चुनावमा जिते मात्रै विकास दिने राजनीति गर्दैनौं : रवि लामिछाने

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीको विकास सरकारको प्राथमिकतामा रहने बताएका छन् ।

कर्णालीबाट रास्वपाका उम्मेदवार निर्वाचित नभए पनि विकासका काम नरोकिने उनले बताए ।

सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा लामिछानेले कर्णालीमा पार्टीको राजनीतिक उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको स्वीकार गरे ।

उनले विकासलाई चुनावी नतिजासँग जोड्न नहुने बताए । कर्णालीले रास्वपालाई मत नदिए पनि सरकारमा रहुन्जेल प्रदेशको विकास प्राथमिकतामा रहने उनको भनाइ छ ।

‘कर्णालीले विकास मागेको छ, खोजेको छ,’ लामिछानेले भने, ‘कर्णालीले एक भोट पनि नदिओस्, रास्वपा सरकारमा रहुञ्जेल कर्णाली प्राथमिकतामा रहने छ ।’

लामिछानेले विकासका नाममा कर्णालीसँग राजनीतिक सौदाबाजी नगर्ने पनि बताए । उम्मेदवार जिताए मात्रै सडक र पुल बनाउने आश्वासन दिएर मत माग्ने राजनीति रास्वपाले नगर्ने उनको भनाइ छ ।

उनले राजनीति चुनावका लागि मात्रै नभएको बताए । कर्णालीका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

लामिछानेले कर्णालीका दूरदराजसम्म पार्टीको आवाज पुर्याउन नसकेको बताए । अन्य प्रदेशको तुलनामा कर्णालीबाट पार्टीको संसदीय प्रतिनिधित्व कमजोर रहेको पनि उनले स्वीकार गरे । 

Share News