टुकुचा बजारबाट खसीको मासु भन्दै बाख्री र पाठीको मासु बिक्री गर्ने ८ जना पक्राउ

काठमाडौं । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गर्ने  काठमाडौंको टुकुचाबाट आठ जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचाको खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिवार बिहान करिब ४ बजे खटिएको प्रहरी टोलीले बजारमा अनुगमन तथा जाँच गर्ने क्रममा ५६७ किलो बाख्रीको मासु फेला पारेको थियो।

उक्त मासु बीएडी ६७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअपमा लोड गर्दै गरेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ घर भई काठमाडौंको टेकु बस्ने ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिर्कोट घर भई टुकुचा बस्ने ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा, धादिङको गजुरी गाउँपालिका–१ घर भएका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा रहेका छन्।

त्यस्तै, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका-१ घर भई पुतलीसडक बस्ने २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका- २ घर भई मैजुबहाल बस्ने २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Share News