ओली र लेखकलाई हिरासतमुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहासतमुक्त गर्न आदेश दिएको छ । अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले हिरासतमुक्त गर्न आदेश दिएको हो । आदेशसँगै अब ओली र लेखक चैत २६ गते रिहा हुने भएका हुन् । सर्वोच्चले परमादेश जारी गर्दै तेस्रो पटक थपिएको हिरासतमा राखेर अनुसन्धान गर्न लिएको म्याद अब फेरि नथप्न भनेको हो । इजलासले उनीहरूको बन्दीप्रत्यक्षीकरण रिट भने खारेज गरेको छ । प्रहरीले चैत १४ गते बिहान ओली र लेखकलाई पक्राउ गरेको थियो । ओली पत्नी राधिका शाक्य र लेखक पत्नी यशोदाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । शाक्यको रिटमा पक्राउ गरेर थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको दाबी छ । त्यस्तै, लेखकलाई थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको दाबी गरिएको छ । गौरीबहादुर कार्की नेतृत्वको आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनको आधारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार ओली र लेखक पक्राउ परेका हुन् ।
प्रविधिमैत्री शासन : यी हुन् सञ्चार मन्त्रालयका १० नयाँ प्राथमिकता
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘नतिजामा आधारित शासकीय प्रबन्ध’ कार्यान्वयन गर्ने उद्देश्यले १० वटा प्रमुख सुधारात्मक कार्यक्रमहरू स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णय बमोजिम नागरिकमैत्री, छरितो र प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्न यी प्राथमिकताका कार्यक्रमहरू अघि सारिएको हो । योजनाअन्तर्गत मन्त्रालयले आगामी ४५ दिनभित्र नागरिक एपमार्फत राहदानी, सवारी चालक अनुमति पत्र र प्रहरी प्रतिवेदन लगायतका सेवाहरूका लागि एकीकृत आवेदन प्रणाली सञ्चालनमा ल्याउने जनाएको छ । हुलाक सेवालाई सरकारी कुरियर सेवाको रूपमा विकास गरी ९० दिनभित्र सेवाहरू घरदैलोमै पुऱ्याउने लक्ष्य राखिएको छ, जसअन्तर्गत २०८३ बैसाख मसान्तसम्ममा ७७ वटै जिल्लामा राहदानी, शैक्षिक प्रमाणपत्र र सिमकार्ड जस्ता कागजात पुऱ्याइनेछ । त्यसैगरी, सवारी चालक अनुमति पत्रको छपाइलाई तीव्र बनाउँदै तथ्याङ्क प्राप्त भएको २४ घण्टाभित्रै मुद्रण गरी हस्तान्तरण गर्ने व्यवस्था सुरु गरिएको छ र बाँकी रहेका करिब २९ लाख लाइसेन्सहरू २०८३ असार मसान्तसम्म छपाई सक्ने लक्ष्य लिइएको छ । मोबाइल सेवामा सुधार ल्याउन ९० प्रतिशत डेटा प्रयोगपछि ग्राहकलाई सूचना दिने र ३० दिनभित्र नेपाल टेलिकममा ‘वन टाइम केवाईसी’ प्रणाली लागू गर्ने निर्णय भएको छ । साथै सरकारी वेबसाइटहरूलाई ३० दिनभित्र अपाङ्गता मैत्री बनाइनेछ भने आगामी ९० दिनभित्र साइबर सुरक्षा, डाटा संरक्षण र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी विधेयकहरू तर्जुमा गरिनेछ । यी सुधारात्मक कार्यहरूलाई निर्धारित समयसीमाभित्रै कार्यान्वयन गरी सेवालाई पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता मन्त्रालयले व्यक्त गरेको छ ।
