विकासन्युज

३ महिनामा राजेश मेटलको आम्दानी २.२० अर्ब, बैंकमा ऋण ६.२६ अर्ब रुपैयाँ

काठमाडौं । राजेश मेटल क्राफ्ट्स लिमिटेडले ३ महिनामा २ अर्ब बढी आम्दानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा २ अर्ब २० करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो ।  कम्पनीले अघिल्ला वर्षहरूमा भने उतार-चढावपूर्ण आम्दानी देखाएको छ । आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ४४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले आव २०८०/८१ मा ४ अर्ब १० करोड १० लाख रुपैयाँ, आव २०७९/८० मा ४ अर्ब ४६ करोड ८० लाख रुपैयाँ र आव २०७८/७९ मा ८ अर्ब ५७ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीका अनुसार प्रतिस्पर्धात्मक दबावका कारण बिक्री मूल्य घट्नु, कच्चा पदार्थको लागतमा उतार-चढाव आउनु तथा उत्पादन बिक्री मिश्रणमा परिवर्तन हुनु नाफामा असर पार्ने प्रमुख कारण हुन् । उच्च मार्जिन दिने पानाको हिस्सा २०२४ मा ४७ प्रतिशतबाट घटेर २०२५ मा ३७ प्रतिशतमा झरेको छ भने कम मार्जिन दिने पाइपको हिस्सा ३१ प्रतिशतबाट बढेर ४२ प्रतिशत पुगेको छ । सन् १९९३ मा श्रवण के. अग्रवालद्वारा स्थापना गरिएको यो कम्पनी पारिवारिक स्वामित्वमा सञ्चालन हुँदै आएको छ । हाल कम्पनीमा ६ जना सम्बन्धित व्यक्ति र ४ वटा सम्बद्ध संस्थाबीच सेयर स्वामित्व वितरण गरिएको छ । राजेश मेटल क्राफ्ट्स एक इस्पात उत्पादक कम्पनी हो, जसले स्टील पाइप, जस्ती (ग्याल्भेनाइज्ड) तथा रंगीन (कलर कोटेड) पाना लगायतका उत्पादनहरू उत्पादन गर्दै आएको छ । कम्पनीले मुख्य कच्चा पदार्थका रूपमा हट रोल्ड कुइल भारतबाट आयात गरी आफ्नै कोल्ड रोलिङ मिलमार्फत प्रशोधन गरेर विभिन्न इस्पातजन्य वस्तु उत्पादन गर्छ । तरलताको हिसाबले कम्पनीको अवस्था मध्यम रूपमा सन्तोषजनक देखिएको छ । २०२६ जनवरीसम्म करिब ९० करोड ५० लाख रुपैयाँ (२९ प्रतिशत) अप्रयुक्त ऋण सीमा रहेको छ, जुन २०२५ जुलाईमा करिब २९ करोड ६० लाख रुपैयाँ (१२ प्रतिशत) मात्र थियो । यद्यपि, नाफा मार्जिनमा निरन्तर गिरावट देखिएको छ । २०२४ मा ६.८ प्रतिशत रहेको मार्जिन २०२५ मा घटेर ४.४ प्रतिशतमा पुगेको छ भने २०२६ को पहिलो आधामा अझै घटेर ३.५ प्रतिशतमा सीमित भएको छ । उत्पादन मिश्रणमा आएको परिवर्तन, लागत वृद्धि, प्रतिस्पर्धा र निर्माण क्षेत्रको सुस्तता आएको कम्पनीले जनाएकाे छ । कम्पनीले हाल विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब २६ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ । 

ऋणपत्र जारी गरेर १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको उक्त कार्यालयका अनुसार ६ वर्ष अवधि रहेको ‘विकास ऋणपत्र–२०८८’ बोलकबोलमार्फत बिक्री गर्न लागिएको हो । ऋणपत्रको बोलकबोल चैत २५ गते गरिनेछ भने चैत २६ गते निष्कासन गरिने जनाइएको छ । इच्छुक खरिदकर्ताले बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनीका साथै नेपाली नागरिकहरूले समेत भाग लिन सक्नेछन् ।

