सर्वोच्चले कार्कीलाई दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा बुधबार (आज) भएको छलफलपछि कार्कीलाई आईजीपीमा फर्काउनुपर्ने मागमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको हो ।

सर्वोच्चले अन्तिम फैसलामा विचार हुने विषय रहेको बताउँदै तत्कालका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

आईजीपीमा डा. मनोज केसीलाई नियुक्ति गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश नभएसँगै मुद्दाको अन्तिम टुंगो नलागेसम्म केसीलाई काम गर्न खुला भएको छ ।

अब अन्तिम फैसलामा मात्रै कार्कीलाई हटाउने निर्णय बदर हुने वा त्यसलाई सदर नै गर्ने भन्ने टुंगो लाग्नेछ ।

कार्कीले आफूलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने सरकारको निर्णय गैरकानुनी भएको जिकिर गर्दै त्यसलाई बदर गर्न माग गरेका थिए । 

उनले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनसमेत सर्वोच्चसँग अन्तरिम आदेश माग गरेका थिए ।

Share News