विकासन्युज

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालन गर्न स्थानीय सरकारको दबाब

काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यथाशीघ्र सञ्चालन गराउन सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिले सरकारसँग माग गरेका छन् । नगर प्रमुख इश्तियाक अहमद खाँले अर्बौं लगानीमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले विमानस्थल सञ्चालन गर्न सरकारलाई आग्रह गर्दै भगवान गौतम बुद्धको नामबाट निर्माण भएको विमानस्थल सञ्चालन भए देशमा आर्थिक गतिविधि चलायमान बन्दै जाने विश्वास व्यक्त गरे । लुम्बिनीको विकास हुनु भनेको समग्र मुलुकको आर्थिक गतिविधि चलायमान हुनुका साथै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउनु रहेको उनको भनाइ छ । ‘विमानस्थल नियमित सञ्चालन भए भैरहवाको मात्र विकास हुँदैन, यसले समग्र मुलुकको विकासमा टेवा पुर्‍याउँछ, विमानस्थल सञ्चालन भएपछि पर्यटकको आवागमन बढ्छ,’ उनले भने । नगर प्रमुख खाँले विमानस्थल सञ्चालन गर्न ढिलाइ गर्न नहुने बताए ।  नगर प्रवक्ता मुक्तिनाथ यादवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा यस क्षेत्रका उद्योगी-व्यवसायी धराशायी अवस्थामा पुगेको बताए । उनले विमानस्थल सञ्चालनका लागि आवश्यक कदम चाल्न वर्तमान सरकारसँग आग्रह गरे ।  सिद्धार्थनगर नगरपालिका-४ का वडाअध्यक्षसमेत रहेका प्रवक्ता यादवले विमानस्थल सञ्चालनका लागि स्थानीय सरकारको तर्फबाट पहल गर्ने बताए ।

काभ्रेका होटलहरूको गरियो स्तरीकरण, यी हुन तीन र दुइ तारे होटल

काठमाडौं । काभ्रेपलाञ्चोकका तीन नगरपालिकामा अनुगमन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले होटल तथा रेष्टुरेण्टको स्तरीकरण गरेको छ । कार्यालयले बनेपा, धुलिखेल र पनौती नगरपालिकाभित्र रहेका होटल तथा रेष्टुरेण्टको अनुगमन तथा मूल्याङ्कन गरी स्तरीकरण गर्नुका साथै लोगोसमेत वितरण गरेको हो । कार्यालयका डिभिजन प्रमुख मनिष चापागाईंको नेतृत्वमा गठित संयुक्त अनुगमन टोलीले सोमबार स्थलगत निरीक्षण गर्दै ‘खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुरेण्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७४’ अनुसार अनुसूची-१ मा उल्लेखित मापदण्डका आधारमा मूल्याङ्कन गरेको हो । खाद्य स्वच्छता समूहले ५० वटा सूचकका आधारमा होटल तथा रेष्टुरेण्टको स्तरीकरण गर्ने व्यवस्था रहेको छ ।  टोलीमा धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जङ्गम, होटल एसोसिएसन अफ काभ्रेपलाञ्चोकका अध्यक्ष प्रह्‍लाद प्याकुरेल, जिल्लास्थित उद्योग वाणिज्य सङ्घका महासचिव रजित पलाञ्चोके, उपभोक्ता मञ्चका जिल्लाध्यक्ष माधव श्रेष्ठलगायतको सहभागिता थियो । अनुगमन टोलीका अनुसार प्रत्येक सूचकलाई दुई अङ्कका दरले मूल्याङ्कन गरी प्राप्त अङ्कका आधारमा होटललाई विभिन्न श्रेणीमा वर्गीकरण गरिन्छ । ९० भन्दा माथि अङ्क प्राप्त गर्ने होटललाई अति उत्तम (तीन तारे हरियो लोगो), ८०-८९ अङ्क प्राप्त गर्ने होटललाई उत्तम (दुई तारे हरियो लोगो), ६५-७९ अङ्क प्राप्त गर्ने होटललाई सन्तोषजनक (एक तारे हरियो लोगो), ५०-६४ अङ्क प्राप्त गर्ने होटललाई सामान्य (पहेँलो लोगो) प्रदान गर्ने व्यवस्था रहेको कार्यालय प्रमुख चापागाईंले जानकारी दिए । मूल्याङ्कनका क्रममा धुलिखेलका दुसित थानी, होटल सारथी, हिमालय होराइजन होटल, बनेपाको आगन्तुक रिसोर्ट, हिमालय दृश्य, तथा पनौती नगरपालिका-बल्थलीस्थित थुम्की रिसोर्टले अति उत्तम (तीन तारे) हरियो लोगो प्राप्त गरेका छन् । त्यस्तै, पनौतीस्थित बल्थलीका बल्थली माउन्टेन रिसोर्ट र बल्थली भिलेजले उत्तम (दुई तारे) हरियो लोगो प्राप्त गरेका छन् । यसअघि डिभिजन कार्यालयले गत फागुन १७ गते होटल तथा रेष्टुरेण्टका सञ्चालक तथा व्यवस्थापकलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा प्रमाणपत्र नवीकरण, सरसफाइ तथा ५० वटा सूचकसम्बन्धी मापदण्डबारे जानकारी गराइएको थियो । चापागाईंका अनुसार जिल्लाभर रहेका होटल तथा रेष्टुरेण्टको क्रमशः अनुगमन गरिनेछ । स्तरीकरण गरिएका होटल व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी प्रतिबद्धता गराई प्रमाणपत्र प्रदान गरिएको छ । साथै, छ महिनाभित्र पुनः निरीक्षण गर्दा सुधार नभएको पाइए सम्बन्धित होटलको स्तरीकरण एक तह घटाइने पनि जनाइएको छ । 

