कार्कीको रिटमा बहस सकियो, निर्णय आउन बाँकी

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा बुधबार (आज) सुनुवाइ सकिएको छ ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा रिटमाथि दुवै पक्षका कानुन व्यवसायीले बहस गरेका हुन् ।

कार्कीले आफूलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने सरकारको निर्णय गैरकानुनी भएको जिकिर गर्दै त्यसलाई बदर गर्न माग गरेका थिए । 

उनले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनसमेत सर्वोच्चसँग अन्तरिम आदेश माग गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । त्यसपछि सरकारले डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

सरकारको उक्त निर्णयविरुद्ध कार्की सर्वोच्च पुगेका हुन् । रिटमा दुवै पक्षको बहस सकिए पनि अदालतको आदेश आउन बाँकी छ ।

Share News