५ लाख जरिवाना र १५ वर्ष कैद सजाय पाएका व्यक्ति पक्राउ

काठमाडौं । लागूऔषध खैरो हेरोइन मुद्दामा १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादी असाव मियाँ पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मियाँलाई काठमाडौं महानगरपालिका–१५ डल्लुबाट मंसिर ९ गते पक्राउ गरेको हो ।

सीआईबीका अनुसार मियाँ २०६९ वैशाख ५ गते पर्साको वीरगञ्ज उपमहानगरपालिकाबाट लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका थिए । उनीविरुद्ध नेपाल सरकार वादी रहेको लागूऔषध मुद्दामा सर्वोच्च अदालतले २०८० फागुन २२ गते १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

फैसलाअनुसार सजाय भुक्तान नगरी फरार रहेका मियाँलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ । 

Share News