इरान-अमेरिका तनावमा पाकिस्तानको ‘इन्ट्री’ : शरिफ र मुनिरको पहलमा ट्रम्प युद्ध रोक्न सहमत
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इरानको पूर्वाधारमा योजनाबद्ध आक्रमण दुई साताका लागि स्थगित गर्न सहमति भएको बताएका छन् । यसअघि उनले इरानको ‘पूरै सभ्यता ध्वस्त पार्ने’ धम्की दिएका थिए । यो निर्णय अमेरिका र इजरायलले युद्ध सुरु गरेको पाँच हप्ताभन्दा बढी समयपछि आएको हो । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसलमा लेख्दै भनेका छन् कि यो सहमति ‘इरानले होर्मुज जलडमरू पूर्ण, तत्काल र सुरक्षित रूपमा खोल्न सहमत हुने सर्तमा आधारित’ छ । उनका अनुसार यो निर्णय पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ र फिल्ड मार्शल असिम मुनिरसँगको छलफलपछि गरिएको हो । ‘यो दुवै पक्षबाट हुने युद्धविराम हुनेछ !’ ट्रम्पले घोषणा गरेका छन् । यो घोषणापछि तेलको मूल्य करिब १६ प्रतिशतसम्म घट्यो भने अमेरिकी सेयर बजारका फ्युचर्स तीव्र रूपमा बढे। इरानका विदेशमन्त्री अब्बास अराघ्चीले छुट्टै वक्तव्यमा भनेका छन् कि दुई साताको अवधिमा इरानी सशस्त्र बलसँगको समन्वयमा र प्राविधिक सीमाहरूलाई ध्यानमा राख्दै जहाजहरूलाई सुरक्षित रूपमा होर्मुज जलडमरूबाट आवतजावत गर्न दिइनेछ । ट्रम्पको घोषणा इरानलाई दिइएको समयसीमाभन्दा दुई घण्टा कमअघि आएको हो । उक्त समयसीमाअनुसार इरानले जलडमरू खोल्ने सम्झौता नगरेमा यसको नागरिक पूर्वाधारमा ठूलो आक्रमण हुने चेतावनी दिइएको थियो। आइतबार ट्रम्पले सामाजिक सञ्जालमा आक्रामक पोस्ट गर्दै इरानलाई ‘जलडमरू खोल’ भन्ने कडा चेतावनी दिएका थिए, जसका कारण अमेरिका र विश्वभर तनाव बढेको थियो । मंगलबार बिहान उनले अझ कडा अभिव्यक्ति दिँदै ‘आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ’ भनेर लेखेका थिए । पाकिस्तानका प्रधानमन्त्री शरिफले मंगलबार दिउँसो ट्रम्पसँग इरानका लागि दुई साताको समय थप्न आग्रह गरेका थिए । साथै उनले इरानलाई ‘सद्भावनाको संकेतस्वरूप’ दुई साताका लागि जलडमरू खोल्न अनुरोध गरेका थिए । शरीफले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘दीर्घकालीन शान्ति र क्षेत्रीय स्थिरताका लागि कूटनीतिलाई मौका दिन सबै युद्धरत पक्षलाई दुई सातासम्म युद्धविराम पालना गर्न आग्रह गर्छौं ।’ अमेरिका र इरान दुवैले यस घटनालाई आफ्नो सफलता भनेर व्याख्या गरेका छन् । ट्रम्पले भनेका छन् कि अमेरिका पहिले नै आफ्ना सबै सैन्य लक्ष्य पूरा गरिसकेको छ र इरानसँग दीर्घकालीन शान्ति सम्झौतामा पुग्ने चरणमा छ । उनका अनुसार इरानले दिएको १० बुँदे प्रस्ताव वार्ताका लागि ‘कार्यान्वयनयोग्य आधार’ हो र अधिकांश विवादित विषयमा सहमति भइसकेको छ । दुई साताको अवधिमा अन्तिम सम्झौता टुंगो लाग्ने अपेक्षा गरिएको