८ महिनामा बैंकहरूको नाफा ४४ अर्ब हाराहारी, अग्रस्थानमा नबिल, ३ बैंक करोडमै सीमित

काठमाडौं । ८ महिनामा वाणिज्य बैंकहरूले पौने ४४ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा २० वटा वाणिज्य बैंकले ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेका हुन्  ८ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । चालु आवको फागुनसम्म नबिल बैंकले ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।  यस्तै, ग्लोबल आइएमई बैंकले ४ अर्ब ६२ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै, कुमारी बैंकले ३ अर्ब ६३ करोड ८ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब ९० करोड ७ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले २ अर्ब ८८ करोड ८ लाख रुपैयाँ, प्राइम बैंकले २ अर्ब ७४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  एनएमबि बैंकले २ अर्ब ६४ करोड ६६ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ३३ करोड ९० लाख रुपैयाँ, सानिमा बैंकले २ अर्ब ७ करोड ३९ लाख रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब ४ करोड ८१ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८० करोड ८२ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ७४ करोड ६९ लाख रुपैयाँ नाफा गरेका छन् ।   नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार माछापुच्छ्रे बैंकले १ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड ५० लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ३२ करोड २५ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब २२ करोड १८ लाख रुपैयाँ, नेपाल बैंकले १ अर्ब १८ करोड ६८ लाख रुपैयाँ नाफा गरेका छन् ।  यस्तै, सिटिजन्स बैंकले ८० करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ६५ करोड ४ लाख रुपैयाँ, एनआईसी एशिया बैंकले ३० करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । 

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बैठक मंगलबार दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसैगरी, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ, प्रहरीले थप बढायो निगरानी

काठमाडौं । झापाको पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले बिचौलियालाई नाकाको बसपार्क, भन्सार र बजार क्षेत्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले पक्राउ परेका सबै पुरुष रहेका बताए । लामो तथा छोटो दूरीका यातायातका साधनमा चढाउन, होटलमा बास बसाउन र अस्पतालहरूमा उपचारका लागि लगिदिन भन्दै जबर्जस्ती यात्रु तानातान गर्नेहरूलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको खड्काले जानकारी दिए । बिचौलियाले दुःख दिएको भनेर यात्रुबाट गुनासो आएपछि सोमबार बिहानैदेखि इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नाकाको बसपार्क, बजार र भन्सार आसपासमा निगरानीका लागि प्रहरी परिचालन गरेको थियो ।

अन्नपूर्ण क्षेत्रमा एक महिनामै भित्रिए ४८ हजार पर्यटक

काठमाडौं । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उक्त क्षेत्रका विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । तीमध्ये दक्षिण एसियाली मुलुकका ३२ हजार २० र अन्य देशका १६ हजार ४९३ पर्यटक रहेका छन् । सन् २०२५ को मार्च महिनाको तुलनामा यस वर्ष ११ हजार ६७९ पर्यटक बढेको आयोजना प्रमुख डा. रविन कडरियाले बताए । पछिल्लो समय यस क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भइरहेको उनको भनाइ छ । ‘नेपाल भित्रिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको भ्रमणमा आउने गरेका तथ्याङ्कले देखाएको छ । यहाँ आउने दक्षिण एसियाली पर्यटकमा भारतीयको सङ्ख्या बढी छ,’ उनले भने ।  नेपालमा मार्चदेखि मेसम्मको महिनालाई दोस्रो मुख्य पर्यटकीय यामका रूपमा लिइन्छ । नयाँ वर्ष आउन लागेको र वार्षिक परीक्षापछि शैक्षिक संस्थामा पनि बिदा हुने भएकाले यस याममा आन्तरिक पर्यटकको चहलपहल पनि बढ्ने आयोजना प्रमुख डा. कडरियाले बताए । पदयात्रा गर्न रुचाउने  आन्तरिक तथा बाह्य  पर्यटकका लागि यो याम उत्तम रहेको उनको भनाइ छ ।   आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पद मार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा भित्रिने गरेका छन् । यहाँको अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोरेपानी, पुनहिलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थल पर्यटकको रोजाइमा पर्ने गरेको छ ।  ७ हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् । अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वमै प्रसिद्ध मानिन्छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले देश विदेशका यस क्षेत्र परिचित छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जुनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । 

