विदेशमा कुरियर पठाउँदा २० हजार घुस लिएको आरोपमा हुलाकका नासुविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा डिल्लीबजारमा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीको सामान कुरियरमार्फत विदेश पठाउँदा घुस मागेको आरोपमा आयोगले रिजाललाई २० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।

आयोगका अनुसार अनुसन्धानका क्रममा रिजालले आफ्नो पदको दुरुपयोग गरी सेवाग्राहीको सामान गोश्वारा हुलाक कार्यालयमार्फत विदेश पठाउन विभिन्न बहाना बनाउँदै रकमका लागि बार्गेनिङ गरेको पुष्टि भएको छ ।

रिजालले आपसी मिलेमतो र योजनामा सेवाग्राहीसँग घुस मागेर २० हजार रुपैयाँ लिएको आयोगको दाबी छ । उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ अनुसार कसुर भएको आयोगले जनाएको छ ।

आयोगले २० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगो बराबर जरिवाना सजायको मागदाबी गर्दै मंसिर ९ गते विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । 

Share News