आगामी बजेटमार्फत धेरैलाई रोजगारी दिने भन्नुभयो, कति नागरिकलाई रोजगार बनाउनु हुन्छ ? कर्णाली प्रदेशमा भारतबाट करिब ५० हजार फर्किदै र फर्कि रहेका पनि छन् । देशका विभिन्न ठाउँहरुबाट पनि हाम्रा नागरिकहरु प्रदेश भित्रिदै छन् । अन्य देशहरुबाट आउने क्रम जारी नै छ । करिब १ लाख मानिसहरु कर्णालीमा फर्किदै छन् । हामी उनीहरुका लागि दुई किसिमका कार्यक्रमहरु ल्याउँदैछौं । एउटा मुख्यमन्त्री कार्यक्रम हो । जसमार्फत कृषि उत्पादन र रोजगारी सिर्जना गर्न सहयोग पुग्छ । प्रदेशमा विभिन्न साना घरेलु उद्योग स्थापना गरेर नागरिकलाई रोजगारी सिर्जना गर्ने हो । अर्को उनीहरुलाई खाद्यान्नमा श्रम सहितको रोजगारी हो । नागरिकले उसले खाद्यान्न पनि पाउँछन् र भोकमरीबाट पनि बाँच्छ र विकास पनि हुन्छ । मुख्यमन्त्री कार्यक्रम भनेको छाता कार्यक्रम हो । त्यसअन्तर्गत जिविकापार्जन हुने कार्यक्रम कृषिसँग सम्बन्धित र खाद्यान्न उपल्बधता सँगै विकास निर्माण ससहितको कार्यक्रमहरु हुनेछन् । अहिले हाम्रो अनुमान भनेको ७ लाख मानिसहरुलाई रोजगार बनाउनु पर्छ भन्ने हो । हामीले बाहिरबाट आएका मानिसहरुलाई पुुरै वर्ष दिन नसकेपनि ३ महिनाको वा १ सय दिनसम्मको रोजगारी दिन सक्यो भने आत्मनिर्भर बन्न सक्छन् । धेरै त आफ्नो खेतिपातीबाट पनि निर्वाह गर्न सक्छन् । यसरी नै हामी योजना बनाइरहेका छौं । कर्णाली प्रदेशको अहिलेको आवश्यकता के हो ? अहिलेको मुख्य आवश्यकता र चुनौती भनेको कोरोना भाइरसको महामारीबाट बच्नु हो । यसको नियन्त्रण, रोकथाम तथा उपचारको कुरामा ध्यान दिनु पर्छ । स्वास्थ्य सँग सम्बन्धित पूर्वाधार निर्माण पनि हो । यसतर्फ हाम्रो गम्भीर ध्यान गएको छ । बजेट पनि त्यसैलाई केन्द्रित भएर आउँछ । उपचारका निम्ती उपकरण, स्वास्थ्यकर्मीको व्यवस्थाको कुराहरु छन् । स्वास्थ्य संस्थाहरुलाई सक्षम बनाउने कुराहरु छन् । यी महत्वपूर्ण विषयहरु छन् । खाद्यान्न आपुर्ति गर्ने, मानिसहरुलाई भोकभोकै मर्न नदिने र नागरिकलाई रोजगारी प्रदान गरेर आत्मनिर्भर बनाउने कुरा पनि महत्वपूर्ण हो । कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्गमा हुने दुर्घटनालाई लक्षित गर्दै दैलेखको राकममा ट्रमा सेन्टर स्थापना गरिने, प्रदेश सरकारले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्थापना गर्नेे, घुम्ती स्वास्थ्य सेवा र टेलिमिडिसिन सेवा सञ्चालन गर्नेे, हवाइ उद्धार कार्यक्रम यथावत राख्ने र स्वास्थ्य प्रोफाइल तयार गर्ने नीति पनि लिएको छ । एक जिल्ला एक पर्यटकीय क्षेत्रको विकास गर्ने, प्रदेशका सबै जिल्लाका विमानस्थल सञ्चालन गर्ने प्रदेश सरकारको नीतिमै छ । ठूला पूर्वाधार विकासका लागि परियोजना बैंक बनाउने, निजी क्षेत्र, सहकारी क्षेत्रसँग सहकार्य गरेर रोजगारी वृद्धिका कार्यक्रम ल्याउने र युवालाई उद्यम र रोजगारी दिन मुख्यमन्त्री युवा उद्यमी कार्यक्रम सञ्चालन गर्ने हाम्रा कार्यक्रमहरु रहेका छन् । यी विविध कार्यक्रम तथा योजनाहरुका लागि कत्ति सम्मको बजेट ल्याउँदै हुनुहुन्छ ? अहिले संघले पनि बजेटको आकार घटाएको छ । कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको बजेटको आकार पनि अवश्य घट्छ नै । सामान्यतयाः चालु आर्थिक वर्षभन्दा केही घटाएर ल्याउने गृहकार्यमा हामी छौं । हामीले ३४ अर्ब ३५ करोड ३४ लाख रुपैयाँको बजेट ल्याएका थियौं । अब आगामी आर्थिक वर्षको बजेट त्यो भन्दा केही घटेर आउँछ । अहिलेको तयारी गर्दै गर्दा करिब । ३३ देखि ३४ अर्ब सम्को बजेट आउँछ । चालु आर्थिक वर्षको बजेटको उपलब्धि र कार्यान्यवनको अवस्था कस्तो रह्यो ? कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयन एकदमै तीव्र गतिमा अगाडि बढिरहेको थियो । तर, बिचैमा कोरोना भाइरसले उत्पन्न लकडाउनले गर्दा विकास निर्माणका कामहरु ठप्प हुँदा केही सुस्त चाहिँ भयो । यसको बिचमै पनि सुरक्षा सर्तकता अपनाएर केही कामहरु गरिरहेका छौं । ५० प्रतिशतसम्म पुगाउन सकिन्छ कि भनेर लागिरहेका छौं । त्यति निराशाजनक नभएपनि एभरेजमा हाम्रो कजेट कार्यान्वयन भएको छ । संघकले ल्याएको बजेटप्रति कर्णाली प्रदेशको धारणा के कस्तो छ ? समग्रमा संघको बजेट ठीकै छ। तर, केही विषयमा प्राथमिकतामा केन्द्रित हुनु पर्थ्यो । जस्तै महामारी भोकमरी र रोजगारीमा केन्द्रित हुनु पर्थ्यो त्यो भएन । सामन्यतया सबै विषयमा समान खालको प्राथमिकता छकि भन्ने जस्तो छ । अर्को संघियतामा आउन सकेन । प्रदेशलाई ४ प्रतिशत, स्थानीय तहकलाई ७ प्रतिशत भनेको एकात्मक किसिमको झल्को दिने खालको भयो । तर, कर्णलीको हकमा चाहिँ महत्वपूर्ण पूर्वाधारका कार्यक्रमहरु छन् । केही विषयहरु कर्णलीमैत्री पनि छन् ।  कर्णालीका झण्डै दुई दर्जन महत्वपूर्ण आयोजनालाई प्राथमिकता दिनु कर्णालीवासीका लागि खुशीको कुरा हो । कर्णालीमा स्वास्थ्य, सडक, खानी, खेलकुद, कृषि, पर्यटन, रोजगारी र औद्योगिक लगायतका क्षेत्रले बजेटमा प्राथमिकता पाएको छ ।