कारबाहीको डरले अन्ततः धरान पुगे सहसचिव शाही

काठमाडौं । सरुवा भएको कार्यालयमा हाजिर हुन लामो समयदेखि आनाकानी गर्दै आएका सहसचिव पुष्पराज शाही अन्ततः धरान पुगेका छन् । सरकारले विभागीय कारबाहीको तयारी थालेपछि उनी धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भएका हुन् ।

बुधबार धरान पुगेका शाहीलाई उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले स्वागत गरेका छन् ।

सरकारले दसैँअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको अतिरिक्त समूहमा रहेका शाहीलाई धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो । तर, सरुवा निर्णयप्रति असन्तुष्टि जनाउँदै उनी त्यसविरुद्ध प्रशासकीय अदालत पुगेका थिए ।

उनको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले अन्तरकालीन आदेश जारी गरेपछि शाही तत्काल धरान जानबाट रोकिएका थिए । त्यसैको सुविधा लिँदै उनले दसैँ काठमाडौंमै बिताए । दसैँलगत्तै अदालतले उक्त आदेशलाई निरन्तरता नदिने निर्णय गरेपछि भने उनको सरुवा कार्यान्वयन गर्ने बाटो खुलेको थियो ।

अदालतबाट राहत नपाएपछि पनि शाहीले धरान पुगेर हाजिर हुन आनाकानी गरिरहेका थिए । सरकारले सरुवा कार्यान्वयन नगरेको विषयलाई लिएर विभागीय कारबाहीको तयारी थालेपछि भने उनी हतारहतार धरान पुगेका हुन् ।

लामो समयसम्म सरुवा छल्दै आएका शाही अन्ततः कारबाहीको दबाबपछि जिम्मेवारी सम्हाल्न बाध्य भएका छन् । 

Share News