छ । इरानको मेहर न्युज एजेन्सीले पनि राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको वक्तव्य उद्धृत गर्दै अमेरिका वार्ताका आधारभूत सिद्धान्त स्वीकार गर्न बाध्य भएको दाबी गरेको छ । वक्तव्यमा भनिएको छ, ‘यदि वार्तामा शत्रुको आत्मसमर्पण निर्णायक राजनीतिक उपलब्धि बन्छ भने हामी यो ऐतिहासिक विजय मनाउनेछौं, नत्र इरानी जनताको सबै माग पूरा नभएसम्म संघर्ष जारी रहनेछ । वक्तव्यअनुसार आगामी दिनहरूमा इरान र अमेरिकाबीच पाकिस्तानको राजधानी इस्लामावादमा दुई सातासम्म वार्ता हुने छ । इरानको १० बुँदे प्रस्तावमा क्षेत्रीय सैन्य अड्डाबाट अमेरिकी सेना फिर्ता, सबै प्रतिबन्ध हटाउने, विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फिर्ता गर्ने, युद्ध क्षतिपूर्ति तिर्ने र होर्मुज जलडमरूमा नियन्त्रित आवतजावतको व्यवस्था गर्ने विषय समावेश छन् । सोमबार ट्रम्पले इरानको युद्धविराम प्रस्ताव ‘पर्याप्त रूपमा राम्रो नभएको’ बताएका थिए । तर केही घण्टामै उनले उक्त प्रस्तावलाई वार्ताका लागि स्वीकार्य आधार मानेका छन् । यस परिवर्तनको कारण भने स्पष्ट भइसकेको छैन । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)
सञ्चारमन्त्रीको निर्देशन पछि एनटिसीका प्याकेजमा समय थप, अब ३० दिनसम्म लागू
काठमाडौं । नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका प्याकेजलाई बढाएर ३० दिन बनाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । एनटिसीका अनुसार ‘कम्बो-२९९ प्याक’ को समयावधि मंगलबार रातिदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिएको छ । यो निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिना र नेपाल टेलिकमबीच भएको छलफलपछि तत्काल कार्यान्वयनमा आएको हो । नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रीना डंगोलले हाल एउटा २८ दिने प्याकेजलाई ३० दिनमा रूपान्तरण गरिसकिएको र आगामी बैशाख ११ गतेसम्म यो अवधिका सबै प्याकेजलाई ३० दिनमा रूपान्तरण गरिसक्ने जानकारी दिए । यस व्यवस्थाबाट एनटिसीका ग्राहकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ । यो अवस्था लागू भएसँगै अब महिनामा एकपटक रिचार्ज गर्दा पुग्नेछ, जसले प्रयोगलाई सहज बनाउनेछ । साथै उही मूल्यमा दुई दिन बढी सेवा पाउने भएकाले ग्राहकले डेटा, भ्वाइस तथा एसएमएस प्रयोगमा अतिरिक्त सुविधा प्राप्त गर्नेछन् । यसले खर्च व्यवस्थापनलाई पनि सहज बनाउने र उपभोक्ता सन्तुष्टि बढाउने विश्वास गरिएको छ । एनटिसीको यस्तो सेवालाई उपभोक्तामैत्री सुधारका रूपमा लिइएको छ भने यसले टेलिकम क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरणलाई समेत थप गतिशील बनाउने अपेक्षा गरिएको छ ।
शंकर ग्रुपको १ खर्ब रुपैयाँ ऋण, कुन कम्पनीको कति ?