स्थानीय तहमा नखटिने प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्ने सरकारको चेतावनी
काठमाडौं । सरकारले विभिन्न स्थानीय तहमा खटाइएका तर समयमै हाजिर नभई अटेर गर्ने प्रमुख प्रशासकीय अधिकृतहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार (आज) एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । मन्त्रालयका अनुसार विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरूको नियमित उपस्थिति नहुँदा र खटाइएका कर्मचारीहरू समयमै हाजिर नहुँदा दैनिक सेवा प्रवाहमा गम्भीर असर परेको छ । कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको भन्दै विभिन्न स्थानीय तहबाट मन्त्रालयमा निरन्तर गुनासो पुगेपछि सरकारले कडाइ गर्न लागेको हो । कानुनी प्रावधान र निर्देशनस्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ ९४० को व्यवस्थालाई स्मरण गराउँदै मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटिएका सबै कर्मचारीलाई तत्काल आफ्नो कार्यक्षेत्रमा उपस्थित भई कामकाज सम्हाल्न निर्देशन दिएको छ । सरकारले ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ को नारालाई आत्मसात गर्दै कर्मचारीहरूलाई जवाफदेही बन्न आग्रहसमेत गरेको छ । यसअघि सरुवा भएर पनि विभिन्न शक्ति केन्द्रको आडमा कर्मचारीहरू सुगममै बसिरहने वा तोकिएको ठाउँमा नजाने प्रवृत्ति देखिएपछि मन्त्रालयले यो कदम चालेको बुझिएको छ।
नयाँ बानेश्वरमा जेनजीको दीप प्रज्जवलन, गृहमन्त्री गुरुङको सहभागिता (फोटो–फिचर)
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संघीय संसद भवनको प्राङ्गणमा सोमबार विशेष दीप प्रज्वलन कार्यक्रमको आयोजना भएको छ । जेनजी सहिद परिवारले श्रद्धाञ्जली तथा दीप प्रज्जवलन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा गृहमन्त्री सुधन गुरुङसमेत उपस्थित रहेका छन् । कार्यक्रममा गृहमन्त्री गुरुङले युवाहरूसँगै दीप प्रज्जवलन गरेका थिए । पछिल्लो पुस्ता अर्थात् ‘जेनजी’ सँग राज्यको समन्वय बढाउने र उनीहरूको भावनालाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । थप तस्बिरहरू : नरेश बाेहाेरा/विकासन्युज
बले पक्राउ प्रकरण : आरोप बलात्कारको, अनुसन्धान अभद्र व्यवहारको
काठमाडौं । ‘स्टाटसकै भरमा पक्राउ गर्ने ? यो सरकारलाई नीति नियम, कानुन, प्रकृया केही चाहिँदैन,’ सामाजिक सञ्जाल प्रयोगकर्ता मातृका बराल लेख्छन् । कमल आचार्य पनि सामाजिक सञ्जालमा लेख्छन्, ‘यसरी एउटा स्टाटसकै भरमा समाउने हो भने कदम कदाचित गृहमन्त्री, प्रधानमन्त्रीका विरुद्ध कसैले एउटा स्टाटस लेखिदियो भने समाउने कि नसमाउने ? यति प्रश्नको उत्तर चाहियो ।’ ‘फेसबुकमा लेखेको भरमा सबै मिडिया खनिएर दोषी साबित गरिदिने, त्यसैका आधारमा सरकारले हतकडी लगाइदिने कस्तो समय आयो ?’ जीवन सापकोटाले पनि कलाकार बले अर्थात् सागर लम्साललाई प्रहरीले पक्राउ गरेको विरोधमा फेसबुकमा लेखेका छन् । सागरविरुद्ध हालसम्म प्रहरीमा कुनै औपचारिक किटानी जाहेरी नपरेर पक्राउ गरेको भन्दै केशवराज पोख्रेल लेख्छन्, ‘सामाजिक सञ्जालको एउटा पोस्टलाई आधार मानेर प्रहरीले उनलाई पक्राउ गरेको हो, जाहेरी नभएकै कारण उनलाई बलात्कारको मुद्दामा नभई शान्ति सुरक्षा सम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले ५ दिनको अनुमति दिएका छन् ।’ कलाकार ज्योति मगरले सामाजिक सञ्जालमा हल्ला चलेको र रिस उठेको भरमा च्याप्प समाउँदै भित्र कोच्दै जाहेरी, उजुरी र कसुर केही नचाहिने भन्दै टिप्पणी गरेकी छन् । ‘कानुन विपक्ष लाई गलहत्याउन मात्र लाग्ने यदि अदालतले कानुन, प्रमाण र कसुरको आधारमा विपक्षको पक्षमा फैसला गरे दुई तिहाइले न्यायाधीशलाई खारेज गर्न सक्ने हुँदा न्यायाधीश पनि डरले थुरथुर,’ उनले लेखेकी छन् । शनिबार कलाकार सागर लम्साललाई काठमाडौं जिल्ला प्रहरी परिसरले पक्राउ गर्यो । अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाउँदै लामो स्टाटस लेखेकी थिइन् । बलात्कारको आरोप लागेपछि पक्राउ परेका कलाकार सागर लम्सालका विषयमा भ्रामक र अप्रमाणित सूचनाहरू सम्प्रेषण नगर्न प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रेस विज्ञप्तिमार्फत् बलेमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको भन्दै उनको विषयमा भ्रामक र अप्रमाणित सूचनाहरू सम्प्रेषण नगर्न अनुरोध गरेको हो । बलेलाई पक्राउपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा उजुरीबिनै बलेलाई पक्राउ गरेको चर्चा भएपछि हामीले यस विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंलाई जिज्ञासा राख्यौं । उनीविरुद्ध अहिलेसम्म कुनै उजुरी नपरेको प्रवक्ता पवन कुमार भट्टराईले बताए । अभद्र व्यवहार सम्बन्धीका मुद्दाहरू समाजलाई थोरै अशान्ति फैलाउने जस्तो महसुस भयो भने प्रहरीले त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिने गरेको उनको भनाइ छ । ‘प्रहरीले यस मुद्दामा अनुसन्धान गरिरहेको छ,’ उनले भने । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रवक्ता मुक्तिराम रिजालले प्रहरीले कलाकार सागर लम्सालको म्याद थपका ल्याएको मात्र थाहा पाएको बताए । ‘सरकारी वकिल कार्यालयबाट पाँच दिनको म्याद थपका लागि कागजपत्रसहित प्रहरीहरू आउनु भएको थियो,’ उनले भने, ‘के कस्तो विषयमा हो सबै कुरा मलाई थाहा भएन ।’ प्रमुख जिल्ला अधिकारीले समय थपको अनुमति दिन सक्ने पनि रिजालले जानकारी दिए । काठमाडौं जिल्ला प्रहरी कार्यालयबाट अभद्र व्यवहारमा मुद्दामा पाँच दिनको म्याद थप गर्न प्रहरीसहित सागर लम्साल आएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहायक सूचना अधिकारीले श्रीराम ओझाले बताए । ‘प्रहरीले खाली अभद्र व्यवहारको मुद्दा थपको माग गरिएको थियो । प्रहरीले ठाडो प्रतिवेदन बनाएर अभद्र व्यवहारको मुद्दामा म्याद थप माग गरिएको थियो,’ उनले भने । प्रहरीले सामाजिक सञ्जालमा उठेका कुराले समाजमा प्रभाव पार्ने खालको देखेमा आवश्यक ठान्दै