दलको भन्दा राष्ट्रको सभामुख भएर जिम्मेवारी निर्वाह गर्छु: सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसदीय व्यवस्थामा सभामुख पदको गरिमालाई अझ उच्च बनाउने कार्यमा आफू सदैव सकारात्मक र सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।  सभामुख पदमा निर्वाचित भएपछि सोमबारको प्रतिनिधिसभा बैठकमा उनले भने, ‘संसदीय व्यवस्थाको सुन्दर पक्ष भनेको नीतिगत बहस, छलफल गर्ने र निष्कर्ष निकाल्ने हुन्छ । यस कार्यका लागि संसद् एक खुल्ला विश्वविद्यालय सरह रहने भएकाले आफू सदैव सकारात्मक भएर काम गर्नेछु । सत्तापक्षको गुण र दोषका आधारमा प्रतिपक्षले भुमिका निर्वाह गर्ने भएकाले समाजमा सुशासन कायम गरी विकसित राष्ट्र निर्माणमा सबै सांसदहरूको बराबरी र महत्त्वपूर्ण भूमिका रहन्छ ।’ नेपालको संविधान, प्रतिनिधिसभा नियमावली र प्रचलित कानुनलाई मार्गदर्शन मानी समग्र संसदीय क्रियाकलाप सञ्चालन गर्ने उल्लेख गर्दै सभामुख अर्यालले संविधान र प्रचलित कानुनको अधीनमा रही राजनीतिक दलहरूसँगको आपसी सहयोग र समन्वयका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।  उनले देशमा सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण गरेर विकास निर्माणका गतिविधि सञ्चालन गर्ने र आवश्यक कानुन बनाउने थलो संसद् भएकाले सबै राजनीतिक दललाई रचनात्मक सहयोग र सहभागिताका लागि उनले आग्रह गरे ।  ‘म कुनै राजनीतिक दलमा आबद्ध भएर निर्वाचित हुँदै प्रतिनिधिसभाको सदस्य भएको हुँ । अब म दलको भन्दा राष्ट्रको सभामुख भएकाले यो गरिमामय पद र यसको जिम्मेवारी निर्वाह गरिरहँदा राजनीतिक दलमा सहभागी भएकै कारण सभाको मर्यादामा आँच आउन दिने छैन,’ उनले भने । उनले सबैको सुझावलाई तथष्टरूपमा कार्यान्वयन गर्दै सभामुख निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताए ।  सभामुख अर्यालले सांसद सङ्ख्याका आधारमा कुनै भेदभाव नहुने बताउँदै सांसद सबैबाट सभा सञ्चालनका लागि क्रियाशीलता, रचनात्मक सहयोग र समन्वयको अपेक्षा गरे । संसद्मा जनताको प्रतिनिधित्व गरेर आएका कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव नहुने उनको भनाइ छ । ‘हामीले गर्ने प्रत्येक निर्णय र गतिविधि जनताले नजिकबाट अवलोकन गरिरहेका छन् । निर्वाचित प्रतिनिधि जनताले जिताएर पठाएका छन् । सबैले आफ्नो दायित्व आमनागरिकप्रति इमान्दार भएर निर्वाह गर्नुपर्छ,’ सभामुख अर्यालले भने । उनले हरेक नेपाली नागरिकले संसद्मा हुने छलफल र यहाँका गतिविधिमा आफ्नो सहभागिता रहेको महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । सभामुख अर्यालले नयाँ कानुन निर्माण गर्नुभन्दा पहिला बनेका, हाल विद्यमान ऐन कानुनको समीक्षा र पुनरावलोकन गरी कुन कुन कानुन खारेज गर्ने, कुन कुन कानुनलाई एकीकृत गर्ने भन्ने बारेमा अध्ययन पुनरावलोकनसहित कानुनको निर्माणमा जुट्न सबैलाई आग्रह गरे ।  ‘परिणाम प्राप्तिको लागि अझै पनि धेरै महत्वपूर्ण कानून निर्माण, संशोधन र परिमार्जन गर्न बाँकी छन् । त्यसैले समयवद्ध योजना बनाएर ती कार्यहरू सम्पन्न गर्न सबै सदस्यहरूको सक्रिय सहभागिता अपरिहार्य छ, संसदलाई निष्क्रिय होइन, कार्यसम्पादनको केन्द्र बनाउनु आवश्यक छ,’ उनले भने । बहुदलीय शासन व्यवस्थामा जनताको अभिमत जाहेर हुने भएकाले सबै दलहरूसँगको समन्वयमा संसद्को गरिमा उचो राख्ने प्रतिबद्धता जनाए । उनले संसदमा उपस्थित राजनीतिक दल र सबै सदस्यबाट असल संवैधानिक अभ्यास हुने विश्वास पनि व्यक्त गरे । 