काठमाडौं । व्यावसायिक घराना शंकर ग्रुप यतिबेला अनुसन्धानको केन्द्रमा छ । ग्रुपका अध्यक्ष शंकर अग्रवाल गत शुक्रबार (चैत २०) पक्राउ परेपछि आइतबार (चैत २२) रिहा भएका छन् भने सोही दिन उपाध्यक्ष तथा जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ परेका छन् । प्रहरीले दुवै जनालाई सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी कसूरमा अनुसन्धान गर्न पक्राउ गरेको जनाएको छ । सुलभ अग्रवाललाई अदालतले ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । शंकर समूह अन्तर्गत दर्जनौं कम्पनीहरू सञ्चालनमा छन् । उद्योग, व्यापार, स्टील, सिमेन्ट, ऊर्जा लगायत विभिन्न क्षेत्रमा फैलिएको यो समूह देशको औद्योगिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । समूहको संरचना अनुसार यसको दुई प्रमुख इकाइ रहेका छन्– जगदम्बा होल्डिङ र जगदम्बा ग्रुप । जगदम्बा होल्डिङ्सको अध्यक्ष शुलभ अग्रवाल रहेका छन् भने जगदम्बा समूहको अध्यक्ष शाहिल अग्रवाल छन् । शाहिल अग्रवाल शंकर समूहका प्रबन्ध निर्देशक पनि हुन्, जसले समग्र समूहको नेतृत्व सम्हालिरहेका छन् । विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार, शंकर समूहले दर्जनौं कम्पनी सञ्चालन गर्दै आएको छ र करिब एक खर्ब रुपैयाँ बराबर ऋण बैंक तथा वित्तीय संस्थाबाट लिएको छ । जगदम्बा स्टिल्स नेपालको ठूलो इस्पात उत्पादक कम्पनी जगदम्बा स्टिल्स लिमिटेडले ३३ अर्ब १५ करोड ५२ लाख रुपैयाँ ऋण लिएको छ । कम्पनी सन् १९९३ अक्टोबर १ मा स्थापना भएको हो । बाराको सिमरामा रहेको यसको प्रमुख प्लान्टमा कोल्ड रोल्ड, रोलिङ मिल, तार तथा मेल्टिङ गरी चार प्रमुख उत्पादन लाइनमार्फत विभिन्न इस्पातजन्य सामग्री उत्पादन गरिन्छ । कम्पनीको कुल क्षमता २४ लाख ४४ हजार मेट्रिक टन रहेको छ, जसले देशको आवश्यकताभन्दा बढी स्टील उत्पादन तथा आपूर्ति गर्ने क्षमता राख्छ । यसको उत्पादन देशभरका करिब ५९० वितरकमार्फत बिक्री भइरहेको छ । सौर्य सिमेन्ट इन्डस्ट्रीज सौर्य सिमेन्ट इन्डस्ट्रीज लिमिटेडले १४ अर्ब ८६ करोड ९८ लाख रुपैयाँ ऋण लिएको छ । सन् २०१७ सेप्टेम्बरमा स्थापना भएको यस कम्पनीको प्रमुख उत्पादन प्लान्ट सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ । कम्पनीको कुल स्थापित क्षमता प्रतिदिन ३ हजार टन रहेको छ । यो कम्पनी शंकर समूह, आम्बे समूह र हुलास समूहसहित तीन प्रमुख व्यावसायिक समूहहरूको संयुक्त स्वामित्वमा रहेको छ । रिद्धि सिद्धि सिमेन्ट रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले ११ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ ऋण लिएको छ । सन् २०१३ मा स्थापना भएको यो कम्पनी शंकर समूह र अम्बे समूहको संयुक्त लगानीमा सञ्चालनमा रहेको छ । कम्पनीको कुल ग्राइण्डिङ क्षमता ०.७३ मिलियन मेट्रिक टन रहेको छ भने क्लिङ्कर उत्पादन क्षमता ०.८४ मिलियन मेट्रिक टन रहेको छ । कम्पनीले ‘रिद्धि सिद्धि’ र ‘मकवानपुर सिमेन्ट’ ब्रान्ड अन्तर्गत उत्पादनहरू बजारमा बिक्री गर्दै आएको छ । कम्पनीको उत्पादन प्लान्ट मकवानपुर जिल्लाको हेटौंडा–रातोमाटेमा अवस्थित छ । शुभ श्री जगदम्बा सिमेन्ट मिल्स शुभ श्री जगदम्बा सिमेन्ट मिल्स लिमिटेडले २ अर्ब १४ करोड ८० लाख रुपैयाँ ऋण लिएको छ । सन् २००७ अगस्टमा स्थापना भएको यस कम्पनीको कुल ग्राइण्डिङ क्षमता प्रतिदिन २ हजार ६०० टन रहेको छ । कम्पनीमा सौरभ समूहको करिब ६० प्रतिशत र