एनपीएल दोस्रो संस्करणबाट क्यानले कमायो ४७ करोड ३६ लाख, खुद नाफा ९ करोड २१ लाख

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा नेपाल क्रिकेट संघ (क्यान) ले ४७ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।  सोमबार क्यानले दोस्रो संस्करणको एनपीएलमार्फत ४७ करोड ३६ लाख रुपैयाँ आम्दानी भएको जनाएको छ । एनपीएल दोस्रो संस्करणमार्फत क्यानको खुद आम्दानी भने ९ करोड २१ लाख २१ हजार रुपैयाँ रहेको छ ।  प्रतियोगिता सञ्चालन गर्न २१ करोड ९७ लाख ५ हजार रुपैयाँ खर्च भएको क्यानको आय(व्यय विवरणमा उल्लेख छ ।  क्यानले आम्दानीको ५० प्रतिशत रकम ८ फ्रेन्चाइ टिमसँग पनि वितरण गर्ने गर्छ । जसअन्तर्गत १६ करोड १८ लाख ७३ हजार रुपैयाँ ८ फ्रेन्चाइलाई दिएको छ ।  आम्दानी बाढ्नु अघि क्यानको खुद आम्दानी २५ करोड ३९ लाख ९५ हजार रुपैयाँ रहेको जनाइएको छ । 

काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा, नुवाकोटमा सबैभन्दा बढी ३४ मिलिमिटर

