काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भने बीचमै उठेर बाहिरिएका छन् ।
राष्ट्रपतिलाई औपचारिक रूपमा नीति तथा कार्यक्रमको दस्तावेज हस्तान्तरण गरेका थिए । त्यसपछि उनी प्रधानमन्त्री अर्थमन्त्रीसँगै कुर्सीमा बसेका थिए ।
राष्ट्रपति पौडेलले सरकारको तर्फबाट १०० बुँदे नीति तथा कार्यक्रम संसदमा पढेर सुनाएका थिए । राष्ट्रपतिले ५२ बुँदासम्म वाचन गर्दा प्रधानमन्त्री संसदमा थिए ।

१०० बुँदे नीति तथा कार्यक्रम वाचन गर्न राष्ट्रपति पौडेललाई १ घण्टा १० मिनेट लागेको थियाे । ५२ बुँदासम्म वाचन गर्न राष्ट्रपति पौडेललाई ४१ मिनेट लागेको थियो ।
त्यसपछि प्रधानमन्त्री बालेन उठेर बाहिरिएका थिए। अर्थमन्त्री स्वार्णिम वाग्लेसँगै रहेको उनको सिट खाली भएको थियो ।
उनको बहिर्गमनले संसद् परिसरमा मात्र होइन, राजनीतिक वृत्तमै विभिन्न टिप्पणी र अड्कलबाजी जन्माएको छ ।
बालेनको यो कदमलाई कतिपयले सामान्य कार्यव्यस्ततासँग जोडेर हेरेका छन् भने कतिपयले यसलाई प्रतीकात्मक असन्तुष्टिका रूपमा व्याख्या गर्न थालेका छन् ।
यद्यपि बालेनले बैठक छोड्नुको कारणबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् । राजनीतिमा प्रतीक र संकेतले विशेष अर्थ राख्ने गर्छन् । त्यसैले नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला बालेनको बाहिरिनुलाई उनको राजनीतिक चरित्रको विषयमा पनि प्रश्न उठेको छ । उनी संसद बैठकमा पनि टिसर्ट र कोट पाइन्टसहित उपस्थित भएका थिए ।