भारत भ्रमणमा सीमा विवादको विषय नउठेपछि कांग्रेसले भन्यो - प्रधानमन्त्रीको दोहोरो चरित्र उदाङ्गियो

काठमाडौं । नेपाली कांग्रेसले भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै आपत्ति जनाएको छ ।

शनिबार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादको विषय नउठाउनु आपत्तिजनक रहेको बताएका हुन् ।

उनले प्रधानमन्त्रीका विगतका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबीच विरोधाभास रहेको टिप्पणी गरे । प्रधानमन्त्रीले विगतमा भारतसँगको सम्बन्ध र विशेषगरी सीमा मुद्दामा प्रस्तुत गर्ने गरेको अभिव्यक्ति कूटनीतिक संवादको अवसर प्राप्त हुँदा पनि व्यवहारमा नदेखाएको उनको भनाइ छ ।

सीमा विवादको विषयलाई प्रवेश नै नगराई फर्कनुले प्रधानमन्त्रीको दोहोरो चरित्र उदाङ्गो भएको उनको दाबी छ । विगतमा प्रधानमन्त्री साहले सीमा सम्बन्धी अभिव्यक्ति लोकप्रियता हासिल गर्ने उद्देश्यले राष्ट्रवादको प्रदर्शन गर्न मात्रै दिएको पुष्टि भएको उनले बताए ।

उनले भने, ‘नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक, ऐतिहासिक र विशिष्ट छ । दुई देशबीच सहकार्यका अनेकौँ सम्भावना छन् भने वर्षौँदेखि समाधान हुन बाँकी सीमा लगायतका केही संवेदनशील विषयहरू पनि छन् । यस्ता संवेदनशील विषयहरूको समाधान कुनै एउटा भ्रमण वा बैठकबाट मात्र सम्भव हुँदैन भन्ने यथार्थप्रति नेपाली कांग्रेस स्पष्ट छ ।' 

उनले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, बहुआयामिक र विशिष्ट रहेको उल्लेख गर्दै दुई देशबीच सहकार्यका प्रशस्त सम्भावना भए पनि सीमा लगायतका संवेदनशील विषय लामो समयदेखि समाधान हुन नसकेको बताए ।

यस्ता विषयको समाधान एकपटकको भ्रमण वा बैठकबाट सम्भव नहुने भन्दै उनले निरन्तर, गम्भीर र परिणाममुखी कूटनीतिक पहल आवश्यक रहेको बताए । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका कतिपय सहमति सकारात्मक रहेको उल्लेख गर्दै उनले तिनलाई कार्यान्वयनमा ल्याउन जोड दिए। 

Share News