काठमाडौं  । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका कारण आज (सोमबार) काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको आज साँझको अभिलेख अनुसार पछिल्लो ६ घण्टामै काठमाडौंमा १८.८, ललितपुरमा १५.४ र भक्तपुरमा १६.४ मिलिमिटर वर्षा भएको छ ।  विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार पछिल्लो ६ घण्टामा आज सबैभन्दा बढी नुवाकोटमा ३४.२ मिलिमिटर वर्षा भएको छ , त्यसपछि सिन्धुपाल्चोकमा २१.८ मिलिमिटर वर्षा भएको छ । विभागले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको जनाएको छ ।  यस्तै गण्डकी प्रदेशका धेरै स्थानहरूमा, बागमती प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा/हिमपात भइरहेको जनाइएको छ । प्राप्त विवरणअनुसार पछिल्लो ३ घण्टामा प्यूठान, सिन्धुपाल्चोक, गुल्मी, गोरखा, लमजुङ, नुवाकोट, काठमाडौं उपत्यका, स्याङ्जालगायतका क्षेत्रमा १० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । अन्य धेरै मापन केन्द्रहरुमा हल्का वर्षा भएको छ । हिजोदेखि बदली भएको मौसम पूर्व सर्दै आज काठमाडौं आइपुगेको छ । मङ्गलबार देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने तथा देशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । बुधवार भने धेरै स्थानमा वर्षा हुने जनाइएको छ ।

सरकारी कर्मचारीको इन्धन सुविधामा कटौती: सचिवले ७० र सहसचिवले ५० लिटर मात्र पाउने

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गरेका हुन् ।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, आपूर्तिमा आएको कमी र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेका कारण सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० र २४ ले दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयले ‘कार्य सञ्चालन निर्देशिका, २०८१’ को बुँदा नं. ४९ मा रहेका इन्धन सम्बन्धी व्यवस्थाहरू संशोधन गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज (चैत २३ गते) यो संशोधन स्वीकृत गरेका हुन् ।  उक्त संशोधन अनुसार १२५ लिटर इन्धन पाउँदै आएका सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीले अब ७० लिटर पाउने छन् । १०० लिटर इन्धन पाउँदै आएका सहसचिव स्तरका पदाधिकारीहरुले अब ५० लिटर पाउनेछन् । मन्त्री तथा संवैधानिक पदाधिकारी पदाधिकारीले भने प्रचलित कानुन अनुसार नै इन्धन सुविधा पाउनेछन् ।  त्यस्तै, केन्द्रीयस्तरका कार्यालयका पुल सवारी साधनहरुका लागि यसअघि उपलब्ध हुँदै आएको इन्धन सुविधा पनि कटौती भएको छ । ३० जनासम्म कर्मचारी भएका कार्यालयले ७५ लिटर पेट्रोल र १०० लिटर डिजेल पाउँदै आएकोमा अब ३५ लिटर पेट्रोल र ५० लिटर डिजेल पाउनेछन् ।  थप ५० जना कर्मचारीका भएका कार्यालयले यसअघि ७५ लिटर पेट्रोल र १०० लिटर डिजल पाउँदै आएकोमा कटौती गरी ३५ लिटर पेट्रोल र ५० लिटर डिजेल उपलब्ध गराइनेछ । त्यसपछिका थप प्रति १०० कर्मचारीका लागि ३५ लिटर पेट्रोल र ५० लिटर डिजल उपलब्ध हुनेछ ।  यसअघि थप १०० कर्मचारीको लागि ७५ लिटर पेट्रोल र १०० लिटर डिजेल दिइदै आएको थियो । त्यस्तै दुई पांग्रे सवारीले यसअघि प्रतिमहिना १२ लिटर पेट्रोल पाउँदै आएकोमा अब प्रतिमहिना ८ लिटर मात्र पाउनेछन् । 

