काठमाडौं । अस्ट्रेलियाले टुरिस्ट भिसासम्बन्धी नियममा कडाइ गरेको छ । नयाँ नियम शनिबारदेखि लागू भएको हो ।
नयाँ व्यवस्थाअनुसार अब टुरिस्ट भिसामा अस्ट्रेलिया पुगेपछि भिसाको अवधि थप्न पाइने छैन । यो नियम भिजिटर भिसा (सबक्लास ६००) का सबै श्रेणीमा लागू हुनेछ ।
अस्ट्रेलियाले अधिकतम १२ महिनासम्मको टुरिस्ट भिसा जारी गर्ने गरेको छ । तर, यात्रुले कति समय बस्न पाउने भन्ने निर्णय भिसा जारी गर्ने अधिकारीले गर्छन् ।
नयाँ नियमअनुसार दक्षिण एसियाली पर्यटकले अस्ट्रेलिया जाँदा फर्किने टिकट पनि अनिवार्य रूपमा देखाउनुपर्नेछ ।
यसअघि केही सर्त पूरा गरेर अस्ट्रेलियामा थप समय बस्न अर्को भिसाका लागि आवेदन दिन सकिन्थ्यो । भिसामा प्रतिबन्ध नतोकिएको अवस्थामा अस्ट्रेलिया पुगेपछि अर्को भिसाका लागि आवेदन दिन पाइन्थ्यो ।
पहिले फर्किने टिकट अनिवार्य थिएन । तर, स्वदेश फर्किन पर्याप्त पैसा भएको प्रमाण देखाउनुपर्थ्यो ।
यसअघि सामान्यतया तीन महिनासम्म बस्न पाइन्थ्यो । विशेष अवस्थामा ६ वा १२ महिनासम्म बस्ने अनुमति पनि मिल्थ्यो ।
टुरिस्ट भिसामा तीन महिनासम्म अध्ययन गर्न पाइन्थ्यो । तर, काम गर्ने अनुमति थिएन ।
नयाँ नियम टुरिस्ट, बिजनेस र ई–भिजिटर भिसासहित सबक्लास ६०० का सबै श्रेणीमा लागू हुनेछ । केही विशेष आपत्कालीन अवस्थामा भने भिसा थप्ने छुट मिल्न सक्छ । तर, त्यसका लागि जटिल प्रक्रिया पूरा गर्नुपर्नेछ ।