शंकर समूहको करिब ४० प्रतिशत स्वामित्व रहेको छ । यसको उत्पादन प्लान्ट पर्सा जिल्लाको छत्ता पिप्रा चोर्नी–४ मा अवस्थित छ, जुन काठमाडौंबाट करिब १२५ किलोमिटर टाढा पर्छ । जगदम्बा मोटर्स जगदम्बा मोटर्स प्रालिले ५ अर्ब ९६ करोड ७४ लाख रुपैयाँ ऋण लिएको छ । सन् २०१० डिसेम्बर २७ मा स्थापना भएको यो कम्पनी शंकर समूह अन्तर्गत सञ्चालनमा रहेको छ । कम्पनी शाहिल अग्रवालको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ । जगदम्बा मोटर्सले नेपालभर आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको बजारमा महत्वपूर्ण उपस्थिति कायम गरेको छ । जगदम्बा हस्पिटालिटीमा शंकर समूहले नक्सालमा पाँचतारे होटल हिल्टन काठमाडौं सञ्चालनमार्फत हस्पिटालिटी क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाएको छ । जगदम्बा हस्पिटालिटी ग्रुप अन्तर्गत रहेको उक्त होटल आगलागीका कारण क्षतिग्रस्त भएपछि हाल पुनःनिर्माणको चरणमा रहेको छ । उपलब्ध तथ्याङ्क अनुसार होटल निर्माणका लागि कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ३० करोड रुपैयाँ ऋण लिएको छ । होटल पूर्ण रूपमा सञ्चालनमा आउँदासम्म करिब ७ अर्ब रुपैयाँ लगानी भइसकेको दाबी गरिएको छ । होटलमा शाहिल अग्रवालको कम्पनीको ९० प्रतिशतभन्दा बढी स्वामित्व रहेको बताइएको छ । जगदम्बा अटो ग्रुप शंकर समूहअन्तर्गतको जगदम्बा अटो ग्रुपले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ९१ करोड रुपैयाँ ऋण लिएको छ । सन् २०१४ मा स्थापना भएको यो कम्पनी नेपालमा टीभीएस ब्रान्डका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधन एसेम्बल गर्ने अधिकृत कम्पनी हो । कम्पनीले एसेम्बल गरेका सवारी साधनहरू आफ्नै समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालिमार्फत बिक्री वितरण गर्दै आएको छ । जगदम्बा मोटर्स नेपालमा टीभीएस सवारी साधनको आधिकारिक वितरक पनि हो । जगदम्बा हायर पर्चेज जगदम्बा हायर पर्चेज लिमिटेडले १ अर्ब ७७ करोड २५ लाख रुपैयाँ ऋण लिएको छ । शंकर समूहको वित्तीय शाखाअन्तर्गत रहेको यो कम्पनी सन् २०१६ मेमा स्थापना भएको हो । कम्पनीले सन् २०१७ फेब्रुअरीमा नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कम्पनीका रूपमा सञ्चालन अनुमति प्राप्त गरेको थियो । यसको मुख्य उद्देश्य दुई पाङ्ग्रे, तीन पाङ्ग्रे (टेम्पो), चार पाङ्ग्रे सवारी साधन (अटो लोन) तथा भारी उपकरणका लागि हायर पर्चेज ऋण प्रदान गर्नु हो । उपलब्ध तथ्याङ्क अनुसार कम्पनीको अधिकांश सेयर स्वामित्व शाहिल अग्रवालसँग रहेको छ, जसले करिब ९९.८० प्रतिशत हिस्सा ओगटेका छन् । जगदम्बा मोबाइल शंकर समूहअन्तर्गतको जगदम्बा मोबाइलले ९० करोड रुपैयाँ ऋण लिएको छ । नेपालमा मोबाइल तथा प्रविधि उपकरणको व्यवसायमा सक्रिय यो कम्पनी सन् २०११ जुलाई ७ मा स्थापना गरिएको हो । कम्पनीले रियलमी मोबाइल टेलिकम्युनिकेशन्सको गैर–विशेष आधिकारिक वितरकका रूपमा रियलमी ब्रान्डका स्मार्टफोन तथा एक्सेसरीहरू बिक्री तथा वितरण गर्दै आएको छ । जगदम्बा सिन्थेटिक्स जगदम्बा सिन्थेटिक्स लिमिटेडले ३ अर्ब ५९ करोड रुपैयाँ ऋण लिएको छ । नेपालमा पोलिप्रोपाइलीन बुना कपडा र झोला उत्पादन गर्ने यो कम्पनी सन् २००२ मार्च २० मा स्थापना भएको हो । कम्पनीले नन-वान बुना एए र हाई डेंसिटी पोलिथिन (ज्म्एभ्) कपडा पनि उत्पादन गर्दै आएको छ, जुन झोला निर्माण र आवरण सामग्रीको रूपमा प्रयोग हुन्छ । यसको उत्पादन इकाई रुपन्देही जिल्लामा अवस्थित छ र मासिक ३ हजार मेट्रिकटन कपडा तथा झोला उत्पादन क्षमता राख्दछ । जगदम्बा फ्लोर एण्ड एग्रो जगदम्बा फ्लोर एण्ड एग्रो लिमिटेडले १ अर्ब २४ करोड १६ लाख रुपैयाँ ऋण लिएको छ। भैरहवा, रुपन्देहीमा अवस्थित यसको उत्पादन कारखानाबाट आटा तथा अन्य गहुँजन्य उत्पादनहरू उत्पादन हुँदै आएका छन् । कम्पनी सन् २०१५ अगस्टमा स्थापना भएको हो। यसले मैदा, आटा, सुजी, चोकर र अन्य सम्बन्धित उत्पादनहरू जगदम्बा र शक्ति भोग ब्रान्ड अन्तर्गत बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीको कुल स्थापित क्षमता प्रतिवर्ष ३८ हजार २०० मेट्रिकटन रहेको छ । बलेफी हाइड्रोपावर लिमिटेड बलेफी हाइड्रोपावर लिमिटेडले ५ अर्ब ४८ करोड रुपैयाँ ऋण लिएको छ । सिन्धुपाल्चोक जिल्लामा अवस्थित ३६ मेगावाट क्षमताको अपर बलेफी-ए जलविद्युत आयोजना सफलतापूर्वक सञ्चालन भइरहेको छ । उक्त आयोजना सन् २०७९ मंसिर ६ गते (नोभेम्बर २२, २०२२) देखि व्यावसायिक उत्पादनमा रहेको छ । जनवरी २०२६ सम्म कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुगेको छ, जसको सम्पूर्ण स्वामित्व सर्वसाधारणमा रहेको छ । यसले कम्पनीलाई पूर्ण सार्वजनिक स्वामित्वमा रहेको ऊर्जा कम्पनीको रूपमा स्थापित गरेको छ । हालका प्रमुख सेयरधनीहरूमा सुशील गुप्ताको ४.३४ प्रतिशत, प्रभा गोयनका भीमसरिया ३.९८ प्रतिशत, सन्दीप कुमार शारदा ३.७६ प्रतिशत र बच्छु पौडेल २.६० प्रतिशत रहेका छन्। यसअघि सुलभ अग्रवालको नाममा १४.६० प्रतिशत सेयर स्वामित्व रहेपनि हाल उनको नाममा देखिदैँन । मोदी इनर्जी लिमिटेड मोदी इनर्जी लिमिटेडले ३ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ ऋण लिएको छ । कम्पनी पर्वत जिल्लामा २० मेगावाट क्षमताको तल्लो मोदी खोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनको उद्देश्यले क्रियाशील छ । सन् १९९६ नोभेम्बरमा ‘मनाङ ट्रेड लिंक प्राइभेट लिमिटेड’ का रूपमा स्थापना भएको कम्पनी सन् २०१७ मे २८ मा ‘मोदी इनर्जी प्राइभेट लिमिटेड’ मा रूपान्तरण गरिएको थियो । त्यसपछि सन् २०१८ जुन २१ मा कम्पनी सार्वजनिक लिमिटेड कम्पनी ‘मोदी इनर्जी लिमिटेड’ मा परिणत भएको हो । तल्लो मोदी खोला जलविद्युत आयोजना ‘रन अफ द रिभर’ प्रकारको आयोजना हो, जसले ५५२ वर्ग किलोमिटर जलाधार क्षेत्र समेटेको छ । आयोजनाको डिजाइन डिस्चार्ज २६.५२ घनमिटर प्रति सेकेन्ड रहेको छ, जुन ४० प्रतिशत एक्सिडेन्स फ्लोमा आधारित छ । कम्पनीको प्रमुख संस्थागत प्रवर्द्धक मोदी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड रहेको छ भने व्यक्तिगत प्रवर्द्धकमा पशुपति मुरारका र श्रीश कुमार मुरारका प्रमुख रहेका छन् । माथिल्लो बलेफी हाइड्रोपावर माथिल्लो बलेफी हाइड्रोपावर लिमिटेडले ७ अर्ब २४ करोड ८० लाख रुपैयाँ ऋण लिएको छ । कम्पनी जुगल गाउँपालिकामा ४६ मेगावाट क्षमताको माथिल्लो बलेफी जलविद्युत आयोजना निर्माणमा क्रियाशील छ । कम्पनी २०१७ जनवरी ४ मा स्थापना भएको हो । उक्त आयोजना ‘रन अफ द रिभर’ प्रकृतिको परियोजना हो र निर्माण, स्वामित्व, सञ्चालन तथा अन्ततः स्थानान्तरण मोडेलअनुसार सञ्चालन हुने व्यवस्था रहेको छ । माथिल्लो बलेफी हाइड्रोपावरका प्रवर्द्धकहरूमा गोल्यान समूह, एचआर गोयल समूह, सिद्धार्थ समूह र कसजु समूह प्रमुख रहेका छन् । शुलभ अग्रवाल सन् २०१० देखि शंकर समूहमा उपाध्यक्ष छन् । उनले समूह अन्तर्गत विभिन्न