काभ्रेमा १२ पुल निर्माणाधीन, थप ७ वटाका लागि बोलपत्र आह्वान

काठमाडौं । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल निर्माणका लागि ठेक्का आह्वान गरेको हो ।  प्रदेश सरकारअन्तर्गत कै १२ पुल निर्माणाधीन छन् । कूल निर्माण हुने पुलमध्ये १२ वटा पुल क्रमागत योजनाको रुपमा अघि बढाइएको र सात वटा नयाँ निर्माण गर्न बोलपत्र आह्वान गरिएको सो कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर वीरेन्द्रकुमार बज्राचार्यले जानकारी दिए । उनका अनुसार तेमाल गाउँपालिका-५ मा रोशीखोला गिम्दीबेशी पुल, रोशी गाउँपालिका वडा नम्बर ५ र ६ जोड्ने पोटाखोला पुल, धुलिखेल नगरपालिका-१ र २ जोड्ने चाम्रेखोला पुल निर्माणका लागि यही चैत दोस्रो साता बोलपत्र आह्वानमार्फत प्रक्रिया अघि बढाइएको छ । त्यसैगरी यसवर्ष पुल निर्माण सुरु गर्न नमोबुद्ध नगरपालिका-७ मा दाप्चाखोला पक्की पुल, नमोबुद्धकै दाप्चाखोला पक्की पुल, पनौती नपा-३ स्थित घ्याल्कुखोला मोटर पुल र भैँसेपाटी महेन्द्रज्योति पनौती जोड्ने ल्याखुनखोला पुलको बोलपत्र आह्वान गरिएको छ ।

पर्यटन बोर्डको स्वागत कार्यक्रममा मन्त्री पौडेलले दिए परिणाममुखी काम गर्न निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटन क्षेत्रमा सुधार आवश्यक रहेको बताएका छन् । नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको स्वागतमा कार्यक्रममा उनले सरकार फेरिएसँगै कार्यशैली पनि रुपान्तरण हुनुपर्ने बताए ।   मन्त्री पौडेलले पर्यटन क्षेत्रको गुणस्तर अभिवृद्धि, नवप्रवर्द्धन र दिगो योजनामार्फत नेपाललाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सबैको प्रतिबद्धता आवश्यक रहेको बताए । नेपालको विकासका लागि पर्यटन नै प्रमुख आधार भएकाले सोहीअनुसार योजना अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । मन्त्री पौडेलले पर्यटन प्रवर्द्धनका परम्परागत स्वरुप र अभ्यासबाट बाहिर निस्केर नवप्रवर्द्धनयुक्त अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले पर्यटन क्षेत्रमा परिणाम दिनेगरी काम गर्नुपर्ने र त्यसका लागि नीतिगत सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।  मन्त्री पौडेलले प्रतिशोधको राजनीति नगर्ने र काम गर्नेलाई प्रोत्साहन गर्ने बताए । उनले भने, ‘म राम्रो काम गर्नेलाई सम्मान गर्छु, तर नराम्रो का गरेर , आवश्यक परे कठोर निर्णय लिन तयार छु ।’ पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको समग्र संरचना, कार्यक्रम र नीतिगत दिशाबारे जानकारी दिनएका थिए । उनले पर्यटन बोर्डले सार्वजनिक-निजी साझेदारी मोडेलमार्फत अन्तरराष्ट्रिय बजारमा नेपाललाई सशक्त रूपमा प्रवर्द्धन गर्ने रणनीति अघि सारेको बताए ।  ‘सरकार र निजी क्षेत्रबीचको समन्वयलाई थप मजबुत बनाउँदै पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउने कार्यक्रम र योजनाअनुसार अघि बढिरहेका छौं’ , सीइओ जोशीले भने । 

