नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने तयारी

काठमाडौं । सरकारले नागरिक लगानी कोषको अधिकृत पुँजी बढाएर १० अर्ब रुपैयाँ पुर्याउने तयारी गरेको छ । प्रतिनिधिसभाको अर्थ समितिमा भएको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले कोषको पुँजी वृद्धि गर्ने सरकारको तयारीबारे जानकारी दिएका हुन् ।

सरकारले नागरिक लगानी कोषको वित्तीय क्षमता विस्तार गर्ने उद्देश्यसहित ऐन संशोधन प्रक्रिया अघि बढाएको छ । अर्थमन्त्री वाग्लेले समितिको छलफलमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ मार्फत कोषको अधिकृत पुँजी ८ अर्बबाट बढाएर १० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरिएको जानकारी दिएका हुन् ।

त्यस्तै, कोषको चुक्ता पुँजी ३ अर्बबाट बढाएर ६ अर्ब ८० करोड रुपैयाँ कायम गर्ने प्रस्ताव पनि विधेयकमा समेटिएको छ । कोषको वास्तविक चुक्ता पुँजी बोनस सेयर वितरणलगायतका कारण बढिसकेको भए पनि ऐनमा पुरानै व्यवस्था रहेकाले त्यसलाई अद्यावधिक गर्न लागिएको हो ।

पुँजी वृद्धिसँगै कोषले लगानी गर्न पाउने क्षेत्रसमेत विस्तार गर्ने सरकारको तयारी छ । विधेयकमा प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड, पूर्वाधार विकास बैंक, म्युचुअल फण्ड तथा विभिन्न ऋणपत्रमा लगानी गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यसैगरी ऊर्जा, यातायात, पर्यटन, सूचना प्रविधि, कृषि, स्वास्थ्य र शिक्षालगायतका क्षेत्रमा लगानी विस्तार गर्ने प्रस्ताव पनि विधेयकमा समेटिएको छ । यसबाट कोषको स्रोतलाई उत्पादनमूलक तथा पूर्वाधार क्षेत्रमा परिचालन गर्न सकिने सरकारको अपेक्षा छ ।

अर्थ समितिको छलफलमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले पुँजी वृद्धि गर्न तत्काल हकप्रद सेयर जारी गर्ने योजना नरहेको बताएका थिए । उनका अनुसार कोषले आर्जन गर्ने नाफाबाट बोनस सेयर जारी गर्दै पुँजी वृद्धि गर्ने योजना बनाएको छ ।

सरकारले अघि बढाएको नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ अहिले प्रतिनिधिसभाको अर्थ समितिमा छलफलको क्रममा छ । संसद्बाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै प्रस्तावित व्यवस्था कार्यान्वयनमा आउनेछ । 

Share News