कम्पनीहरूमा सञ्चालक तथा निर्देशकको भूमिका निर्वाह गर्दै आएका छन् । उनी विशेषगरी जगदम्बा स्टील इण्डस्ट्रिज, जगदम्बा सिमेन्टमा प्रबन्ध सञ्चालकको भूमिकामा छन् । साथै, एसजी ग्लोबल, एसजी इन्जिनियरिङ, एसजी इलेक्ट्रोनिकमा पनि उनको सक्रिय भूमिका रहेको छ । शाहिल अग्रवालका विषयमा भने हालसम्म सरकारको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन । शंकर ग्रुपका प्रबन्ध सञ्चालक र जगदम्बा ग्रुपका अध्यक्ष रहेका शाहिलका विभिन्न ३३ वटा कम्पनी सञ्चालनमा रहेका देखिन्छन् । उनी विभिन्न २९ वटा कम्पनीको अध्यक्ष छन् भने ४ वटा कम्पनीमा सञ्चालकको भूमिकामा छन् । अकोड क्यापिन प्रा.लि.,काठमाडौं- अध्यक्ष अजन्त होल्ङ्गिस प्रा.लि.,काठमाडौं- अध्यक्ष अतल क्यापिटल प्रा.लि.,काठमाडौं- अध्यक्ष सेन्त्रम क्यापिटल प्रा.लि.,काठमाडौं- अध्यक्ष कालिका फिनकोर्प प्रा.लि., काठमाडौं- अध्यक्ष शुभश्री जगदम्बा सिमेन्ट मिलस् प्रा.लि.,काठमाडौं- अध्यक्ष जगदम्बा फुड प्रोसेसिङ प्रा.लि.,काठमाडौं- संचालक जगदम्बा फुडस् प्रा.लि.,काठमाडौं- अध्यक्ष जगदम्बा इस्पट प्रा.लि.,काठमाडौं- अध्यक्ष जगदम्बा एक्सप्लोरेसन प्रा.लि.,काठमाडौं- अध्यक्ष जगदम्बा रिसोर्सेस प्रा.लि.,काठमाडौं- अध्यक्ष कर्भी ग्लोबल प्रा.लि.,काठमाडौं- अध्यक्ष कृति एपेक्स प्रा.लि.,काठमाडौं- अध्यक्ष युजीवन मर्चेन्ट प्रा.लि.,काठमाडौं- अध्यक्ष वन्डर भेन्चर प्रा.लि.,काठमाडौं- अध्यक्ष जगदम्बा इस्पीरिचस् प्रा.लि.- अध्यक्ष जगदम्बा मोटरस् प्रा.लि.,काठमाडौं- अध्यक्ष जगदम्बा अटो गुप्र प्रा.लि.,काठमाडौं- अध्यक्ष शंकर अटोमोबाइलस् प्रा.लि., काठमाडौं- अध्यक्ष शैर्य अटोमोबाइलस् प्रा.लि., काठमाडौं- अध्यक्ष जगदम्बा अल्को वेभ प्रा.लि., काठमाडौं- अध्यक्ष जगदम्बा हस्पीट्यालिटी ग्रुप प्रा.लि., काठमाडौं- अध्यक्ष जगदम्बा माक्स प्रा.लि., काठमाडौं- अध्यक्ष ए. जि. इन्जिनियरिङ्ग प्रा.लि.,काठमाडौं-अध्यक्ष सगरमाथा लोजिस्टिकस् एण्ड त्रास्पोट प्रा.लि., काठमाडौं- अध्यक्ष एन.के. कस्मेटिकस् प्रा.लि., काठमाडौं- अध्यक्ष सगरमाथा माइनस् प्रा.लि., काठमाडौं- अध्यक्ष जगदम्बा सिमेन्ट प्रा.लि., काठमाडौं- अध्यक्ष नकासु मोटरस् प्रा.लि., काठमाडौं- अध्यक्ष एभरेष्ट साल्ट प्रा.लि., काठमाडौं- संचालक जगदम्बा केमिकलस् प्रा.लि.,काठमाडौं- संचालक नागरजुन क्यापिटलस् प्रा.लि.,काठमाडौं- संचालक जगदम्बा क्रेडिट एण्ड इन्भेष्टमेन्ट लिमिटेड,काठमाडौं- संचालक
संविधान संशोधनको ढोका खुल्दै, बहसपत्र कार्यदलको पहिलो बैठक आज
काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न नेपाल सरकारद्वारा गठन गरिएको कार्यदल–२०८२ को पहिलो बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित उक्त कार्यदलले संविधान संशोधनसम्बन्धी बहसलाई संस्थागत ढंगले अघि बढाउने जिम्मेवारी पाएको छ । कार्यदलमार्फत राजनीतिक सहमतिको आधार तयार गर्ने सरकारको तयारीका रूपमा यसलाई हेरिएको छ । कार्यदलमा प्रमुख राजनीतिक दलहरूको प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ । समितिमा नेपाली कांग्रेसका तर्फबाट मोहन आचार्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट संविधानसभा सदस्य तथा कार्यालय सचिव डा. भीष्मनाथ अधिकारी तथा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट संविधानसभा सदस्य एवं पूर्वकानुनमन्त्री देव प्रसाद गुरुङ सदस्य रहेका छन् । सरकारले संविधान संशोधनसम्बन्धी विषयमा व्यापक बहस, सुझाव संकलन तथा राजनीतिक सहमति निर्माण गर्ने उद्देश्यसहित कार्यदल गठन गरेको जनाएको छ ।