लुम्बिनीका सांसदसँग प्रधानमन्त्री बालेनको छलफल: तिलौराकोटलाई 'स्मार्ट हेरिटेज सिटी' बनाउने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग  छलफल गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच चालु आर्थिक वर्ष २०८२/८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक विषयहरूमा छलफल भएको हो । छलफलमा सहभागी सांसदहरूले आआफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना तथा योजनाहरू प्रस्तुत गरेका थिए । उनीहरूले कपिलवस्तु केन्द्रित विकास प्रस्ताव गरेका थिए । कपिलवस्तु-२ का सांसद विक्रम थापाले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तिलौराकोटलाई ‘स्मार्ट हेरिटेज सिटी’ का रूपमा विकास गर्न प्रस्ताव राखेका थिए । उक्त योजनाअन्तर्गत तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने, डिजिटल प्रविधिमार्फत ऐतिहासिक अनुभव गराउने तथा अन्तरराष्ट्रिय अनुसन्धान केन्द्र स्थापना गर्ने योजना अघि सारेका थिए । यसैगरी, वाणगङ्गा नदी नियन्त्रण, ५४ किलोमिटर तटबन्ध निर्माण, तथा भारत सरकारको अनुदान सहयोगमा स्वीकृत डीपीआर कार्यान्वयनमा लैजान माग गरिएको थियो । यस्तै, कृषि क्षेत्रका लागि कपिलवस्तुमा करिब ६० हजार मेट्रिकटन मल आवश्यक रहे पनि आपूर्ति न्यून रहेकाले समस्या समाधानका लागि आग्रहसमेत गरिएको छ । छलफलमा अधिकांश सांसदहरूले बाँदरका कारण उत्पन्न समस्याबारे ध्यानाकर्षण गराएका थिए । यसैगरी उनीहरूले सिँचाइ, खानेपानी र स्वास्थ्य क्षेत्रमा तत्काल गर्नुपर्ने कामबारे जोड दिएका थिए । जगदीशपुर तालको क्षमता घट्दै गएको भन्दै यसको पुनः संरचना गरी करिब ६२ सय हेक्टर जमिनमा सिँचाइ विस्तार गर्नुपर्ने विषय पनि उठाइएको थियो । उनीहरूले कपिलवस्तुका आर्सेनिकयुक्त पानी, भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बोसवासीको व्यवस्थापन,  एकीकृत बस्ती विकास तथा उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए ।  यसैगरी लुम्बिनीदेखि तिलौराकोटसम्म २२ किलोमिटर चार लेन सडक तथा मर्यादपुर-तिलौराकोट सडक निर्माणको आवश्यकताबारे पनि सासदहरूले कुरा उठाएका थिए । गुल्मी क्षेत्र नं १ का सांसद सागर ढकालले बाँदरका कारण उत्पन्न समस्या समाधानका लागि विभिन्न निकाय र विज्ञहरूसँग छलफल गरिएको र यसमा सरकारले थप योजना अगाडि बढाउनुपर्ने बताए ।  पाल्पाका सांसद सन्दीप रानाले पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा हुँदै सल्यान जोड्ने रणनीतिक सडकलाई प्राथमिकतामा राख्न माग गरे । उनले कालिगण्डकी करिडोर, रिङरोड, ग्रामीण सडक स्तरोन्नति तथा पर्यटन मार्ग विकास गरिनुपर्ने बताए । नवलपरासी–२ का सांसद नरेन्द्रकुमार गुप्ताले रामग्राम स्तूप, देवदहलगायत बौद्ध तथा ऐतिहासिक क्षेत्रहरूको एकीकृत विकासको प्रस्ताव गरे । सांसदहरूले मल अभाव, सिँचाइ समस्या, कृषि आधुनिकीकरण, ‘एक वडा–एक उत्पादन’ नीति लागू गर्नुपर्नेमा समेत जोड दिए ।  बाँकेका सांसद मोहम्मद इश्तियाक राईले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सरकारको विशेष पहल आवश्यक रहेको बताए । सीमावर्ती क्षेत्रमा अपराध नियन्त्रण तथा निगरानी सुदृढ गर्नुपर्नेमा उनले जोड दिएका थिए । त्यस अवसरमा कपिलवस्तुको चुरे-भावर क्षेत्र संरक्षणसँगै पर्यटन विकास गर्ने नीति आवश्यक रहेको, इको-टुरिजम, ट्रेकिङ, होमस्टे तथा जडीबुटी आधारित अर्थतन्त्र विकास गर्ने सम्भावनाबारे छलफल भएको थियो ।  छलफलमा सुशासन प्रवर्द्धनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनर्संरचना, स्वतन्त्र भ्रष्टाचार नियन्त्रण निकाय गठन तथा अन्तरराष्ट्रिय अभ्यास अध्ययन गर्ने विषयबारे पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका विषयहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै लुम्बिनी प्रदेशको समग्र विकासलाई अघि बढाउने निष्कर्षसहित बैठक सम्पन्न भएको थियो ।