घानामा साइबर अपराधको बिगबिगी, २० करोड ९० लाख सेडी बराबरको आर्थिक क्षति

काठमाडौं । घानामा साइबर अपराधका घटना बढ्दै गएपछि त्यहाँका साइबर सुरक्षा अधिकारीहरूले डिजिटल अर्थतन्त्रसँग सम्बन्धित सेवा प्रदायकहरूलाई सुरक्षा व्यवस्था बलियो बनाउन आग्रह गरेका छन् ।

घानाको साइबर सुरक्षा प्राधिकरणका साइबर सुरक्षा प्रविधि मापदण्ड प्रमुख जेक फ्रान्सले मंगलबार यस्तो आग्रह गरेका हुन् । राजधानी आक्रामा आयोजित ‘टेक इन घाना आक्रा २०२६’ सम्मेलन तथा प्रदर्शनीको उद्घाटनका क्रममा उनले प्रविधि क्षेत्रको विस्तारसँगै साइबर सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनका अनुसार अनलाइन ठगी तथा साइबर अपराधका कारण घानाका सर्वसाधारण र व्यवसायीहरूले बढ्दो आर्थिक क्षति व्यहोर्नुपरेको छ ।

फ्रान्सले सन् २०२६ को जनवरीदेखि सेप्टेम्बरसम्म घानामा ४ हजार ९३८ वटा साइबर अपराधका घटना दर्ता भएको जानकारी दिए । ती घटनाबाट करिब २० करोड ९० लाख घाना सेडी अर्थात् १ करोड ७६ लाख अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको उनले बताए ।

सन् २०२५ को पूरै वर्षमा ४ हजार ६०४ वटा साइबर अपराधका घटना दर्ता भएका थिए । यसले चालु वर्षको नौ महिनामै अघिल्लो वर्षको तुलनामा घटनाको सङ्ख्या बढेको देखाएको छ ।

यद्यपि, साइबर अपराधबाट पीडित भएका कतिपय व्यक्तिले विभिन्न कारणले उजुरी नगर्ने भएकाले वास्तविक घटनाको सङ्ख्या अझ बढी हुन सक्ने फ्रान्सको भनाइ छ ।

उनले डिजिटल अर्थतन्त्रको विस्तारसँगै बलियो सुरक्षा प्रणाली पनि आवश्यक रहेको उल्लेख गर्दै साइबर सुरक्षालाई आर्थिक गतिविधिको संरक्षण र सार्वजनिक विश्वास कायम राख्ने लगानीका रूपमा बुझ्नुपर्ने बताए ।

यसैगरी, घानाको केन्द्रीय बैंकका फिनटेक अधिकारी कार्ल आसीले सन् २०२५ मा मोबाइल फोनमार्फत ४५ खर्ब ४० अर्ब घाना सेडी बराबरको कारोबार भएको जानकारी दिए । उनका अनुसार घानामा मोबाइल मनीमार्फत दैनिक औसत १२ अर्ब घाना सेडीभन्दा बढीको कारोबार हुने गरेको छ ।

डिजिटल वित्तीय कारोबारको बढ्दो आकारलाई ध्यानमा राख्दै साइबर सुरक्षा अझ महत्त्वपूर्ण बन्दै गएको उनले बताए। 

Share News