संघीय संसद् आज बस्दै, प्रधानमन्त्री बालेनले वार्षिक प्रतिवेदन पेश गर्ने
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । दुवै सदनको बैठकमा महत्वपूर्ण प्रतिवेदन तथा विधेयक प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । निर्धारित कार्यतालिकाअनुसार प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२ सभासमक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ प्रस्ताव गर्ने कार्यक्रम रहेको छ । उक्त विधेयक प्रस्तुत गर्नुअघि सभामा पेश गर्न अनुमति माग्ने प्रस्तावसमेत प्रस्तुत गरिने सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यसूची समेत रहेको छ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ । सो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्ने कार्यक्रम तय गरिएको छ ।
टौरियन एमपिएस लिमिटेडको आधिकारिक डिलरमा आरबीजी इन्टरनेसनल नियुक्त
काठमाडौं । क्रसिङ, स्क्रिनिङ तथा मटेरियल प्रोसेसिङ उपकरण निर्माणमा विश्वव्यापी पहिचान बनाएको टौरियन एमपिएस लिमिटेडले नेपालका लागि आरबीजी इन्टरनेशनल प्रालिलाई आफ्नो आधिकारिक विक्रेता नियुक्त गरेको छ । मंगलबार काठमाडौंको होटल बराही प्लाजामा आयोजित एक कार्यक्रमका बीच दुई कम्पनीबीच साझेदारीको औपचारिक घोषणा गरिएको हो । उक्त समारोहमा टौरियन एमपिएसका तर्फबाट ग्लोबल सेल्स डाइरेक्टर आनन्द मोहन र अन्तर्राष्ट्रिय बिक्री उपाध्यक्ष तरसेम पठानिया को उपस्थिति थियो । यस्तै, आरबीजी इन्टरनेसनलका तर्फबाट अध्यक्ष बलराम उपाध्याय, निर्देशक रवि रञ्जन कुमार र निर्देशक श्यामल झा ले साझेदारी पत्रमा हस्ताक्षर गर्दै उच्चस्तरीय प्रतिबद्धता व्यक्त गरे । नेपालमा पछिल्लो समय जलविद्युत र पूर्वाधार निर्माणका आयोजनाहरू तीव्र गतिमा अघि बढिरहेका छन् । यस्ता ठूला आयोजनामा आवश्यक पर्ने उच्च क्षमताका क्रसर प्लान्ट र मटेरियल प्रोसेसिङ उपकरणहरूको मागलाई सम्बोधन गर्न यो साझेदारी गरिएको हो । सन् २००५ मा स्थापित टौरियन एमपिएसले उत्तर अमेरिका, रसिया र मध्यपूर्वपछि अब नेपाली बजारमा आफ्नो पकड बलियो बनाउने रणनीति लिएको छ । सन् २०१९ देखि निर्माण उपकरण र केमिकल क्षेत्रमा सक्रिय आरबीजी इन्टरनेसनलले यस साझेदारीमार्फत अब क्रसर प्लान्टको क्षेत्रमा पनि पाइला टेकेको छ । कम्पनीले गुणस्तरीय उपकरणका साथै चुस्त ’आफ्टर सेल्स सर्भिस’ (बिक्रीपछिको सेवा), न्यून डाउनटाइम र दीर्घकालीन सञ्चालनको सुनिश्चितता गर्ने लक्ष्य राखेको छ । यस सहकार्यले नेपालमा अत्याधुनिक क्रसिङ प्रविधि भित्र्याउने र देशको औद्योगिक तथा भौतिक पूर्वाधार विकासमा ठोस योगदान पु¥याउने विश्वास लिइएको छ ।
उद्योगी–व्यवसायीको सुझावसहित बजेट तयारी प्रक्रिया अघि बढ्दै
काठमाडौं । आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाका सन्दर्भमा मोरङ उद्योग व्यापार संघमा बृहद् छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा संघको ‘समृद्धि हल’मा आयोजित उक्त कार्यक्रम नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिले आयोजना गरेको हो । कार्यक्रममा उद्योग संगठन मोरङ, नेपाल उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश) तथा नेपाल उद्योग परिसंघ (कोशी प्रदेश) को सहकार्य रहेको थियो । पूर्वी नेपालका