एमालेको ११औँ राष्ट्रिय महाधिवेशन भक्तपुरमा सुरु हुँदै, ३ लाख मानिस सहभागी हुने
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन शनिबार बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष समारोहबीच महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भक्तपुरको सल्लाघारीस्थित करिब १०८ रोपनी क्षेत्रफलमा फैलिएको खुला चौरमा महाधिवेशन आयोजना गरिएको हो । महाधिवेशनलाई भव्य र ऐतिहासिक बनाउने तयारी अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ । उद्घाटन समारोहका लागि विशाल मञ्च निर्माण गरिएको छ भने अत्याधुनिक ध्वनि तथा दृश्य प्रविधि जडान गरिएको छ । हजारौँ प्रतिनिधि, पर्यवेक्षक र अतिथिहरूको सहभागिता रहने अपेक्षा एमालेले गरेको छ । एमालेले ११औँ महाधिवेशनको उद्घाटन सत्रमा करिब तीन लाख मानिस सहभागी हुने जनाएको छ । महाधिवेशन व्यवस्थापन समिति प्रमुख राजन भट्टराईका अनुसार २९ भन्दा बढी विदेशी नियोगका प्रमुख प्रत्यक्ष सहभागी हुनेछन् भने ३२ मित्रराष्ट्रका राजनीतिक दलहरूले शुभकामना सन्देश पठाएका छन् । भट्टराईले स्वदेशका सबै राजनीतिक दललाई उद्घाटन सत्रमा आमन्त्रण गरिएको दाबी गरे। सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिइएको छ । महाधिवेशनस्थल वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ भने यातायात, स्वास्थ्य तथा स्वयंसेवक व्यवस्थापनलाई पनि व्यवस्थित बनाइएको छ । उद्घाटन सत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने जानकारी पनि भट्टराईले दिए । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनलाई पार्टीको इतिहासमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। यस महाधिवेशनले पार्टीलाई थप सुदृढ बनाउँदै आगामी राजनीतिक यात्राको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।
आजदेखि सञ्चालनमा आयो मोक्सी होटल
काठमाडौं । काठमाडौंको कमलादीमा निर्माण भएको मोक्स होटल शुक्रबार (आज)देखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । करिब दुई अर्ब रुपैयाँ लागतमा निर्माण भएको उक्त होटलका सञ्चालक शशिकान्त अग्रवाल हुन् । इन्टरनेशनल हिमालयन हस्पिटालिटी एण्ड होटलमार्फत निर्माण भएको होटल मोक्सी मेरियट ब्राण्डमा आधारित छ । दुई रोपनी क्षेत्रफलमा निर्माण भएको उक्त होटलमा १०१ वटा लक्जरियस कोठाहरू छन् । होटलमा क्याफेटेरिया, बार, स्वीमिङ पुल, साउना स्टीम, हेल्थ क्लबलगायतका सुविधा हुने छ । यो होटल युवावर्ग र विदेशी पाहुना लक्षित हो । यो होटललाई एसियाकै दोस्रो होटलका रूपमा लिइएको छ । यस्तो होटल पहिला जापानमा बनिसकेको छ भने युरोप र अमेरिका पनि फैलिइसकेको छ । असोजदेखि होटल पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको भएपनि जेनजी आन्दोलनको कारण ढिलाइ भएको थियो । यसअघि ठमेलमा म्यारियटको चारतारे र नक्सालमा पाँच तारे होटल सञ्चालन भइसकेकोमा यो तेस्रो होटल हो । पौने २ अर्ब लागतमा कमलादीमा ठडियो १२ तले मोक्सी होटल, छिट्टै ओपनिङ (फोटोफिचर)
एमालेको ११ औं महाधिवेशनको उद्घाटन भव्य हुने, यस्तो छ तयारी (तस्बिरसहित)
काठमाडौं । नेकपा एमालेले आगामी ११ औं महाधिवेशनलाई ऐतिहासिक बनाउने दाबी गरेको छ । महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमा एमाले नेता राजन भट्टराईले उद्घाटन समारोहमा करिब ३ लाख सहभागी हुने अनुमान गरिएको जानकारी दिए । उनका अनुसार यसअघि कुनै पनि राजनीतिक कार्यक्रममा नदेखिएको सर्वाधिक ठूलो एलईडी स्क्रिनसहितको आधुनिक मञ्च निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्क्रिनमा देशको सांस्कृतिक पहिचानका रूपमा चिनिने कालिन्चोक मन्दिरलाई मुख्य प्रतीकका रूपमा प्रस्तुत गरिनेछ । त्यसमाथि महाधिवेशनको सङ्केतात्मक प्रतिनिधित्वका लागि कालीन्चोक मन्दिरको दायाँतर्फ राष्ट्रिय झण्डा र धरहरा सहित ‘११’ अंक प्रदर्शन गरिने तयारी गरिएको छ । उद्घाटन समारोह व्यवस्थित र व्यवस्थापन प्रभावकारी बनाउन १० हजार स्वयंसेवक परिचालन गरिने उद्घाटन समारोह व्यवस्थापन समितिका संयोजक भट्टराईले बताए । तस्बिरहरू :
जुम्लामा ४ हजारभन्दा बढी साना तथा घरेलु उद्योग
जुम्ला । जुम्लामा ४ हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षदेखि हालसम्म विभिन्न प्रकृतिका ५ हजार २८६ उद्योग दर्ता भएका छन् । तीमध्ये ८२५ उद्योग खारेज भएका छन् । कार्यालय प्रमुख मन्दिरनाथ योगीले दर्ता खारेज भएका उद्योगबाहेक हालसम्म यहाँ चार हजार ४६१ उद्योग रहेका बताए । उनका अनुसार वाणिज्यतर्फ १० लाखभन्दा माथिका तीन हजार उद्योग उपभोक्ता हित संरक्षण कार्यालय र तीन लाखमुनिका दुई सय चार नयाँ साना उद्योग स्थानीय तहमा दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक, कृषि तथा वनजन्य, सेवामूलक, पर्यटन, निर्माण र सूचना सञ्चार प्रविधितर्फ उद्योग दर्ता हुने गरेको कार्यालय प्रमुख योगीले बताए । यी उद्योगबाट गत आवमा ५२ लाख राजस्व सङ्कलन भएको उनले जानकारी दिए । उक्त कार्यालयले गत आवमा यहाँका आठवटै स्थानीय तहका २०४ जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको जनाएको छ । जिल्लामा दर्ता भएका अधिकांश उद्योग कागजमै सीमित छन् ।
दिपल एस ०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ
काठमाडौं । दिपलको पर्फेक्ट एसयुभी दिपल एस ०५ ले यो वर्षको युरो एनक्याप टेस्टमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ प्राप्त गरेको छ । स्वतन्त्र परीक्षण नतिजाअनुसार दिपल एस ०५ ले सबै प्रमुख सुरक्षा श्रेणीमा उत्कृष्ट प्रदर्शन गरेको छ । यसमा एडल्ट पेसेन्जर सेफ्टीमा ९४ प्रतिशत, चाइल्ड सेफ्टीमा ८७ प्रतिशत, संवेदनशील सडक प्रयोगकर्ता सुरक्षामा ७८ प्रतिशत र सेफ्टी असिस्ट प्रणालीमा ७६ प्रतिशत प्राप्त गरेको छ । यी नतिजाले दिपल एस ०५ लाई नवीनतम र कडा युरो एनक्याप मापदण्ड अन्तर्गतको परीक्षण उत्कृष्ट एसयुभीका रूपमा आफूलाई उभ्याएको छ । युरो एनक्याप रेटिङले दिपल एस ०५ को मजबुत भेहिकल आर्किटेक्चर, उन्नत रेस्ट्रेन्ट प्रणाली तथा प्रत्यक्ष सुरक्षा प्रविधिलाई प्रमाणित गरेको छ । नेपालमा लक्जरी, स्टाइल र टेकमा पर्फेक्ट यस एसयुभीले सार्वजनिक भएको समयदेखि नै उपभोक्तामा लोकप्रियता हासिल गरेको थियो । नाडा अटो सो २०२५ मा यसले ग्राहकहरुको विशेष ध्यान आकर्षित गरेको थियो । यसमा सेग्मेन्टमै पहिलो पटक उपलब्ध रिमोट इन एन्ड आउट पार्किंग, एआर एचयुडी, आउटडोर स्पिकरसहितको १४ स्पिकर, इन्टरनेट कनेक्टिभिटी, क्विनको पाइलट सिट, फ्रेमलेस डोर र फ्लस ह्यान्डल जस्ता फिचर छन् । यसमा प्रयोग गरिएको गोल्डेन शिल्ड ब्याट्री सबैभन्दा सुरक्षित, सबैभन्दा छिटो चार्ज हुने र सबैभन्दा लामो आयु भएको ईभी ब्याट्री हो, जसले ५ हजारभन्दा बढी चार्जिङ साइकल प्रदान गर्छ ।
वातावरणीय उत्तरदायित्वमा अग्रसर माछापुच्छ्रे बैंक, पीसीएएफसँग जोडियो
काठमाडौं । माछापुच्छ्रे बैंकले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा मूल्यांकन र यसको न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) सँग सहकार्य गरेको छ । पीसीएएफ विश्वव्यापी साझेदारीको रुपमा विश्वका विभिन्न देशमा रहेका ६०० भन्दा बढी वित्तीय संस्थाहरूसँग ऋण र लगानीसँग सम्बन्धित हरितगृह ग्यास (जीएचजी) उत्सर्जनको मूल्याङ्कन र सो को विवरण प्रकाशन गर्न एक सामंजस्यपूर्ण दृष्टिकोण विकास र कार्यान्वयन गर्न मुख्य भूमिका खेलिरहेको छ । पीसीएएफले विश्वव्यापी मान्यताप्राप्त मापदण्डमार्फत बैंक तथा वित्तिय संस्थाहरूलाई आफ्ना वित्तीय