र गम्भीर मुद्दा जस्तो लागेमा अनुसन्धानसम्म गर्न सक्ने डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक तथा अधिवक्ता सन्तोष सिग्देलले जानकारी दिए । प्रहरीले अनुसन्धान गर्न पाउने तर नियन्त्रणमा लिएर वा नलिई गर्ने भन्ने प्रशासनको अधिकार रहने उनको भनाइ छ । ‘कानुनी प्रकृयामा सबैले काम गर्नुपर्छ,’ अधिवक्ता सिग्देलले भने, ‘कतिपय अवस्थामा एउटा कानुनलाई लिएर पछि अर्को कानुन आकर्षित गर्न हुँदैन । यस्तो अवस्थालाई कानुनको दुरुपयोग भएको मान्न सकिन्छ ।’
भू-राजनीतिक तनाव र एआईले विश्व अर्थतन्त्रमा ‘क्रान्तिकारी’ परिवर्तन ल्याउने
काठमाडौं । जेपी मोर्गन चेसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेमी डिमोनले आफ्नो बैंकले भू–राजनीतिक अनिश्चितता, डगमगाइरहेको अर्थतन्त्र र कृत्रिम बौद्धिककता (एआई) को क्रान्तिकारी प्रभावसँग जुधिरहेको अवस्थामा अमेरिकी मूल्यहरूप्रति व्यापक पुनःप्रतिबद्धताको आह्वान गरेका छन् । सोमबार प्रकाशित सेयरधनीहरूलाई सम्बोधन गरिएको आफ्नो वार्षिक पत्रमा डिमोनले देशको २५०औं वार्षिकोत्सवलाई ‘हाम्रो महान राष्ट्र बनाउने मूल्यहरू- स्वतन्त्रता, स्वतन्त्र अधिकार र अवसर प्रति पुनःसमर्पण गर्ने उपयुक्त समय’ भनेका छन् । डिमोनले भने, ‘हामी सबैले सामना गरिरहेका चुनौतीहरू गम्भीर छन् । सूची लामो छ, तर शीर्षमा युक्रेनमा जारी भयानक युद्ध र हिंसा, इरानमा भइरहेको वर्तमान युद्ध र मध्यपूर्वमा व्यापक तनाव, आतंकवादी गतिविधि र विशेष गरी चीनसँग बढ्दो भू-राजनीतिक तनाव छन् । कठिन समयमा पनि हामी विश्वस्त छौं कि अमेरिका सधैं झैं आफ्नो मूल्यहरूतर्फ फर्किनेछ, जसले हाम्रो राष्ट्रलाई परिभाषित गरेको छ र स्वतन्त्र विश्वमा हाम्रो नेतृत्व कायम राखेको छ ।’ विश्वकै सबैभन्दा ठूलो बजार पुँजीकरण भएको बैंकका दीर्घकालीन प्रमुख डिमोन अमेरिकी कर्पोरेट नेतृत्वमध्ये स्पष्ट रूपमा बोल्ने व्यक्तित्वमध्ये एक मानिन्छन् । उनको वार्षिक पत्रले बैंकको प्रदर्शनको अभिलेख मात्र नभई विश्व अवस्थाबारे व्यापक दृष्टिकोण पनि प्रस्तुत गर्छ । सोमबारको पत्रमा उनले विश्वव्यापी द्वन्द्व, निरन्तर मुद्रास्फीति, निजी बजारमा अस्थिरता र आफूले ‘खराब बैंक नियमन’ भनेका विषयलाई प्रमुख चुनौतीका रूपमा उल्लेख गरेका छन्। डिमोनका अनुसार २००८ को वित्तीय संकटपछि लागू गरिएका नियमनहरूले ‘केही राम्रो काम गरे पनि... यसले टुक्रिएको, ढिलो चल्ने र महँगो तथा अत्यधिक नियमहरू भएको प्रणाली बनाएको छ, जसमध्ये केहीले वित्तीय प्रणालीलाई कमजोर बनायो र उत्पादनशील कर्जालाई घटायो ।’ उनले पुँजी तथा तरलता आवश्यकताका नकारात्मक असर, फेडरल रिजर्भको स्ट्रेस टेस्टको वर्तमान संरचना र फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनमा ‘गलत तरिकाले सम्हालिएको’ प्रक्रियालाई विशेष रूपमा उल्लेख गरे। डिमोनले अमेरिकी नियामकहरूले गत महिना सार्वजनिक गरेका बेसेल थ्री इन्डगेम (बीथ्रीई) र विश्वव्यापी प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंक (जीएसआईबी) सम्बन्धी प्रस्तावप्रति जेपी मोर्गनको प्रतिक्रिया ‘मिश्रित’ रहेको बताए । ‘बीईथ्री र जीएसआईबीसम्बन्धी हालका प्रस्तावहरूले २०२३ को प्रस्तावको तुलनामा आवश्यक पुँजी वृद्धि घटाउने प्रयास गरेको देख्नु राम्रो हो, तर केही पक्षहरू स्पष्ट रूपमा अव्यावहारिक छन्,’ उनले भने । उनका अनुसार करिब ५ प्रतिशत अतिरिक्त शुल्कका कारण बैंकले अमेरिकी उपभोक्ता र व्यवसायहरूलाई दिइने अधिकांश कर्जामा समान कर्जाका लागि गैर-जीएसआईबी बैंकभन्दा करिब ५० प्रतिशत बढी पूँजी राख्नुपर्ने अवस्था आउन सक्छ । ‘यो सही होइन र यो अमेरिकी मूल्यअनुसार पनि छैन,’ उनले भने । व्यापार र भू–राजनीति डिमोनले आफ्नो बैंकका लागि सबैभन्दा ठूलो जोखिमका रूपमा भू–राजनीतिक तनावलाई चिनाएका छन्, विशेष गरी युक्रेन र इरानका युद्ध र त्यसको वस्तु तथा विश्व बजारमा पर्ने प्रभावलाई । उनले युद्धलाई ‘अनिश्चितताको क्षेत्र’ भनेका छन् । ‘हालका भू-राजनीतिक घटनाहरूको परिणामले भविष्यको विश्व आर्थिक व्यवस्थालाई निर्धारण गर्न सक्छ अथवा नहुन पनि सक्छ,’ उनले भने । उनले अमेरिकी व्यापार नीतिका कारण ‘विश्व आर्थिक सम्बन्धहरूको पुनःसंरचना’ भइरहेको पनि बताए । डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा ट्यारिफलाई प्रमुख नीति बनाएका छन्, जसअन्तर्गत विभिन्न व्यापार साझेदार र आयात वस्तुहरूमा उच्च कर लगाइएको छ । ‘व्यापारिक द्वन्द्व समाप्त भएको छैन र धेरै देशहरूले कससँग र कसरी व्यापारिक सम्झौता गर्ने भन्ने विश्लेषण गरिरहेका छन्,’ उनले भने, ‘राष्ट्रिय सुरक्षा र स्थायित्वका लागि केही कदम आवश्यक भए पनि दीर्घकालीन प्रभाव के हुन्छ भन्ने स्पष्ट छैन ।’ निजी बजार डिमोनले निजी बजारमा देखिएको अस्थिरताबारे पनि चर्चा गरे, जहाँ सफ्टवेयर कम्पनीहरूलाई दिइएको कर्जाप्रति चिन्ताले निजी क्रेडिट फन्डहरूबाट ठूलो मात्रामा रकम फिर्ता माग भइरहेको छ । ‘निजी क्रेडिट क्षेत्रमा पारदर्शिता र कर्जाको मूल्यांकन प्रायः कडा हुँदैन । यसले वातावरण बिग्रिने आशंका भएमा मानिसहरूलाई तुरुन्तै बिक्री गर्न प्रेरित गर्न सक्छ, भले वास्तविक घाटा धेरै नबढेको होस्,’ उनले भने । उनले वास्तविक घाटा अहिलेको अवस्थाको तुलनामा अपेक्षाभन्दा बढी भइसकेको पनि बताए । ‘जस्तोसुकै परिणाम आए पनि, कुनै समयमा बीमा नियामकहरूले अझ कडा मूल्यांकन वा पुनर्मूल्यांकनको माग गर्नेछन्, जसले थप पूँजीको आवश्यकता बढाउनेछ,’ उनले भने । कृत्रिम बौद्धिकता (एआई) डिमोनले एआईको प्रयोगको गति अहिलेसम्मको कुनै पनि प्रविधिभन्दा फरक रहेको दोर्होयाए । उनले यसको प्रयोग ‘परिवर्तनकारी’ हुने बताए, तर यसको अन्तिम प्रभाव कस्तो हुनेछ भन्ने अझै स्पष्ट नभएको बताए । ‘समग्रमा एआईमा भइरहेको लगानी सट्टेबाजीको बबल होइनस यसले महत्त्वपूर्ण फाइदा दिनेछ । तर अहिले हामी एआईसँग सम्बन्धित उद्योगमा अन्ततः कसले जित्छ र कसले हार्छ भन्ने भविष्यवाणी गर्न सक्दैनौं,’ उनले भने। ‘हामी आँखा चिम्लेर बस्ने छैनौं । हामीले अन्य प्रविधिहरू प्रयोग गरेजस्तै एआई पनि ग्राहक र कर्मचारीका लागि राम्रो सेवा दिन प्रयोग गर्नेछौं,’ उनले लेखेका छन् । जेपी मोर्गन वाल स्ट्रिटका कम्पनीहरूमध्ये आफ्नो व्यवसायका सबै तहमा एआई प्रयोग गर्ने अग्रणीमध्ये एक हो । गत वर्ष कम्पनीका विश्लेषण प्रमुख डेरेक वाल्ड्रोनले एजेन्टिक एआई कसरी प्रयोग गरेर काम छिटो र प्रभावकारी बनाइन्छ भन्ने देखाएका थिए । फेब्रुअरीमा डिमोनले एआईले जेपी मोर्गनको कार्यबललाई पुनःआकार दिइरहेको र कर्मचारीहरूका लागि ‘ठूलो पुनःव्यवस्थापन योजना’ रहेको बताएका थिए । ‘हामीले केही ‘ज्ञात र पूर्वानुमान गर्न सकिने’ तथा केही ‘ज्ञात तर अनिश्चित’ घटनाहरूमा ध्यान दिएका छौं,’ उनले भने, ‘तर एआईजस्ता ठूला प्रविधिगत परिवर्तनहरूले दोस्रो र तेस्रो तहका प्रभाव पनि पार्छन्, जसले समाजलाई गहिरो रूपमा प्रभावित गर्न सक्छ । ... हामीले यस्ता परिवर्तनहरूलाई पनि निगरानी गर्नुपर्छ ।’ (सीएनबीसीबाट अनूदित तथा सम्पादित)
अटोमोवाइल क्षेत्रका समस्या र नीतिगत सुधारबारे अर्थमन्त्रीसँग नाडाको छलफल
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी नेपालको अटोमोवाइल क्षेत्रको वर्तमान अवस्था तथा नीतिगत सुधारका विषयमा छलफल गरेको छ । सोमबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्रीसँग भेटवार्ता गर्दै अटोमोवाइल क्षेत्रलाई सुदृढ बनाउन सरकारबाट आवश्यक नयाँ नीति तथा नियम आउने अपेक्षा व्यक्त गरेको थियो । अध्यक्ष उप्रेतीले सरकारको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अटोमोवाइल क्षेत्रको विकासले सरकारी राजस्व वृद्धि र रोजगारी सिर्जनामा समेत सकारात्मक योगदान पुग्ने बताए । भेटका क्रममा अर्थमन्त्री वाग्लेले सरकार राजस्व संकलन कसरी बढाउने भन्ने विषयमा अध्ययनरत रहेको जानकारी दिँदै राजस्व वृद्धि हुनेगरी करको दर घटाउने, राजस्वको दायरा विस्तार गर्ने तथा निजी क्षेत्रमैत्री नीति ल्याउने तयारी भइरहेको बताए । उनले अनियमितता नियन्त्रण, सडक पूर्वाधारमा ठूलो लगानी तथा आगामी बजेटका सन्दर्भमा नाडासँग पुनः छलफल गरिने पनि उल्लेख गरे । छलफलका क्रममा अध्यक्ष उप्रेतीले अटोमोवाइल उद्योग प्रवर्द्धनका लागि आयातित कच्चा पदार्थमा सहुलियत आवश्यक रहेको बताए । हाल सि.के.डी. प्रणालीलाई सहज भए पनि स्वदेशी उद्योगहरू सञ्चालनमा कठिनाइ भइरहेको उनको भनाइ थियो । नेपालमै टायर–ट्युब, ब्याट्री, लुब्रिकेन्ट र हेल्मेट उत्पादन भइरहे पनि गुणस्तर परीक्षण गर्ने सरकारी संयन्त्र अभावका कारण व्यवसायीहरूले समस्या भोग्नुपरेको उनले उल्लेख गरे । साथै अटोमोवाइल उत्पादनका लागि आवश्यक वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्दै नाडाको तर्फबाट ३६ बुँदे लिखित सुझावसमेत पेश गरिएको जानकारी दिए । कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालमा अटोमोवाइल कम्पोनेन्ट उद्योगको ठूलो सम्भावना रहेको बताए । विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले लगानीमैत्री नीति आवश्यक रहेको उल्लेख गर्दै विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि स्पष्ट नीति आवश्यक भएको धारणा राखे । भारतमा जीएसटी घटेसँगै चोरी निकासी बढेको उल्लेख गर्दै सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए । त्यसैगरी नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले नेपाली उद्योगलाई सरकारी प्रोत्साहन आवश्यक रहेको बताए । छलफलमा नाडाका उपाध्यक्षद्वय अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निलमणि पाठक लगायतको उपस्थिति रहेको थियो ।
ज्योति विकास बैंकद्वारा सप्तरीमा ७० जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया
काठमाडौं । ज्योति विकास बैंकले तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गर्दै सप्तरी जिल्लाका ७० जना स्थानीय नागरिकलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया सेवा प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत सप्तरीको रुपनगरस्थित तिलगंगा सर्जिकल आँखा केन्द्र परिसरमा आयोजित निःशुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया शिविरमा सहयोग गरेको हो । उक्त स्वास्थ्य शिविरमा २ हजारभन्दा बढी व्यक्तिको निःशुल्क आँखा परीक्षण गरिएको थियो। कार्यक्रममा कुल ४०७ जनाको मोतिबिन्दु शल्यक्रिया सम्पन्न भएकोमा ज्योति विकास बैंकको प्रत्यक्ष सहयोगमा ७० जना स्थानीयको शल्यक्रिया निःशुल्क गरिएको बैंकले जनाएको छ । शल्यक्रियापछि आवश्यक पर्ने चस्मा तथा औषधिहरू समेत सबै बिरामीलाई निःशुल्क वितरण गरिएको थियो । यस पहलमार्फत दृष्टि गुमाउने जोखिममा रहेका समुदायका नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउँदै उनीहरूको जीवनस्तर सुधारमा योगदान पुगेको बैंकको विश्वास छ । स्थानीयको दैनिकी सहज बनाउनुका साथै आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । ज्योति विकास बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गरी निःशुल्क मोतिबिन्दु शल्यक्रिया सेवा सञ्चालन गर्ने घोषणा गरेको थियो । सोही सहकार्य सम्झौताअनुसार कार्यक्रम सम्पन्न गरिएको हो । बैंकले आगामी दिनहरूमा पनि प्रभावमुखी सामाजिक पहललाई निरन्तरता दिँदै समाजको समग्र विकास र अभ्युदयमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्वमार्फत दिगो परिवर्तनको संवाहक बन्ने लक्ष्य बैंकले लिएको जनाएको छ । बैंकका अनुसार, सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा ५० प्रतिशत बढी रकम सामाजिक कार्यमा विनियोजन गर्दै आएको छ । स्वास्थ्य क्षेत्रमा केन्द्रित कार्यक्रमअन्तर्गत ‘न्यानो नानी’ पहलमार्फत हरेक वर्ष २,५९० भन्दा बढी नवजात शिशुको जीवन रक्षा गर्न योगदान पुगेको पनि बैंकले उल्लेख गरेको छ । गत आर्थिक वर्षमा बैंकले कर शीर्षकमा ४१ करोड रुपैयाँ योगदान गरेको जनाएको छ। हाल ज्योति विकास बैंकले उपत्यका तथा उपत्यकाबाहिर गरी ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।