उद्योगी तथा व्यवसायीहरूको राय, सुझाव तथा धारणा संकलन गरी आगामी बजेटमा समावेश गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राठीले आफ्नो प्रस्तुतीमार्फत निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूले भोगिरहेका विद्यमान समस्या उजागर गर्नुका साथै समाधानका लागि आगामी बजेटले समेट्नुपर्ने नीतिगत तथा व्यावहारिक पक्षहरू प्रस्तुत गरेका थिए । सो अवसरमा उनले अर्थ मन्त्रालयका अर्थ सचिव डा. घनश्याम उपाध्यायलाई संघद्वारा तयार गरिएको सुझावपत्र समेत हस्तान्तरण गरेका थिए । कार्यक्रममा अर्थ सचिव डा. उपाध्यायसहित भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी, आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल, अर्थ मन्त्रालयका सह–सचिव उत्तरकुमार खत्री लगायत उद्योग संगठन मोरङ, नेपाल उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश) तथा नेपाल उद्योग परिसंघ (कोशी प्रदेश) का अध्यक्षहरूको सहभागिता रहेको थियो । त्यसैगरी, कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधि, संघ–संस्थाका पूर्व अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य, उद्यमी–व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
स्ट्रबेरी किलोको ३०० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३६, आलु रातो प्रतिकिलो रु २१ र आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु ४०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ६०, सेतो मूला (लोकल) प्रतिकिलो रु १६, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १००, मटरकोसा प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु १२०, तिते करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ६०, परवर (तराई) प्रतिकिलो रु ९०, चिचिन्डो प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु ८०, झिगनी प्रतिकिलो रु १२०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ६५ कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु ७०, चमसुर प्रतिकिलो रु ९०, तोरीसाग प्रतिकिलो रु ५०, मेथी प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु १००, बकुला प्रतिकिलो रु ४५, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३३०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु २८०, रातो बन्दा प्रतिकिलो रु ४५, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु १२०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु २८० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २२०, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ३०, रुखकटहर प्रतिकिलो रु ८०, निबुवा प्रतिकिलो रु ८०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, स्ट्रबेरी प्रतिकिलो रु ३०० र किबी प्रतिकिलो रु ४५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १९०, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, माछे खुर्सानी प्रतिकिलो रु १००, खुर्सानी (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु १२०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २३०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १५०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु १००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३२० निर्धारण गरिएको छ ।