क्रियाकलापबाट हुने उत्सर्जन हरितगृह ग्यासको पहिचान गरी भरपर्दो जलवायु रणनीति अपनाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । विश्वमा बढ्दै गईरहेको हरितगृह ग्यास र यसबाट भविष्यमा उत्पन्न हुनसक्ने जटिल समस्याका बारेमा सचेत रहेको माछापुच्छ्रे बैंकले पनि पीसीएएफमा सहभागी भएर आफ्नो व्यवसायिक कार्यप्रणाली तथा दीर्घकालीन रणनीतिमा वातावरणीय उत्तरदायित्वलाई अझ मजबुत बनाउने प्रतिबद्धता गरेको छ । यो कदमले बैंकको जलवायु एजेन्डालाई थप सुदृढ बनाउँदै, वित्तीय क्रियाकलापबाट पर्ने वातावरणीय प्रभाव बुझ्न, जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउनतथा नेपालले लिएको कम कार्बन उत्सर्जनको नीति तथा जलवायु–लचकदार अर्थतन्त्रतर्फको यात्रालाई सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ ।
हिरक जयन्तीका अवसरमा होटल एक्स्पो– २०२६ आयोजना हुने
काठमाडौं । होटल संघ नेपाल स्थापनाको ६०औं वर्ष पुगेको अवसरमा आगामी २०८२ माघ २ गते शुक्रबार काठमाडौंमा संघले हिरक जयन्ती मनाउने भएको छ । उक्त अवसरमा विगतदेखि हालसम्म पर्यटन तथा होटल क्षेत्रमा भए गरिएका सफलता, सम्भावना र चुनौतीहरूका बारेमा चर्चा हुनेछ । संघको स्थापना दिवसका अवसरमा विगत २ वर्षदेखि मनाइँदै आएको सत्कार दिवस समेत मनाइनेछ । सो अवसरमा माघ २ र ३ गते दुई दिने होटल एक्स्पो–२०२६ को आयोजना हुनेछन् । उक्त एक्स्पोमा होटलहरूमा आवश्यक पर्ने ५० भन्दा बढी विभिन्न सर सामानहरूको स्टलहरू रहनेछन् भने विभिन्न कम्पनीहरूले उक्त कार्यक्रमलाई प्रायोजनको समेत भूमिका निर्वाह गर्ने होटल संघ नेपालले जनाएको छ । ‘टेक पावरर्ड हस्पिटालिटी’ थिममा आयोजित हिरक जयन्तीका अवसरमा ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूले आतिथ्य उद्योगमा भए गरेका असल अभ्यासहरुको जानकारी रहनेछ भने होटलहरूमा प्रयोग भइरहेका अटोमेसन, प्रविधिमैत्री व्यवसाय सञ्चालन तथा एआई सहितको सेवा प्रवाह लगायतका विषयलाई कार्यान्वयनमा ल्याउन प्रोत्साहित गरिने जनाएको छ । यसैगरी, नेपाल होटल इएर बुक–२०२६ का साथै सातै प्रदेशका विभिन्न ६० थरिका मौलिक रैथाने खानाहरूको संग्रह फुड बुक सार्वजनिक गरिनेछ भने उक्त अवसरमा आमन्त्रित स्वदेशी तथा विदेशी पाहुनाहरूलाई उक्त मौलिक परिकारबाट सत्कार गरिने पनि होटल संघ नेपालले जनाएको छ । कार्यक्रममा मुलुकलाई अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउने होटल तथा पर्यटन उद्योगले मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदान, यसबाट सृजित रोजगारी चर्चा गरिनेछ । पर्यटनको व्यापक सम्भावना बोकेको हाम्रो मुलुकमा पछिल्लो समयमा देशैभरि द्रुत गतिमा नयाँ ठूला होटलहरू खुल्ने क्रमले यसलाई व्यापकता दिएको छ । अन्तर्राष्ट्रिय चेन ब्राण्डका होटलहरुको आकर्षणले अझ यसलाई उजागर गरेको छ । मुलुकका केही गन्तव्यहरू मात्र नभएर सातै प्रदेशमा पर्यटन चलायमान बनाउन पनि यस कार्यक्रमले मद्दत गर्नेछ । कार्यक्रममा होटल तथा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मानित गरिने पनि संघले विज्ञप्तिमार्फत जनाएको छ । यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न संघसंस्थाहरूलाई संघले अपिल गरिसकेको छ ।
चार नयाँ मन्त्रीले लिए शपथ
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रीपरिषद् विस्तार भएको छ । थपिएका चार जना नयाँ मन्त्रीहरूले शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिए । नयाँ मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रेष्ठलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंलाई वन तथा वातावरण, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका यी मन्त्रीहरू (जेनजी) प्रतिनिधित्व गर्नेहरू हुन् ।