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धानमा परिसंघ र तथ्याङ्क कार्यालयले सहकार्य गर्ने

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल उद्योग परिसङ्घबीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क, सङ्कलन, विश्लेषण, अनुसन्धान तथा नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले एक समझदारी भएको छ । मुलुकको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीति निर्माणका लागि गुणस्तरीय र समयानुकूल तथ्याङ्क जरुरी आवश्यक रहेकाले उक्त समझदारी गरिएको हो । तथ्याङ्क प्रणाली विकासका लागि राष्ट्रिय रणनीति, निजी क्षेत्रसँग सम्बन्धित आर्थिक गतिविधिका तथ्याङ्क सङ्कलन, विश्लेषण तथा उपयोगलाई सुदृढ गरी तथ्याङ्कीय गुणस्तर अभिवृद्धि गर्न सरकारी निकाय र निजी क्षेत्र सङ्घसंस्थासँग सहकार्य समन्वय गर्ने रणनीति अनुरूप यो समझदारी भएको उल्लेख गरिएको छ । कार्यालय प्रमुख डा. कमलप्रसाद पोख्रेल र परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेको उपस्थितिमा कार्यालयका निर्देशक डा.वेदप्रसाद ढकाल र परिसङ्घका महानिर्देशक डा.घनश्याम ओझाले हस्ताक्षर गरे । सो अवसरमा परिसङ्घका अध्यक्ष पाण्डेले यो सहकार्यले निजी क्षेत्रसँग सम्बन्धित आर्थिक तथ्याङ्क सङ्कलन, विश्लेषण तथा उपयोगलाई सुदृढ बनाउन सहयोग गर्ने बताए ।  तथ्याङ्क कार्यालय प्रमुख डा.पोख्रेलले सरकारी तथा निजी क्षेत्रबीच तथ्याङ्क प्रणाली विकासमा सहकार्य, राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित तथ्याङ्कको गुणस्तर सुधार तथा प्रयोग विस्तारमा सहयोगी हुने बताए । समझदारीअनुसार परिसङ्घ र कार्यालयबीच राष्ट्रिय आर्थिक गणना, निजी क्षेत्र तथ्याङ्क प्रणाली विकास, अनुसन्धान तथा नीति अध्ययन, तथ्याङ्क आदानप्रदान, क्षमता विकास, प्रचारप्रसार तथा जनचेतनामा सहकार्य हुनेछ ।